पर्यटक बढ्न थालेसँगै होटलहरूको नाफा बढ्यो, कुन होटलको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा होटलको नाफामा सुधार देखिएको छ । पछिल्लो समय पर्यटन क्षेत्रमा उत्साह छाएसँगै होटलहरुको नाफा पनि बढेको हो । पर्यटकीय क्षेत्र चलायमान र पर्यटक आगमन बढेका कारण नाफा बढ्न पुगेको होटल व्यवसायीहरुले बताएका छन् । साथै, अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा क्रमशः सुधार हुँदै गएको उनीहरुको भनाइ छ । हालसम्म सोल्टी होटल, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स र सिटी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तारागाँउ रिजेन्सी र कालिञ्चोक दर्शनले भने सार्वजनिक गर्न बाँकी छ । वित्तीय विवरण सार्वजनिक गरेका होटल कम्पनीहरुमध्ये ओरियण्टेल होटल्स र चन्द्रागिरी हिल्सको नाफा बढेको छ भने सोल्टीको सामान्य घटेको छ । सिटी होटलको नाफा ऋणात्मक रहेतापनि नोक्सानी रकम भने गत वर्षकोभन्दा घटाएको छ । चन्द्रागिरी हिल्सले असोज मसान्तसम्म २ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ६३.०७ प्रतिशत बढी नाफा गरेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.५९ प्रतिशत बढेर २० करोड ६१ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । साथै, कम्पनीको कुल आम्दानी १०.१९ प्रतिशत बढेर १७ करोड ९९ लाख रुपैयाँ गरेको छ भने खर्च ५१.५९ प्रतिशत बढेर ७ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३२ लाख रुपैयाँ कूल आम्दानी गर्दा ४ करोड ८५ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी २.१६ रुपैयाँ बढेर ५.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.११ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १९१.१३ गुणा रहेको छ । यस्तै, सोल्टी होटलको खुद नाफा ८.६२ प्रतिशत घटेर १० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । असोज मसान्तसम्म कम्पनीको कूल खर्च २ प्रतिशत घटेर २८ करोड १ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ६३ लाख रुपैयाँ कूल खर्च गरेको थियो । साथै, कम्पनीको कूल आम्दानी ३.२८ प्रतिशत घटेर ३९ करोड ९६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ३२ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ३२ करोड ४० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३९.७४ गुणा रहेको छ । यस्तै, सिटी होटलले पहलो त्रैमासमा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २७.४७ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । होटलको कूल आम्दानी ३२.०८ प्रतिशत बढेर १३ करोड २७ लाख रुपैयाँ गरेको छ भने कुल खर्च १४.५९ प्रतिशत बढेर ८ करोड ६२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड रुपैयाँ कूल आम्दानी गर्दा ७ करोड ५२ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ७० लाख रुपैयाँ छ भने अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ सञ्चित छ । होटलको प्रतिसेयर आम्दानी १४.६५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १००.२ रुपैयाँ रहेको छ । यस्तै, ओरियण्टल होटल्सले असोजसम्म १४ प्रतिशत नाफा बढाएर १२ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद नाफा व्यहोरेको थियो । समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ७.३५ प्रतिशत बढेर २१ करोड १४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । होटलको कूल आम्दानी ८.७५ प्रतिशत बढेर २२ करोड ५६ लाख रुपैयाँ गरेको छ भने कुल खर्च ८.८७ प्रतिशत बढेर १९ करोड ७८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २० करोड ७४ लाख रुपैयाँ कूल आम्दानी गर्दा १८ करोड १७ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोष २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ सञ्चित छ । होटलको प्रतिसेयर आम्दानी १.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३३८.९६ रुपैयाँ रहेको छ ।
भूकम्प पीडितको दुर्घटना बीमा प्रतिव्यक्ति २ लाख, सवा ३ करोड भुक्तानी गर्दै राष्ट्रिय बीमा कम्पनी
