बैंकले घर बनाउन दिन थाले शतप्रतिशत कर्जा
काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै नेपाल बैंकले निर्माण लागतको १०० प्रतिशत कर्जा दिने योजना अगाडी सारेको हो । यस्तो कर्जाको व्याजदर पनि बैंकले तुलनात्मक रुपमा सस्तो नै राखेको छ । बेस रेटमा १ दशमलव ९९ प्रतिशत प्रिमियम थपेर व्याज निर्धारण गर्ने छ । हाल बैंकको बसे रेट ९ दशमलव ५५ प्रतिशत रहेको छ । यस आधारमा बैंकले घर कर्जामा ११ दशमलव ५४ प्रतिशत व्याज लिनेछ । नेपालीहरुले घर कर्जाको व्याज १० प्रतिशतभन्दा माथि हुनुलाई उच्च व्याजदर मान्दछन् । तर अहिले बैंकहरुले निक्षेपकर्तालाई नै ११ प्रतिशतसम्म व्याज दिईरहेको बेलामा घर कर्जाको व्याज ११ दशलवम ५४ प्रतिशत हुनु महँगो होइन । बैंकको बेसरेट घट्दा सोही अनुपातमा कर्जाको व्याजदर पनि घट्नेछ भने वेस रेट बढेको अवस्थामा कर्जाको व्याजदर पनि सोही अनुपातमा बढ्नेछ । पछिल्लो समय बैंकहरुको बेसरेट क्रमशः घट्दै गएको छ । नेपाल बैंकले घर वा जग्गा खरिद गर्नको लागि पनि सोही व्याजदरमा कर्जा दिने जनाएको छ । यस्तो सुविधा राजधानी र सहरी क्षेत्रमा मात्र हुने बैंकले सर्त राखेको छ । नेपाल राष्ट्र बैंकले ३ हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट किन्न वा बनाउनको लागि २ करोड रुपैयाँसम्म घर कर्जा दिन पाउने र यस्तो कर्जा धितोको ७० प्रतिशतसम्म दिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्थासँग आवास निर्माण र निर्माण सामाग्री उत्पादन तथा व्यापारले गति लिने विश्वास सरकारी अधिकारीहरुले गरेका छन् ।
ईभी गाडीको शतप्रतिशत बीमा सलिकोले गर्ने, पूर्ण क्षति भए नयाँ कार किन्न पैसा दिने
काठमाडौं । नेपालीमाझ विद्युतीय गाडीको लोकप्रिय बढ्दै गएको छ । हालै सम्पन्न नाडा अटो शो २०८० मा पनि अधिकांश ग्राहकले विद्युतीय कार खरिदको लागि बैना बुझाएको आयोजकले बताएको छ । विद्युतीय सवारी दुर्घट्नामा पर्दा र ब्याट्रीमा नोक्सानी हुँदा भने उपभोक्ताहरु ठूलो मारमा पर्ने गरेको पाइएको छ । ब्याट्री नोक्सान हुँदा बीमाले ५० प्रतिशत मात्र क्षतिपूर्ति दिन्छ भन्ने उपभोक्तामा जानकारीको अभावले बीमितहरु समस्यामा पर्न थालेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का प्रमुख कार्यकारी अधिकृत चंकी कुवँर क्षेत्री बताउँछन् । विद्युतीय गाडीको कुल मूल्यको ५० देखि ६० प्रतिशत ब्याट्री मूल्य पर्छ । तर, वर्तमान मोटर बीमा निर्देशिकाअनुसार ब्याट्री नोक्सान भएमा बीमितले क्षति मूल्यांकनको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी पाउने छन् । ५० लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय कारकाे ब्याट्री लागत मात्र नै २५ लाखभन्दा बढी हुन्छ । नयाँ गाडीको ब्याट्रीमा पूर्ण क्षति भयो भने बीमितले १२ लाख ५० हजार रुपैयाँ मात्र पाउँछन् । जवकी नयाँ व्याट्री किन्नु पर्दा २५ लाख रुपैयाँ भन्दा बढी पर्छ । ब्याट्री क्षति हुँदा नोक्सान जति हुन्छ त्यसको ५० प्रतिशत मात्र बीमा दावी भुक्तानी हुँदा बीमित दुःखी मात्र भएका छैनन्, बीमा कम्पनीप्रति आक्रोश व्यक्त गर्ने, गाली गलौज गर्ने जस्ता समस्या देखिएको नेपाल बीमक संघका अध्यक्ष समेत रहेका क्षेत्रीको भनाई छ । ब्याट्री नोक्सान हुँदा ५० प्रतिशत मात्र क्षतिपूर्ति पाउने व्यवस्थाबारे गाडी बिक्रेताले पनि ग्राहकलाई जानकारी नदिने र उपभोक्ताले पनि बीमा रक्षावरणबारे पूर्ण जानकारी विनै बीमा गर्ने भएकोले यस्तो समस्या उत्पन्न भएको उनको भनाइ छ । विकल्पमा पुरक बीमा लेख, नयाँ कार किन्ने सुविधा पनि बीमितहरुको समस्या देखेपछि सलिकोले भीआईपी प्लस योजना ल्याएको छ । यसमा ब्याट्री नोक्सान हुँदा १०० प्रतिशत क्षतिपूर्ति पाउने, पुरानो गाडी पूर्ण रूपमा नोक्सान भएमा सोही प्रकार, बनौट र मोडलको नयाँ गाडी किन्न पैसा दिने, क्षतिमा ह्रास कट्टी रकममा पनि सोधभर्ना गर्ने लगायत सुविधा रहेको उक्त कम्पनीले जनाएको छ । भीआई पी प्लस योजनामा थप चार सुविधा थपिएको कम्पनीले जनाएको छ । सवारी पूर्ण क्षति भएको अवस्थामा सोही मोडल, प्रकार र बनौटको नयाँ सवारी किन्न सम्बन्धित गाडीको आधिकारिक बिक्रेताको कर बीजक मूल्य बराबर नगद भुक्तानी दिइनेछ । पूर्ण नोक्सान नभएको अवस्था कुनै पनि पार्टस फेर्नुपर्दा ह्रास कट्टी रकम बराबर शोधभर्ना गरिनेछ । सवारी दुर्घटना भइ वर्कशपमा बनाउन दिनु परेको अवस्थामा बीमितलाई १४ दिनसम्म दैनिक १५०० रुपैयाँ सवारी भाडा यातायात शिर्षकमा भुुक्तानी गरिने छ । सवारी दुर्घटना चालक वा यात्रुको व्यक्तिगत सामान नोक्सान भएमा १० हजार रुपैयाँसम्म रकम भुक्तानी गरिनेछ । यस्तो प्रकारको बीमा गर्दा करिब १६ प्रतिशत अतिरिक्त बीमा शुल्क लाग्ने कम्पनीले जनाएको छ । भीआईपी प्लसमा सलिकोले मोटर बीमा लेखसँग पुरक बीमा लेख पनि जारी गर्दछ । त्यसको प्रिमियम करिब ५/६ हजार रुपैयाँ बढी हुने क्षेत्रीले बताए ।
घर बनाउन धितोको ७० प्रतिशत ऋण, ब्याज बढेपनि किस्ता नबढ्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा केही लचिलो नीति अघि सारेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै घर बनाउनका लागि धितोको ७० प्रतिशतसम्म कर्जा पाउने बताएको हो भने सो कर्जाको ब्याज बढेपनि मासिक किस्ता भने नबढ्ने व्यवस्था गरेको हो । आवासिय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोड रुपैयाँसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था मौद्रिक नीतिमार्फत् गरिएको थियो । सो व्यवस्थालाई थप स्पष्ट पार्दै राष्ट्र बैंकले भनेको छ, ‘तीन हजार वर्गफिटसम्मको घर निर्माण खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मुल्यांकनको ७० प्रतिशतसम्म यस्तो कर्जा प्रवाह गर्न सक्नेछन् र ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नु पर्दछ ।’ यसअघि फर्स्ट होम बायरलाई घरकर्जाको सीमा एक करोड ५० लाख तोकिएको थियो । राष्ट्र बैंकले यो व्यवस्थामा थप प्रष्ट पारपछि घरजग्गा क्षेत्र केही चलायनमान हुन मद्दत पुग्नेछ । यस्तै, राष्ट्र बैंकले देशको समग्र आर्थिक विकासका लागि यसका पूर्वाधारहरु पनि बलियो हुनु बताएको छ । राष्ट्र बैंकले विकासका पूर्वाधारमा लगानी प्रोत्साहन गर्ने उद्देश्यले अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुले आधारदरमा बढीमा दुई प्रतिशतसम्म मात्र प्रिमियम थप गरी २० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको पनि सूचना मार्फत् जानकारी दिएको छ ।