फूलको व्यापारमा रम्दै स्थानीय तह, आत्मनिर्भर बन्दै कृषक

काठमाडौं । विगतका वर्षहरुमा धरानले छिमेकी देश भारतबाट फूल ल्याएर तिहारको गर्जो टार्थ्याे । वार्षिकरूपमा २ करोड रुपैयाँ बढीको फूलको उपभोग गर्ने धरान यसपालि भने आफैंले रोपेको फूल घाँटीमा पहिराउने सोचमा छ । त्यसको अभियान थालेका हुन् धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले । उनले धरानका विभिन्न ठाउँमा फूल रोप्ने अभियान नै सुरु गरे । अहिले धरानका अधिकांश ठाउँ फूलले ढकमम्क छन् । खासगरी मेयर राईले निशाने डाँडाको सार्वजनिक जग्गामा फूल रोपेका थिए । उनले धरान नगरवासीलाई यसपटक आफैंले रोपेको फूल प्रयोग गर्न पनि आव्हान गरेका थिए । यतिसम्म कि उनले धरानमा फूलको आयातसमेत रोक्ने उद्घोष गरेका थिए । धरान उपमहानगरका उपप्रमुख अईन्द्र विक्रम बेघा अहिले धरानका भिर पाखा फूलले ढकमक्क भएको बताउँछन् । ‘भिर पाखामा फूल रोपेका थियौं, हामीले रोपेको फूलले धरानभित्र उपयोग गर्ने पुग्छ कि भन्ने विश्वास छ, तिहार निजिकिँदै गर्दा फूलले थप रौनक थपको छ,’ उनले खुसी हुँदै भने । यस्तै, तिहारमा बढी फूल उपभोग गर्ने सहर धनगढी पनि हो । धनगढी उपमहानगरपालिकाले पनि आफैंले फूल खेती गरेको छ । उपमहानगरले १५ कट्ठा जमिनमा ‘प्रदर्शनी प्लट’ भन्दै फूल खेती गरेको छ । उक्त जमिनमा अनुमानित २० क्विन्टल फूल फुल्नसक्ने धनगढी उपमहानगरका कृषि अधिकृत लोकेन्द्र सिंह बताउँछन् । अधिकृत सिंहका अनुसार उपमहानगरको राजस्व समितिले उत्पादन भएको फूल बिक्री गर्ने निर्णय गरेको छ । ‘उपमहानगरले बेच्नकै लागि भनेर फूलको उत्पादन गरेको भने होइन, कसरी उत्पादन गर्न सकिन्छ भनेर किसानहरूलाई डेमो देखाउन उत्पादन गरेको हो , तर अहिले राम्रो उत्पादन भएपछि बेच्ने निर्णय भएको छ, समितिले फूल बिक्री गर्ने पनि निर्णय गरेको छ,’ उनले भने । उपमहानगरले स्थानीय तथा हाइब्रिड जातका फूलहरू रोपेको छ । धनगढी उपमहानगरभित्र व्यवसायिक रूपमा अहिले २६ जनाले फूल खेती गरेको पनि सिंहले बताए । ‘फूल खेती गर्ने संख्या धेरै होलान् । तर, २६ जना कृषकले करिब ८०/८५ कट्ठा जमिनमा विभिन्न प्रकारका फूल रोप्नुभएको छ,’ उनले भने । यस वर्ष उपमहानगरभित्र मात्र करिब २० टन फूल उत्पादन हुने अनुमान गरिएको सिंहको भनाइ छ । उपमहानगरले कृषकलाई फूल रोप्ने, फूलबाट सजावटका सामाग्री बनाउने, माला डेकुरेसनको तालिम पनि दिँदै आएको छ । उपमहानगरले नेपाल फ्लोरिकल्चर एसोसिएसनकासँग समन्वय गरेर बढी उत्पादन भएको फूल सो एसोसिएसनमार्फत् बिक्री गर्ने तयारी पनि गरेको छ । धनगढीमा यस पटक बाहिरबाट फूल आयात नगरेर यतैको फूलले धान्ने उनको भनाइ छ । तिहारको अवधिमा धनगढीभित्र उत्पादन भएको फूल धनगढीमै खपत हुने पनि सिंहले बताए । ‘एक बोट फूल उत्पादन गर्नको लागि कृषकको बढीमा ३० रुपैयाँसम्म लगानी हुन्छ, एउटा बोटबाट दुई मालामात्र फूल उत्पादन भयो भने करिब दुई सय रुपैयाँ बिक्री हुन्छ । एउटा बोटबाट कृषकलाई सय डेढ सय रुपैयाँ मुनाफा आउँछ,’ उनले भने । घोराही उपमहानगरका प्रवक्ता राममणि पाण्डेले उपमहानगरभित्र फूल खेती प्रतिवर्ष विस्तार भइरहेको बताए । उनका अनुसार कृषकहरूलाई फूल खेती प्रोत्साहन गर्ने काम उपमहानगरले गरिरहेको पनि बताए । ‘यहाँका अधिकांश कृषकले आफ्नो लागि फूल आफै उत्पादन गरेका छन्, केही कृषकले व्यावसायिकरूपमा नै फूल खेती गरेका छन्, व्यावसायिकरूपमा फूल खेती गर्ने कृषकहरूले एक डेढ लाख रुपैयाँको फूल बिक्री गर्ने अनुमान गरेका छौं,’ उनले भने । घोराही उपमहानगरले तिहारमा प्लास्टिक फूलको आयात तथा बेचबिखनमा रोक लगाउने उनले बताए । उनले कृषकलाई फूल रोप्नका लागि उपमहानगरले बिउ, बिरुवा तथा दल दिएको पनि बताए । उपत्यका आसपासका जिल्लाहरूमा पनि फूलको बढी मात्रामा व्यावसायिक खेती हुने गरेको पाइन्छ । यस्तै, तनहुँको आँबूखैरेनी गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले गाउँमा पुग्ने फूल गाउँमै उत्पादन भएको बताउँदै पालिकामा बाहिरबाट आयात गरेर ल्याउनु नपर्ने बताइन् । गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीहरूले पढ्दै कमाउँदै भन्ने उद्देश्यसहित फूल खेती गरेको पनि अर्यालले बताइन् । अर्यालका अनुसार धेरै विद्यालयका विद्यार्थीहरूले यसपटक पर्याप्त फूलको उत्पादन गरेका छन् । ‘यहाँका आमा समूहहरू र विद्यार्थीहरूले पनि फूल पनि उत्पादन गरेका छन्, यी फूलले पनि तिहारलाई विशेष बनाउने छ,’ उनले भनिन् । यसको अगुवाई पालिकाले गरेको उनको भनाइ छ । तिहार नजिकिएसँगै किसानहरूलाई फूल टिप्न तथा आकर्षक माला बनाई बजारमा पठाउन भ्याइनभ्याई हुन थालेको छ । फूलको मूल्य २७ प्रतिशतले बढ्ने यस वर्ष विगतका वर्षको तुलनामा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको भएको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले फूलको मूल्य २७ प्रतिशतले बढ्ने बताए । ‘गत वर्ष १०० रुपैयाँको हाराहारीमा सयपत्री मालाको कारोबार भएको थियो । यो वर्ष एक सय २५ देखि एक सय ५० रुपैयाँसम्म पर्ने देखिएको छ,’ उनले भने । अध्यक्ष तामाङले मखमली फूल यही उत्पादन हुने भएकाले यसको मूल्य नबढ्ने पनि बताए । ‘तिहारको लागि यसपटक भारतबाट १५/२० प्रतिशत फूल आउँदैछ, हामीलाई त्यतिनै आवश्यक छ,‘ उनले भने, ‘नाफा कमाउने उद्देश्यले व्यापारीहरुले भारतबाट फूल धेरै ल्याएको र अवैधरूपमा फूल आएको भन्ने चर्चा छ, यसका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने छौं,’ उनले भने । भारतबाट आवश्यकताभन्दा बढी फूल आयात भयो भने यहाँको फूल बिक्री नहुने सम्भावना रहेको बताउँदै तामाङले भारतबाट बढी आयात भयो भने फूलको मूल्य सस्तो हुन सक्ने पनि बताए । तामाङका अनुसार तिहार अवधिभरि ३५ लाख मालाको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । नेपालमा हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएको बताइएको छ ।

