खाना पकाउने ग्यासमै बाहिरिन्छ ६५ अर्ब रुपैयाँ, विद्युतीय चुलोलाई प्राथमिकता दिने नीति अलपत्र
काठमाडौं । सुरुसुरुमा सहरमा मात्रै खाना पकाउने ग्यासको प्रयोग हुन्थ्यो । त्यो पनि सम्पन्न वर्गको घरमा मात्रै । त्यतिबेला गाउँका प्रत्येक घरको भान्सामा दाउरा बल्थे । विस्तारै जमाना फेरियाे । अहिले गाउँगाउँमा सडक सञ्जाल जोडिएका छन् । सडक सञ्जाल जोडिएसँगै सहरका भान्साकोठामै सीमित रहेको खाना पकाउने ग्यास अहिले गाउँगाउँ-बस्तीबस्तीमा पुगेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर विज्ञान प्रविधिको विकाससँगै अधिकांश नेपालीकाे भान्सामा खाना पकाउने ग्यासको प्रयोग बढ्दै गइरहेको बताउँछन् । उनका अनुसार हाल ग्यासको प्रयोग सहरमा मात्र सीमित छैन, गाउँसम्मै पुगिसकेको छ । उनले भने, ‘सहर बजारमा त प्रायः ग्यास नै प्रयोग हुन्छ । तर अहिले गाउँगाउँमा समेत ग्यासको प्रयोग अधिक मात्रामा हुन थालेको छ । पछिल्लो समय गाउँमा काठ दाउरा बाल्न छोडियो । मान्छेहरू अब धुवाँरहित बनाउनलाई ग्यासको प्रयोग बढी गर्न थाले ।’ प्रवक्ता ठाकुरका अनुसार दुई वर्षअघि सरकारले ग्यास आयात राेक्ने गर्ने भनेको थियो तर यसको सुनवाइ हालसम्म भएको छैन । सरकारले मात्रै हैन, यस विषयमा उभोक्ताले पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । उनले भने, ‘हामीले आन्तरिक उत्पादनलाई कसरी अगाडि बढाउनुपर्छ, त्यसबारेमा सोंच्न जरुरी छ । पहिला उपभोक्ताले कसले नाफा दिन्छ, कसले दिँदैन त्यो छनोट गर्नुपर्छ । देशमै उत्पादन गरेर यही उपयोग गर्ने वातावरण सिर्जना गरिनुपर्छ ।’ सरकारले ग्यासलाई विस्थापित गरेर विद्युृतीय चुलोलाई प्राथमिकता दिने योजना र कार्यक्रम ल्याइरहेको छ । तर, यस विषयमा सम्बन्धित निकायसँग सरकारले समन्वय गर्न सकेको छैन । विद्युतीय चुलोबारे हाल निगममा कुनै जानकारी नआएको प्रवक्ता ठाकुर बताउँछन् । विद्युतीय चुलोको लागि राज्यको नीतिगत पहल कदमी आवश्यक रहेको उनको भनाइ छ । विद्युतीय चुलोको व्यापक प्रयोगका लागि देशैभरको विद्युतको ट्रान्सफर्मरहरूको क्षमता विस्तार, वितरण प्रणालीमा सुधारका साथै विद्युत् प्रसारण लाइनको जालो बनाउनुपर्नेमा उनको जोड छ । उनले ग्यासमा खाना पकाउनुभन्दा बिजुली चुलाको प्रयोग गर्दा कम्तीमा एक तिहाइ सस्तो हुने बताए । हाल देशमा ६ दर्जन खाना पकाउने ग्यासका उद्योग छन् । मासिक रूपमा करिब ३० लाख सिलिण्डर तथा दैनिक रूपमा १ लाख सिलिण्डर आयात हुने गरेको प्रवक्ता ठाकुरको भनाइ छ । वार्षिक ६५ अर्ब रुपैयाँको एलपी ग्यास आयात नेपालमा एलपी ग्यासमात्रै वार्षिक ६५ अर्ब रुपैयाँको भित्रिन्छ । जसले गर्दा बर्सेनि अर्बौं रुपैयाँ बाहिर गइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको फागुनसम्ममा ३४ अर्ब ७२ करोड केजी एलपी ग्यास आयात भएको थियो भने चालु आवकाे फागुनसम्म ३६ अर्ब २० करोड