५० करोड बढी पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले नगर्ने, विज्ञ उपलब्ध गराउने
काठमाडौं । पछिल्लो समय सहकारी संस्थामा समस्या थप बढ्दै गइरहेका छन् । एकपछि अर्को सहकारीमा समस्या आएपछि सहकारीको नियमनको विषय पनि सबैको चासोका रूपमा हेरिएको छ । धेरैले सहकारीको नियमन राष्ट्र बैंकले गर्नु पर्ने आवाज पनि उठ्दै आइरहेको छ । हाल ५० करोड बढी पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्नु पर्ने व्यवस्था छ । तर, राष्ट्र बैंकले सहकारीको नियमन गर्ने विषयलाई आनाकानी गरिरहेको छ । सहकारीको समस्या पहिचान र समाधानका लागि भनेर सरकारले बनाएको कार्यदलदे समेत राष्ट्र बैंकले ठूला सहकारीको नियमन गर्नु पर्ने सुझाव दिएको थियो । सोही सुझाव अनुसार केही साताअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस पनि गर्यो । मन्त्रालयले लालीगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन गर्न मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेको थियो । तर, राष्ट्र बैंकले यस विषयमा मौन रहेको छ । राष्ट्र बैंकले यी सहकारी संस्थाको नियमनको विषयमा चासो राखेको छैन । बरु विज्ञको उपलब्धता गर्ने विषयमा राष्ट्र बैंक सकारात्मक देखिएको छ । सहकारी ऐन, २०७४ अनुसार ५० करोड रुपैयाँभन्दा माथि पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्ने व्यवस्था छ । तर, राष्ट्र बैंकले सहकारी आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिँदै आएको हो । नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डां डिल्लीराम पोखरेलले मन्त्रालयबाट केही सहकारीको नियमनका लागि सिफारिस भएको भए पनि राष्ट्र बैंक पूर्णरूपमा नियमन गर्न तयार नभएको बताए । उनका अनुसार बरु राष्ट्र बैंकले सहकारीको नियमनका लागि विज्ञ प्रदान गर्न सक्नेछ । ‘सहकारीको आफ्नै मूल्य, मान्यता र सिद्धान्त छ, त्यो नीतिभित्र रहेर राष्ट्र बैंकले नियमन गर्न सक्दैन,’ उनले भने, ‘बरु हामी सहकारी विभागलाई विज्ञ उपलब्ध गराउन सक्छौं ।’ नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता यसअघि नै गरिसकेको छ । सरकारले पनि सहकारीको नियमनका लागि सेकेण्ड टायर इन्सिच्युट स्थापना गर्ने योजना बनाइरहेको छ । सो संस्था स्थापनाका लागि राष्ट्र बैंकले सहयोग गर्न सक्ने बताइरहेको छ । राष्ट्र बैंकले चालुआर्थिक वर्षको मौद्रिक नीतिमार्फत् पनि सहकारी नियमनका लागि छुट्टै निकाय स्थापना गर्न सहजीकरण गर्ने उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि सहकारी संस्थाको नियमन राष्ट्र बैंकले गर्न नसक्ने बताउँदै आएका छन् । ‘राष्ट्र बैंक सकेसम्म सहकारीमा छिर्न चाँहदैन, बचत तथा ऋण सहकारीले जानेर वा नजानेर कारोबार गर्दा समस्या देखियो, त्यसलाई नियमन गर्न विशिष्टकृत नियमन गर्ने संस्था आवश्यक पर्छ,’ गभर्नर अधिकारीले सार्वजनिक रुपमै भन्दै आएका छन् ।
बालेन, हर्क र गोपी चर्चामा, गुमनाम छन् यी एक दर्जन स्वतन्त्र जनप्रतिनिधि
