अब्बल बन्दै नेपाली बैंकर, विदेशी बैंकको कमाण्ड सम्हाल्दै

काठमाडौं । एउटा समय थियो, ‘विदेशी लगानीकर्ता नेपालमा आएपछि उसले व्यवस्थापक अर्थात् लगानी गर्ने कम्पनीमा काम गर्ने उच्च तहका कर्मचारी पनि उतैबाट लिएर आउनु पर्ने ।’ ती लगानीकर्ताहरुले नेपालीलाई न पत्याउँथे नत नेपालमा काम गर्ने क्षमतावान कर्मचारीहरु नै पाइन्थे । त्यसैले पनि बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले लगानीसँगै व्यवस्थापक पनि विदेशी नै हुनु पर्ने नीतिगत व्यवस्था गर्यो । विदेशी लगानीकर्ताले नेपालमा बैंक खोल्न चाहेमा त्यो बैंकको व्यवस्थापकीय नेतृत्व पनि विदेशबाट नै ल्याउने अभ्यास थियो । केही नेपाली बैंकमा त्यो अभ्यास अहिले पनि छ । हाल सञ्चालनमा रहेको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा अहिले पनि विदेशी नेतृत्व छ । नेपाल एसबिआई बैंकले पनि अहिलेसम्म नेपाली सीईओ राखेको छैन । एभरेष्ट बैंकले नेपाली सीईओ पाएको धेरै समय भएको छैन । एभरेष्ट बैंकका लागि सुदेश खालिङ पहिलो नेपाली सीईओ हुन् । नबिल बैंकको पहिलो नेपाली सीईओ पनि अनिल केशरी शाह नै हुन् । तर, अहिले विदेशी लगानीकर्ता भएको बैंकहरुमा पनि विस्तारै नेपाली बैंकरले नै नेतृत्व लिइरहेका छन् । कुनै बेला बैंकमा काम गर्ने कर्मचारी नै नपाउने अवस्थाबाट सुरु भएको नेपाली बैंकिङ अहिले विदेशी बैंकको कमाण्ड सम्हाल्ने जनशक्ति उत्पादन गर्नेसम्म पुगेको छ । नेपाली अनुभवी पुर्व बैंकर तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे सुरुवाती दिनहरुमा नेपाली बैंकमा काम गर्ने कर्मचारी पाउन नै सकस भएको अनुभव सुनाउँछन् । ‘चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो, बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो, विदेशी बैंकहरु आएपछि बैंक चलाउने नेतृत्व पनि उनीहरुले नै लिएर आउँथे, बैंकिङका सुरुवाती दिनहरु स्मरण गर्दै  विकासन्युजले यसअघि गरेको कुराकानीमा उनले भनेका थिए । उनका अनुसार यो अवधिमा नेपाली बैंकिङ उद्योगले ठूलो फड्को मारेको छ । नेपालमा बैंक खालेपछि निश्चित कर्मचारी पनि विदेशी नै हुनु पर्ने नीति तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र महतले गरेका थिए । उनले नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको ग्रोथका लागि सो व्यवस्था गरेको उनी सुनाउँछन् । ‘त्यतिबेला विदेशी बैंक ल्यायो भने तिनले हाम्रो राष्ट्रिय सम्पत्ति लुट्छन् भन्ने बुझाइ धेरैमा थियो, जुन बकम्फुसे कुरा थियो, मैले नै नेपालमा नयाँ बैंक खोल्नु पर्छ भन्ने कुरा गरेँ, बैंक नेपाली नै हुनु पर्यो,  विदेशी लगानी र बैंक म्यानेज्मेन्ट पनि विदेशी आउनु पर्यो भन्ने नीति बनायौं, ‘थ्री इन वान’को सिद्धान्त अघि सार्यौं, सुरुमा नेपाल अरब बैंक आयो । त्यसमा एक तिहाई उसको, एक तिहाई नेपालको व्यवसायी र एक तिहाई सर्वसाधारणको सेयर हुने भनेर नीति बनायौं, त्यसको उद्घाटन मैले नै गरेँ, त्यसपछि अरु बैंकहरु आउने क्रम सुरु भयो,’ विगत स्मरण गर्दै पूर्व अर्थमन्त्री लोहनीले भने । आफुले अघि सारेको सो नीतिले नेपाली बैंकिङ क्षेत्रले पनि ठूलो फड्को मारेको र जनशक्ति पनि प्रयाप्त मात्रामा उत्पादन भएको उनका बुझाइ छ । ‘म अर्थमन्त्री हुँदा धेरै निजी क्षेत्रलाई बढावा दिने नीतिहरु बनेका थिए, जसले अहिलेसम्म पनि निजी क्षेत्रका लागि महत्वपूर्ण काम गरिरहेका छन्, नेपाली बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका लागि म अर्थमन्त्री भएपछि नै धेरै उपलब्धि हासिल भएको छ,’ उनले भने । सो नीतिपछि नेपालमा विदेशी बैंकर ल्याउनु नपर्ने वातावरण सिर्जना भएको उनको भनाइ छ । हाम्रो नीतिले ‘नलेज ट्रान्सफर’ भयो, बरु नेपाली बैंकरहरु विदेशी बैंकमा काम गर्न गइरहेका छन्, विदेशबाट सीईओ ल्याउनु पर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘अब नेपाली बैंकर पनि अब्बल बनिसकेका छन् ।’ सोही नीतिको कारण अहिले नेपाली बैंकर विदेशी बैंकको पनि कमाण्ड सम्हालिरहेका छन् । विदेशी बैंकमा गएर पनि नेतृत्व सम्हाल्ने अवस्थामा नेपाली बैंकर पुगेका छन् । त्यसको ढोका खुला गर्ने पहिलो नेपाली बैंकर हुन् गोविन्द गुरुङ । अहिले सरकारी स्वामित्व समेत रहेको कृषि विकास बैंकको सीईओ भएर काम गरिरहेका गुरुङले म्यानमारको म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा काम गरे । तत्काली सिभिल बैंकको सीईओ भएर काम गरिसकेका उनले म्यानमारमा गएर पनि आफ्नो कार्यकुशलता देखाए । तयसपछि स्वदेशमै फर्केर उनी कृषि विकास बैंकको सीईओको रुपमा काम गरिरहेका छन् । कृषि विकास बैंकमा पनि उनले जिम्मेवारी लिएपछि अधिकांश सूचकमा बैंक बलियो देखिएको छ । गुरुङले नै काम गरिसकेको म्यानमार सिटिजन्स बैंकको नेतृत्व अहिले नेपाली बैंकर भेषराज खतिवडाले नै सम्हालिरहेका छन् । एक वर्षअघि म्यानमार सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर म्यानमार पुगेका उनी हालै मात्रै सीईओमा नियुक्त भएका छन् । सो बैंकबाट गुरुङले राजीनामा दिएपछि खतिवडाले कायमुकायम सीईओको जिम्मेवारी पाएका थिए । अहिले उनी सीईओ बने । उनै सीईओ खतिवडा म्यानमारभन्दा नेपाली बैंकिङ अगाडि रहेको सुनाउँछन् । ‘नियमनदेखि अन्य विषयमा नेपालको बैंकिङ्ग म्यानमारको तुलनामा अगाडि नै छ, अहिले नेपाली बैंकरले जुनसुकै देशमा पनि गएर काम गर्न सक्ने क्षमता बनाएका छन्,’ उनले भने । उनका अनुसार बैंकिङ अभ्यास र विकास अनुसार नै जनशक्ति पनि त्यसरी नै विकास हुने गर्छ । ‘१५-१६ वर्ष अघि नेपालमा पनि नेपाली सीईओ हुनै सक्दैन भन्ने खालको भाष्य थियो, विदेशबाटै सीईओ ल्याउनु पर्छ भन्ने थियो, त्यो विकासको प्रारम्भिक अवस्था थियो, त्यतिबेला नेपाली बैंकमा कोही सीईओ भयो भने नेपालीले पनि सीईओ चलाउन सक्छ र ? भन्थे । तर विस्तारै जनशक्ति पनि विकास हुँदै जान्छ, म्यानमारमा पनि केही बैंकमा नेपालीहरु कार्यरत छन्, उनी भन्छन्, ‘त्यो भनेको नेपालीहरु जहाँ गएर पनि काम गर्न सक्छन् भन्ने सन्देश हो ।’ यस्तै, अहिले सिभिल बैंकको सीईओको रुपमा काम गरिसकेका सुनिल पोखरेल पनि अहिले विदेशी बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । उनी पपुवा न्यूगिनीको टिसा बैंक लिमिटेडको नेतृत्व गरिरहेका छन् । सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि पोखरेल विदेशी बैंकको सीईओ बन्न पुगेका हुन् । पोखरेलसँगै सोही बैंकको चिफ रिस्क अफिसरमा पनि नेपाली बैंकर सचिनजंग रायमाझी कार्यरत छन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा काम गर्थे । उनी केही दिनअघि देखि मात्रै विदेशी बैंकमा काम गर्न थालेका हुन् । यी त केही प्रतिनिधि पात्रहरु हुन् । हाल धेरै नेपालीहरु विदेशी बैंकमा कार्यरत छन् । उनीहरुले आफ्नो अब्बलता विदेशी बैंकमा देखाइरहेका छन् । अब नेपाली बैंकमा विदेशी बैंकर ल्याएर काम गराउनु पर्ने बाध्यता पनि सदाका लागि अन्त्य भएको छ ।

