स्वदेश घुमाउने ‘प्याकेज’ मा आकर्षण बढ्दै, यस्ता छन् ७ हजारदेखि २० हजारसम्मका प्याकेज

काठमाडौं । ‘पहिले स्वदेश, अनिमात्र विदेश’ भन्ने रमाइलो नारा डेढ दशक अघिसम्म पर्यटन क्षेत्रमा व्यापक चल्तीमा थियो । सोही नारा पछ्याउँदै मुलुकका सयौं पर्यटन गन्तव्य घुम्न जाने नेपाली हजारौं हुन्थे । यो क्रमले वर्षौं निरन्तरता पायो । गुडेरमात्र होइन, अलि सक्नेहरू उडेरसमेत देशका विभिन्न गन्तव्य पुग्थे । यसरी नेपालीलाई देशाटन गराइरहेका सयौं ट्राभल कम्पनीहरू एक्कासि विदेश भ्रमण प्याकेज ल्याउनतिर लागे । आम्दानी राम्रो भएका वा ठूला कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नेहरू स्वदेश होइन, विदेश घुम्न आकर्षित हुन थाले । यसले एक समय यतिसम्म देखियो कि नेपालीहरूको ‘ट्राभल ट्रेन्ड’ नै बदलियो भन्दा फरक पर्थेन । यो ट्रेन्ड बिस्तारै निम्न मध्यम वर्गमा समेत आइपुग्यो । सस्तो हवाई टिकटको उपलब्धताका आधारमा ट्राभल कम्पनीहरूले सस्तो टुर प्याकेजहहरू बेच्न थाले । अझ, केही ट्राभल कम्पनीले त मासिक किस्ताबन्दी सुविधामा विदेश भ्रमण प्याकेज पनि उपलब्ध गराउन थाले । सन् २०२० को वर्ष लाग्नासाथ ‘कोरोना भाइरस’ महामारीले पूरै संसार जकडिन पुग्यो । स्वदेश होस् वा विदेश, घुम्ने काम पूरै ठप्प भयो । यसले संसारभरिको पर्यटन क्षेत्र नराम्ररी थलिन पुग्यो । यसबाट नेपालको पर्यटन क्षेत्र अछुतो रहन सक्ने कुरै भएन । कोरोना महामारीले नेपालको अर्थतन्त्र लगभग धराशयी हुन पुग्यो । बिस्तारै कोरोना महामारी विरुद्धको खोप सहज हुन थालेपछि मानिसको आवागमन बढ्न थाल्यो । अनि, सुरुमा बिस्तारै बढ्न थाल्यो आफ्नै देश घुम्ने ट्रेन्ड । पछिल्लो पटक नेपालीहरू आफ्नै देशका पर्यटन गन्तव्य घुम्न जाने ट्रेन्ड चलेको छ । राराताल होस् वा खप्तड, इलामको चिया बगान होस् वा ताप्लेजुङको पाथीभरा, पोखराको फेवाताल होस् वा मुस्ताङको मुक्तिनाथ, यी र यस्तै सयौं नाम कहलिएका पर्यटन गन्तव्यमा नेपालीहरूको चहलपहल देख्न सकिन्छ । पहिले जस्तो आफै गाडी खोज्नुपर्ने, आफै होटल व्यवस्था गर्नुपर्ने, जाने कताबाट हो, कति दिन लाग्छ, बाटोमा के खाने, कहाँ बास बस्ने, मौसम कस्तो होला जस्ता चिन्ता बोकेर घुम्ने चलन लगभग हटिसक्यो भन्दा सायद दुई मत हुने छैन । किन होला ? किनकि, अहिले विदेशमात्र होइन, स्वदेश घुम्न पनि ट्राभल कम्पनीहरूले प्याकेज बेचिरहेका छन् । आफूलाई सहज र सरल लाग्ने प्याकेज खरिद गरे रोजेर विभिन्न पर्यटन गन्तव्य जान पाइन्छ । यसपालि दशैंतिहार, छठजस्ता ठूला चाडपर्व लक्षित गर्दै धेरै ट्राभल कम्पनीले आन्तरिक टुर तथा ट्राभल प्याकेज धमाधम सार्वजनिक गररिहेका छन् । दशैं-तिहार बिदाको मौका पारेर घुम्न निस्किनेहरूलाई यस्ता प्याकेजले धेरै नै मद्दत पुग्ने ट्राभल कम्पनीहरूको भनाइ छ । सस्ता टुर प्याकेजका कारण पछिल्लो पटक निम्न मध्यम वर्गका