यस कारण अपरिहार्य छ बीमा

काठमाडौं । हामी सक्षम छौं, स्वस्थ छौं, कमाउन र जमाउन सकेका छौं । सबै कुरा राम्रै चलिरहेको छ । हामी सोच्छौं, किन बीमा गर्नुपर्‍याे र ? हामीभित्र भएको यो घमण्ड या आफैमाथिको विश्वास, जसले गर्दा बीमा गर्नुपर्छ भन्ने ज्ञान हामीमा छ भने पनि गर्छु नै भन्ने निर्णय गरिहाल्न हिम्मत हामी गर्न सक्दैनौं । हामी सबैलाई जानकारी भएकै कुरा हो, जीवन संधै एकनास चल्दैन । कतिबेला कहाँनेर कसलाई के समस्या आइपर्छ थाहा हुँदैन । आज स्वस्थ छौं भनेर हिँडिरहेका हामी भोलि अस्पताल भर्ना हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । भोलि कतै कुनै दुर्घटनामा परिँदैन भन्न सकिन्नँ र हामी संधै कमाइरहन सक्छौं भन्ने ग्यारेन्टी पनि छैन । यी सबै कुरा जतिखेर पनि हाम्रो जीवनमा आइलाग्न सक्छ । यसरी अचानक हाम्रो जीवनमा घटना भइहाल्यो भने ठूलो धनजनको क्षति बेहोर्नुपर्ने हुन्छ । त्यसरी अचानक आइपर्ने आर्थिक भारलाई सामना गर्ने पूर्वतयारी हामीले गरेका छौं ? यदि हामीले पूर्वतयारी गरेका छौं भने हामी ढुक्क हुन सक्छौं । त्यही ढुक्क हुने माध्यम नै बीमा हो । के हो बीमा ? नेपाल लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गर्दै आएकी सरस्वती श्रेष्ठ कुनै व्यक्ति वा उसको परिवारलाई आर्थिक सुरक्षा दिनलाई गरिने वित्तीय योजना बीमा हो भनेर परिभाषित गर्छिन् । उनी भन्छिन्, ‘बीमा सुरक्षा हो । जसले व्यक्ति वा व्यवसायलाई आर्थिक क्षतिबाट जोगाउने काम गर्छ । बीमा वित्तीय सुरक्षा हो । कुनै पनि दुर्घटना, प्राकृतिक प्रकोपजस्ता कारणले हुने क्षतिबाट बीमाले वित्तीय सुरक्षा प्रदान गर्छ ।’ बीमा गरिदिने कम्पनीहरू जसलाई बीमक भनिन्छ । ती कम्पनीहरूमार्फत् व्यक्ति तथा व्यवसायको बीमा गर्न सकिन्छ । बीमा कम्पनीले बीमितको बीमा गराइदिएबापत निश्चित रकम (प्रिमियम) लिन्छ र त्यसको आधारमा भविष्यमा बीमाले ‘रिर्टन’ दिन्छ । बीमा गरेपछि निश्चित समयअवधि राखिन्छ । त्यो समयअवधिमा प्रिमियम रकम तिर्नुपर्छ । त्यो रकम समयअवधि पूरा भएपछि कम्पनीको नीतिअनुरूप रकम फिर्ता आउँछ । बीचमा मृत्यु भयो अथवा भवितव्य घटना भयो भने बेहोर्छ । अभिकर्ता श्रेष्ठका अनुसार बीमा कम्पनीले लिने प्रिमियम कम्पनीअनुसार फरक–फरक हुन्छ । नेपाल सरकारले पनि स्वास्थ्य बीमा गराउँदै आएको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर एक लाख रुपैयाँ बराबरको उपचार यसबाट लिन सकिन्छ । बीमा कम्पनीहरूले गर्ने बीमा फरक–फरक हुन्छ । बीमाका विभिन्न प्रकार छन् । स्वास्थ्य बीमा, जीवन बीमा, मोटर बीमा, घर बीमालगायत बीमाका प्रकार हुन् । यी हुन् बीमा गर्नैपर्ने कारण दीर्घकालीन योजना बनाउन सहयोग बीमाले दीर्घकालीन योजना बनाउन मद्दत पुर्‍याउँछ । १०/१५ वर्षपछि कुनै योजना बनाउँदै छौं भने त्यतिबेला आज गरेको बीमाले ठूलो मद्दत गर्ने बताउँछिन् अभिकर्ता श्रेष्ठ । ‘१५ वर्षपछि केही योजना बनाउँदैछौं भने आज गरेको बीमाले ठूलो मद्दत गर्छ । १५ वर्षपछि नै गरौंला भनेर सोंच्न थाल्यौं र त्यतिखेर कुनै व्यवसाय या विदेश नै जानुपर्यो भने तत्काल पैसा जुटाउन सकिँदैन । तर, बीमा गरेको छ भने त्यसबाट सहज हुन्छ,’ उनले बीमाको महत्व थप प्रष्ट्याउँदै भनिन् । अहिलेदेखि आम्दानीबाट केही रकम छुट्याएर बीमामा लगानी