एआईको कारण दक्षिण कोरियाका ४० लाख मानिसको जागिर संकटमा, नेपाली कामदार पनि प्रभावित हुने

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स)  प्रविधिले दक्षिण कोरियामा ४० लाख मानिसले रोजगारी गुमाउन सक्ने अनुमान गरिएको छ । एआईले आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी जोखिममा पार्न सक्ने त्यहाँकाे केन्द्रिय बैंकले प्रक्ष्येपण गरेकाे छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलुस्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् । ‘उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ,’ अध्ययनमा भनिएको छ । एआईले सेतो पोशाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार एआईका कारण आफ्नो जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिह धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् । बैंक अफ कोरियाको अध्ययनमा भनिएको छ, ‘एआई प्रविधि विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्ट–अपहरूमा नयाँ नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्दछ ।’ आर्टिफिसियल इन्टेलिजेन्सले कम्प्युटर प्रणाली वा मेशिनहरू विकास गर्नलाई जनाउँछ जसले सामान्यतया मानव बुद्धिको आवश्यकता पर्ने कार्यहरू गर्न सक्छ। यी कार्यहरूमा समस्या समाधान गर्ने, सिक्ने, बुझ्ने, र प्राकृतिक भाषा प्रशोधन गर्ने र ढाँचाहरू पहिचान गर्ने काम गर्छ । पछिल्लो समय नेपालीहरुको आकर्षक रोजगारीको देशका रूपमा दक्षिण कोरियालाई हेरिएको छ । तर, एआईले धेरैको जागिर गुम्न सक्ने विश्लेषण गरिरहेको बेला यसले नेपाली कामदारहरु पनि समस्यामा पर्ने देखिन्छ ।

निर्जीवन बीमा कम्पनीहरुले कमाए साढे १० अर्ब बीमा शुल्क, सलिको, सिद्धार्थ प्रिमियर र शिखरको १ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले साढे १ अर्ब रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीबीच कुल बीमा शुल्क आर्जनमा कडा प्रतिस्पर्धा भएको देखिन्छ । यी ती कम्पनीले तीन महिनामा १ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । तीन महिनाको अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ८४ करोड ३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सले ५९ करोड ९४ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

निरन्तर घट्दै बैंकको ब्याज, कुन बैंकमा पैसा राख्दा बढी ब्याज पाइन्छ ?

काठमाडौं । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपकाे ब्याजदर घटेको छ । मंसिर महिनाका लागि अधिकांश बैंकहरुले मुद्दती खाताको ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् । बैंकहरुले घटाएको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ । कात्तिकको तुलनामा मंसिरमा माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ भने अधिकांश बैंकहरुको ब्याजदर घटेको छ । माछापुच्छ्रे बैंकले मंसिर महिनाका लागि १.११३ प्रतिशत ब्याजदर बढाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल एसबिआई बैंकले ०.०९७ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत तोकेको छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । हिमालयन बैंकले ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत निर्धारण गरेको छ । कात्तिकमा बैंकले ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, एनएमबि बैंकले मंसिरका लागि १.२४३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकले मंसिरका लागि ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, कृषि विकास बैंकले मंसिरका लागि ०.०४८ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.९१२ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिरका लागि ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, नबिल बैंकले मंसिरका लागि ०.९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, सानिमा बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, प्रभु बैंकले मंसिर महिनाका लागि ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, एभरेष्ट बैंकले मंसिरमा ०.२२४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.२५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, एनआईसी एशिया बैंकले २.०३५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सिटिजन्स बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छन् । सिटिजन्स बैंकले ब्यक्तिगततर्फ ९.९५ प्रतिशत र संस्थागततर्फ ७.९५ प्रतिशत, सिद्धार्थ बैंकले ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत, कुमारी बैंकले ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, प्राइम बैंकले ब्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत र नेपाल बैंकले ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर तोकेका हुन् ।