काठमाडौं । वि.सं २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन मार्फत् करिब एक दर्जन स्वतन्त्र उम्मेदवारले पालिकाको नेतृत्व गर्ने अवसर पाए । उम्मेदवार बनेदेखि हालसम्म तीनजना स्वतन्त्र उम्मेदवार मात्रै चर्चामा छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) अहिले चर्चामा छन् । उनीहरूलाई चर्चामा ल्याउने विषय नै उनीहरूको कामले हो । काठमाडौंका मेयर बालेनले काठमाडौंको फोहोर व्यवस्थापन, अव्यस्थित पार्किङ व्यवस्थापनका साथै अतिक्रमित जग्गा तथा भवन हटाउनेदेखि काठमाडौं सहर सुन्दर बनाउन खेलेको भूमिकाले उनी चर्चामा छन् । धरानका मेयर राई धरानवासीलाई पानीको सुविधा दिने, खाली ठाउँमा बोट विरुवा रोप्नेदेखि धरान बजारलाई व्यवस्थित बनाउका लागि गरेको पहलले चर्चामा छन् । धनगढीका मेयर हमालले पनि धनगढी उपमहानगरपालिकामा अतिक्रमित घर तथा जग्गा हटाउने, सडक चौडा बनाउने तथा सुन्दर धनगढी बजार बनाउनका लागि खेलेको भूमिकाले सर्वत्र चर्चामा छन् । अहिले यी तीन जना जनप्रतिनिधिको देश/विदेशमा चर्चा छ । धेरैले अब स्वतन्त्र उम्मेदवारको लहर चल्न सक्ने अनुमान गरिरहेका छन् । उनीहरूले निडर भएर काम गरिरहेको प्रशंसा गर्दै धेरैले उनीहरूलाई छुट्टै पार्टी खोल्न पनि सुझाव दिइरहेका छन् । स्वतन्त्र उम्मेदवार बनेर जनप्रतिनिधि बनेका यी तीनजना मात्रै होइनन् अन्य धेरै पालिकामा पनि स्वतन्त्र उम्मेदवारले जित हासिल गरेर पालिकाको नेतृत्व गर्ने अवसर पाएका छन् । तर, ती जनप्रतिनिधिको काम कारवाहीबारे न कुनै चर्चा हुन्छ नत कुनै सञ्चार माध्यमको प्राथमिकतामा उनीहरू पर्छन् । वि.सं २०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा मनोज कुमार साह, बर्दिबास नगरपालिकामा प्रहलादकुमार क्षेत्री, चन्दननाथ नगरपालिकामा राजु सिंह कठायत र खाँडाचक्र नगरपालिकामा कमल बहादुर शाहीले स्वतन्त्र उम्मेदवार बनेर पालिकाको नेतृत्व गर्ने अवसर पाए । यस्तै, मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, डोल्पो बुद्ध गाउँपालिकामा कार्मा छोइवेल गुरुङ, सान्नी त्रिवेणी गाउँपालिकामा मोहन बहादुर केसी, चंखेली गाउँपालिकामा प्यारीलाल शाही र डिलासैनी गाउँपालिकामा सन्तोष प्रकाश जोशी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भए । तर, यी स्वतन्त्र जनप्रतिनिधिहरूको न चर्चा छ नत उनीहरूले गरेको कामको विषयमा सञ्चार माध्यमले प्राथमिकता नै दिइरहेका छन् । हुन त स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर धेरै जनाले उपमेयर, वडा अध्यक्ष तथा वडा सदस्य भएर काम गरिरहेका छन् । यी जनप्रतिनिधिहरू मध्ये धेरै पार्टीले टिकट नदिएर स्वतन्त्र बनेका हुन् कतिपय स्वतन्त्र व्यक्ति नै उम्मेदवार बनेर निर्वाचित भएका हुन् । स्वतन्त्र जनप्रतिनिधिमध्ये केहीले जितिसकेपछि पनि पार्टीमा प्रवेश गरिसकेका छन् । पार्टीमा आबद्ध नभएर स्थानीय तहमा काम गर्न सकिँदैन