मानिसहरू पनि मुलुकका विभिन्न पर्यटन गन्तव्य घुम्न जान थालेको व्यवसायीहरू बताउँछन् । यस्तो ट्रेन्ड कोरोना महामारी मत्थर हुँदै गएपछि बिस्तारै बढ्दै गएको व्यवसायीहरूको अनुभव छ । ‘कोरोना महामारीपछि नेपालीहरूमा घुम्नुपर्छ, रमाइलो गर्नुपर्छ, पैसा जोगाएर मात्र हुँदैन रहेछ भन्ने महसुस भएको देखिएको छ,’ एक ट्राभल कम्पनीका सञ्चालक भन्छन्, ‘कोरोनाका कारण नेपालमै हजारौं मान्छेले ज्यान गुमाए । त्यही भएर नेपालीहरूमा घुम्नुपर्छ भन्ने महसुस भएको हो ।’ सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपाने चाडबाडका अवसरमा नेपालीहरू पनि धेरै संख्यामा स्वदेश घुम्न निस्किने बताउँछन् । उनका अनुसार अहिले नेपालको ठूलो पर्यटन स्रोत नै नेपाली हुन् । ‘नेपालमा जति पनि होटलहरू छन्, ती सबै चल्ने नै आन्तरिक पर्यटकले हो,’ उनी भन्छन्, ‘दशैंदेखि छठ पर्वसम्म धेरै नेपालीहरू घुम्न निस्किन्छन्, यतिबेला फेस्टिभ मुड हुने हुँदा उनीहरू परिवारसँग घुम्ने रमाउने गर्छन्, अहिले नेपालीहरूमा पनि घुम्ने ठूलो ट्रेन्ड छ ।’ उनका अनुसार यसपालि दशैंतिहारमा चाडपर्व लक्षित गरेर आन्तरिक मात्रै नभई बाह्य पर्यटक पनि लक्षित गरेर प्याकेज ल्याइएको छ । भारतीयहरूलाई आकाशबाट मानसरोवर दर्शन गराइएको छ । ‘भारतले कोरोना महामारीपछि मानसरोवर यात्रा बन्द गर्‍याे, त्यसपछि उनीहरूले मानसरोवर दर्शन गर्न नपाएको हुँदा हामीले गत चैतमा उनीहरूलाई लक्षित गरेर आकाशबाट मानसरोवर दर्शन गर्ने प्याकेज बनायौं,’ सीईओ न्याैपाने भन्छन्, ‘त्यसलाई अहिले भारतभरि प्रचारप्रसार गर्दा ५ हजारभन्दा बढी भारतीय नेपाल घुम्न आउन लागेका छन् ।’ श्री एयरलाइन्ससँग साझेदारी गरी फ्लाइट चार्टर गरेर उनीहरूलाई आकाशबाट मानसरोवर दर्शन गराइने र यो कार्यक्रम नेपालगञ्जबाट बढी चल्ने उनले बताए । उनका अनुसार अहिले नेपालगञ्जका होटलहरू फुल प्याक भएका छन् । सीईओ न्यौपाने भारतीयहरूलाई होटलसहित ३२ देखि ३५ हजार भारुमा नेपाल भ्रमण प्याकेज बेचेको बताउँछन् । त्यस्तै, नेपालीहरूका लागि भने फ्लाइटसहित ४२ देखि ४५ हजार पर्ने प्याकेज रहेको उनी बताउँछन् । सिद्धार्थ बिजनेस ग्रुपको देशैभरि होटल भएको हुँदा घुम्न जानका लागि देशैभरिको प्याकेज उपलब्ध रहेको सीईओ न्याैपाने बताउँछन् । अर्का पर्यटन व्यवसायी तथा सीएन्डके नेपाल ट्राभलका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ आन्तरिक पर्यटक चितवन, पोखरा र लुम्बिनी बढी घुम्न रुचाउने बताउँछन् । ‘स्वदेशी पर्यटकले रुचाएका डेस्टिनेसन यिनै तीनवटा हुन्,’ उनी भन्छन्, ‘तर, चितवन, पोखरा र लुम्बिनीको प्याकेज उनीहरूले कमै किन्छन्, अहिले स्वदेशी पर्यटकले किन्ने प्याकेज भनेको बर्दिया र राराको हो ।’ कार्यकारी निर्देशक श्रेष्ठका अनुसार प्याकेज किनेर नेपाल घुम्ने पर्यटक एकदमै कम छन् । ‘आफ्नै देश घुम्नका लागि भाषाको समस्या भएन,’ उनी भन्छन्, ‘उनीहरू आफै म्यानेज गरेर जान्छन्, घुम्छन् ।’ उनका अनुसार ४० प्रतिशत आन्तरिक पर्यटक प्याकेज किनेर घुम्न जान्छन् भने ६० प्रतिशत आफ्नै व्यवस्थापनमा जान्छन् । कस्ता छन् देश घुमाउने प्याकेज ? काठमाडौंमा रहेको ट्राभल एजेन्सी विन्डो भ्यु ट्राभल्स एन्ड टुर्सले मुस्ताङ घुम्न जान चाहनेका लागि प्रतिव्यक्ति ७ हजार ७ सय ९९ रुपैयाँको टुर प्याकेज ल्याएको छ । यो प्याकेजमा कागबेनी, जोमसोम, मार्फा, मुक्तिनाथ, बागलुङ कालिका र गलेश्वर महादेवको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्याकेज ३ रात र ४ दिनका लागि हुनेछ । यसमा जान आउन गाडी सुविधा, ३ बिहानको खाजा, खानाको व्यवस्था गरिएको छ । यसैगरी, काठमाडौंकै अर्को ट्राभल एजेन्सी प्रभु एडभेन्चर ट्राभल्स एन्ड टुर्सले अपर मुस्ताङ र मुक्तिनाथ यात्राका लागि ५ रात ६ दिनका लागि १८ हजार ५ सय र ३ रात ४ दिनका लागि ११ हजार ५ सयको टुर प्याकेज ल्याएको छ । यस्तै, कम्पनीले पाथीभरा देवी मन्दिर दर्शनका लागि ४ रात ५ दिनका लागि प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ । यस प्याकेजमा कन्याम, फिक्कल, पाथीभरा, धरान बजार, चिया बगान, बराह क्षेत्र, इलाम बजार, सानो पाथीभारा, बुढासुब्बा लगायत ठाउँ घुम्न सकिने कम्पनीले जनाएको छ । यसैगरी, घान्द्रुक घुम्नका लागि ९ हजारको प्याकेज, पोखराका लागि ७ हजार ५ सय, चितवन सौराहाका लागि ९ हजार, हलेसीका लागि ६ हजार, कालिञ्चोकका लागि ६ हजार ५ सय र रारा ताल घुम्न जानका लागि २५ हजार रुपैयाँको प्याकेज ल्याएको पनि कम्पनीले जनाएको छ । काठमाडौंकै अर्को ट्राभल कम्पनी एडभेन्टो नेपाल ट्राभल्स एन्ड टुर्सले अपर मुस्ताङ र मुक्तिनाथ घुम्नका लागि एसी बसमा यात्रा गर्न १३ हजार ५ सय र स्कार्पियोमा यात्रा गर्न १८ हजार पर्ने ५ रात ६ दिनको प्याकेज ल्याएको छ । यस प्याकेजमा पोखरा, पुम्दीकोटको शिव मन्दिर, बागलुङस्थित नेपालको सबैभन्दा लामा झोलुंगे पुल लगायतका ठाउँ घुम्न पाइने जनाएको छ । यसैगरी, मञ्जुश्री होलिडे ट्राभल्स एन्ड टुर्सले पनि ३ रात ४ दिनका लागि बसमा मुस्ताङ यात्राका लागि प्रतिव्यक्ति ६ हजार ६ सय ९९ को टुर प्याकेज ल्याएको छ । यस्तै, इलेक्ट्रिक भ्यानमा यात्रा गर्दा ९ हजार ५ सय लाग्ने र स्कार्पियोमा यात्रा गर्दा १० हजार ९ सय ९९ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यस्तै, पाथीभरा दर्शन गर्न जानका लागि बसमा ४ रात ५ दिनका लागि प्रतिव्यक्ति १२ हजार ९ सय ९९ र जीपमा १७ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ भने कालिञ्चोकका लागि बसमा प्रतिव्यक्ति २ हजार ९ सय ९९, ईभी भ्यानमा ३ हजार ९ सय ९९ र जीपमा ४ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको कम्पनीले जनाएको छ । अर्को ट्राभल एजेन्सी टुर प्लानर्सले मुक्तिनाथ घुम्नका लागि बसमा जानेका लागि प्रतिव्यक्ति ९ हजार र स्कार्पियोमा जानका लागि १२ हजार ५ सय रुपैयाँको प्याकेज ल्याएको छ भने पाथीभरा बसमा जानेका लागि १२ हजार र स्कार्पियोमा जानेका लागि १६ हजार ५ सयको टुर प्याकेज ल्याएको छ ।