काठमाडौं । वि.सं. २०७६ असोजमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका प्रत्येक नागरिकको बीमा गर्ने घोषणा गर्याे । सोहीबमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन प्रदेश सचिव वीरेन्द्रकुमार यादव र बीमा कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ)डा. डिल्लिराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । दुवै निकायबीच कर्णालीमा बसोबास गर्दै आएका १७ लाख ७० जनाकाे बीमा गर्ने गरी प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरेको थियो । कुनै पनि नागरिकको विपद् दुर्घटनामा परी मृत्यु भएमा बीमावापत २ लाख रकम उपलब्ध गराउने सहमति भयो । सिंगो प्रदेशवासीको बीमा गरिएको कर्णाली प्रदेशमा गत कात्तिक १७ गते शुक्रबार जाजरकोट केन्द्रबिन्दु भई ६.४ रेक्टरस्केलको भूकम्प गयो । उक्त भूकम्पमा परि ठूलो जनधनकाे क्षति भएको छ । अझै क्षतिको विवरण आउने क्रम जारी छ । साथै, उक्त भूकम्पमा परी १५७ जनाको मृत्यु भएकाे तथ्याङ्क नेपाल प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश सरकारले समयमै बीमा गराएको हुँदा पीडितहरूलाई भने केही राहत पुग्ने देखिन्छ । प्रहरीको उक्त तथ्याङ्कलाई आधार मान्ने हो भने राष्ट्रिय बीमा कम्पनीले ३ करोड १४ लाख रुपैयाँबराबरको बीमा दावी भुक्तानी गर्नुपर्ने देखिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालका अनुसार भूकम्पमा परी ज्यान गुमाएका सबै व्यक्तिका आफन्तले बीमा दाबी भुक्तानी पाउने छन् । मृत्यु भएका व्यक्तिका आफन्तले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले दाबी भुक्तानी पाउने उनले बताए । ‘प्रदेशका प्रत्येक नागरिकको २ लाखको बीमा गराएका छौं, मृत्यु भएका आफन्तलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले दाबी भुक्तानी दिन्छौं,’ उनले भने । हालसम्म कुनै पनि व्यक्तिले औपचारिकरूपमा दाबी भुक्तानीका लागि आवेदन नदिएको उनको भनाइ छ । संघीय सरकार वा प्रदेश सरकारको कामको शिलशिलामा कर्णाली प्रदेशमा आएका व्यक्तिको मृत्यु भए पनि बीमा दावी गर्न पाउने उनले बताए । ‘१५७ जनाको मृत्यु भएको तथ्याङ्क छ, तीमध्ये कति कर्णाली प्रदेशका हुन् र कति बाहिरका हुन् छुट्याउनु बाँकी छ तर संघीय वा प्रदेश सरकारको कामको शिलशिलामा कर्णाली प्रदेशमा आउनुभएको थियो भने उहाँहरूले पनि दाबी भुक्तानी पाउनुहुन्छ,’ उनले भने । उनका अनुसार कर्णाली प्रदेशका प्रत्येक नागरिकको विपद् दुर्घटना बीमा गराएवापत कम्पनीले करिब २ करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो । विपद्को समयमा बीमा कम्पनीको पनि जिम्मेवारी हुने भएकाले दाबी भुक्तानीका लागि जनप्रतिनिधिहरुसँग समन्वय गरिरहेको उनको भनाइ छ । सुर्खेत शाखा र जुम्ला शाखा कार्यालयमार्फत् प्रमाणहरू संकलनको काम भइरहेको उनले बताए । सुर्खेत र जुम्ला शाखा प्रबन्धकलाई सम्बन्धित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गरेर प्रमाणहरु संकलन गर्न निर्देशन दिएको सीईओ बरालले बताए । उनका अनुसार मृतकका आफन्तहरूको नागरिकता, बैंक खाता लगायतका प्रमाण जुटाएर ल्याउन कम्पनीले भनेको छ । नीतिगत व्यवस्था गरिएको हुँदा प्रक्रिया पुर्याउनु पर्ने उनले बताए । ‘यस्तो बेलामा ठगी हुन सक्ने भएकाले कम्पनी सजग भएर काम गरिरहेको छ, बरु एक/दुई दिन ढिला होस्, जो पीडित हो उहाँलाई दाबी रकम दिने हाम्रो कोसिस हुनेछ, सबैलाई सहजीकरण गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘जो हकवाला हो स्थानीय तहले प्रमाणित गरेको हुन्छ, हामीले नगद रकम नभई पीडित व्यक्तिको बैंक खातामै रकम जम्मा गरिदिन्छौं ।’ विपदको बेला दाबी भुक्तानी गरेर सहयोगी भूमिका निर्वाह गर्नु बीमा कम्पनीहरूको कर्तव्य रहेको सीईओ बरालले बताए । यदि बीमा नै नगरेको भएपनि कर्णालीका जनताको साथमा आफूहरू रहेको बताउँदै सीईओ बरालले कुनै समस्या आयो भने प्रत्यक्ष सम्पर्क गर्न वडा अध्यक्षहरूलाई भनेको बताए । ‘राहत बाँडेजस्तो दाबी भुक्तानी होइन, कागज संकलनमा जोड दिएका छौं, वडा अध्यक्षलाई फोन गरेर मृत्यु भएको प्रमाण वा पोस्टमार्टम रिपोर्ट सुरक्षित राख्न भनेका छाैं, उहाँहरूले पनि सबै प्रमाण सुरक्षित राखेको बताउनुभएकाे छ,’ उनले भने, ‘स्थानीय निकायले जतिसक्दो चाँडो प्रमाण तयार पार्याे त्यति छिटो भुक्तानी गर्छाैं, यदि उहाँहरू यता आउन सक्नुभएन भने हामी आफैं गएर भुक्तानी गर्न तयार छौं ।’
आशा जगाउने आर्थिक सूचकाङ्क
काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै हल्ला चलाएपनि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक स्थिति ठिकठाक रहेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोजमसान्त्सम्म अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै छन् । अर्थतन्त्र मन्दीतर्फ उन्मुख रहेको भन्दै सबै त्रसित र चिन्तित बनेका बेला राष्ट्र बैंकको तथ्याङ्कले भने त्यस्तो नरहेको देखाएको हो । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र समस्यामा रहेको बताउँदै आएका छन् । तर, राष्ट्र बैंकको तथ्याङ्कले भने चिन्तित बन्नु पर्ने अवस्था नरहेको देखाएको हो । मूल्यवृद्धि १ प्रतिशत घट्यो राष्ट्र बैंकको तथ्याङ्क अनुसार मूल्यवृद्धि १ प्रतिशत घटेर ७.५० प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिमा ८.५० प्रतिशत मूल्यवृद्धि थियो । असोजसम्म खाद्य तथा पेय पदार्थ समूहको ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ६.८१ प्रतिशत मूल्यवृद्धि रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको ३७.६३ प्रतिशत, चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले मूल्यवृद्धि बढेको छ । घ्यू तथा तेलको ११.६१ प्रतिशतले घटेको छ । त्यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जनको १५.५५ प्रतिशत, वस्तु तथा सेवाहरूको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.२५ प्रतिशतले बढेको छ । विदेशी मुद्रा १२ महिनालाई धान्ने चालु आर्थिक वर्षको असोजसम्म विदेशी मुद्राको सञ्चिति ६.७ प्रतिशत बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । विदेशी वस्तु आयातमा कडाई र वैदेशि रोजगारीमा जानेको संख्या बढेका कारण विदेशी मुद्रा सञ्चिति बढेको देखिन्छ । गत वर्षको सोही अवधिमा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर मात्रै थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको १४ खर्ब ३३ अर्ब ३६ करोड छ भने बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । तीन महिनाको आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर स्थिति १ खर्ब र चालु खाता ५९ अर्ब बचत असोजसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्व ५९ करोड रुपैयाँ कायम थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख रुपैयाँले धनात्मक थियो । ३ महिनामा ३ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रियो तीन महिनाको अवधिमा साढे ३ खर्ब बढी रकम रेमिट्यान्स भित्रिएको छ । गत वर्षको तुलनामा ३० प्रतिशत वृद्धि भई ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो । आयात १.७ प्रतिशत वृद्धि हुँदा निर्यात २.३ प्रतिशतले घट्यो तीन महिनामा आयात १.७ प्रतिशत वृद्धि हुँदा निर्यात २.३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात २.३ प्रतिशत घटेर ४० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ३५.७ प्रतिशतले निर्यातमा कमी आएको थियो । सबैभन्दा धेरै भारतमा ९.४ प्रतिशत निर्यात घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, कुल वस्तु आयात १.७ प्रतिशत बढेर ४ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँको आयात भएको तथ्याङ्क छ । वस्तु आयात गरिने मुलुकमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकतर्फको आयात २२.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम।एस।विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । यस्तै, कुल वस्तु व्यापार घाटा २.१ प्रतिशत वृद्घि भई ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशत घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो । सरकारको खर्च ३ खर्ब मात्रै, खातामा पौने २ खर्ब रुपैयाँ सरकारले तीन महिनाको अवधिमा पौने ३ खर्ब रुपैयाँ खर्च गरेको छ । तथ्याङ्क अनुसार असोजसम्म २ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कलाई आधार मान्दै सरकारी खर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा भने ०.९ प्रतिशतले मात्र बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चालु खर्च २ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ, पँुजीगत खर्च १७ अर्ब ८३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २ खर्ब १९ अर्ब १२ करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व १ खर्ब ९९ अर्ब ४६ करोड र गैर कर राजस्व १९ अर्ब ६५ करोड रुपैयाँ परिचालन भएको छ । सरकारको खातामा पौने २ खर्ब रुपैयाँ मात्रै नगद जम्मा रहेको तथ्याङ्क छ । असोजसम्म राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा १ खर्ब ७१ अर्ब ५१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।