भन्ने बुझाइ धेरै जनप्रतिनिधिको छ । धेरै स्वतन्त्र उम्मेदवारहरू आफूहरू सञ्चार माध्यममा नआए पनि राम्रो काम गरिरहेको दाबी गर्छन् । किन गुमनाम छन् स्वतन्त्र जनप्रतिनिधि ? कोशी प्रदेशको ओखलढुङ्गामा रहेको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका हुन् । उनी विकासको एजेण्डा बनाएर काम अगाडि बढाउँदा स्वतन्त्र जनप्रतिनिधिलाई खासै असहज नहुने बताउँछन् । मानेभन्ज्याङका नागरीकले देख्ने र महसुस गर्ने गरी काम गर्नमा आफू सफल भएको उनको दाबी छ । ‘हामीले गाउँपालिकामा दीगो कृषिको विकास गर्ने योजनाका साथ अगाडि बढेका छौं, रैथाने बाली, गाँजा खेती, लोकल रक्सी प्रवर्द्धनका लागि काम गरिरहेका छौं, ‘उनले भने, खानेपानी, स्वास्थ्य, सडक लगायत विकासका पूर्वाधार विकासमा काम गरिरहेका छौं ।’ उनी आफू प्रचार प्रसारमा भन्दा पनि आफ्नो काममा फोकस भएर लागिरहेको बताउँछन् । पालिकाको स्रोत साधनले भ्याएसम्म उत्कृष्ट काम गरेको उनको भनाइ छ । ‘हामीले गरेको कामको प्रचार प्रसार नगरेकाले गुमनाम भएका हौं, मिडिया पनि सहर केन्द्रित छन्, त्यसैले ग्रामिण भूभागमा भएका क्रियाकलापको उठान नभएको हो,’ उनले भने । दलबाट निर्वाचित भएर आएको प्रतिनिधिले भन्दा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारबाट आएको प्रतिनिधिले धेरै काम गर्न सक्ने उनको धारणा छ । ‘दलबाट निर्वाचित भएर आएको मान्छेले धेरै जसो पार्टीका इसारामा चल्नु पर्ने हुन्छ, ‘उनले भने, ‘स्वतन्त्रबाट आएको व्यक्तिले कसैको दबाब बिना स्वस्फूर्त रूपमा काम गर्न सकिन्छ ।’ यस्तै, नेकपा एकिकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेपछि कर्णाली प्रदेशको कालीकोट जिल्लामा रहेको खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाही स्वतन्त्र उम्मेदवर बनेको थिए । स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएपछि उनी पुनः उक्त पार्टीमा नै फर्किएर पालिकाको काम गरिरहेका छन् । स्वतन्त्र भएर स्थानीय तहमा काम गर्न नसकिने विषयलाई मनन् गर्दै आफू पुनः पार्टीमा प्रवेश गरेको उनी बताउँछन् । ‘स्वतन्त्र भएरै चुनाव जितियो, पहिलादेखि नै एकीकृत समाजवादीमा भएकाले अहिले त्यही पार्टीमा आबद्ध छु, स्थानीय तहमा स्वतन्त्र भएर काम गर्नको लागि गाह्रो पर्ला भन्ने विषयलाई मध्यनजर गरेर सो निर्णय गरेको हुँ,’ उनले भने । काठमाडौं, धरान, धनगढीजस्तो ठाउँमा स्रोत साधन भएर पनि त्यहाँका जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार सो ठाउँमा राजनीतिक दलका प्रतिनिधि भएको भए अझै बढी काम गर्न सकिने उनको बुझाइ छ । ‘म नगरको प्रमुख छु । तर, आफ्नै कामप्रति सन्तुष्ट छैन, यहाँ सीमित स्रोतसाधन छ, बजेट थोरै छ, तथापि अहिले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेका छौं, सहरी क्षेत्रमा रहेर सुविधा सम्पन्न ठाउँमा बसेर स्वतन्त्रले काम गर्नु सामान्य हो,’ उनी भन्छन् । यस्तै, कर्णाली प्रदेशमै रहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसी पनि नेकपा माओवादी केन्द्रले विश्वास नगरेपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, जितेपछि उनी पुनः पार्टीमै फर्किए । ‘म भूमिगत भएर आएको मान्छे हुँ, मेरो लगानी नै पार्टीमा भएकाले निश्चित मान्छेको चित्त नबुझ्दैमा भएको विषयलाई समग्र बलिदानलाई भुल्न नसकिने भएकाले पार्टीमा फर्किएको हुँ,’ उनले भने । जनताको इच्छा आकांक्षा धेरै भएको र स्रोत साधनले भ्याएसम्म आधारभूत आवश्यकता पुरा गर्दै काम गरिरहेको उनी बताउँछन् । उनका अनुसार विकास निर्माणका काममा पनि गाउँपालिका अग्रसर नै छ । बर्दिबास नगरपालिका मेयर प्रहालद कुमार क्षेत्री पनि नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका हुन् । तर, उनी पनि अहिले पार्टीमै फर्किसकेका छन् । जनकपुर उपमहानगरपालिका मेयर मनोज कुमार शाह पार्टीले गठबन्धन गरेपछि स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनी पनि पार्टीमै फर्के । तर, उनी अहिले कुनै पनि पार्टीलाई भन्दा पनि सबैलाई समान व्यवहार गरेर काम गरिरहेको बताउँछन् । उनका अनुसार उपमहानगरले छाडा चौपायाको लागि गौशाला निर्माण, बारा बिग्गा रंगभूमि मैदानका लागि डीपीआर गरेरअहिले त्यहाँ पार्किङ स्थलको रूपमा निर्माण गरिरहेको छ । बस स्टेशन निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढाएको बताउँदै साहले एकीकृत सहरी विकास परियोजना (आईयूडीपी) सँग सम्झौता गरेर यही साता १८ अर्बको ऋण सम्झौता गरेको बताए । यस्तै, बैतडीको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशी पनि स्वतन्त्र उम्मेदवार बनेर नै पालिकामा निर्वाचित भएका थिए । तर, उनी कुनै पनि दलसँग आबद्ध नभएर विजयी भएका हुन् । उनी देशमा स्वतन्त्रको खाँचो भएको बताउँछन् । ‘जनतासँग गरिएको प्रतिबद्धता राम्रोसँग कार्यान्वयन गर्न सके पार्टी आवश्यक पर्दैन, म अहिले जनताको सेवामा छु, गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता गाउँघरमै पुर्याइरहेको छ,’ उनले भने । उनले गाउँपालिकाभित्र विद्युतको पहुँच विस्तार भइरहेको बताउँदै शिक्षा स्वास्थ्यको गुणस्तर कायम गर्नको लागि पहल भइरहेको बताए । उनी काठमाडौं, धरान, धनगढीका मेयरसँग गाउँपालिको तुलना गर्न नमिल्ने बताउँछन् । ‘ उनीहरूलाई काम गर्न सहज छ, त्यही अनुसारको स्रोत, साधन तथा जनशक्ति छ, हाम्रो गाउँपालिकामा प्रशासकीय अधिकृत नभएको मात्रै झण्डै ४ वर्ष पुग्यो, हामीले अनेक समस्या भोग्नु परेको छ,’ उनले भने ।
पैसा गौण, काम सर्वोपरि