केजी आयात भएको छ । जसमा गत वर्षको तुलनामा यो आवको फागुनसम्ममा २ अर्बभन्दा बढीले एलपी ग्यास आयात भएको छ । गत वर्षको तुलनामा यस आवको फागुनसम्ममा १४ प्रतिशतले ग्यास आयात बढेको देखिन्छ । यसैगरी, उक्त ग्यास आयातमा गत आवको फागुनसम्ममा ३५ अर्ब ८८ करोड रुपैयाँ बाहिरिएको थियो भने यस आवको फागुनसम्ममा करिब ४२ अर्ब रुपैयाँ बाहिरिएको छ । सरकारले गत आवको फागुनसम्ममा ६ अर्ब ६९ करोड रुपैयाँ राजस्व संकलन गरेकाे छ । नेपालमा प्रत्येक महिना करिब ३० लाख सिलिण्डर ल्याउने गरेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । उनका अनुसार हाल देशभरि १२ हजार ग्यासका डिपो छन् । एलपी ग्यास भारतका ६ वटा रिफाइनरीबाट आउँछ । उनले ग्यास देशका विभिन्न ६ नाकाबाट भित्र्याउने गरेको जानकारी दिए । पर्साको वीरगञ्ज नाका, मेचीको काँकडभिट्टा नाका, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज, कैलालीको गौरीफाण्टा नाकाबाट ग्यास भित्रिन्छ । उनले भने, ‘कोभिड- १९ अघि नेपालमा ग्यास वार्षिक रूपमा १५ देखि १७ प्रतिशतसम्म ग्यास आयात बढ्ने गथ्र्यो तर पछि कोभिडको समयमा आयात घट्यो । विस्तारै केही घट्दै गएको त्यो आयात हाल माग परिमाण र मूल्य बढेकाले केही बढी देखाएको हो । तर खासै बढेको हैन ।’ यस्तै, बजारमा ग्यास अभाव भएकाे हल्लाका कारण खाना एलपीजी बढी आयात भएको नेपाल ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल बताउँछन् । उनले भने,‘ ग्यास बजारमा अभाव भएको भनेर जताततै हल्ला चल्यो । बन्द हड्तालका कारण ग्यास आयात बढी भएको हो । अब ग्यास आयात कम हुन्छ ।’ बिजुलीको सदुपयोग नहुँदा विद्युतीय चुलो प्रयोगमा आएन एलपी ग्यासको सट्टा अब धेरै विद्युत उत्पादन गरेर विद्युतीय चुलो प्रयोग गर्नुपर्ने नेपाल ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापा बताउँछन् । उनले अधिकांश नेपालीको घरघरमा विद्युतीय चुलो रहेको तर कार्यान्वयनमा आउन नसकेको बताए । उनका अनुसार नेपालले बर्सेनि पेट्रोलियम पदार्थमा अर्बौं रुपैयाँ बाहिर जाने गरेको छ । विद्युतीय चुलो सस्तो र भरपर्दो भएको उनको भनाइ छ । पूर्वअध्यक्ष थापाले बिजुलीको सही उपयाेग नगरिँदा विद्युतीय चुलो प्रयोगमा आउन नसकेको बताए । ‘पेट्रोलियम पदार्थ नेपालमा उत्पादन हुँदैन । हामीले आयातित इन्धनले खाना बनाइराखेका छौं । एलपीजी दाउराको विकल्प थिएन, आज पनि होइन र भोलि पनि हुने छैन । दाउराको विकल्प एलपी ग्यास होइन, विकल्पको रूपमा आफ्नै देशमा उत्पादन हुने बिजुलीबाट बल्ने चुलो हो । अब बजारमा विद्युतीय चुलो आउनुपर्छ,’ उनले भने । उनले अब बन्ने प्रत्येक घरमा वायरिङको मापदण्ड बनाइनुपर्ने तथा विद्तीय चुलो धान्न सक्नेगरी सरकारले अनुमति दिनुपर्ने उनको भनाइ छ । थापाले भने, ‘हामी ग्यास व्यवसायी हौं । तर, ग्याससँगको सरोकार भएन । हामीले आफ्नै इन्धनलाई प्राथमिकता दिनुपर्छ । यो अभियान सरकारबाटै ल्याइनुपर्छ, सबै लाग्नुपर्छ ।’ सरकारले सन् २०३० सम्म सम्पूर्ण परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी स्वच्छ भान्छाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । तर, विद्युतीय चुलोबारे तत्काल कुनै पहल नभएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सूचना अधिकारी रुद्रप्रसाद खनालले बताए । उनका अनुसार सरकारले यस सम्बन्धि राष्ट्रिय कार्ययोजना तयार गरिसकेको छ । सरकारले प्रोत्साहन गर्ने भनेको छ । तर हालसम्म कुनै पनि पहलकदमी हुन नसकेको उनले जानकारी दिए । उनले भने, ‘हामीले विद्युत आयात गर्नुपर्ने अवस्था छ । हामीसँग भएको विद्युतले धान्न सक्दैन । विद्युतीय चुलो भनेको सरकारले प्राथमिकता दिनुपर्ने महत्त्वपूर्ण विषय हो तर पहल गर्न सकिरहेको अवस्था छैन ।’ उनले विद्युतीय चुलो बाल्नका लागि सबैभन्दा पहिला विद्युतीय पूर्वाधार नै आवश्यक रहेको बताए । सरकारको सन् २०१६ देखि २०३० मा शतप्रतिशत घरधुरीमा विद्युतको पहुँच पुर्याउने, खाना पकाउने दाउराको प्रयोग घटाएर ३० प्रतिशतमा झार्ने, एलपीजीको प्रयोग ३९ प्रतिशतमा सीमित गर्ने लगायत लक्ष्य अघि सारेको छ । तर, नीतिकाे कार्यान्वन तर्फ भने कुनै प्रगति हुन सकेकाे छैन ।
तीनकुने घरभित्रको त्यो ‘अन्तिम आवर’ : म बल्लतल्ल बाँचे, सुरेश दाई अस्ताए
हातका औंला काँपिरहेका छन् । क्यामेराको सटर थिच्ने यी औंला आज किबोर्ड थिच्न मानिरहेका छैनन् । तर, कतिपय भिडियो र तस्बिरमा कैद हुन नसकेका विषयलाई शब्दजालले सहयोग गरिदिँदा रहेछन् । मैले कतै पढेको थिएँ, ‘हजारौं शब्द एउटै तस्बिरले बोल्छ ।’ तर, म त्यही तस्बिर खिच्ने मान्छे आज कनिकुथी शब्द खेलाएर सन्देश दिँदैछु । उसो त आन्दोलन मलाई झर्को लाग्छ । सकेसम्म देश शान्त रहोस्, हामी सबै सुखी र खुसी रहूँ भन्ने मनोकांक्षा सबैको हुन्छ । तर, सबैको आकांक्षा, चाहना र मनसाय कहाँ एउटै हुँदो रहेछ र ! विगतमा विभिन्न उश्रृङ्खल गतिविधि गरेर जनतालाई भड्काउँदै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको प्रदर्शन हुने खबर सुनियो । आन्दोलन नहोस् भन्ने चाहना भएपनि हामी फोटो/भिडियो पत्रकारको काम त्यहाँ पुग्नै पर्ने । समाचार त फोनबाट सोधेर पनि लेख्न सकिन्छ होला तर फोटो र भिडियोका लागि भने फिल्डमा दगुर्नै पर्ने । यही बाध्यता, विवशता र आफ्नो कामप्रतिको धर्म र इमानदारिताले पनि म १५ गते हुने गणतन्त्रवादी अर्थात् समाजवादी मोर्चा नेपाल र राजावादीले गर्ने प्रदर्शनको रिपोर्टिङका लागि १४ गतेदेखि नै खटिएँ । १४ गते राति ११ बजे प्रदर्शनी मार्गमा पुगेर विकासन्यूजको फेसबुक पेजबाट त्यहाँको तयारीको विषयमा प्रत्यक्ष प्रसारण गरें । धमाधम स्टेज निर्माणको काम हुँदै थियो । ठाउँ-ठाउँमा माइक राखिँदै थिए । गणतन्त्रवादीको प्रदर्शन १५ गते भव्य र सभ्यका