राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले बिदाइ गरिरहेका हुन्छन् । यो देख्दा लाग्छ, यो देशमा रोजगारीको सम्भावना नै छैन । त्यसैले गरेर खाने उमेरका युवायुवती यसरी दिन प्रतिदिन हजारौँको सङ्ख्यामा विदेशिएका छन् । अर्कातर्फबाट बाकसमा भित्रिएका शव बुझ्न आउनेको हालत त झन हेर्न नसकिने छ । त्यो दृश्यको बयान यहाँ शब्दले कोर्न कठिन छ । यी दृश्य देखेपछि जसका मनमा पनि प्रश्न उब्जिन्छ- के देशमा काम गरेर खाने वातावरण नै छैन त ? अधिकांश यस्तै मानसिकताले ग्रसित भएर युवाले देश छोडेका छन् र खाडी पसेका छन् । अनि बजारमा सधैँभरि सुनिने निरासा त छँदैछ, जसले यहाँ केही हुँदैन भन्ने नकारात्मक सन्देश मात्र पर्वाह गर्ने गरेको छ । तर नराम्रा दृश्य र अवस्था मात्र छैन देशमा । गर्नसके देशभित्रै सबथोक छ भन्ने सन्देश पनि खोजीपसे प्रसस्तै भेटिन्छ । यसका लागि धेरै टाढा जानुपर्दैन, राजधानीबाट केही किलोमिटर पर काभ्रेको पाँचखाल नगरपालिका बाँस्कोट पुगे हुन्छ । यहाँ पुग्ने जोसुकैले पनि देशिभित्रै सम्भावनाको थुप्रो देख्न सक्छ । यहाँका स्थानीय गोविन्द थपलियाको कृषि फार्ममा पुग्नेले रोजगारीका लागि विदेशिनु पर्दैन भन्ने सन्देश मात्र पाउँछन् । यतिमात्र नभएर बजारमा जताततै पोखिने गरेको ‘यो देशमा केही हुँदैन’ भनिने निरासा पनि यहाँ पुग्ने मानिसको दिमागबाट हटेर जान्छ । गोविन्दको पौरख देख्ने जोसुकैको मनमा पनि यही माटोमा पसिना पोख्न सके सुन फल्दोरहेछ भन्ने सोच पलाउँछ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले । प्रहरी सेवामा रहँदा देशविदेश देखेका उनलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो । त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उनले तरकारी र फलफूल खेती सुरु गरेका हुन् । ऊ बेलादेखि नै उनले काठमाडौंका तारे होटललाई बजारको ‘टार्गेट’ गरेका हुन् । उनको लक्ष्य अहिले विस्तारित हुँदैछ । गोविन्दले कोरोना महामारीपछि त्यही जमिन वरपर थप विस्तारित स्वरुपमा पशुपन्छी पालन थाले । त्यसपछि सो फार्ममा मिट मेकर प्रालि र मिट प्रोसेसिङ एण्ड मार्केटिङ कम्पनी हुँदै अहिले फार्म ग्रो ट्रेडिङ प्रालि सञ्चालित छन् । मागअनुसार जिउँदा तथा मासु बनाएरै उनले आपूर्ति गरेका छन् । अहिले त बजार खोज्न उनीहरु काठमाडौंसम्म आउनुपरेको छैन, बजारले उनीहरुलाई खोज्दै पाँचखाल पुगको छ । थप ५४ रोपनी जमिन लिजमा लिएर पशुपन्छी पाल्न थालेका उनका फार्ममा अहिले तरकारी र फलफूलका अतिरिक्त करिब ३० हजार ब्रोइलर कुखुरासहित बाख्रा, गाई, भैँसी, बङ्गुर, स्थानीय जातका कुखुरा, टर्की आदि छन् । एकै स्थानमा रहेको करिब डेढ सय रोपनी जमिनमा अहिले तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ । काठमाडौंका प्रमुख पाँचतारे होटलमा आपूर्ति गरिने मासु यिनै कम्पनीमा प्रोसेसिङ गरेर पठाउने गरिएको उनी बताउँछन् । यही