मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै
काठमाडौं । टेस्लाको सेयरले अहिलेसम्म यस्तो घाटा बेहोरेको थिएन । जबदेखि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क वाशिंगटन गएर ट्रम्प प्रशासनमा सामेल भए तबदेखि टेस्लाको सेयर घटिरहेको छ । लगातार सात हप्तासम्म टेस्लाको सेयर घटेको छ । सार्वजनिक कम्पनी बनेको १५ वर्षमा यो टेस्लाको अहिलेसम्मकै सबैभन्दा लामो गिरावट हो । २०२५ मा करिब ३० प्रतिशत गिरावट यस वर्ष टेस्लाका सेयरमा करिब ३० प्रतिशत गिरावट आएको छ। यो गिरावट विश्वका प्रमुख कम्पनीहरू गुगल र एनभीडीयाको भन्दा पनि धेरै हो । गुगलका सेयरहरू यस वर्ष करिब ८ प्रतिशत घटेका छन् भने एनभीडीयाका सेयरमा करिब १८ प्रतिशत गिरावट आएको छ । टेस्लाका सेयर पछिल्लो एक महिनामा मात्रै करिब २५ प्रतिशत घटिसकेका छन् । विश्लेषकहरूले टेस्लाका नयाँ गाडीहरूको बिक्री घट्दै गएको र ‘कम लागतको मोडेल’ सम्बन्धी मस्कबाट हालसालै कुनै अपडेट नआएको कारण देखाएका छन् । गोल्डम्यानका विश्लेषकहरूले युरोप, चीन र अमेरिकाका विभिन्न बजारमा टेस्लाका इलेक्ट्रिक गाडी बिक्री घटेको उल्लेख गरेका छन् । गोल्डम्यानका विश्लेषकहरूले भने, ‘चीनमा एफएसडी (पूर्ण स्वचालित ड्राइभिङ) को लागि टेस्लाले कडा प्रतिस्पर्धा सामना गरिरहेको छ, जहाँ प्रमुख प्रतिस्पर्धीहरूले स्मार्ट ड्राइभिङ सुविधाहरूको लागि छुट्टै सफ्टवेयर खरिद गर्नुपर्दैन ।’ यसैबीच बाएर्डले टेस्लालाई ‘बेयरिश फ्रेश पिक्स’ सूचीमा समावेश गरेको छ । विश्लेषकहरूले लेखेका छन्, ‘उत्पादन अवरोधले टेस्लाको आपूर्ति चेनलाई जटिल बनाउनेछ ।’ मस्कको राजनीति र प्रभाव तर वाल स्ट्रिटका लगानीकर्ताहरू मात्र बिक्री र उत्पादनजस्ता मौलिक कारकहरूलाई लिएर चिन्तित छैनन् । मस्कको राजनीति र ह्वाइट हाउसमा उनको संलग्नताले टेस्लामा कति असर पार्नेछ भन्ने विषयमा पनि छलफल भइरहेको छ । बाएर्डका विश्लेषकहरू लेख्छन्, ‘मस्कको ट्रम्प प्रशासनसँगको सम्बन्धले माग पक्षमा अनिश्चितता थपेको छ ।’ मस्क हालै ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ (डीओजीई) को नेतृत्व गरिरहेका छन् । उनी पहिल्यैदेखि कृत्रिम बौद्धिकता स्टार्टअप एक्सएआई, सामाजिक सञ्जाल कम्पनी एक्स र अन्तरिक्ष तथा रक्षा कम्पनी स्पेसएक्सको नेतृत्व गरिरहेका थिए । टेस्ला र मस्कविरुद्धको प्रतिक्रियाहरू मस्क हाल ट्रम्प प्रशासनको संघीय सरकारको बजेट, श्रमशक्ति र संस्थागत क्षमतामा कटौती गर्ने प्रयासको सार्वजनिक अनुहार बनेका छन् । साथै उनी एक्समा विवादास्पद राजनीतिक टिप्पणीहरू पोस्ट गर्दै आएका छन् । अमेरिका र युरोपमा मस्क तथा टेस्लाविरुद्धको असन्तुष्टि बढ्दै गएको छ । टेस्लाका सोरूमहरूमा आगजनी तथा तोडफोडका घटनाहरू पनि देखिएका छन् । यहाँसम्म कि टेस्लाका कट्टर समर्थक विश्लेषकहरू र प्रशंसकहरू पनि अब मस्कको राजनीतिक गतिविधिले टेस्लाको ग्राहक र लगानीकर्तामा असर पारिरहेको स्वीकार्न बाध्य भएका छन् । ईभी समर्थक वेबसाइट क्लिनटेचनिकाले बिहीबार ‘टेस्लाका मालिकहरूले अब आफ्नो गाडी बेच्नुपर्छ ?’ भन्ने शीर्षकमा एक नैतिक लेख प्रकाशित गर्यो । उक्त लेखमा टेस्लाको बोर्डले मस्कलाई सीईओ पदबाट हटाउनुपर्छ कि भनेर बहस गरिएको थियो। मस्क र टेस्लाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । टेस्लाका बुलहरूका लागि कठिन समय शुक्रबार वेडबुश सेक्युरिटीजका ड्यान आइभ्सले लेखे, ‘टेस्लाका बुलहरू (उत्साही लगानीकर्ताहरू) अहिले कठिन अवस्थामा छन् । मस्क, डीओजीई र ट्रम्प प्रशासनसँग सम्बन्धित नकारात्मक धारणा विश्वभर फैलिएको छ ।’ उनले यो समय टेस्ला बुलहरूका लागि ‘गम्भीर परीक्षणको क्षण’ भएको बताए । तर वेडबुशले यो सेयरको गिरावटलाई अवसरको रूपमा लिएको छ । फर्मले टेस्लालाई आफ्नो ‘सबैभन्दा उत्कृष्ट विचारहरू’ सूचीमा समावेश गरेको छ र १२ महिनाभित्र ५५० डलरको लक्ष्य निर्धारण गरेको छ । वेडबुशले लेख्यो, ‘टेस्लाका लागि ट्रम्प प्रशासनकै नेतृत्व सबैभन्दा राम्रो कुरा हुनसक्छ किनकि यसले स्वचालित गाडीहरूको लागि संघीय नियमहरू नरम पार्नेछ।’ विश्वभर टेस्लाको बिक्रीमा गिरावट हाल विश्वभर टेस्लाका कारहरूको बिक्री घटिरहेको छ । जर्मनीमा फेब्रुअरी महिनामा ७६ प्रतिशत, नेदरल्याण्डमा २४ प्रतिशत, स्वीडेनमा ४२ प्रतिशत, फ्रान्समा ४५ प्रतिशत, इटालीमा ५५ प्रतिशत, स्पेनमा १० प्रतिशत र पोर्चुगलमा ५३ प्रतिशतले बिक्रीमा गिरावट आएको छ । चीनमा उत्पादित टेस्ला गाडीहरूको विश्वव्यापी बिक्रीमा ४९ प्रतिशत गिरावट आएको छ । यो गिरावटले टेस्लाको भविष्यमा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ। कति घट्यो मस्कको नेटवर्थ ? ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार एलन मस्कको नेटवर्थ यस वर्ष १०३ अर्ब डलरले घटेको छ । यद्यपि यसको बावजुद पनि उनी अझै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अहिले मस्कको नेटवर्थ ३३० अर्ब डलर रहेको छ । यस वर्ष सम्पत्ति गुमाउने मामलामा पनि मस्क पहिलो स्थानमा छन् । उनको सम्पत्ति घट्नुको मुख्य कारण टेस्लाका सेयरहरूमा आएको भारी गिरावट हो । (एजेन्सीहरूको सहयोगमा)
७ महिनामा बैंकहरूको नाफा ३६ अर्ब रुपैयाँ, आधा दर्जन बैंक करोड क्लबमै सीमित
काठमाडौं । वाणिज्य बैंकहरूले ७ महिनाको अवधिमा ३६ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा २० वटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ७ महिनाको अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । गत माघसम्म नबिलले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, नाफा गरेका छन् । ७ महिनाको अवधिमा हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ९ करोड १७ लाख रुपैयाँ नाफा गरेका छन् । अधिकांश बैंकले ७ महिनाको अवधिमा अर्बभन्दा बढी नाफा गरेपनि विभिन्न आधा दर्जन बैंक भने करोड क्लबमै सीमित भएका छन् । जसमध्ये माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् ।
संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी
निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा । फाइल तस्बिर । काठमाडौं । जापानको तेस्रो ठूलो अटो निर्माता निसानका निर्देशकहरूले मार्च ११ मा बस्ने बैठकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकाटो उचिडाको सम्भावित उत्तराधिकारीबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कम्पनीको प्रदर्शन बिग्रँदै गएपछि उचिडाको पद धरापमा रहेको यस विषयमा जानकार तीन जना स्रोतले बताएका छन्। उम्मेदवारहरूमध्ये मुख्य वित्तीय अधिकारी (सीएफओ) जेरिमी पापिन र मुख्य योजना अधिकारी (सीपीओ) इभान एस्पिनोसा छन्, तर उनीहरू नै सीईओ बन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । अर्को स्रोतका अनुसार नयाँ सीईओलाई अस्थायी वा संक्रमणकालीन रूपमा नियुक्त गर्न सकिने जनाइएको छ । यसले बोर्डलाई स्थायी प्रतिस्थापन खोज्न थप समय दिनेछ। सूचनाहरू सार्वजनिक नभइसकेका कारण यी व्यक्तिहरूले आफ्नो परिचय खुलाउन अस्वीकार गरे । निसानका प्रवक्ताले यसबारे कुनै टिप्पणी गर्न मानेनन् । मार्च ११ को बैठकको मिति पहिलो पटक क्योदो न्युजले रिपोर्ट