साथ हुन सक्ने आँकलन मैले त्यतिखरै गरें । मञ्च व्यवस्थापन तथा अन्य तयारी गरिरहेकाहरुसँग कुराकानी गर्दा महसुस गरेको कुरा थियो त्यो । प्रदर्शनी मार्गको तयारीको अवस्थामा अपडेट सकाएपछि तीनकुनैतर्फ लागें । साथमा सहकर्मी महेश पौडेल पनि हुनुहुन्थ्यो । हामीबीच भोलि अर्थात् १५ गते हुने राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शन कस्तो होला ? भन्ने कुरा बाटोमा चलिरह्यो । हामी तीनकुने पुग्यौं । पत्रकारिता पढेको र गरिरहेको हिसाबले पनि मलाई कुनै पनि समूह वा व्यक्तिप्रति पूर्वाग्रही हुनु हुँदैन । समाचार सामग्रीहरू सन्तुलित हुनुपर्छ भन्ने थोरबहुत ज्ञान छ । यही विषयलाई महसुस गर्दै हामी प्रदर्शनी मार्गको लाइभ सकेर तीनकुने पुगेका थियौं । तीनकुनेमा पनि राजावादीले धमधाम तयारी गर्दै थिए । त्यहाँ पुगेर पनि साढे ११ बजे लाइभ गरें । प्रदर्शनी मार्गजस्तै मैले त्यहाँ पनि तयारी गरिरहेकाहरूसँग कुराकानी गरें । भोलिको राजावादीको प्रदर्शन उश्रृङ्खल बन्न सक्ने आँकलन मैले त्यतिखेरै गरें । १५ गतेको प्रदर्शनीका लागि तोकिएको कमाण्डर दुर्गा प्रसाईंले नेतृत्व गर्ने जत्थाले के-कतिसम्म र कस्तो हर्कत देखाउँछन् भन्ने कुरा जोकोहीले पनि सहजै पूर्वानुमान लगाउन सक्छन् । मैले पनि त्यहाँ कुराकानी गर्दा त्यस्तै महसुस गरें । मैले १५ गते हुने गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनीमध्ये राजावादीको प्रदर्शन रोजें । केही चुनौतीपूर्ण र सकसपूर्ण हुने भएपनि फोटो पत्रकारका लागि मुडभेड र आन्दोलन तस्बिर खिच्न उद्देलित नै गर्छ । यो मेरो भोगाइ हो । स्टेजमा बोलिरहेका नेताहरूका तस्बिर खिच्नुभन्दा सडकमा उफ्रिन सक्ने राजावादीको तस्बिर र भिडियोहरू चर्चामा आउन सक्ने आत्मबोध गर्दै म तीनकुनेतर्फ लागें । सहकर्मी बटुराज गिरी गणतन्त्रवादीको प्रदर्शनीको कभरेज गर्न गए । फोटो पत्रकारिता यस्तो काम हो जति गरेपनि जस्तो गरे पनि आत्मसन्तुष्टि नहुने । तस्बिरको तिर्खा लागिरहने । भइरहेको कामलाई थप गरौं भन्ने चाहना हुने । एउटा फोटो खिचिसकेपछि अर्को राम्रो फोटो आउँछ कि भनेर थप लालायित बनिहाल्ने । यही चाहना र लोभले कामको शिलशिलामा सँगसँगै फिल्डमा भेटिरहने फोटो पत्रकार दाई सुरेश रजकको काम गर्दागर्दै ज्यान गयो । यो विषयमा एकछिन पछि कुरा गर्छु । चैत १५ गते बिहान ११ बजे नै सुरु हुने भनिएको राजावादीको प्रदर्शन साढे ११ बजिसकेको थियो सुरु हुने छाँटकाट थिएन । साढे ११ बजेसम्म सीमित प्रदर्शनकारी मात्रै तीनकुने आइपुगेका थिए । केही समयपछि एउटा समूह चाबहिल र अर्को समूह कोटेश्वरबाट र्याली निकाल्दै तीनकुनेमा आइपुग्यो । तीनकुनेमा हुने भनिएको प्रदर्शन फिल्ड नै वेवास्ता गर्दै बानेश्वरतर्फ लम्कियो । सञ्चारकर्मीहरूले प्रदर्शनकारीहरूसँग कुराकानी गर्न थाल्यौं । उनीहरु भन्दै थिए, ‘मिडियामा बोलेर केही हुँदैन, जाऔं बानेश्वरमा सुरक्षाकर्मीले लगाएको बार भत्काऔं ।’ उनीहरूको रफ्तार बढ्दै गयो । १४ गते राति राजावादीको आन्दोलन अराजक बन्न सक्छ भन्ने जुन आँकलन मैले गरेको थिएँ, त्यहाँको हाउभाउले पनि त्यस्तै देखाउँदै थियो । शान्तिनगरको गेटमा सुरक्षाकर्मीले बार लगाएका थिए । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी तैनाथ थिए । राजावादी उग्र बन्दै गए । जसरी पनि त्यो बार भत्काउने होडमा उनीहरू थिए । सुरक्षाकर्मीले यो प्रदर्शनले उग्ररूप लिन सक्ने अनुमान गरेका हुन सक्छन्, त्यतिबेलै प्रहार भयो, ‘अश्रुग्यास’ । त्यही अश्रुग्यास अभिशाप बन्यो । राजावादी थप उग्र बने । सरकारले आफ्नो कार्यक्रम भाँड्न खोजेको आरोप लगाए । निरन्तर अश्रुग्यास प्रहार भएपछि राजावादीका समर्थक तितरबितर बने । आन्दोलन साम्य बन्यो । अब राजावादी समर्थक छिन्नभिन्न भएको र घर लागिसकेको अनुमान सुरक्षाकर्मीले लगाए । तैनाथ भएका सुरक्षाकर्मी केही घटे । तर, त्यति नै बेला त्यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसँगै रविन्द्र मिश्र, धबलशमशेर राणा लगायत नेताहरू तीनकुनेमा प्रवेश गरे । तितरबितर भइसकेका समर्थकलाई कार्यक्रमस्थलमा आउन उनीहरूले निर्देशन दिए । नडराएर अगाडि बढ्न ढाडस दिए । नेताहरूको त्यो ढाडसपछि आन्दोलनकारीहरू थप उत्साहित बने । अनि सुरु भयो ढुङ्गामुढाको वर्षा । प्रदर्शनकारीले ढुङ्गामुढा हान्ने र सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्ने शिलशिला निरन्तर चलिरह्यो । हामी ती गतिविधिलाई निरन्तर क्यामेरामा कैद गरिरह्यौं । प्रदर्शन थप उग्र बन्दै थियो । केहीले यही घरबाट हो अश्रुग्यास प्रहार भएको भन्दै त्यस घरतर्फ ढुङ्गामुढा गर्न थाले । अहिले सामाजिक सञ्जालमा जुन घरको तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्, त्यही घर राजावादीका समर्थकको टार्गेटमा पर्यो । त्यो घरमा निरन्तर ढुङ्गामुढा बर्सिए । केहीले एमालेका नेता महेश बस्नेतको घर भने । केहीले ठूलो व्यवसायीको घर भने एक कान दुई कान हुँदै सिसाको त्यो घर ओडारजस्तो बन्यो । प्रदर्शनकारीले घरको सटर तोडेरभित्र पसे । माथिबाट सामान खसालेर तल फ्याँक्न थाले । सुरक्षाकर्मी त्यहाँ गएर प्रर्दशनकारीलाई तह लगाउने साहस गरिरहेको थिएन । सुरक्षाकर्मी नै घाइते भइसकेका थिए । केहीको बन्दुक पनि प्रदर्शनकारीले खोसिसकेका थिए । सुरक्षाकर्मी टुलुटुलु हेर्न बाहेकको विकल्प रोज्न सकिरहेका थिएनन् । भित्रको सामान निरन्तर तल खसालिँदै थियो । माथिबाट सामान खसालेको र तलको भीड देखाउने लोभले मसहित फोटो पत्रकार स्वर्गीय सुरेश रजक र अन्य दुई जना फोटो पत्रकार त्यही ढुङ्गा बर्सिरहेको घरभित्र छिर्यौं । भित्रको माहोल शब्दले बताइनसक्नु थियो । सीमित मोमेन्टहरू क्यामेरामा कैद भएका छन् । तर, धेरै हर्कतहरू स्मृतिमा छचल्किरहेका