तीन वटा नियामकलाई लेखा समितिको प्रश्नै प्रश्न : प्रिमियममा आईपीओ निकाल्दा असर त गर्दैन ?

काठमाडौं । सार्वजनिक लेखा समितिले आईपीओ निष्काशन प्रक्रियामा प्रश्न उठेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई स्पष्टिकरण सोधेको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रियाका विषयमा उजुरी परेपछि समितिले सेबोन, प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालयलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । ‘कम्पनीको आईपीओ निष्काशन प्रक्रियाका बारेमा उजुरी परेको छ, सार्वजनिक रुपमा प्रश्न समेत उठेका छन्, त्यसैले सेबोन र बीमा प्राधिकरणलाई केही प्रश्नसहित ७ दिनभित्र स्पष्टिकरण गर्न भनेका हौं,’ विकासन्युजसँग भने । उनका अनुसार आईपीओ निष्काशन प्रक्रियाले पार्ने प्रभाव, सर्वसाधारणलाई पर्ने असर, मुलुकको राजस्वमा पर्ने असर, मूल्याङ्कनका विधि के हुन्, कानुन आकर्षित हुन्छन् की हुँदैन भन्ने विषयमा समितिले लिखित जवाफ माग गरेको हो । पछिल्लो समय विभिन्न कम्पनीहरुले धमाधम प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न थालेपछि समितिले पत्राचार मात्रै गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए । उनका अनुसार समितिमा प्राप्त उजुरीका आधारमा आईपीओ निष्काशन प्रक्रियामा भएका गतिविधि र कागजात उपलब्ध गराउन निर्देशन दिइएको हो । ‘सार्वजनिक महत्वका विषयमा समितिमा उजुरी पर्छन्, प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको विषयमा उजुरी प्राप्त भएको थियो, त्यसमा के कसो भएको हो भनेर सेबोन, बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको हो,’ उनले भने । तर, आईपीओ निष्काशन प्रक्रिया रोक्न निर्देशन नदिएको सचिव गिरी बताउँछन् । प्राप्त भएका कागजातका आधारमा समितिले थप अध्ययन गरेर निर्णय गर्ने उनको भनाइ छ । ‘तीनै संस्थाले पठाएको प्रमाणका आधारमा समितिले अध्ययन गर्छ, प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया कानुनसम्मत् छ की छैन हेर्छ, सबै ठिक छ भने प्रक्रिया अघि बढ्छ, यदि कानुनसम्मत् छैन भने किन नभएको भनेर समितिले थप निर्णय लिन्छ,’ उनले भने ।

सहकारी डुबाएका पाठक अन्ततः राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षबाट पनि हटाइए

काठमाडौं । अन्ततः राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष बलराम पाठकलाई पदमुक्त गरिएको छ । सहकारीका बचतकर्ताको बचत अपचलनको आरोप लागेका उनलाई सरकारी बैंकको अध्यक्ष बनाएर बैंकमा पनि आफुखुसी निर्णय गरेकाे विषयमा विकासन्युजले बारम्बार प्रश्न उठाएपछि उनी अन्ततः बैंकको अध्यक्षबाट हटाइएका हुन् । बैंकका स्रोतका अनुसार सञ्चार माध्यम तथा सार्वजनिक रुपमा उनीमाथि प्रश्न उठेपछि बैंकको सञ्चालक समितको बैठकले उनलाई अध्यक्षको रुपमा हटाइएको हो । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई हटाइएको बैंक स्रोतको भनाइ छ । उनलाई बैंकको अध्यक्षबाट हटाएर सञ्चालक मात्रै बनाइएको छ भने बैंकको अध्यक्ष बाबुराम सुवेदी बनेका हुन् । उनले बैंकमा पनि आफुखुसी निर्णय गर्ने गरेको पनि बैंक स्रोतको दावी छ । उनी ललितपुरमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् । उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालेका थिए । उनले हाल सहकारीमा विकास थापालाई कार्यवाहक अध्यक्ष बनाएका छन् । सहकारीका बचतकर्ताको रकम घरजग्गामा लगानी गरेर उनले सहकारीका लगानीकर्ताको रकम दुरुपयोग गरेका छन् । अहिले घरजग्गा क्षेत्रमा एक किसिमको मन्दी सिर्जना हुँदा सो सहकारीको रकम घरजग्गामा डुबेको हो । उनी विरुद्द विभिन्न ठाउँमा बचतकर्ताले उजुरी दिएका छन् । सहकारीका बचतकर्ताले बचत फिर्ताका लागि पहल गरिदिन विभिन्न निकायहरुमा धाइरहेका छन् । सम्बन्धित सामग्री:  सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ  संकटमा परेको गतिशील सहकारीसँग १० जिल्लाको ९२ ठाउँमा जग्गा, सञ्चालकहरु नै अवैध !  गतिशील सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग, बचतकर्ताले एक वर्षदेखि पाएनन् पैसा   गतिशील सहकारीले बचतकर्ताको ५ हजार पनि फिर्ता गर्न सकेन, ८६ रोपनी जग्गा बेच्दै   सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व