फार्मबाट नै काठमाडौंका याक एण्ड यति, होटल र्याडिसन र हायात होटलमा उनकै फार्मबाट तरकारी, फलफूल र मासु आपूर्ति हुँदै आएको छ । अहिले यहाँ करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । यिनै कृषि फार्मबाट वर्षमा रु ७० करोडभन्दा बढीको कारोबार हुने गरेको थपलिया बताउँछन् । पन्ध्र वर्षअघि एक करोडबाट सुरु भएको उनको कृषि कर्मको यात्रा अहिलेको मूल्याङ्कनमा कम्तीमा ४५ करोड रुपैयाँ बराबरमा उक्लिएको छ । त्यसमा २० करोड रुपैयाँ जति बैंकको ऋण पनि रहेको उनी बताउँछन् । सन्ताउन्न वर्षीय थपलियाको यो फार्म १५ वर्षे यात्राको क्रममा नै नमूना बनेको छ । यसको अध्ययनका लागि स्वदेश तथा विदेशबाट पनि मानिस आउने गरेका छन् । उनको पशुपन्छी पालनलाई जर्मनीको पशु सेवासम्बन्धी संस्थाले एक सफल कृषक र सफल फार्म भनी संसारका पशुपालकको साइटमा राखेको छ । त्यसको अध्ययन गर्ने र थप बुझ्न उनको फार्ममा आउने विदेशी पनि थपिँदैछन् । ‘सबैको प्रश्न हुन्छ- काम गर्ने वातावरण कतिको छ ? बजारको सुनिश्चितता के छ ?’ थपलिया भन्छन्, ‘यो सबै नकारात्मक बजारको उपज हो । किनभने हामी जताततै सुन्छौँ कि अहिले देशमा गरिखाने वातावरण नै छैन । तर मलाई त्यस्तो छैन । मैले त्यस्ता ठूला चुनौतीको सामना गर्नुपरेको छैन ।’ उनको यो आत्मबल नै व्यावसायिक सफलताको जग हो । मानिस आफूले काम थालिहाल्न डराउने र सुरुमै वातावरण नभएको देख्ने गरेको बताउने थपलियाको प्रश्न छ- ‘उद्यम नै सुरु नगरी उद्योगी या व्यवसायी कसरी बन्ने ? कामै नथाली सफल कसरी हुने ?’ सफलताको सबैभन्दा प्रभावकारी सूत्र मेहनत, स्पष्ट ‘भिजन’ र विश्वास हो भन्छन् थपलिया । पछिल्लो समय उनको कुखुरापालनबाट स्वदेश मात्र होइन विदेशीले पनि राम्रोसँग सिकेका छन् । ब्रोइलर कुखुरा पालनबाट आम्दानी धेरै भए पनि सबै सफल हुँदैनन्, कुखुराको मृत्युदर तीन/चार प्रतिशतसम्म हुने गर्दछ । उनको फार्ममा मृत्युदर त्यस्तै एक प्रतिशत छ । उनले हरेक दुई महिनामा एक लट कुखुरा बजारमा पठाउँछन् । वर्षमा छ लटसम्म कुखुरा उत्पादन गर्ने गरेका छन् । अहिलेका ३० हजारको बुकिङ भइसकेको छ अर्काे लटको तयारी सुरु भएको छ । बजारमा अहिले बुङ्गुरको मासु अभाव छ । तर वर्षमा केही लाख कमाइका लागि नेपालका लाखौँलाख युवा खाडी पसेका छन् । मानिसले पाँच/सात लाख रुपैयाँबाटै बङ्गुरपालन थाल्ने हो भने यहीँ राम्रो कमाइ छ । दसैँ आयो खसीको आयात पहिलेभन्दा झन् बढेका समाचार आउँछन् । तिहारमा फूल या भाइमसलालगायतका सामग्रीका लागि विदेशमै भर पर्नु परिरहेको छ । यसको शूक्ष्म अध्ययन गरेर देशभित्रै काम गर्ने वातावरणका लागि सरकारले युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ भन्छन् थपलिया । उनी भन्छन्, ‘डाँडापाखा खाली छन्, खेतबारी बाँझै छन् । तर हामी खाडीबाट आएको रेमिट्यान्सबाट अन्न निर्यात गर्छौं, आखिर के अर्थ भयो त ?’ सरकारले कृषिमा दिएको अनुदान वास्तविक किसानले नपाएको उनको अनुभव छ । सरकारले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम नल्याउँदासम्म कृषि क्रान्ति सम्भव नभएको उनको बुझाइ छ । रासस