कम्पनी दर्ता गर्नेको संख्या पाँच वर्ष यताकै कम, आर्थिक मन्दीको असर

काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा आएको मन्दीको असर प्रत्यक्ष असर उद्योग क्षेत्रमा देखा परेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको कारण कम्पनी दर्ता गर्नेहरुको संख्यामा कमी आएका बताइएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा कम्पनी दर्ता गर्नेको संख्या उल्लेख्यरुपमा घटेको छ । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २१ हजार ३७३ कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २९ हजार १७ कम्पनी दर्ता भएका थिए । अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा सात हजार ६४४ ले कमी आएको हो । कम्पनी रजिष्ट्रार महेश बरालले अर्थतन्त्रमा देखिएको सुस्तताको प्रत्यक्ष असर कम्पनी दर्तामा देखिएको बताए । ‘विगत ५ वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनी दर्तामा कमी आएको हो, हामीले आर्थिक सुस्तताकै कारण कम्पनी दर्तामा कमी आएको अनुमान गरेका हौँ’, उनले भने । कम्पनीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ५०५, आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ६३८, आर्थिक वर्ष २०७५/०७६ मा २५ हजार ५०० र आर्थिक वर्ष २०७४/०७५ मा २२ हजार ३३० वटा नयाँ कम्पनी दर्ता भएका थिए । पछिल्लो समय देशमा सञ्चालित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुनै सकेका छैनन् । अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण उद्योगहरु कुल क्षमताको आधा क्षमतामा मात्रै सञ्चालन भइरहेको उद्योगीहरुले बताएका छन् ।

बीमालाई बैंकसँग दाँज्दा सरेन्डरदर बढ्यो, प्राधिकरणका अध्यक्ष भन्छन् : बीमितले नै पत्याएनन्

काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा सरेन्डर अर्थात बीमा पोलिसी त्याग्नेको दर बढ्दो छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्दा पछिल्लो एक महिना अर्थात साउनमा मात्रै ९ हजार ७९८ जनाले बीमा पोलिसी सरेन्डर गरेका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६.३४ प्रतिशतले बढी हो । २०७९ साउनमा ८ हजार ४२२ जनाले बीमितले जीवन बीमा पोलिसी सरेन्डर गरेका थिए । यो तथ्यांकले जीवन बीमा कम्पनीहरुले गर्ने बिजनेसमा प्रश्न उठेको छ । उनीहरुले बिजनेश ल्याउँदा गर्ने अन्डरराइटिङमा ध्यान नदिएको र उक्त अन्डरराइटिङ स्ट्याण्डर्ड नभएको बुझिने जानकारहरु बताउँछन् । पछिल्लो समय देशमा आर्थिक मन्दी छाएसँगै त्यसको नकारात्मक प्रभाव जीवन बीमा क्षेत्रमा पनि परेको तथ्यांकले देखाएको छ । त्यस्तै, बैंकको व्याजदर बढ्दा बीमा गर्नेहरुले बैंकमा पैसा डिपोजिट गर्न थाल्ने भएकाले बीमा सरेन्डर बढ्ने गरेको जानकारहरु बताउँछन् । तर बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भने मान्छेले बीमालाई बैंकसँग तुलना गर्न थाल्दा समस्या बढ्दै गएको बताउँछन् । ‘नेपालमा सबैभन्दा ठूलो समस्या मान्छेले बीमालाई बैंकसँग तुलना गर्न थाले, बीमा र बैंकमा धेरै फरक छ, बीमाले यति प्रतिशत ब्याज दिन्छु भन्ने होइन, बीमाले त बीमा अवधिभर तपाईंलाई कुनै घटना घटेमा त्यसको क्षतिपूर्ति दिन्छु भन्छ, यदि कुनै घटना घटेन भने अन्तिममा गएर बोनससहित दिन्छु भनेको हो, यो विषय बीमा कम्पनीहरुले बुझाउँनै सकेनन्,’ अध्यक्ष सिलवालले