गर्ने हो भने त्यसले एकातिर जीवन सुरक्षित बनाउने र अर्कोतिर आर्थिक फाइदा पुग्ने उनको भनाइ छ । आर्थिक सुरक्षा सानिमा रिलायन्स लाइफका एजेन्सी म्यानेजर फणिन्द्र श्रेष्ठ कतिपयले आर्थिक अवस्था देखाउँदै बीमा गर्न नखोज्ने बताउँछन् । उनले भने, ‘बीमाबारे बुझेका हुन्छन् तर आर्थिक अवस्थाकै कारण बीमा नगर्नेहरू छन् । बीमा गर्दा भविष्यमा जाखिम कभर हुन्छ भनेर बुझेका भएपनि अहिले गर्नको लागि पैसा छैन भन्दै धेरैले बीमा गर्न सक्नुभएको छैन ।’ कति जनाले भने बीमाबारे जानकार नहुँदा बीमा गर्न नसकेको उनको भनाइ छ । हामीमध्ये भविष्यमा के हुन्छ थाहा छैन । दुर्घटना, चोटपटक, बिमारी, मृत्युजस्ता अचानक आउने आपतकालीन अवस्थाहरूले आर्थिक र भावनात्मक रूपमा तनाव सिर्जना हुन्छ । यदि बीमा गरेको छ भने यी अवस्था आउँदा बीमाले आर्थिक सहयोग प्रदान गर्ने नेपाल लाइफमा काम एजेन्सी म्यानेजर श्रेष्ठ बताउँछन् । परिवारको भरणपोषण परिवारमा एक जना मात्रै कमाइ गर्ने छ र कमाउने व्यक्तिको अचानक मृत्यु या काम गर्नै नसक्ने अवस्था आयो भने त्यो परिवारमा ठूलो आर्थिक संकट आइपर्छ । यो समस्याबाट जोगिन बीमाले ठूलो मद्दत गर्ने एजेन्सी म्यानेजर श्रेष्ठ सुनाउँछन् । बीमा गर्दाका थप फाइदाहरू बचतलाई बढावा बीमासम्बन्धी जानकारहरूले बीमाका अनेक फाइदाबारे उल्लेख गरेका छन् । बीमा जानकारहरूका अनुसार बीमा गर्दा नियमित बचत गर्ने बानीको विकास हुने बताउँछन् । उनीहरूका अनुसार प्रत्येक वर्ष केही रकम प्रिमियमको रूपमा छुट्याएर नियमित बचत गर्दा यसले नियमति बचत गर्न प्रोत्साहित हुन्छ र बचत गर्ने बानीको विकास हुन्छ । उक्त रकम निश्चित समयपछि अर्थात बीमा परिपक्क भएपछि बोनससहित रकम प्राप्त हुन्छ । यो रकम कुनै लगानीमा पनि लगाउन सकिन्छ । अवकाशपछि आर्थिक व्यवस्थापनमा सहयोग आज बीमा गरेको छ भने भोलि वृद्धावस्थामा त्यसले आर्थिक व्यवस्थापन गर्न मद्दत पुग्छ । कामबाट अवकाशपछि नियमित आम्दानी हुँदैन । त्यस्तो अवस्थामा जीवन चलाउन गार्‍हो हुन सक्छ । बीमा गरेको छ भने नियमित आम्दानी नभएपनि बीमाबाट सहायता पुग्ने बीमा जानकारहरू बताउँछन् । अवकाश नीति भनेको एक प्रकारको बीमा योजना हो जसले लामो समयसम्म आफ्नो आम्दानीको एक भाग बचत गर्न र अवकाश पछि आर्थिक रूपमा सुरक्षित बनाउन मद्दत गर्छ । जम्मा गरिएको रकम बीमितलाई पेन्सनको रूपमा फिर्ता गरिन्छ । शान्ति र आत्मविश्वास बीमा गरेपछि हामी ढुक्क हुन्छौं । आपतकालीन अवस्थामा ‘मलाई केही भइहाल्यो भने बीमा छँदैछ’ भन्ने मनमा हुँदा यसले शान्ति हुन्छ । भोलि केही भइहाल्यो भने बीमाबाट निकालेर व्यवस्थापन भइहाल्छ भनेर ढुक्क हुँदा यसले आत्मविश्वासमेत बढाउने बीमा जानकारहरू बताउँछन् । ऋण लिन सहज सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थामा ऋण लिन सहज छैन । ऋण लिनुभन्दा अगाडिको प्रक्रिया धेरैजसो सर्वसाधारणले नबुझ्ने झन्झटिलो पनि हुने भएकाले धेरैले ऋण लिन सकिरहेका हुँदैनन् । तर, बीमा गरेको छ भने बीमा गर्दा बीमा कम्पनीले बीमितलाई दिने कागजात लगेर कर्जा माग्दा सहजै कर्जा पाइन्छ । बालबालिको उच्च शिक्षामा सहयोग बालबालिकाको जीवन बीमा गरिँदिदा यसले भविष्यमा उनीहरूको उच्च शिक्षाको लागि ठूलो मद्दत पुग्छ । १२ कक्षा पास भइसकेपछि उच्च शिक्षाको लागि जुनसकै विषय पढ्दा वा उच्च शिक्षा पढ्न विदेश जान पनि अरूसँग ऋण खोजिरहनुपरेन । बीमा गरेको पैसाबाट व्यवस्थापन गर्न सहज हुन्छ । पढाइबाहेक अरू कुनै व्यवसाय सुरु गर्न चाहेको खण्डमा पनि आज गरेको बीमाले भोलि ठूलो मद्दत गर्ने बीमा जानकारहरू बताउँछन् ।

