विदेशी सीईओहरूलाई अर्थमन्त्रीको आग्रह : नेपालको हाइड्रोपावरमा लगानी गर्नुस्
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अर्थमन्त्री डा.महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने बताएका हुन् । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको उनले बताए । साथै, कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताए । ‘ब्याजदर उच्च हुँदा मात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भनेपनि प्रभाव पार्छ, दीर्घकालसम्म बलियो हुने गरी विकास हुनु पर्छ,’ उनले भने । जोखिम निर्वाह वित्तीय स्थायित्वका लागि बैंकिङ क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । साथै, वित्तीय क्षेत्रले एउटै क्षेत्रमा लगानी नगरिकन विविधकरण गर्नु पर्ने उनले बताए । ‘विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिन्छ, सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको छ,’ उनले भने, ‘डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्त्वपूर्ण विषय हो, विदेशी लगानीकर्ताका लागि जलविद्युत महत्त्वपूर्ण क्षेत्र हो ।’
नेपाली बैंकले ‘इकोनोमी रिकभरी’मा प्रशंसनीय काम गरेका छन् : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको भन्दै अझै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३९औं सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले सो बताएका हुन् । यतिबेला विश्व बजारका बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखिएको उनले बताए । कोरोना भाइरस महामारी देखि नै विश्वव्यापी रुपमा समस्या देखिएको भन्दै उनले बैंकिङ व्यवसायले अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने बताए । पछिल्लो समयमा मुद्रास्फिति बढीरहेको र विभिन्न मुलुकहरुले महँगीको सामना गरेको उनको भनाइ छ । उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेको भन्दै गभर्नर अधिकारीले एशियन बैंकहरुले सो विषयमा सोच्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको गभर्नर अधिकारीले बताए । रसिया युक्रेन युद्धको कारण नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एशियामा वित्तीय पहुँच बढ्दै गएको उनले बताए । सबैले सहकार्य गरेर समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ ।
विश्व बजारमा घट्दैछ ब्याज, नेपाली बैंकले पनि घटाउन थाले प्रिमियम
काठमाडौं । पछिल्लो एक/दुई वर्षदेखि सर्वसाधारण, उद्योगी व्यवसायी तथा सेयर बजारका लगानीकर्ताका लागि सबैभन्दा टाउको दुखाइको विषय बनिरहेको छ बैंकको ब्याज । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासपछि बैंकिङ प्रणालीमा तरलताको अभाव भयो र वित्तीय संस्थाले धमाधम ब्याज बढाउन थाले । सोही अवस्था नेपाली बैंकिङ क्षेत्रमा मात्रै होइन, विश्व बजारमा पनि देखा पर्यो । नेपाली बैंक तथा वित्तीय संस्थाहरूले बैंकमा तरलता अभावको खाडल पुर्न बचतका विभिन्न स्कीमहरू सार्वजनिक गरे । बैंकमा पैसा जम्मा गर्दा २० गुणासम्म फिर्ता पाइने महत्वाकांक्षी स्कीमहरू नेपाली बैंकहरूले ल्याए । त्यसले बैंकिङ प्रणलीमा एक किसिमको सहज अवस्था सिर्जना भएपनि उद्योगी व्यवसायीले भने नयाँ व्यवसाय सुरू गर्न तथा व्यवसाय विस्तार गर्नका लागि ऋण पाउन सकस भोग्नु पर्यो । पाए पनि महँगो ब्याज तिर्नु पर्ने बाध्यता अहिलेसम्म पनि छ । परिणामस्वरूप नेपाली उद्योगी व्यवसायीले बैंकको ब्याजदरको विरोधमा सडकमा उत्रिनेदेखि शक्ति केन्द्रमा धाउनेसम्मका गतिविधिहरू गर्न भ्याए । अहिले पनि त्यो शिलशिला कायमै छ । सार्वजनिक मञ्चहरूबाट बैंकरको आलोचना गर्ने व्यवसायीहरूको संख्या पनि कम छैन । तर, खुला बजारले निर्धारण गर्ने ब्याजदरलाई न बैंकरले चाहेर घटाउन/बढाउन सक्थे नत शक्ति केन्द्रले दिएको निर्देशनका आधारमा घटबढ हुन सक्थ्यो । त्यसको एउटा उदाहरण हो, अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको दोहोरी । गत शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको संस्थाको १५औं स्थापना दिवसमा प्रमुख अतिथि समेत रहेका अर्थमन्त्री डा. महतले सबै बैंकरले ब्याज घटाएर आफुलाई सहयोग गरेपनि बैंकर्स संघका अध्यक्ष समेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले भने ब्याज बढाएर असहयोग गरेको टिप्पणी गरे । उनले कार्यक्रममा भने, ‘यो अवस्थामा नाफाभन्दा पनि सबैले एक अर्कालाई सहयोग गरेर अगाडि बढ्ने हो, बैंकले पनि ब्याज कम गरेर सहयोग गर्नु पर्छ, यो महिना धेरै बैंकले ब्याज घटाए पनि । तर, बैंकर्स संघकै अध्यक्षज्यूले ब्याज बढाउनु भयो ।’ अर्थमन्त्रीको सो टिप्पणीपछि पंक्तिकारले तिनै बैंकर्स संघका अध्यक्ष केसीसँग तपाईंले बैंकको ब्याज बढाएर अर्थमन्त्रीलाई असहयोग गर्नु भएको हो ? भन्ने प्रश्न गरे । उनले जवाफमा भने, ‘यसलाई असयोगका रूपमा लिनु हुँदैन, खुला अर्थतन्त्रमा ब्याज घटबढ हुन्छ नै, पैसा चाहेको बैंकले ब्याज बढाउँछन् नचाहेकोले घटाउँछन्, हामीले पहिले घटाएका थियौं, यो महिना बढायौैं, यसलाई अन्यथा लिनु हुँदैन, ब्याजदर अझै घट्न सक्छ ।’ विश्व बजारमा घट्ने ट्रेण्डमा छ ब्याज पछिल्लो एक वर्षको अवधिमा विश्वका विभिन्न देशको बैंकको ब्याज घट्ने अवस्थामा देखिन्छ । विभिन्न देशका केन्द्रिय बैंकले लिएको नीतिका आधारमा त्यहाँको ब्याजदर निर्धारण भइरहेको छ । कतिपय देशमा मौद्रिक नीतिको कडाइले ब्याज घट्न सकिरहेको छैन भने कतिपय देशमा नियमित ब्याजदर घटिरहेको छ । छिमेकी देश चीन र भारतमा पनि ब्याजदर घट्दो अवस्थामा छ । एक वर्षअघि ३.६५ प्रतिशत रहेको चीनको ब्याज अक्टुबरमा ३.४५ प्रतिशतमा झरेको छ । लामो समयसम्म ३.६५ प्रतिशत रहेको चीनको ब्याज अहिले ३.५५ प्रतिशत हुँदै ३.४५ मा झरेको छ । अब चीनमा बैंकको ब्याजदर घट्दै जाने संकेत देखिएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा परिचित चीनको केन्द्रीय बैंकले आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरूप ब्याजदर घटाउने नीति अघि सारेको हो । यस्तै, छिमेकी देश भारतको ब्याज पनि विगत एक वर्षदेखि स्थीर छ । सन् २०२२ को डिसेम्बरमा औसत ५.