काठमाडाैं । हिमालयन रिइन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई हामीले प्रश्न गर्यौं – ‘तपाईं म्यानेजर कि लिडर ?’ उनले जवाफमा भनिन्, ‘लिडर’ । हामीले पुनः जिज्ञासा राख्यौं- ‘तपाईं औसत कि अब्बल नेतृत्व ?’ उनले व्याख्या गर्ने प्रयत्न गरिन्- ‘मेरो कर्मचारी, सेयरधनी र ग्राहकहरू मैले गर्ने काम र त्यसबाट प्राप्त प्रतिफलले खुसी छन्, बजारले पनि मलाई एउटा अब्बल व्यवस्थापकका रूपमा चिनेको छ, अनि म कसरी गुड लिडर होइन भन्न सक्छु,’ उनले आत्मविश्वासका साथ भनिन्, ‘आइ एम अ गुड लिडर’ । सीईओ उपासना पौडेललाई नेपाली बीमा बजारकी ‘केन्द्रबिन्दु’ हुन् भन्दा अत्युक्ति नहोला । ३३ वर्षको उमेरमा एउटा बीमा कम्पनीको नेतृत्व गर्ने जिम्मेवारी उनको काँधमा आएपछि उनको क्षमतामाथि प्रश्न गर्नेको कमी थिएन त्यतिबेला । तर, ती प्रश्नको उत्तर उनले बोलेर होइन, कामबाट देखाइन् । उनले सो कम्पनीमा सीईओ बनेको तीन वर्षमा संस्थालाई एउटा उचाइमा पुर्याइन् । सुरुमा उनको क्षमतामाथि प्रश्न गर्नेहरू पछि उनको वाहीवाहीमा लागे । तीन वर्षपछि सो कम्पनी छोडेर हिमालयन रिइन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्न पुगेपछि उनको फेरि आलोचना सुरु भयो । सीईओ भएर राम्रो पफर्मेन्स गरिरहेको बेला हिमालयन रिमा जाने निर्णय राम्रो नभएको भन्दै धेरैले कुरा काट्न थाले । तर, डीसीईओ बनेको १० महिनामै निजी क्षेत्रको एकमात्रै पुनर्बीमा कम्पनी हिमालयन रिइस्योरेन्सको सीईओ बनेर देखाइ दिइन् उपासनाले । ३६ वर्षको उमेरमा पुनर्बीमा कम्पनीको सीईओ बनेर उनले ‘कान्छो सीईओ’ को रेकर्ड बनाउन सफल भइन् । त्यसैले पनि उनी अहिले सबैको नजरको केन्द्रबिन्दुमा छिन् । उनी यसलाई आफ्नो कामप्रतिको इमानदारिता र मिहिनेतको फल मान्छिन् । ‘धेरैमा नेतृत्वमा पुगेपछि काम गर्नु हुँदैन, कर्मचारीलाई निर्देशन दिए पुग्छ भन्ने गलत बुझाइ हुन्छ । तर, म अहिले पनि १२ घण्टा काम गर्छु, धेरै काम भएको दिन १६ घण्टा पनि काम गर्छु, केही दिन त राती दुई बजे घर गएको उदाहरण पनि छन्,’ उनी भन्छिन्, ‘मेरो काम गर्ने शैली र मिहिनेतको फल नै मेरो कुर्सी हो, उसले मलाई उर्जा दिन्छ ।’ उनी एउटा नेतृत्वले परम्परावादी सोचबाट माथि उठ्नु पर्ने धारणा राख्छिन् । नेतृत्व सफल हुनका लागि काम गर्ने शैली र वातावरण व्यवस्थापन गर्न सक्नु पर्ने उनको धारणा छ । उपासना आफ्ना कर्मचारीलाई कहिल्यै पनि कर्मचारी ठान्दिनन्, साथी ठान्छिन् । माइक्रो म्यानेजमेन्ट होइन, म्याक्रो म्यानेजमेन्ट गर्छिन् । कर्मचारीलाई त्रास र दबाबमा होइन, उत्प्रेरणा र अधिकार दिन्छिन् । उनी आफ्नो काम गर्ने शैली बताउँदै भन्छिन्, ‘म आफूसँगै मेरा कर्मचारी साथीहरूलाई यो पदमा आउनका लागि मोटिभेट गरिरहेकी छु, काम गर्नका लागि स्वतन्त्र वातावरणको व्यवस्था मिलाउँछु, काम गर्नका लागि सबल बनाउँछु ।’ नेतृत्वमा आलोचना पनि सुन्न र ग्रहण गर्न सक्ने क्षमता हुनुपर्ने बुझाइ उपासनाको छ । उनी भन्छिन्, ‘टीमभन्दा केही अनुभवी र अब्बल भएपनि म पनि सिकारू नै हो, मैले पनि सबैको कुरा सुन्नुपर्छ, सोही ढंगले निर्णय गर्नुपर्छ, सबैलाई मिलाएर जान सक्ने खुबी र क्षमता एउटा नेतृत्वमा भएन भने ऊ ‘गुड लिडर’ बन्न सक्दैन ।’ हुन त एउटा अब्बल व्यवस्थापक बन्नका लागि प्लेटफर्म, पैसा, प्रशंसा र परिश्रम पनि चाहिन्छ । जसले नेतृत्वको प्रख्यातिमा मद्दत पुग्छ । संस्थाको गरिमा बढ्छ । असल संस्कार स्थापित हुन्छ । तर, उपासना आफ्नो लागि पैसा र प्रशंसाभन्दा पनि ‘प्लेटफर्म’ महत्वपूर्ण हुने तर्क गर्छिन् । उनी आफू कामका लागि ‘काम’ गर्ने धारणा राख्छिन् । ‘कतिपय नेतृत्वमा कुर्सीको मोह बढी हुन्छ, कुर्सी आज छ, भोलि छैन भन्ने विषयमा उनीहरू सजग बन्दैनन्, यसले हाम्रो उत्पादकत्व पनि रोकिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘काम गर्न सकिएन भने नेतृत्वले कुर्सी खाली गर्न सक्नुपर्छ ।’ ‘म जता काम गर्छु, पूर्णरूपमा सन्तुष्ट भएर गर्छु, अहिलेसम्म जेजति संस्थामा काम गरेँ, सन्तुष्ट भएर गरेँ, जतिबेला म सन्तुष्ट भइनँ, त्यो बेला संस्था पनि छोडेँ, पैसा र प्रशंसाका लागि म काम गर्दिनँ, उनी भन्छिन्, ‘अहिले पनि मेरो खातामा कति पैसा आउँछ थाहा छैन । तर, कामका लागि काम गर्छु, त्यसले सोचेअनुरूपको प्रतिफल पनि दिइरहेको छ ।’ अर्को महत्वपूर्ण विषय उपासना ‘राइट म्यान इन दि राइट प्लेस’ हुनु पर्ने तर्क दिन्छिन् । ‘मैले यूनाइटेको सीईओ भएर चुनौती र साहस नलिएको भए म अहिले ‘म’ बन्थिनँ, त्यतिखेर कतिपयको आलोचना सहन नसकेको भए, चित्त दुखाएको भए, म यहाँ हुन्थेँ या हुन्थेनँ, थाहा छैन । तर, मैले त्यसलाई एउटा सिकाइको रूपमा लिएँ,’ उनी भन्छिन्, ‘एउटा नेतृत्वले हरेक विषयलाई सहर्ष स्वीकार गर्नु सक्नुपर्छ, सामना गर्न सक्नुपर्छ ।’ आफूलाई खुसी पार्नका लागि आफ्नो रुचिको क्षेत्र पनि छनोट गर्न सक्नु पर्ने उनको भनाइ छ । आफू नेतृत्वबाट बाहिरिँदा पनि त्यो पदका लागि टीमकै साथीलाई तयार पार्न सक्नु एउटा सफल नेतृत्वको अर्को महत्वपूर्ण सफलता हुने उनी बताउँछिन् । परिपूरक हुन् बोर्ड र व्यवस्थापक एउटा संस्थालाई दीगो र दरिलोरूपमा अगाडि बढाउनका लागि एउटा संरचनाको आवश्यकता पर्छ । त्यसमध्येको महत्वपूर्ण विषय हो संस्थाको सञ्चालक समिति र व्यवस्थापन समूह अर्थात् कर्मचारी । संस्था सफल बनाउनका लागि बोर्ड र व्यवस्थापक परिपूरक हुनुपर्ने धारणा उपासनाको छ । ‘सीईओ भनेको संस्थाको विज्ञ हो, कार्यकारी प्रमुख बोर्डको ‘एसम्यान’ बन्नु हुँदैन, बोर्डले पनि व्यवस्थापकलाई बोल्ने वातावरण दिन सक्नुपर्छ, सीईओले जस्तोसुकै प्रस्ताव ल्यायो त्यसलाई स्वीकार गर्ने बोर्ड पनि हुनु हुँदैन, बोर्ड पनि तार्किक बन्न सक्नु पर्यो, सीईओले पनि बोर्डले गरेको निर्णय यस कारण गलत छ भन्ने साहस राख्न सक्नु पर्यो,’ सीईओ पौडेल भन्छिन्, ‘तब मात्रै संस्था दीगो बन्न सक्छ, नेतृत्वले प्रभावकारी काम गर्न सक्छ, सफल बन्न सक्छ ।’ एउटा व्यवस्थापकका लागि असल वातावरण सिर्जना गर्नका लागि संस्थाका सञ्चालकको भूमिका महत्वपूर्ण हुने उनको अनुभव छ । संस्थाको बोर्ड र व्यवस्थापक ‘स्याण्डविच’ भएको तर्क उनको छ । सबल नेतृत्वका लागि सबैभन्दा महत्वपूर्ण विषय टीम (कर्मचारी) नै हो । सबैको सहकार्य, समन्वय र संस्थाभित्रको अपनत्वको भावनाले संस्था दीगो बन्न सक्ने धारणा राख्छिन् उनी । ‘बोर्डले जतिखेर पनि नेतृत्वलाई प्रश्न उठाउने काम गर्यो भने त्यो नेतृत्वले मानसिकरूपमा पनि सही काम गर्न सक्दैन, नेतृत्वले पनि अनायासै कर्मचारीलाई गालि गर्यो भने त्यसले संस्थालाई थप हानी गर्न सक्छ, यी सबै तहबीच आपसी सहकार्य र सद्भावका साथ अनरसिपको भावनाले काम गर्न सक्यो भने नेतृत्वसँगै संस्था पनि सफल हुन्छ,’ उनी भन्छिन्, ‘सबैमा संस्था मेरो हो भन्ने भावनाको विकास गर्न सकियो भने सफल नहुने भन्ने हुँदैन ।’ अहिलेसम्म जेजति संस्थामा काम गरेँ, सन्तुष्ट भएर गरेँ, जतिबेला म सन्तुष्ट भइनँ, त्यो बेला संस्था पनि छोडेँ । पैसा र प्रशंसाका लागि म काम गर्दिनँ । कामका लागि काम गर्छु, त्यसले सोचेअनुरूपको प्रतिफल पनि दिइरहेको छ । मेरो खातामा कति पैसा आउँछ, मुख्य कुरा होइन । उनका अनुसार नेपाली व्यवस्थापकहरू अझैं पनि पुरातनवादी सोच र बुझाइमा दगुडिरहेका छन् । आफूभन्दा जुनियर तहको कर्मचारीलाई सिकायो भने भोलि उसले आफ्नो पद पाएर आफू संस्थाबाट बाहिरनु पर्ने जोखिमको त्रासमा कतिपय नेपाली व्यवस्थापकहरू छन् । तर, त्यसो नभई त्यो पद छोडेर नेतृत्वले थप प्रगति र अवसर हासिल पनि गर्न सकिन्छ भन्ने बुझाइमा व्यवस्थापक नदेखिने उनको धारणा छ । ‘कतिपय नेतृत्वमा कुर्सीको मोह बढी हुन्छ, कुर्सी आज छ, भोलि छैन भन्ने विषयमा उनीहरू सजग बन्दैनन्, यसले हाम्रो उत्पादकत्व पनि रोकिरहेको हुन्छ,’ उनी भन्छिन्, ‘काम गर्न सकिएन भने नेतृत्वले कुर्सी खाली गर्न सक्नुपर्छ ।’ नेतृत्वले विश्वास कायम गर्न सक्नु पर्ने भनाइ उनको छ । उनी भन्छिन्, ‘जब नेतृत्वमा विश्वास, विश्वसनियता र व्यवहारिकता हुँदैन, ऊ सफल नेतृत्व नै बन्न सक्दैन ।’ नाम कमाएँ, दाम कमाइनँ पढाइ र जागिरको सिलसिलामा एक दशकभन्दा बढी समय उपासनाले भारतमा बिताइन् । जहाँ उनको पद र पैसा राम्रै थियो । काम गर्ने वातावरण उत्कृष्ट नै थियो । तर, नेपालमा जन्मिएकी उपासनालाई देशको मोहले तान्यो । र, एक दशकको मिहिनेत र अनुभवलाई बोकेर उनी स्वदेश फर्किइन् । उनी भारतमा हुँदा पहिलो काम पुनेस्थित कमेन्स इन्डिया नामक कम्पनीमा थियो । गाडीको इन्जिन लगायत मेसिनरी सामान उत्पादन गर्ने त्यो कम्पनीमा उनले ९ महिना काम गरिन् । त्यसपछि उनले बम्बईमा रहेको आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरिन् । त्यहाँ उनले प्रडक्ट मेनेजर भएर काम गरिन् । काम गर्ने वातावरण राम्रै थियो । बैंकले गराउने बीमा पोलिसी (बैंक्यास्योरेन्स) बनाउने जिम्मेवारी पाइन् उनले । उक्त कम्पनीमा उनले तीन वर्ष काम गरिन् । उनलाई त्यसपछि भोडाफोनबाट जागिरको अफर गयो । आईसीआईसीआई छोडेर उनी भोडाफोनमा आवद्ध भइन् । भोडाफोनमा उनलाई पोष्टपेडको मार्केटिङको जिम्मा दिइयो । भोडाफोनमा काम गरेको साढे दुई वर्ष भएको थियो । त्यहिबीचमा उनलाई फेरि आईसीआईसीआईबाटै अफर आयो । उनी फेरि पहिले काम गरेको संस्थामै गइन् । त्यहाँ पनि उनले दुई वर्ष काम गरिन् । उनलाई अब नेपाल फर्किनुपर्छ भन्ने महसुस भयो । नेपाल फर्किएर उनले सानिमा जनरल इन्स्योरेन्समा नायब महाप्रबन्धक भएर काम गरिन् । डेढ वर्ष काम गरेर उनले सानिमा छोडिन् । त्यसपछि उनी वि.