१ करोडभन्दा बढी मूल्य पर्ने यी सुविधा सम्पन्न गाडी, क्यास ब्याकदेखि बीमासम्मको सुविधा

काठमाडौं । भृकुटीमण्डपमा गत भदौ २६ गतेबाट सञ्चालनमा आएको ‘नाडा अटो शो–२०२३’ रौनक बेग्लै छ । प्रदर्शनीमा अवलोकन गर्न आएका अवलोकनकर्तालाई गाडीको बारेमा बुझाउन कम्पनीलाई भ्याइनभ्याई छ । अटो शो चौथो दिन आज पनि अवलोकनकर्ताको उपस्थिति बाक्लो देखिन्छ । गाडी प्रदर्शनीले मात्र नभई गाडीको मूल्यले पनि शोलाई थप आकर्षित बनाएको छ । शोमा दर्जनौं पेट्रोल र ईभीबाट चल्ने गाडीहरू राखिएका छन् । लामो समयपछि भएको उक्त अटो शो गाडी किन्न चाहनेहरूको लागि अवसर पनि हो । शोमा लाखदेखि करोडौं मूल्य पर्नेसम्म गाडीहरू उपलब्ध छन् । गाडी अनुसारका विशेषता र आधुनि प्रविधिका गाडी हेर्न लागि भए पनि अवलोकनकर्ता शोमा पुग्ने गरेका छन् । प्राय जसो कम्पनीले शोमा निश्चित गाडी राखेका छन् । अहिले शोमा न्यूनतम १७ लाख रुपैयाँदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गाडी शोमा राखिएका छन् । अटो शोमा यी गाडीहरुमा क्यास ब्याकदेखि बीमाको सुविधा दिएको छ । निसानको नवरा  निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले अटो शोमा विभिन्न मोडलका गाडीहरू राखेको छ । केही गाडी शोमै उपलब्ध छन् भने केही शोरुममा छन् । निसानका नेपाली बजारमा धेरै मोडलका गाडी उपलब्ध छन् । जसमध्ये एक्स–ट्रेल मोडलका दुई वटा भेरियन्टका गाडीको मूल्य करोड भन्दा बढी तोकिएको छ । त्यसमध्ये कम्पनीले एक्स–ट्रेलको ५ सिटर भेरियन्टको गाडीको मूल्य एक करोड ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एक्स–ट्रेलकै ७ सिटर भएको १९९७ सीसीको गाडीको मूल्य एक करोड ५४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले निसारको नवरा एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १५ लाख रुपैयाँ तोकेको छ । २४८८ सीसीको उक्त गाडीमा आधुनिक विशेषता रहेको कम्पनीले बताएको छ । नवरा एटीको भेरियन्ट गाडीको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकेको छ । महिन्द्राको स्कोर्पियो र एक्सयुभीको मूल्य एक करोड नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि आफ्ना गाडीहरू नाडा अटो शोमा राखेको छ । अटो शोमा कम्पनीले गाडीका सबै मोडल नराखेता पनि टप मोडल भने राखेको छ । महिन्द्राका केही गाडीको मूल्य एक करोडभन्दा बढी छ । महिन्द्राको एक्सयुभी ७०० एएक्स७एल गाडीका दुई भेरियन्ट छन् । कम्पनीले एमटी पीईटी एफडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड ५ लाख राखेको छ । यस्तै, एटी पीईटी एफडब्लुडी भेरियन्टको गाडी मूल्य एक करोड १० लाख रुपैयाँ राखेको छ । इन्धनबाट चल्ने यी दुवै गाडी १९९७ सीसीका छन् भने ७ जनाले एक पटकमा यात्रा गर्न सकिन्छ । नेपाली बजारमा महिन्द्रा स्कोर्पियोका दुइटा भेरियन्टका गाडीको मूल्य एक करोडभन्दा बढी पर्छ । जेटएट फोरडब्ल्यूडी एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १४ लाख रुपैयाँ छ । अर्को भेरियन्ट जेट८ फोर डब्लुडी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ तोकिएको छ । यो गाडी पनि सात सिटको हो । जीडब्लूएमका हवलको मूल्य पनि एक करोड नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडीको आधिकारिक बिक्रेता भी.जी इम्पेक्सले पनि एउटा मोडलको गाडीको मूल्य करोड बढी राखेको छ । हवल मोडलको एटी एडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड १६ लाख ९५ हजार रुपैयाँ रहेको छ । कियाको स्पोर्टेज पनि करोडमा कियाको गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले स्पोर्टेज मोडलको गाडी एक करोड बढी मूल्यमा उपलब्ध गराउँदै आएको छ । उक्त मोलडको २.० एल भेरियन्टको गाडीको मूल्य एक करोड २५ लाख ९० हजार रुपैयाँ तोकेको छ । सिट्रोनको मूल्य १ करोड सिट्रोनको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले सिट्रोनको सिट्रोन सी ५ एयरक्रोस मोडलको गाडीको मूल्य १ करोड ३५ लाख रुपैयाँ राखेको छ । यस गाडीमा अन्य गाडीमा पनि नपाइने विभिन्न सुविधाहरु छन् । फोर्डको दुई मोडलको मूल्य करोड माथि फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोवाइल्सका दुई मोडलका विद्युतीय गाडीको मूल्य करोड माथि पर्छ । फोर्डको गाडीको रेंजर मोडलको दुई वटा भेरियन्टमा उपलब्ध छन् । एक्सएल एटीभेरियन्टको मूल्य एक करोड १० लाख छ भने एक्सएलटी एटी को मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । यस्तै, नेक्स्ट जीईएन फोर्ड रेंजर मोडलको गाडी पनि दुइटा भेरियन्टमा उपलब्ध छन् । जसमध्ये एक्सएल एटीको मूल्य १ करोड १० लाख ९० हजार, एक्सएलटी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ छ । हुन्डाई आइकोनिक हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेताले लक्ष्मी इन्टर कन्टिनेन्टलले अटो शोमा विभिन्न कम्पनीहरुको गाडी राखेको छ । जसमध्ये हुन्डाई आइकोनिक-५ धेरैको आकर्षण बनेको छ । जसको मूल्य कम्पनीले एक करोड २९ लाख ६ हजार रुपैयाँ तोकेको छ । यो ईभी गाडी हो । यस्तै, टक्सनमोडलको तीन वटा मोडलको मूल्य पनि डेढ करोडको बिचमा रहेको छ । टक्सन मोडलको जीएलएक्स-२डब्ल्यूडी-एटी भेरियन्टको १९९९ सीसीको गाडीको मूल्य एक करोड ३७ लाख ९६ हजार रुपैयाँ थियो । जुन गाडी पेट्रोलबाट चल्छ । हुन्डाई यीभन्दा बढी मूल्य पर्ने गाडी पनि उपलब्ध छन् ।