९ प्रतिशत ब्याजदर रहेको भारतीय बैंकको त्यसपछि ६.३ र विगत केही महिनायता ६.५ प्रतिशत कायम भएको छ । यो एक वर्षको अवधिमा भारतीय बैंकहरूको ब्याजदर औसत ६.५ प्रतिशत छ । भारतको केन्द्रिय बैंकले पनि ब्याज बढाउने नीति लिएको छैन । भारतीय सञ्चार माध्यमले पनि अब बैंकको ब्याज घट्दै जाने समाचार सम्प्रेषण गरिरहेका छन् । यस्तै, विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकाले पनि ब्याजदर स्थीर राख्ने प्रयास गरिरहेको छ । एक वर्षको अवधिमा अमेरिकमा एक प्रतिशत बिन्दु ब्याजदर मात्रै परिवर्तन भएको देखिन्छ । नोभेम्बरमा अमेरिकाको ब्याजदर औसत ५.५ प्रतिशत कायम छ । यस्तै, जापानले पनि ब्याज स्थीर राख्ने प्रयत्न गरिरहेको छ । एक वर्षको अवधिमा जापानको ब्याजदर -०.१ प्रतिशतमै स्थीर छ भने पाकिस्तानी बैंकहरूको ब्याज पनि पछिल्लो चार महिनादेखि परिवर्तन भएको छैन । पाकिस्तानको ब्याजदर औसत २२ प्रतिशतमै रोकिएको छ । एक वर्षअघि ६.९२ प्रतिशत रहेको भुटानको ब्याजदर हाल ६.८५ प्रतिशत र अष्ट्रेलियाको पछिल्लो पाँच महिनामा ४.१ प्रतिशतको हारहारीमा छ । यी बैंकले पनि ब्याज घटाउने नीति अघि सारेका छन् । यस्तै, विश्वमै बढी ब्याजदर हुने देशमध्येको अर्जेन्टिनामा भने ब्याज बढिरहेको देखिन्छ । एक वर्षअघि औसत ७५ प्रतिशत ब्याज रहेको अर्जेन्टिनामा अक्टुबरसम्म १३० प्रतिशतसम्म पुगेको छ । यस्तै, यूकेको ब्याजदर ५.३ प्रतिशत कायम छ भने युक्रेनको २० प्रतिशत छ । युक्रेनमा पनि ब्याजदर घटिरहेको तथ्यांकले देखाउँछ । भेनेजुएलामा एक वर्षअघि ५९ प्रतिशत रहेको बचतको ब्याज हाल ५५ प्रतिशतमा झरेको छ भने जिम्बाबे एक वर्षअघि २०० प्रतिशत रहेको ब्याज अक्टुबरसम्म १४० प्रतिशतमा झरेको छ । विश्वका अधिकांश देशहरूलाई कोरोना भाइरसले ठूलो समस्या सिर्जना गरेपछि अर्थतन्त्रमा नकारात्मक असर परेको छ भने कोरोनापछिको रूस–युक्रेनको युद्घले पनि अर्थतन्त्रमा धक्का लाग्यो । त्यसले पनि विभिन्न देशको मुद्रास्फीति र कर्जाको ब्याजदर बढ्दै गयो । तर, पछिल्लो केही महिनायता भने बैंकको ब्याजदर घट्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी पनि ब्याज घट्न सक्नेमा आशावादी देखिन्छन् । उनले पनि पछिल्लो समय अर्थतन्त्र केही सुधारको दिशामा गएको धारणा व्यक्त गरे । विश्व बजारमा पनि केही सुधारका संकेतहरू देखिन थालेका छन्, नेपाली बैंकमा पनि अहिले तरलता प्रयाप्त छ, रेमिट्यान्स बढ्दै गइरहेको छ, यसले अन्य सूचकमा सकारात्मक प्रभाव पार्छ, हामी नकारात्मक अवस्थामा छैनौं, विस्तारै सुधार हुँदै जाँदा बैंकको ब्याज पनि घट्दै जान सक्छ,’ उनले भने । यस्तै, उनले अर्थतन्त्र चलायमान बनाउनका लागि नयाँ तथा ठूला परियोजनाको निर्माणमा जुट्नु पर्ने धारणा राखे । ‘नयाँ परियोजनाहरू बढाउने र भएका