गरेको थियो । यपोनको योमिउरी पत्रिकाले मुख्य कार्यसम्पादन अधिकारी (सीपीओ) गिलियम कार्टियर पनि पापिन र एस्पिनोसासँगै विचाराधीन रहेको जनाएको छ । होन्डासँगको मर्जर वार्ता असफल भएपछि उचिडाको सम्भावित बर्खास्ती गत महिनामा निसान र होन्डाबीच ६० अर्ब डलरको संयुक्त कम्पनी बनाउने वार्ता असफल भएपछि उचिडाको पद झन् धरापमा परेको हो । सन्तुलन र शक्ति बाँडफाँडमा असहमत भएपछि मर्जर रद्द भएको हो । रोयटर्सका अनुसार यो सम्झौता होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन प्रस्ताव गरेपछि अन्ततः भत्कियो । निसान ताइवानको इलेक्ट्रोनिक्स कम्पनी फक्सकनसँग सहकार्य गर्न खोज्न सक्ने अनुमान गरिएको छ । फक्सकनले हालै इलेक्ट्रिक सवारी व्यवसाय सुरु गरेको छ । यो व्यवसाय पूर्व निसान कार्यकारी जुन सेकीले नेतृत्व गरिरहेका छन् । जापानी सञ्चारमाध्यमहरूका अनुसार यदि निसानले होन्डा, फक्सकन र मित्सुबिसी मोटर्ससँग चार–पक्षीय सम्झौता ग¥यो भने जुन सेकी सम्भावित उत्तराधिकारी हुन सक्छन् । निसानको व्यवस्थापन संकटः ६ वर्षमा चौथो सीईओ निसानको उच्च व्यवस्थापनमा देखिएको यो नयाँ उथलपुथल २०१८ को अन्त्यमा पूर्व अध्यक्ष कार्लोस गोस्न बर्खास्त भएयता निरन्तर जारी छ । यदि उचिडा पदमुक्त भए भने यो कम्पनीले ६ वर्षभित्र चौथो सीईओ परिवर्तन गर्नेछ । चिनियाँ इलेक्ट्रिक सवारी निर्माता कम्पनीहरूले अटो उद्योगलाई नै धरापमा पारिरहेको बेला निसानले थप गम्भीर संरचनागत समस्याहरूको सामना गरिरहेको छ । वर्षौंसम्म कम्पनी मूल्यभन्दा बढी संख्यामा केन्द्रित रहँदा यसको ब्रान्ड इमेज कमजोर बनायो । निसानले पहिले इलेक्ट्रिक सवारी लिफमार्फत अग्रणी भूमिका खेले पनि टेस्लाले जस्तो उछाल वा नाफा कहिल्यै पाउन सकेन । अमेरिकामा हाइब्रिड सवारीको माग गलत अनुमान गर्नु निसानका लागि ठूलो गल्ती सावित भएको छ, जुन सुधार गर्न कम्पनीले निकै संघर्ष गरिरहेको छ । अब निसानले मेक्सिकोबाट अमेरिका निर्यात गरिने गाडीमा सम्भावित शुल्कको सामना गर्नु पर्नेछ, जसले यसको उत्पादन केन्द्रलाई प्रत्यक्ष असर पुर्याउनेछ । ‘जङ्क स्टाटस’ पछिल्लो महिना फिच रेटिङ्सले निसानको क्रेडिट रेटिङ घटाएर ‘जङ्क स्टाटस’ मा राखेको छ । यसले कम्पनीको लगानीयोग्य दर्जा गुमाएको छ र यसको निरन्तर कम लाभदायकता तथा पुनरुद्धार योजनाबारे अनिश्चितता झल्काएको छ । एलएसईजीका अनुसार निसानसँग हाल १.८ ट्रिलियन येन (१२.२ अर्ब डलर) बराबरका बन्डहरू बाँकी छन्, जसमा २३३ अर्ब येन यस वर्ष भुक्तान गर्नुपर्नेछ । कम्पनीसँग पर्याप्त नगद र बलियो वित्तीय संरचना भए पनि विश्लेषकहरूले दीर्घकालीन चुनौतीहरूको सम्भावना औंल्याएका छन् । यसअघि पनि निसानले अन्तरिम सीईओ नियुक्त गरेको थियो । २०१९ मा कार्लोस गोस्नका उत्तराधिकारी हिरोटो साइकावा बर्खास्त भएपछि कम्पनीका अनुभवी यासुहिरो यामाउचीलाई अस्थायी सीईओ बनाइएको थियो । उचिडाको भविष्यबारे पहिलो संकेत डिसेम्बरमा रोयटर्सले दिएको थियो, जसमा स्रोतले भनेको थियो कि आगामी केही महिना उनको र निसानको भविष्यका लागि निर्णायक हुनेछन् । उचिडाले जापानको तेस्रो ठूलो अटो निर्माता कम्पनीलाई पुनरुत्थान गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका थिए । उनी यो चुनौती पार गरेपछि बाहिरिने तयारीमा रहेको इङ्गित दिएका थिए । (एजेन्सीहरूको सहयोगमा) कमजोर प्रदर्शनका कारण दबाबमा उचिडा, यी हुन् निसानका सम्भावित सीईओ निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? ट्रम्पको ट्यारिफ असर : सवारीसाधनको मूल्य २५ प्रतिशतसम्म बढाउने चेतावनी