‘हरियाली देखेका लगानीकर्ता रातो हुने बित्तिकै तर्सिन्छन्, १२ करोडको सीमा बढी भयो’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबान) का उप कार्यकारी निर्देशक नारायण शर्मा बजार राताम्मे हुँदा लगानीकर्ता आत्तिएको बताउँछन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘कोरोना महामारीमा सेयर बजारमा हरियाली छायो, तर त्यसपछि लगातार बजार राताम्मे हुँदा लगानीकर्ता आत्तिएका देखिन्छन्,’ उनले भने । उनका अनुसार पुँजी बजारमा बागमती प्रदेशबाट सबैभन्दा बढी लगानीकर्ता आवद्ध रहेका छन् । पुँजीबजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेल लगातार सेयर बजार घट्दा सेयरको संख्या २७ प्रतिशतले घटेको र पुँजी बजारमा प्रतिफल औसत ११ प्रतिशत मात्रै रहेको बताउँछन् । ‘पुँजी बजार घट्नु हुँदैन भन्नु ज्ञानको अभाव हो, नीतिगत अस्थिरताले बजार घटबढ हुने गरेको छ, नीतिगत अस्थिरता नै लगानीकर्ताको मुख्य विरोध हो,’ उनले थपे – ‘संस्थागत लगानीकर्तालाई आईपीओ र नेटवर्थ नकारात्मक भएका कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिँदा सेयर बजार भोलाटाइल भयो, १२ करोडको सीमा व्यक्तिगत लगानीकर्ताको लागि कम होइन बढी नै हो, तर संस्थागत लगानीकर्ताको लागि कम हो, यसलाई हटाउन पर्छ ।’ कार्यक्रममा बोल्दै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष धर्म सापकोटाले सेबोन अटोमेसन (स्वायत्त) निकाय हुनुपर्ने र अटोमेसन बनाउन सबै निकाय एक हुनुपर्ने भनाई राखे । त्यस्तै, आईपीओका लागि बुक बिल्डिङ बिधि सबैभन्दा राम्रो औजार रहेको भन्दै उनले यसलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्ने सुझाव दिए । उनका अनुसार सेटलमेन्ट ग्यारेन्टी फण्ड पनि छिट्टै कार्यान्वयनमा ल्याउन आवश्यक देखिन्छ । त्यस्तै, पुँजी बजारमा हुने कारोबारले अर्थतन्त्र चलायमान गर्न भूमिका खेलिरहेको धितोपत्र ब्रोकर एशोसिएशनका महासचिव कृष्ण गिरी बताउँछन् । ब्रोकरहरुलाई दीर्घकालसम्म अस्तित्व राख्न सकस रहेको बताउँदै उनले नयाँ ब्रोकर कम्पनीलाई सञ्चालन गर्न गाह्रो भैरहेको समेत जानकारी गराए । ‘सेयर बजारमा एक अर्ब कारोबार हुँदा अहिलेको कमिसन अनुसार ब्रोकर कम्पनी घाटामा चल्नु परेको छ, दैनिक ५ अर्ब कारोबार हुँदा मात्रै ब्रोकर कम्पनी नाफा गर्न सक्ने छन्,’ उनले भने- ‘तरलता सिर्जना गर्न पुँजी बजारको मुख्य भूमिका रहेको र शरीरको मुटुजस्तै अर्थतन्त्रको मुख्य आधार भनेको पुँजी बजार हो ।’ नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले पुँजी बजारमा सूचीकृत कम्पनी नडुब्दासम्म कम्पनीहरुको व्यवसाय नखस्किने बताए । ‘हालसम्म पुँजी बजारमा सूचीकृत कम्पनी कुनै पनि डुबेका छैनन्, त्यसैले कुनै पनि कम्पनीको व्यवसाय घटेको मानिदैन, सूचीकृत कम्पनी कुनै डुबेपछि मात्रै व्यवसाय खस्किएको भन्न मिल्छ,’ उनले भने । साथै, ब्रोकर कमिशन पुनरावलोकन गर्ने तयारी भैरहेको उनले जानकारी गराए । ‘कमिशन कति घट्छ भन्ने अहिले नै एकिन भएको छैन तर ब्रोकर कम्पनीको दीर्घकालीन अवस्था हेरेर नै पुनरावलोकन गरिने छ,’ उनले थपे ।