सं. २०७६ सालको मंसिरमा यूनाइटेड इन्स्योरेन्समा डेपुटी सीईओ बनिन् । डीसीईओ बनेको केही समयपछि उनी कम्पनीको सीईओ नै बनिन् । यूनाइटेडमा तीन वर्षको अवधिमा आफूले धेरै काम गरेको उनी बताउँछिन् । केही सूचकमा खस्किएको यूनाइटेडलाई बलियो र प्रतिस्पर्धी कम्पनीको रूपमा अगाडि बढाउनका लागि उनले ठूलो भूमिका खेलिन् । ‘मैले यूनाइटेडमा सेयरधनीलाई लाभांश दिन सकेँ, बिजनेस पनि बढाएँ, ५० करोडको बिजनेसलाई तीन वर्षको अवधिमा तीन गुणा वृद्धि गर्दै १५० करोडको पुर्याएँ, ग्राहकलाई सहज सेवा दिएर सन्तुष्ट पारेँ, कम्पनीको रिब्राण्डिङ गरेँ, कर्मचारीलाई बोनस दिन सक्ने कम्पनीको हैसियत बनाएँ, ‘उनले यूनाइटेडमा गरेको काम सुनाउँदैन भनिन्, ‘सबैभन्दा महत्वपूर्ण विषय काम गर्ने संस्कार स्थापित गरेँ ।’ आफूले यो अवधिसम्म नाम कमाए पनि पैसा भने नकमाएको उनी मुस्कुराउँदै जवाफ दिन्छिन् । ‘म घुम्न रुचाउँछु, धेरै देशमा घुमिसकेको छु, कमाएको पैसा घुमघाममै खर्च गरेँ,’ उनी मुस्कुराउँदै जवाफ दिन्छिन्, ‘मलाई पैसा गौण लाग्छ, काम सर्वोपरि ठान्छु ।’ काठमाडौंको कुलेश्वरमा जन्मिएकी उपासनाले विद्यालयको तह पढाइ नेपालमै पूरा गरिन् । शिक्षित परिवारमा जन्मिएकी उनको हजुरबुबा स्कुलका प्राध्यानाध्यापक । बुबा व्यवसायी र आमा बैंकर्स हुन् । उनले स्कुलले शिक्षा डिएबीबाट पास गरिन् । प्लसटु डनबास्कोबाट पुरा गरिन् । काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिजनेस इन्फर्मेससन सिस्टममा स्नातक पास गरिन् । र, एमबीए दिल्ली यूनिभर्सिटीबाट गरिन् । अहिले उनी हिमालयन रिइन्स्योरेन्सको नेतृत्व गरेर संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यमा छिन् । ‘हिमालयन रिइन्स्योरेन्सको बिजनेस बढाउने अभिभारा हामी सामू छ, विभिन्न २९ देशमा बिजनेसका लागि पुगिसकेका छौं, अब यसलाई थप बढाउनु पर्नेछ,’ उनले भनिन् । जुनसुकै संस्थामा पनि कर्मचारीलाई सन्तुष्ट पार्न सकियो भने सबैभन्दा ठूलो समस्या समाधान हुने उनको अनुभवले बताउँछ । ‘कर्मचारी असन्तुष्ट हुनु भनेको गाडीको पाँग्रा नहुनुजस्तै हो, एउटा संस्थामा २० प्रतिशत कर्मचारी सधैं असन्तुष्ट हुन्छन्, २० प्रतिशत धेरै सन्तुष्ट र ६० प्रतिशत औसत सन्तुष्ट हुन्छन्, हामीले त्यो ८० प्रतिशत कर्मचारीलाई अगाडि बढाएर जाने हो, ८० प्रतिशतलाई जोगाउन पनि चुनौती नै हुन्छ,’ उनी भन्छिन्, ‘कर्मचारी संस्थाको सम्पत्ति हो ।’ उनी आफू ‘बटम अफ एप्रोच’मा काम गर्न रुचाउने धारणा राख्छिन् । ‘कर्मचारीलाई अधिकार दिन सक्नुपर्छ, जिम्मेवार बनाउन सक्नुपर्छ, कर्मचारीलाई म पनि निर्णयकर्ता हुँ भन्ने आत्मबोध गराउन सक्नुपर्छ,’ उनी भन्छिन्, ‘तर, कर्मचारीमा पनि अनुशासन पनि चाहिन्छ, तब मात्रै संस्था सबलरूपमा अगाडि बढ्छ ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’