लघुवित्तमा साढे ६ लाख ऋणी घटे, बैंकर भन्छन्- अब लघुवित्तमा शुद्धिकरण भयो
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूबाट ऋणीहरूको संख्या स्वाट्टै घटेको छ । पछिल्लो तीन वर्षको अवधिमा लघुवित्त संस्थाबाट साढे ६ लाख ऋणी घटेका हुन् । ३ वर्षअघि अर्थात् २०७९ असारसम्म ३३ लाख ३ हजार ग्राहकले लघुवित्त संस्थाहरूबाट ऋण लिएका थिए । तर, पछिल्लो समय उक्त संख्या घट्दै २०८१ असारसम्म लघुवित्त संस्थाबाट कर्जा लिनेको संख्या २६ लाख ६३ हजारमा झरेको हो । यसअवधिमा लघुवित्त संस्थाबाट १९.३७ प्रतिशत अर्थात् ६ लाख ४० हजार ऋणी घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । विगतको तथ्याङ्क केलाउँदा हाल लघुवित्तमा रहेका ऋणीको संख्या ६ वर्षयताकै कम हो । विसं २०७६ असारमा लघुवित्त संस्थामा २६ लाख ७९ हजार ऋण खाता थिए । सो वर्षपछि ऋणीको संख्या निरन्तर बढेको देखिन्छ । तर, गत वर्ष भने ऋणीको संख्यामा व्यापक गिरावट आएको देखिन्छ । तथ्याङ्कअनुसार लघुवित्त संस्थाहरूमा २०८० असारमा २९ लाख ८४ हजार ऋणी, २०७८ असारमा २९ लाख ९२ हजार ऋणी, २०७७ असारमा २७ लाख ८३ हजार ऋण खाता, २०७५ असारमा लघुवित्त संस्थाहरूमा १८ लाख ५४ हजार ऋणी थिए । यस्तै, २०७४ असारमा १५ लाख ७६ हजार ऋणी, २०७३ असारमा १२ लाख ९६ हजार ऋणी, २०७२ असारमा १० लाख ८२ हजार, २०७१ असारमा ११ लाख ३ हजार र २०७० असारमा ८ लाख ४९ हजार ऋणीले लघुवित्त संस्थाबाट कर्जा लिएको तथ्याङ्कमा छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नुमानाथ पौडेल लघुवित्त संस्थाहरूको पहुँच बढेको तर व्यवसाय सीमित भएकाले ऋणीको संख्या घटेको बताउँछन् । साथै आर्थिक क्षेत्रमा देखिएको शिथिलताका कारण पनि त्यसको असर लघुवित्त क्षेत्रमा पनि परेको उनको भनाइ छ । ‘लघुवित्तको विस्तार बढेसँगै त्यसको पनि सीमितता हुन्छ, राष्ट्र बैंकले सबै स्थानीय तहमा पहुँच पुर्याउन भनेपछि लघुवित्त संस्थाहरूले सबै ठाउँमा आफ्नो पहुँच पुर्याए । तर, पछिल्लो समय शाखा विस्तार गर्न छाडेका छन्,’ सीईओ पौडेलले भने, ‘कोरोनापछि भाका नाघेको ऋणीको संख्या ३६ प्रतिशतसम्म पुग्यो, यस्तो दूरावस्था देखेपछि धेरै कर्जा दिनु हुँदैन, कुनै पनि समयमा क्रास हुन सक्छ, विषम परिस्थिति आयो भने ऋण तिर्न सक्दैन भन्ने अवधारण बनाएपछि ऋणीको संख्यामा कमी आएको हो ।’ विगतमा १५ लाख रुपैयाँसम्म कर्जा र जतिवटा लघुवित्त संस्थाबाट पनि ऋण लिन पाइने व्यवस्था थियो । तर, यस्तो हुँदा समस्या आएपछि राष्ट्र बैंकले नीति नै परिवर्तन गरेपछि ऋणीको संख्या घट्न पुगेको उनकाे भनाइ छ । ‘विगतमा एउटै व्यक्तिलाई ४/५ वटा लघुवित्तले ऋण दिन्थे । तर, राष्ट्र बैंकले एउटा ऋणीले एक संस्थाबाट मात्रै कर्जा लिन पाइने व्यवस्था गर्यो । कर्जाको सीमा १५ लाख रुपैयाँबाट ७ लाख रुपैयाँमा झार्यो । जसकारण ऋणीको संख्या घट्न पुगेको हो,’ सीईओ पौडेलले भने, ‘लघुवित्त मर्जरका कारण पनि ऋणीको संख्यामा कमी आएको हो, छुट्टाछट्टै संस्था हुँदा दोहोरो गणना भएको थियो । मर्जरपछि दोहारो गणना हट्यो ।’ १५ लाख रुपैयाँ कर्जा आवश्यक भएको व्यक्तिले लघुवित्तबाट ऋण लिन नपाउने भएपछि सो व्यक्ति बैंकिङ क्षेत्रतर्फ पलायन भए । साथै, कर्जा सूचना केन्द्रले पनि प्रभावकारी रूपमा कार्यान्वयन गरेका कारण कर्जाका ग्राहक घटेका हुन् । कर्जातर्फका ग्राहक घट्नुमा लघुवित्त विरुद्धको आन्दोलनले ५ प्रतिशतमात्रै असर गरेको उनको भनाइ छ । नेशनल लघुवित्तका सीईओ रामबहादुर यादव नियामकीय व्यवस्थाका कारण कर्जातर्फका ग्राहक घटेको बताउँछन् । एक संस्था एक ग्राहक नीति ल्याएपछि संख्यामा गिरावट आएको र लघुवित्तमा शद्धिकरण भइरहेको उनको भनाइ छ । ‘एउटा संस्थाले एउटा ग्राहकलाई मात्रै कर्जा दिने व्यवस्था गर्यो, यो वर्षदेखि २ वटा संस्थाबाट ऋण लिन सकिने व्यवस्था भयो, यसले लघुवित्त संस्थाहरू स्वस्थ प्रतिस्पर्धा, शद्धिकरणतर्फ जाँदैछ भन्ने बुझिन्छ,’ सीईओ यादवले भने, ‘विगतमा एउटै ऋणीले धेरै संस्थाबाट कर्जा लिँदा गलत अभ्यास मौलायो, अब एउटा व्यक्तिले एउटा संस्थाबाट मात्रै ऋण लिँदा समयमा कर्जा चुक्ता गर्न सक्छ ।’ संख्या घट्नु संस्थाको लागि राम्रो नभएपनि इण्डष्ट्रीका लागि भने गजब भएको उनको धारणा छ । उनका अनुसार मल्टीफाइनान्स कम हुनु भनेको लघुवित्त संस्था उत्कृष्टततर्फ अगाडि बढिरहेका भन्ने हो । र यो संख्या अझै घटाउनुपर्छ । लघुवित्त विरुद्धको आन्दोलनले ग्राहक संख्यामा कुनै असर नगरेको भएपनि सजग भने भएको उनले बताए । ‘सडकमा देखिएका मान्छेहरू एउटै व्यक्तिले ५/१० वटा संस्थाबाट कर्जा लिएर नतिर्ने नियतका हुन्, कर्जा नतिर्नका लागि सडक आन्दोलनमा उत्रिएका हुन्, ऋण लिएर मिटरब्याज र अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्या आयो, त्यो पैसा फिर्ता गर्न नपरोस् भनेर आन्दोलन गर्नुभयो,’ सीईओ यादवले भने, ‘अब लघुवित्त सबै सजग भएका छन्, कर्जा जथाभावी लगानी गर्दैनन्, जो पायो त्यही मान्छेलाई ऋण दिँदैनौं, कर्जा सूचना केन्द्रले पनि प्रभावकारी काम गरिरहेको छ ।’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विमलराज खनाल लघुवित्त क्षेत्रको दिगोपनाका लागि दोहोरो ऋणीको संख्या घटाउनु परेको बताउँछन् । नाफा र व्यवसायभन्दा पनि लामो समयसम्म टिक्न राष्ट्र बैंकले काम गर्ने उनले बताए । ‘राष्ट्र बैंकले लघुवित्तलाई बहु-बैंकिङ गर्न दिएको छैन, एउटा ऋणीले दुईवटा संस्थाभन्दा बढी संस्थाबाट कर्जा लिन पाउँदैनन्, बहु-बैंकिङ गर्न नपाएपछि निक्षेपको रकम फिर्तासँगै ऋणी सदस्यले सदस्य नै हुन पाउँदैन, सदस्य हुन नपाएपछि कर्जा लिन पनि पाउँदैन,’ उनले भने, ‘ऋणको सीमा ७ लाख रुपैयाँ अझै एक/दुई वर्षसम्म रहन सक्छ, अहिले नाफा र व्यवसायभन्दा पनि दीर्घकालसम्म सञ्चालन गर्नुपर्छ ।’ लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलन ब्याज र साँवा मिनाहा हुनुपर्ने भएकाले त्यसको प्रभाव नपरेको उनको बुझाइ छ । निक्षेप सदस्य पनि घट्दै लघुवित्त संस्थाहरूमा ऋणीसँगै निक्षेप सदस्यको संख्या पनि घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा लघुवित्त संस्थाहरूका ६० लाख १६ हजार निक्षेप खाता थिए । गत वर्ष घटेर ५९ लाख ९५ हजारमा झरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ हजार निक्षेप खाता घटेका हुन् । तथ्याङ्कअनुसार २०७९ असारमा लघुवित्त संस्थाहरूमा ५८ लाख ५९ हजार, २०७८ असारमा ५१ लाख ९१ हजार, २०७७ असारमा ४६ लाख ८७ हजार, २०७६ असारमा ४३ लाख २८ हजार, २०७५ असारमा २८ लाख ५७ हजार निक्षेप सदस्य रहेका छन् । यस्तै, २०७४ असारमा २३ लाख ६९ हजार, २०७३ असारमा १८ लाख ७४ हजार, २०७२ असारमा १५ लाख ४९ हजार, २०७१ असारमा ११ लाख ६४ हजार, २०७० असारमा ११ लाख ६४ हजार निक्षेप खाता रहेका थिए ।
झन् सशक्त बन्दै बीवाईडी, अर्को वर्ष नयाँ पुस्ताको ब्लेड ब्याट्री लन्च गर्ने
काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले सन् २०२५ मा नयाँ पुस्ताको ब्लेड ब्याट्री सार्वजनिक गर्ने योजना बनाएको छ । उक्त ब्याट्रीले राम्रो दूरी प्रदर्शन गर्ने अपेक्षा बीवाईडीले गरेको छ । ‘मलाई लाग्छ, आउँदाे वर्ष २०२५ मा बीवाईडीले हाम्रो उत्कृष्ट ब्लेड ब्याट्रीको नयाँ पुस्ता प्रस्तुत गर्नेछ,’ बीवाईडी सेन्ट्रल एसियाका प्रबन्ध निर्देशक तथा युरोपियन अटो सेल्स डिभिजनका प्रमुख काओ शुआङले भने । ‘यसले हाम्रा गाडीको यात्राको दूरी बढाउनेछ र ब्याट्री लाइफ पनि लम्ब्याउनेछ,’ उनले थपे । शुआङले यो कुरा हालै सम्पन्न भएको संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन संरचना महासन्धिको २९औं सम्मेलन (कोप २९) को क्रममा अजरबैजानको बाकुमा बताएका हुन् । उनका अनुसार बीवाईडीले आफ्नो ब्याट्री लाइफ व्यवस्थापन प्रणालीमा ध्यान केन्द्रित गर्दैछ र विभिन्न उद्योगका साझेदारसँग मिलेर ब्याट्री पुन: प्रयोग प्रणाली विकास गर्न काम गरिरहेको छ । उदाहरणका लागि, गाडीमा प्रयोग भएको ब्याट्रीको पहिलो जीवनपछि तिनीहरूलाई ऊर्जा भण्डारणजस्ता विभिन्न प्रकारका काममा प्रयोग गर्न सकिन्छ । काओले भने, ‘बीवाईडीले विश्वभर नयाँ ऊर्जा गाडी (एनईभी) उत्पादन र नवीनतम प्रविधिहरू मानिसहरूका लागि उपलब्ध गराउँदै राम्रो उदाहरण प्रस्तुत गरेको छ ।’ ‘यो प्रतिबद्धता विभिन्न देशहरूमा जे भए पनि अडिग रहनेछ,’ उनले थपे । बीवाईडीले पहिलो पुस्ताको ब्लेड ब्याट्री मार्च २०२० मा सार्वजनिक गरेको थियो । लिथियम आयरन फस्फेट (एलएफपी) रसायनमा आधारित यो ब्याट्री सुरक्षाको विषयमा केन्द्रित भइ बनेकाे छ र अहिले एनईभी निर्माता कम्पनीका सम्पूर्ण मोडलहरूमा प्रयोग भइरहेको छ । बीवाईडीले विगत केही वर्षमा आफ्नो ब्याट्री अपडेट गरेको थिएन । यो बीचमा ब्याट्री कम्पनी (सीएटीएल) जस्ता अन्य कम्पनीहरूले नयाँ ब्याट्री उत्पादन सार्वजनिक गरेका छन् । जुन १३ मा स्थानीय मिडिया ३६ केआरले बीवाईडीसँग नजिकको स्रोतलाई उद्धृत गर्दै कम्पनीको दोस्रो पुस्ताको ब्लेड ब्याट्री चाँडै सार्वजनिक हुन सक्ने बताएकाे थियाे । अक्टोबर ३० मा स्थानीय अटोमोटिभ मिडिया एक्ससुजिङका प्रधान सम्पादक वु यिङले बीवाईडीको लक्जरी उप-ब्रान्ड याङवाङको यू ७ सेडानलाई दोस्रो पुस्ताको ब्लेड ब्याट्रीद्वारा सञ्चालन गरिने जानकारी दिएका थिए । याङवाङ बीवाईडीको उप-ब्रान्ड हो, जसलाई जनवरी ५, २०२३ मा सार्वजनिक गरिएको थियाे । एक लाख ३८ हजार अमेरिकी डलर मूल्यको उक्त गाडी अल्ट्रा लक्जरी बजारलाई लक्षित गरी सार्वजनिक गरिएको हो । यसको पहिलो मोडल यू ८ अफ-रोड एसयूभी हो । याङवाङले यस वर्षको जनवरी १० मा ब्रान्डको पहिलो सेडानको हर्सपावर एक हजारभन्दा बढी हुने र यसको मूल्य १ मिलियन युआन बराबरको हुने घोषणा गरेको थियाे । बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे । सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो । हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भयो । आगामी दिनमा बीवाईडीले अटोमोटिभ सिस्टमका लागि इन्टेलिजेन्ट टेक्नोलोजीमा एआईलाई एकीकृत गर्न र ड्राइभिङ सिस्टम अपग्रेड गर्न १०० अर्ब युआन लगानी गर्ने घोषणासमेत गरिसकेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको बीवाईडी हाल विश्वभर करिव १० लाख कर्मचारीसहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढौं- चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न राष्ट्र बैंकले रोक्यो, एनपीएल ४०.८५ प्रतिशत
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरिएको छ । बैंकको पुँजीकोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याग्रस्त घोषणा गरेको हो । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज, बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको हो । राष्ट्र बैंकले साउन ६ गतेदेखि साउन ११ गतेसम्म बैंकको निरीक्षण गर्दा कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेको छ । जसकारण बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले बैंकले शीघ्र सुधारात्मक कारवाही अघि बढाएको राष्ट्र बैंकले जनाएको छ । ‘शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारवाही गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।