अब विदेशी पर्यटक झण्झटमुक्त, पर्यटन क्षेत्र पारदर्शी बन्ने

काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाे छ । आन्तरिक अर्थतन्त्र चलायनमा बनाउने मात्रै होइन, विदेशी मुद्रा भित्र्याउनका लागि पनि यो क्षेत्रले अग्रणी भूमिका खेल्दै आएको छ । तर, यो क्षेत्र पारदर्शी नभएको भन्दै बेलाबखत प्रश्न पनि उठ्ने गरेको छ । पर्यटकहरूले पनि विभिन्न ठाउँमा भुक्तानीको मात्रै होइन, अन्य धेरै किसिमका सकस खेप्नुपरेको छ । यो समस्यालाई मध्यनजर गर्दै पर्यटन व्यवसायीहरूले पटकपटक आवाज उठाउँछन्, विदेशी पर्यटकका लागि भुक्तानी सहज बनाइदिनुपर्‍याे । विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रमा भुक्तानी सहज होस् भनेर नेपाल राष्ट्र बैंकले पनि हालै क्रसबोर्डर डिजिटल पेमेन्ट अर्थात् अन्तरदेशीय भुक्तानी प्रणालीको व्यवस्था गरेको छ । राष्ट्र बैंकको नीतिलाई सहज र विदेशी नागरिक (पर्यटक)हरूलाई जोड दिएर फोकसवान पेमेन्ट सोल्युसन्स प्रालिले क्रसबोर्डर डिजिटल पेमेन्ट सूचारु गरेको छ । चाइनिज डिजिटल भुक्तानी कम्पनी अलीपे प्लससँगको सहकार्यमा फोकसवान पेमेन्ट सोल्युसन्सले मोको क्यूआर विस्तार गर्ने भएको छ । अलीपे प्लस एप चलाइरहेका विदेशी पर्यटकहरूले नेपाल भ्रमणका क्रममा फोकसवान पेमेन्ट सोल्युसन्सले जारी गरे मोको क्यूआरमा भुक्तानी गर्न सकिने भएको हो । अलीपे प्लस चाइनाको ठूलो भुक्तानी नेटवर्कमध्येमा पर्छ । मोको वालेटका सञ्चालन तथा भुक्तानी विभाग प्रमुख सरोज बस्नेतका अनुसार अलीपे प्लस एप दक्षिणपूर्वी एशियालगायत १४ देशका १.५ अर्बभन्दा बढी उपभोक्ताहरूले भुक्तानीको रूपमा प्रयोग गरिरहेका छन् । अलीपे (चीन), अलीपे एचके (हङकङ), टिनाबा (इटाली), एमपे (मकाओ), माईपीबी (मलेशिया), हिपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चांगी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नावर पे र टस पे (दक्षिण कोरिया), र ट्रूमनी (थाइल्याण्ड) मा सेवा दिइरहेको छ । साथै, काकाओ पे र टच एन गो इवालेट जस्ता थप भुक्तानी एपहरू पनि चाँडै यस सूचीमा समावेश हुने जनाएको छ । यी देशका पर्यटकहरू नेपालमा आउँदा उनीहरूले चलाइरहेको एप्लिकेसनबाटै फोकसवानले प्रदान गरेका मर्चेन्टहरू क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्ने उनको भनाइ छ । यो एप प्रयोग गर्ने व्यक्ति नेपाल आउँदा नगद बोक्नुपर्ने समस्याबाट मुक्त हुने भुक्तानी विभाग प्रमुख बस्नेतले बताए । ‘विदेशी नागरिक नेपालमा आएको बेला नगद बोक्नु परेन, उहाँहरू एउटा मोबाइलका आधारमा देशभर घुम्न सक्नुहुन्छ । मोबाइल बैंकिङ र एपबाटै