बीबीसीविरुद्ध सेयरधनीहरू अदातलमा, अन्तिम घडिमा रोकियो साधारणसभा

काठमाडौं । अदालतको आदेशपछि विशाल बजार कम्पनी (बीबीसी)को साधारण सभा रोकिएको छ । कम्पनीका सेयरधनीहरूले उजुरी दिएपछि १० वर्षपछि हुन लागेको वार्षिक साधारण सभा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले स्थगित गर्न अन्तरिम आदेश दिएपछि राेकिएकाे हाे । कम्पनी सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले विभिन्न प्रस्तावसहित फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको थियाे । तर, उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको फागुन २६ गतेको इजलाशले कम्पनीको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै कम्पनीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न अदालते आदेश दिएको छ । वार्षिक साधारण सभा सेयरधनीहरूको हित विपरीत भएकोले कम्पनीका विरुद्ध सेयरधनी सुनिलकुमार शाक्यले उच्च अदालतमा रिट दायर गरेका हुन् । शाक्यको पक्षबाट अदालतमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिष कृष्ण खरेल, अधिवक्ता युवराज बन्जाडे र दिपेन्द्र झाले बहस गरेका थिए । ‘के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई यस अदालतमा उपस्थित हुनु,’ उच्च अदालत पाटनको अन्तरिम आदेशमा उल्लेख छ । सेयरधनीहरूको लगानीको मूल्याङ्कन नगरी अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरूको हक हितमा प्रतिकूल असर पर्न सक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्धान्त समेतलाई मध्येनजर गरी निवेदनको अन्तिम किनारा नलागेसम्म साधारण सभा स्थगित गर्न अदालतको आदेश छ । यस्तै, निवेदक विजयनारायण राजभण्डारीको उजुरीमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको फागुन २१ गतेको एकल इजलाशले साधारण सभाको १० नम्बर प्रस्ताव कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । निवेदक राज भण्डारीका तर्फबाट वरिष्ठ अधिवक्ता सम्भु थापाले नै बहस गरेका थिए । कम्पनीले साधारण सभाको बुँदा नम्बर १० मा पसलकवलसँग सेयर गाभी स्वतः नवीकरण हुने गरेको सम्झौता खारेज प्रस्ताव गरेको छ । तर, निवेदकहरूको दाबी अनुसार कम्पनीसँग विसं २०५४ साउन १ गते भएको सम्झौताको दफा १२ मा पसलको बहाल प्रत्येक दुई/दुई वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भै करारनामा स्वतः नवीकरण हुने उल्लेख छ । साथै विसं २०५२ साउन १५ गते सम्पन्न सम्झौताको दफा ११ मा पसलको बहाल प्रत्येक दुई/दुई वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भई सम्झौता स्वतः नविकरण हुने र कम्पनीको आर्थिक विनियमावली २०६४ को परिच्छेद ४ मा बहालवालाले पसलसँग अविभाज्य रुपमा रहेको सेयर वा सो वापत कम्पनीमा रहेको नगद धरौटी नामसारी गरेमा सम्बन्धित पसल कोठा समेत स्वतः नामसारी हुनेछ भन्ने व्यवस्था रहेको निवेदकहरूले दाबी गरेका छन् । सोही आधारमा साधारण सभाको १० नम्बर प्रस्ताव कार्यन्वयनमा रोक लगाई बदर गरी पसल यथावत संचालन गरी पाउँ भन्ने फिराद परेकाले उक्त प्रस्ताव कार्यन्वयन नगर्न आदेश जारी गरिएको हो । १० वर्षपछि बोलाएको कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । साथै आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव गरेको छ ।

