व्यापारमा आयातको हिस्सा बढ्दा निर्यातको घट्यो, सवा १३ खर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साढे १४ खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म कुल १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यस्तै, यो अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको मात्र निर्यात गरेको भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३.०१ प्रतिशतले कम हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाखरुपैयाँको वस्तु निर्यात भएको थियो । विभागका अनुसार नेपालको कुल व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ थियो । यस्तै, चालु आवको जेठसम्म वैदेशिक व्यापार समेत १.९५ प्रतिशतले घटेको छ । ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आवमा यस्तो व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ थियो । कुल आयातमा आयातको ९१.२६ प्रतिशत योगदान रहेको छ भने निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।
सेयर बजार र घरजग्गाको कारण राजस्वमा वृद्धि, आईआरडीलाई सफलता
काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा ३७ अर्ब रुपैयाँ सङ्कलन भएको थियो । यो वृद्धि ११.३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म ४ खर्ब ४८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८अर्ब रुपैयाँ थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म ४० अर्ब रुपैयाँले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । आयकर (भाडा र ब्याजसमेत) बाट दुई खर्ब ३२ अर्ब रुपैयाँ, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट एक खर्ब १२ अर्ब रुपैयाँ र अन्तःशुल्कबाट ९५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट आठ अर्ब रुपैयाँ राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८.५ प्रतिशत रकम असुली भएको छ । गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले एक खर्ब ७५ अर्ब रुपैयाँ सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य दुई खर्ब ३८ अर्ब रुपैयाँ थियो । वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर सङ्कलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् । कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् । अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उनी बताउँछन् ।
दाजुभाई मिलेर सहकारीको ४ अर्ब बचत ठगी, इच्छाराज पनि संलग्न
काठमाडौं । सरकारले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरस्थित गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीलाई समस्याग्रस्त घोषणा गरेको प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । सहकारी विभागको नियमनभित्र पर्ने उक्त सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेका कारण समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरिएको प्रवक्ता भट्टको भनाइ छ । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरिएको भट्टले बताए । साथै संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको भट्टको भनाइ छ । सहकारीका सञ्चालक डम्बरबहादुर बम्जन तामाङ र पूर्वसञ्चालकले सर्वसाधारणको साढे ४ अर्ब रुपैयाँ बचत तथा सेयर अपचलन गरेका थिए । सहकारीमा लामो समय हालीमुहाली गरेका डम्बरबहादुर र तेजबहादुरले सहकारीबाट १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ बढी ऋण लिएर नतिरेपछि सहकारी संस्थाभित्र समस्या देखिएको थियो । तेजबहादुर डम्बरका दाजु हुन् । यो सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ हुन् । जो सिभिल सहकारीका बचतकर्ताको बचत ठगेको आरोपमा अहिले जेलमा छन् । डम्बरबहादुर बम्जन सहकारीका संस्थापक हुन् । उनले लामो समय यस सहकारीको नेतृत्व गेका थिए । तर, सहकारी संस्थाको सेयर सदस्यसमेत नरहेका तेजबहादुरले दाई डम्बरबहादुरको आडमा विभिन्न शीर्षकमा २०६७ सालमा लिएको ऋण अहिले ७६ करोड ९७ लाख ७९ हजार पुगेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव रहेका तेजबहादुरविरुद्ध उक्त सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको छ । तर, उनी प्रहरीको फरार सूचीमा छन् । सहकारीका तत्कालीन अध्यक्ष डीबीले नै उनका दाजु तेजबहादुरको नाममा कर्जा दिएर दुरुपयोग भएको हो । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिवानासमेत ५५ करोड ५५ लाख ३७ हजार पुगेको छ ।