फोकसवानअन्तर्गत बैंकले अनवोर्ड गरेको मर्चेन्टमा वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुन्छ । उहाँहरूले आफ्नै मुद्रामा भुक्तानी गर्नुहुन्छ । तर, मर्चेन्टरले भने नेपाली रुपैयाँमा बैंक खातामा रिसिभ गर्नुहुन्छ,’ उनले भने । मोको वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय राजभण्डारीका अनुसार अलीपे प्लससँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउँछन् । उनका अनुसार पर्यटकीय गन्तव्यका लागि नेपाल उत्कृष्ट देश हो । बर्सेनि लाखौं पर्यटक घुम्नका लागि नेपाल आउँछन् । अलीपे प्ल प्रयोग गरिरहेका व्यक्तिले अब नगद बोक्नु परेन, विदेशी मुद्रा सटही गर्नु परेन । किनभने मोको क्यूआर स्क्यान गरी रकम भुक्तानी गर्न सकिने उनको भनाइ छ । ‘पर्यटकहरू काठमाडौंमा मात्रै बस्दैनन्, देशभरि भ्रमण गर्नुहुन्छ । १४ दिनसम्म ट्रेकिङ गर्नुपर्ने ठाउँ छन्, त्यहाँ कार्ड चल्दैन, पैसा मात्रै कति बोक्नु ? पैसा बोक्दा चोरी वा हराउने सम्भावना हुन्छ,’ उनले भने, ‘अब कार्ड र नगद बोक्नु पर्दैन, मोबाइल एप भए क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्नुहुन्छ ।’ सीईओ राजभण्डारीका अनुसार नेपालका पर्यटकीय क्षेत्रमा डेढ/दुई लाख साना तथा मझौला उद्यमीहरू छन् । उनीहरूले आफ्नो सामान बिक्री गरेर भुक्तानीका लागि मोकोको क्यूआर एउटा माध्यम मात्रै बनेको उनकाे भनाइ छ । एउटा पर्यटकले दैनिक ४० डलर खर्च गरिरहेका हुन्छन् । अब क्यूआर सञ्चालनमा आएपछि पर्यटकको खर्चको आकार पनि बढ्ने उनको दाबी छ । साथै पर्यटन क्षेत्र पनि पारदर्शी व्यवसायका रूपमा उदाउने उनले बताए । ‘हामी पहिला क्यूआरको संख्या विस्तार गर्छाैं, बौद्ध, ठमेल, पोखरा, ट्रेकिङ रुट, लुम्बिनी, सोलुखुम्बु, चितवन, बर्दिया लगायत देशभर भुक्तानी सेवा विस्तार गर्छाैं, नेपाल पर्यटन बोडसँग पनि सहकार्य गरेर प्रचार प्रसार गर्छाैं,’ सीईओ राजभण्डारीले भने । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बैंकहरूले क्रस बोर्डर डिजिटल कारोबारमा जोड दिइरहेको बताउँछन् । विगतमा कार्डबाट विदेशी मुद्रामा कारोबार गर्ने गरेको र अब कार्डलाई मर्चेन्टमा विकास गरिने उनको भनाइ छ । उनका अनुसार क्यूआर प्रयोगकर्ता एशियामा सबैभन्दा धेरै रहेका छन् । जबकि यूरोपमा पनि त्यति धेरैले क्यूआर प्रयोग गर्दैनन् । नेपालमा बढी पर्यटक एशियाबाट आउने गरेका छन् । ‘युवापुस्ताले कार्ड पनि बोक्न छाडे, उनीहरू क्यूआरबाटै कारोबार गर्न रुचाउँछन् । सानो पसल, होटल, मर्चेन्ट पसलमा क्यूआर बढी प्रयोग हुन्छ । तर, ठूलो कारोबार हुने गर्छ,’ उनले भने, ‘अब चाइनिजसहित अन्य देशका पर्यटकलाई भुक्तानी गर्न सहज हुनेछ ।’ राष्ट्र बैंकका निर्देशक विनोदराज आचार्य अलीपेको सेवाबाट नेपाली उपभोक्तासँगै विदेशी नागरिक पनि लाभान्वित हुने बताउँछन् । तर, कम्पनीले सुरक्षित र भरपर्दाे सेवामा जोड दिनुपर्ने उनको भनाइ छ । साथै उपभोक्तालाई जति सक्दो सहुलियत सेवा दियो त्यति नै कम्पनीको व्यवसाय वृद्धि हुने उनले सुझाव दिए । ‘राष्ट्र बैंकका नीति निर्देशनभित्र रहेर सेवा प्रवाह र विस्तार गर्नुपर्छ, भुक्तानी कारोबामा तलमाथि गर्नुहुँदैन, यदि कुनै किसिमको दुविधा पर्‍याे भने राष्ट्र बैंकसँग सहजीकरण गर्न तयार छ,’ उनले भने, ‘हामीले संयुक्त रूपमा काम गर्नुपर्ने हुन्छ, भविष्यमा अप्ठ्याराे स्थिति नआओस् भनेर सहज गर्न तयार छौं ।’ डिजिटल पूर्वाधार र नेपालीको ज्ञानका आधारमा डिजिटलमा ठूलो क्षति हुन्छ कि भन्ने चिन्ता रहेकाले सुरक्षामा जोड दिन उनले कम्पनीलाई सुझाव दिए ।

पूर्वअर्थमन्त्री महतको नीतिले ५० अर्बको गलैंचा उद्योग धराशायी

  काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत अर्थशास्त्री पनि हुन् । उनले अमेरिकाको इलिनोइसको कर्बोन्डेलस्थित दक्षिणी इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी आर्थिक क्षेत्रको विज्ञ हुन् । तर, उनै विज्ञ अर्थशास्त्रीले गर्दा गलैंचा व्यवसायी धराशायी हुने अवस्थामा मात्र पुगेका छैनन्, यस क्षेत्र नै ध्वस्त हुने चिन्ता बढेको छ । तत्कालीन अर्थमन्त्री डा. महतले आफ्नाे कार्यकालमा गरेकाे गलत नीतिले निर्यात व्यवसायी धराशायी हुने अवस्थामा पुगेका हुन् ।आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत उनले निर्यात व्यवसायी र गलैंचा व्यवसायीको डाढ सेक्ने काम गरे । नेपालको चुलिँदो व्यापार घाटालाई मलहम लगाउने प्रयास गरिरहेको गलैंचा व्यवसायीलाई मूल्य अभिवृद्धि कर, भन्सार कर र निर्यात वस्तुमा पाइने अनुदान कटौती गरेर त्यस क्षेत्रलाई धराशायी बनाउन अर्थमन्त्री डा. महत उद्दत भए । गलैंचा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ‘उल’ नेपालमा उत्पादन हुँदैन । यो तिब्बत र न्यूजिल्याण्डबाट आयात गरिँदै आइएकाे छ । नेपालमा उल भित्र्याइ गलैंचा बनाएपश्चात विदेशमा निर्यात हुन्छ । ९९ प्रतिशत गलैंचा विदेशमा नै बिक्री गरिन्छ । यसरी विदेशमा निर्यात हुने वस्तु निर्माणका लागि आयात गरिने कच्चा पदार्थ उल, सिलिकन आदिमा विगतका वर्षमा भन्सार कर लाग्ने थिएन । २०७९ चैत १७ गते अर्थमन्त्री बनेका डा. महतले ती कच्चा वस्तुको आयातमा कर लगाए । यसैगरी, सरकारले गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिँदै आएको थियो । जसले गलैंचा उद्योग निर्यातको एक खम्बाको रूपमा स्थापित भएको थियो । तर, अर्थका विज्ञ डा. महतले सो खम्बा ढाल्ने काम गरे । उनले आव २०८०/८१ को बजेटमार्फत गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि लागू गरे । यसका साथै नेपालमा उत्पादन हुने वस्तु निर्यातबाट हुने आम्दानीमा लाग्ने कर ५० प्रतिशत छुट सरकारले दिँदै आएको थियो । तर, अर्थमन्त्रीले यस्तो छुट पनि नदिने नीति ल्याए । अर्थात