व्यवसायी विभाजित भए पनि ‘नाडा अटो शो’ को अधिकार नाडालाई, बिग कर्पोरेट हाउस सहभागी हुनेमा दुविधा

काठमाडौं । अटो व्यवसायीहरूको दशैंको रूपमा हेरिने ‘नाडा अटो शो’को विषयमा धेरैको चासो हुन्छ । नयाँ अटो शोमा नयाँ सवारी साधनको प्रदर्शनले सेवाग्राहीलाई नयाँ सवारी खरिद गर्न लालायित मात्रै बनाउँदैन, व्यवसायीहरुले नाडा अटो शोमा स्टल राखेर आकर्षक आम्दानी र ब्राण्डिङ गर्ने अवसर पनि पाउँछन् । लामो समयदेखि एकजुट भएर नाडा अटो शोको आयोजना गर्दै आएका अटो व्यवसायी यस पटक भने विभाजित बने । अर्थात् नाडाजस्तै अर्कै संस्था खोलेर ‘हामी अब फरक-फरक भयौं’ भन्ने सन्देश अटो व्यवसायीले दिएका छन् । उसो त नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्रका केही पदाधिकारीले औपचारिक रूपमा अटो व्यवसायी विभाजन भएको विषय स्वीकार गर्न तयार नभए पनि उनीसँगको अनौपचारिक कुराकानीमा भने नाडाभित्रको विवाद खुलस्त रूपमा सुनाउँछन् । परिणामस्वरूप नाडा विभाजन भएर अहिले अर्को संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसन’ दर्ता भइसकेको छ । जसको तदर्थ समितिको संयोजक रितुसिंह वैद्य बनिसकेकी छन् । अबको ६ महिनाभित्र साधारणसभा बोलाएर नयाँ कार्यसमिति निर्माण गर्नुपर्ने दायित्व व्यवसायी वैद्यसामु छ । अटो व्यवसायीहरू विभाजित हुँदा धेरैको चासोको विषय थियो अब नाडा अटो शोको आयोजना कुन संस्थाले गर्छ ? नाडा अटो शोको आयोजना नाडाले गर्दै आएको भएपनि त्यसमा सहभागी हुने अधिकांश ठूला अटो व्यवसायीहरु अहिले नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसनमा सक्रिय बनेका छन् । उनीहरूले नाडाको सदस्यता नत्यागेर कायमै राखे पनि उनीहरु अब नाडाभन्दा बढी सक्रिय र प्राथमिकता नयाँ संस्थालाई राख्नेछन् भन्ने विषय बुझ्न धेरै कठिन छैन । यही विषयलाई अड्कल गर्दै अब नाडा कुन संस्थाले आयोजना गर्छ ? नाडा अटो शोमा उनीहरु सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषय चासोको रूपमा हेरिएको थियो । यही बीचमा नाडाले आगामी आर्थिक वर्षको भदौमा हुने १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ को स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरेर नाडा अटो शो आयोजना गर्ने अधिकार आफूमा भएको प्रष्ट्याएको छ । विगतमा केही ढिला रजिष्ट्रेशन खुल्ला गर्ने गरेको नाडाले यस पटक भने धेरैको कौतुहलता मेट्न चाँडै नै जिष्ट्रेशन खुल्ला गरेको छ । नाडाका उपाध्यक्ष पुस्कर ओझाका अनुसार नाडा अटो शो आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुनेछ । यसवर्ष पनि गोलाप्रथा प्रक्रियाबाटै स्टल उपलब्ध गराइने उनको भनाइ छ । उपाध्यक्ष ओझाले नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल्स कम्पनीहरूबाट सोधखोज भएपछि छिट्टै नै रजिष्ट्रेशन खुल्ला गरिएको जानकारी दिए । नाडा अटो शोको लागि रजिष्टेशन खुल्ला भएपनि अब देशका ठूला व्यवसायीहरु सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई पनि चासोको रुपमा हेरिएको छ । किनकि नाडा विभाजन भएर गाडी आयात गर्ने ठूलो व्यवसायी नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसनमा आवद्ध भएका छन् । यो संस्थामा आवद्ध व्यवसायीले अब नाडाभन्दा बढी प्राथमिकता नयाँ संस्थालाई दिन्छन् । नाडासँगको विवादले उनीहरु अब नाडा अटो शोमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई चासोका रुपमा हेरिन थालिएको छ । किनकि नाडामा विवाद भएर नै अहिले टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स, बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक, किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ, होन्डा आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ, एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टर्स, हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आइएमई मोटर्स, ओमोडा गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स र फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्डले नयाँ संस्थाको सदस्यता लिएका छन् । यस्तै, एमडब्लू, टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्ककर्पोरेट, बजाज बाइकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी र रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमेटिभ पनि नयाँ सदस्य बनेर नयाँ संस्थामा आवद्ध भएका छन् । नेपालका बिग कर्पोरेट हाउसले नेतृत्व गरेका यी कम्पनीहरुको कारण नै विगतमा नाडा अटो शो सफलताका साथ सम्पन्न हुने गरेको थियो भने यी अटो कम्पनीले लै नाडा अटो शोमा बढी स्पेस प्रयोग गरेर नाडाको बिजनेस बढाउन पनि सहयोग गर्ने गरेका थिए । अहिले अटो व्यवसायीबीच नै विवाद बढ्दा अब बिग कर्पोरेट हाउसले सञ्चालन गरेका यी कम्पनी नाडा अटो शोमा सहभागी हुन्छन् वा नयाँ संस्था आफैले यस्तै किसिमको पृथक प्रदर्शनी आयोजना गर्छ भन्ने विषय चासोका रुपमा हेर्न थालिएको छ । नयाँ संस्था स्थापना भएपनि ठूला कर्पोरेट आउसले सञ्चालन गरेका कम्पनीका सदस्य नाडामा निष्कृयजस्तै बनेको एक अधिकारी बताउँछन् । विगतमा नियमित छलफल तथा भेटघाट हुने भए पनि अहिले उनीहरू नाडाप्रति वेवास्ता गरेको जस्तो देखिएको नाडाका एक पदाधिकारीले बताए । नाडाले भने नाडा अटो शो २०२५ मा मा विगतको जस्तै सबै व्यवसायीले सहभागी जनाउने अपेक्षा र विश्वास गरेको छ । नाडामा हाल गाडी बिक्रेतासँगै वर्कसप सञ्चालकदेखि स्पेयर पाट्र्स बिक्रेता र सबडिलरहरु पनि आवद्ध छन् । ‘नयाँ संस्था खोलिए पनि त्यहाँ सदस्य नाडामा पनि छन्, दुवै संस्थालाई सँगै अगाडि बढाउनुपर्ने सबैको जिम्मेवारी हो, नाडा अटो शो नाडाले नै आयोजना गर्ने हो, यस विषयमा कुनैको केही आपत्ति छैन,’ उपाध्यक्ष ओझाले भने । नाडाका उपाध्यक्ष उपाध्यक्ष तेजनारायण शाह पनि नयाँ संस्था स्थापनाले नाडालाई कुनै प्रभाव र असर नपर्ने धारणा राख्छन् । ‘संस्था विभाजन भएर बलियो हुँदैन, बलियो बनाउनलाई सबैले मिलेरै जानुपर्छ, संस्था खोलिनु सामान्य हो । तर, त्यसलाई कार्यान्वयन गरेर गरेर अगाडि बढाउन सक्नु पनि चुनौती छ,’ उनले भने । नयाँ संस्था खोल्नुलाई नाडा अध्यक्ष करण चौधरीले भने आपत्ति जनाउँदै आएका छन् । उनले व्यवसायी विभाजित भएर काम गर्न नसकिने धारणा राख्दै आएका छन् ।