परियोजनामा रकम परिचालन गरियो भने आर्थिक चलायमान हुन्छ, त्यसमा बैंकको लगानी पनि बढ्छ,’ गभर्नर अधिकारीले भने । उनका अनुसार अहिले नेपाली बैंकिङ क्षेत्रमा अहिलेको चुनौति भनेको ऋण र एसेटको गुणस्तरको हो । बैंकको खराब कर्जाले एक किसिमको चुनौति देखिएपनि विश्व बजारको तुलनामा नेपाली बैंकको खराब कर्जा सामान्य नै भएको उनको तर्क छ । । नेपाली बैंकले घटाउन थाले प्रिमियम विश्व बजारमा बैंकको ब्याज घट्ने ट्रेण्ड सुरू भएसँगै नेपाली बैंकमा पनि ब्याज घट्ने संकेत देखिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष केसीले पनि अब बैंकको ब्याज घट्ने धारणा राखेका छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका केसीले अब बैंकको ब्याज घट्दै जाने बताएका हुन् । ‘बैंकहरुको रिकभरी नहुँदा खराब कर्जा बढेको छ, गत वर्ष ७ अर्ब मात्रै प्रोभिजन गरेकोमा यस वर्ष १६ अर्ब गर्नु परेको छ, बैंकहरुले व्यवसाय पनि विस्तार गर्न सकेका छैनन्, विश्वव्यापी रूपमा बढेको उच्च ब्याजदर, बिजनेसमा देखिएको सुस्तता लगायत कारणले बैंकको बिजनेसमा पनि प्रभाव परेको हो, त्यसैले ब्याज बढेको हो, अब ब्याज घट्दै जान्छ, बैंकहरूले प्रिमियम पनि घटाउन थालिसके,’ उनले भने । उनका अनुसार बैंकको बचतको ब्याज घटेसँगै ऋणको पनि घट्छ । यस्तै, हिमालयन बैंकका सीईओ अशोक राणाले पनि बैंकको ब्याजदर घट्दै जाने बताए । यसअघि नियामकको नीतिले ब्याजदरमा प्रभाव पारेको भएपनि आगामी दिनमा ब्याज घट्दै जाने तर्क उनको छ । ‘अब ब्याजदर घट्ने देखिन्छ, यसअघि नियामकको नीतिले ब्याजदर केही माथि गएको थियो, आगामी दिनमा घट्न सक्ने हाम्रो अनुमान छ, अब बैंकहरूले सम्पूर्ण ध्यान ऋण असुलीमा दिन जरूरी छ,’ उनले भने । गत एक वर्षको तुलनामा नेपाली बैंकको औसत ब्याज १ प्रतिशत बिन्दुले घटेको छ । एक वर्षअघि औसत ८.५ प्रतिशत रहेको बैंकको ब्याज हाल ७.५ प्रतिशत छ । यो एक वर्षको अवधिमा ६ महिना ८.५ प्रतिशत कायम भएको ब्याज ६ महिनादेखि औसत ७.५ प्रतिशत हारहारी छ । ‘अर्थतन्त्र सुधारको गतिमा छ’ अर्थमन्त्री डा. प्रकाश शरण महत अर्थतन्त्र सुधारको गतिमा रहेको धारणा राख्छन् । उनले यसअघि बैंकको उच्च ब्याजदरको कारण उद्योगी व्यवसायीहरूले केही समस्याहरू भोग्नु परे पनि अहिले अहिले अर्थतन्त्र सुधारको दिशामा रहेको धारणा राखेका हुन् । ‘आर्थिक गतिविधि चलायमान हुन थालेका छन्, बजारमा आफुखुसी ब्याज निर्धारण गर्ने प्रविति छ, त्यसलाई हामीले ठाउँमा लाउनु पर्छ, आर्थिक गतिविधि र विकास निर्माणले अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्छ, राजश्व पनि गर्त वर्षको तुलनामा बढ्ने क्रममा छ, सबैमा आत्मविश्वास आवश्यक छ,’ उनले भने । उनले विश्वव्यापी रूपमा नै समस्या रहेको सुनाउँदै त्यसको केही असर नेपालमा पनि परेको तर्क गरे । उनले बैंक तथा वित्तीय संस्थालाई ब्याज घटाउन आग्रह गरेपनि नटरेको गुनासो गरे । अब भने अर्थतन्त्रले विस्तारै लय समात्ने उनको विश्वास छ ।