गलैंचा व्यवसायीले निर्यातबाट हुने आम्दानीको कर शत प्रतिशत नै तिर्नुपर्ने व्यवस्था लादे । तत्कालीन अर्थमन्त्री डा. महतको  नीतिको असर: डा. महतअघिका अर्थमन्त्रीहरूले गलैंचाकाे विषयमा केही हेरफेर गरेका थिएनन् । अझ उनीहरूले त निर्यात व्यवसायीलाई प्रोत्साहन हुने, अनुदान दिनेजस्ता उदाहरणीय काम गरेका थिए । डा. महतको उक्त नीतिले गलैंचा व्यवसाय पूर्णरूपमा ध्वस्त हुने व्यवसायीहरू बताउँछन् । निर्यात व्यवसायी महासंघ र नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका संस्थापक अध्यक्ष रामबहादुर गुरुङले डा. महतको उक्त नीतिले गलैंचा व्यवसायी पलायन हुने, लाखौंको रोजगारी गुम्ने र निर्यात घट्नुका साथै व्यापार घाटा बढ्ने बताए । यसका साथै उनले हाल नेपाली गलैंचा उद्योगमा ५० अर्ब बढी लगानी रहेको बताउँदै उक्त ५० अर्बको उद्योग धराशायी हुने चिन्ता व्यक्त गरे । सरकारको उक्त नीतिले विदेशी गलैंचा उत्पादकसँग नेपाली उत्पादकले प्रतिस्पर्धा गर्न कठिन भएको अध्यक्ष गुरुङकाे भनाइ छ । भन्सार कर, मूल्य अभिवृद्धि र अनुदान कटौति गर्दा उत्पादन महँगो पर्न गएको उनले बताए । उत्पादन महँगो पर्दा त्यसको मूल्य पनि बढ्ने हुनाले अन्य देशका उत्पादकसँग प्रतिस्पर्धा गर्न कठिन रहेको उनले सुनाए । यस कारणले निर्यात पनि घटिरहेको, विदेशमा माग पनि घटेको उनकाे भनाइ छ । भन्सार विभागको तथ्यांकले पनि गलैंचा निर्यात परिमाण र निर्यात रकम दुवैमा घटेको देखाएको छ । विभागका अनुसार गलैंचा निर्यात परिमाण १५.८५ प्रतिशतले घटेको छ । आव २०७९/०८० मा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको थियो । आव ०८०/८१ मा ४ लाख १४ हजार २९२ मिटर मात्रै निर्यात भयो । अर्थात, आव ०७९/०८० मा ११ अर्ब ५० करोड रुपैयाँको गलैंचा निर्यात भएकोमा आव २०८०/०८१ मा निर्यात ८.०८ प्रतिशतले घटेको विभागले जनाएको छ । विभागका अनुसार आव ०८०/०८१ मा निर्यात १० अर्ब ५७ करोडमा खुम्चिएको छ । रोजगारी घट्यो, व्यवसायी पलायन :  नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अनुसार आव २०७९/०८० मा गलैंचा उद्योग क्षेत्रमा ७ लाख बढीले रोजगारी पाएका थिए । तर, अहिले गलैंचाको माग र उत्पादन घटेसँगै रोजगारी पनि घटेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो एक वर्षमा यस क्षेत्रमा २८ प्रतिशतले राेजगारी गुमेको छ । हाल गलैंचा उत्पादन उद्याेगमा ५ लाख जनाले मात्र रोजगारी पाएका छन् । रोजागारीसँगै व्यवसायी पनि पलायन हुने अवस्था आएको अध्यक्ष गुरुङले बताए ।  ‘८ सय जति व्यवसायी छन् । एक जना व्यवसायीले कम्तीमा १० करोड लगानी गरेको छ । उक्त लगानी भएका कारणले मात्र अहिलेसम्म व्यवसायी देखिने गरी पलायन भएका छैनन् । तर केही व्यवसायीले यस क्षेत्र छोडिसकेको अवस्था छ । सरकारको नीति नसच्चिए व्यवसायी पलायन तीव्र रूपमा हुन्छ, ’ उनले भने ।