प्रष्टाउँदै भने । साथै, सरेन्डर दर बढ्नुले बीमा कम्पनीमाथि मान्छेको विश्वास घट्दै गएको बुझिने अध्यक्ष सिलवालको भनाई छ । इन्स्योरेन्सप्रति विश्वास बढाउन कम्पनीहरुले बीमा गर्ने व्यक्तिले कुन उद्देश्यले बीमा गरेको थियो र कुन उद्देश्यले सरेन्डर गर्दै छ भनेर बुझ्नु पर्ने र आजको मात्रै होइन भोलिसम्मको बजार हेर्नु पर्ने उनी बताउँछन् । नेपाल बीमा प्राधिकरणले जति नै कडाइ गरेपनि बीमा पोलिसी सरेन्डर दर भने घट्न सकेको छैन । प्राधिकरणको नयाँ व्यवस्था अनुसार बीमितले बीमालेख खरिद गरेको मितिले कम्तीमा तीन वर्षसम्म सरेन्डर गर्न पाउने छैनन् । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो । त्यस्तै, सरेन्डर किन बढ्यो ? यसलाई कसरी रोक्ने ? भन्ने विषयमा कम्पनीहरुले आफै रणनीति बनाउन आवश्यक देखिएको प्राधिकरणका अध्यक्ष सिलवालको भनाइ छ । बीमामा हुने सरेन्डरले बीमितलाई नै घाटा हुने कम्पनीलाई घाटा नपर्ने जानकारहरु बताउँछन् । बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था रहेको र कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गरेकोले बीमितलाई घाटा हुने जानकारहरुको भनाई छ । सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ । तर बीमा प्राधिकरणका अध्यक्ष भने बीमा सरेन्डरले कम्पनीलाई पनि घाटा पर्ने बताउँछन् । ‘बीमितले बीमा गरेबापत आएको रकम एउटा क्षेत्र तथा प्रपोजमा लगानी गर्छु भनेर छुट्याएको रकम सरेन्डर मार्फत धमाधम बाहिरन थालेपछि कसलाई घाटा हुन्छ ?’ प्रश्न गर्दै उनले भने- ‘घाटा कम्पनीलाई नै हुन्छ, कम्पनीले आफ्नो प्रपोज मीट गर्न नसक्नुको कारण यो पनि हो ।’ सरेन्डरमार्फत कुन कम्पनीबाट कति रकम बाहिरियो ? २०७९ साउनको तुलनामा २०८० साउनमा सरेन्डर गर्नेको संख्या बढेको छ भने सरेन्डर रकम भने घटेको छ । २०७९ साउनमा एक अर्ब ५१ करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो । जुन २०८० साउनमा १५.१७ प्रतिशतले घटेर एक अर्ब २८ करोड ३३ लाख रुपैयाँमा झरेको छ । गत साउनमा नेपाल लाइफको सबैभन्दा बढी र प्रभु महालक्ष्मीको सबैभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएका छन् । नेपाल लाइफको ४७ करोड २३ लाख रुपैयाँ बाहिरँदा प्रभु महालक्ष्मीबाट ३५ लाख रुपैयाँ एक महिनामा बाहिरिएको छ । यता प्रतिशतको आधारमा हिमालयन लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डरदर बढ्दो छ । २०७० को साउनको तुलनामा २०८० साउनमा हिमालयन लाइफको पोलिसी सरेन्डरदर २९८.५८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा सन नेपाल लाइफको सरेन्डर रकम सबैभन्दा कम अर्थात ९.१० प्रतिशतले बढेको छ । नेशनल लाइफको भने ८३.७५ प्रतिशतले सरेन्डर रकम घटेको छ । कुन कम्पनीको कति वटा पोलिसी सरेन्डर ? संख्याको आधारमा पनि नेपाल लाइफकै सबैभन्दा बढी अर्थात ३ हजार ३२४ वटा पोलिसी सरेन्डर भएका छन् । तर २०७९ साउनको तुलनामा भने उक्त संख्या ८.२८ प्रतिशतले घटी हो । सन नेपाल लाइफको सबैभन्दा कम संख्याको पोलिसी सरेन्डर भएका छन् । दुबै वर्षमा कम्पनीको बराबर अर्थात प्रति वर्ष १३ वटा पोलिसी सरेन्डर भएका छन् । प्रतिशतको आधारमा आइएमई लाइफको सबैभन्दा बढी पोलिसी सरेन्डर भएका छन् । अघिल्लो साउनको तुलनामा कम्पनीको पोलिसी सरेन्डर दर ३२९.०३ प्रतिशतले बढेको छ । यता नेशनल लाइफको पोलिसी सरेन्डर गर्नेको संख्या ५२.७६ प्रतिशतले घटेको छ ।