छन् । घरभित्र छिरेका केही प्रदर्शनकारीहरूले केहीले खल्ती त केही झोला भरिरहेका भिडियो तपाईंहरूले हेरिसक्नु भएको छ । ती भिडियो र तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल नै छन् । मैले पनि मेरो क्यामेरामा एकजनाले कोठाबाट ल्यापटप लिएर बाहिरिँदै गएको भिडियो कैद गरें । मानवनता देखाउँदै ती व्यक्तिलाई यस्तो काम नगर्न सुझाव दिएँ । अहँ, तर त्यतिधेरै भित्र छिरेका प्रर्दशनकारीकासामु हामी दुई/तीन जना पत्रकारको केही चलेन । म खिच्दै थिएँ । प्रदर्शनकारी आएर भिडियो डिलिट गर्न धम्की दिए । क्यामेरा फुटाइदिने चेतावनी दिए । त्यतिखेरै एक जना फोटो पत्रकार म नजिक आएर उनीहरूलाई उल्टै हप्काए । हाम्रो काम यही हो, तिमीहरू के गर्न सक्छौ भनेर आक्रोश पोखेपछि हतास हुँदै हतार–हतारमा उनीहरू सामान बोक्दै बाहिर लागे । त्यतिबेलासम्म अरू पत्रकार घर बाहिर पुगिसकेका थिए । म भिडियो खिच्दै थिएँ । एभिन्यूजका स्व. सुरेश रजक पनि तोडिएको झ्यालबाट बाहिरिको भिडियो खिच्दै थिए । प्रदर्शनकारीहरूले माथि सिभिल प्रहरी छ भनिरहेका थिए । म छतमा जाने बाटोको खोजीमा लागें । छत जाने बाटो बन्द थियो । च्यानल गेटमा ताला लागेको थियो । जुन अहिले भित्र कोठामा सामान चोरिरहेको दृश्य तपाईंहरूले देखिरहनु भएको छ, त्यहाँभित्र जाने ढोक्का बन्द थियो, झ्याल फुट्टाएर उनीहरू भित्र पसेका थिए । स्व. सुरेश त्यहीँ नजिक थिए । उनले कसैलाई फोनमा भन्दै थिए- ‘दाई मेरो भाइबर एड गर्नुहोस्, म एकदमै खतरा ठाउँमा छु ।’ उनी बोलिरहेको भिडियो मसँग पनि छ । त्यसपछि उहाँ म भिडियो खिच्दै गरेको ठाउँबाट अगाडि जानुभयो । बाहिरबाट प्रदर्शनकारीको ढुङ्गा प्रहार रोकिएको थिएन । म अब बाहिर जाने योजनामा थिएँ । अन्तिम पटक माथिबाट बाहिरको भिडियो लिने सोंच बनाएँ । छेउमै पुगेर बाहिरको भिडियो खिच्दै थिएँ । मेरो पछाडि आल्मुनियमको बार खसेर म फर्किने बाटो बन्द भयो । म त्यसबाट सहजै बाहिर निस्किने अवस्था थिएन । मैले त्यहाँ चोरिहेका आन्दोलनकारीलाई मद्दत माँगें । उनीहरू आएनन् । केही टाढा रहेका एक जना परिचय नभएका हातमा क्यामेरा भिडेका साथी म कहाँ आएर आल्मुनियम उठाउने प्रयास गरें, आल्मुनियम फोड्ने कोसिस गरें । अहँ, उनले सकेनन् । केही समयपछि एक/दुई जना मिलेर आल्मुनियम हटाएर म त्यहाँबाट निस्किएँ । घरमा आगो दन्किसकेको थियो । हामी माथि एक्सक्लुसिभ फुटेज र तस्बिरको लोभमा थियौं । सुरेशजी भिडियो खिच्नमै व्यस्त थिए । केही मिनेट आल्मुनियमले सताएको मलाई त्यहाँ बस्न कत्तिभर पनि मन लागेन । सडकबाट केहीले तल झर आगो माथि पुगिसक्यो भनेको आवाज मेरो कानमा ठोक्कियो । म हतार-हतारमा तल झर्दै थिएँ । अगाडि तिनै स्व. सुरेश रजक थिए । मैले उनलाई हतास–हतासमा भनें, ‘दाई आगो नजिकै आइसक्यो रे ! झरौं तल ।’ उनले जवाफमा मसँग भने, ‘म खिच्दैछु ।’ म तल झर्दै गर्दा एउटा कोठामा अर्का प्रदर्शनकारी ल्यापटप चोर्दै थिए । मैले उनको भिडियो खिँचें । उनलाई त्यो ल्यापटप त्यहीँ राख्न आग्रह गरें । उनी सडकमा फाल्ने भन्दै बाहिर दौडिएँ । म पनि उनलाई पछ्याउँदै बाहिरिएँ । आगोको मुस्लो थियो । क्यामराको लेन्सले उनलाई थप कैद गर्न सकेन । त्यतिसम्म बाहिरबाट भित्र जान सक्ने अवस्था थिएन । ढुङ्गामुढा निरन्तर बर्सिरहेका थिए । आगोले अराजक रूप लिँदै थियो । धुवाँको मुस्लोले मान्छेहरूलाई नदेख्ने अवस्था बनिरहेको थियो । मलाई थाहा थियो, माथि पत्रकार सुरेश रजक छन् । म नजिकै रहेका प्रहरीकहाँ गएर भित्र एक जना पत्रकार रहेको सुनाएँ । ती प्रहरी अधिकारीले वाकीटकीमा कुरा गरेजस्तो गरेर उभिएको ठाउँबाट उता सरे । फेरि आए उताबाट आएर ती प्रहरीले मलाई सोधे– माथि कति जना छन् ? मैले भने ‘एक जना ।’ त्यहीबेलै एभिन्यूजकै अर्का पत्रकारले आफ्नो सहकर्मी माथि नै रहेको प्रहरीलाई सुनाए । मैले भर्खर फोन गरेको उहाँले माथि नै छु भन्नु भएको छ, उहाँको उद्धार गर्नु परेको भन्दै ती पत्रकारले प्रहरीसँग बिन्ती बिसाउँदै थिए । अहँ, प्रहरीले वाकीटकीमा बोल्ने बाहेकको काम गर्न सकेन । आगो दन्किदै थियो । साइरन बजाउँदै दमकल आयो । अब पत्रकार सुरेशको उद्धार हुने झिनो आशा पलायो । तर, प्रदर्शनकारीले दमकललाई बस्न दिएनन्, आगो निभाउन दिएनन् । दमकलमाथि नै उनीहरूले ढुङ्गामुढा गरे । विडम्बना, पत्रकार सुरेश रजकले भित्रै ज्यान गुमाउनु पर्यो । दिनभरको थकित ज्यानलाई बिसाउन साँझ ७ बजे बागबजारमा रहेको कार्यालयमा आइपुगें । दिनभरको आफूले भोगेको र देखेको अनुभूतिहरू सम्पादक सरलाई सुनाएँ । उहाँले त्यतिबेलै ब्लग लेख्न सुझाउनु दिनुुभयो । मैले आँट गरिनँ । क्यामेराको बटन थिच्ने बानी परेको म ल्यापटपको किबोर्ड थिच्न उत्साह आएन । तर, आज तीन दिनपछि कनिकुथी मनको बह पोखें । अहिले पनि लागिरहेको छ, यदि मैले तल झरौं भनेको बेला सुरेश दाईले सँगै आइदिएको भए उनको ज्यान बच्थ्यो कि ! उच्च शिक्षाका लागि हुम्लाबाट काठमाडौं आइयो बाध्यताबस् पत्रकारिता पेसामा छिरेको म अहिले यही पेसा आदत बन्यो । धेरैले भन्छन्, ‘आफ्नो ज्यानलाई चुनौतीमा राखेर काम नगर ।’ तर, काम गर्ने बेला ज्यानको प्रवाह नहुँदो रहेछ । सुरेश दाईले पनि एउटा एक्सक्लुसिभ फुटेजको लोभमा आफ्नो ज्यानलाई आगोमा जलाए । हार्दिक श्रद्धाञ्जली सुरेश दाई !
चीनले कसरी ईभी बजारमा प्रभुत्व जमायो ?
सन् २०२५ मा लन्च हुने चिनियाँ विद्युतीय सवारीसाधनहरू । काठमाडौ । अमेरिकाले समय गुमायो र चीनले विद्युतीय सवारीसाधन (ईभी) साम्राज्य निर्माण गर्यो । ‘उनीहरूले उत्तर अमेरिकाबाहेक विश्वभर कब्जा जमाउँदैछन्,’ चिनियाँ अटो उद्योग विशेषज्ञ लेई सिङले भने, ‘अमेरिका अन्तिम चुनौती बन्नेछ ।’ पछिल्लो १५ वर्षमा चीनले १ करोडभन्दा बढी सार्वजनिक चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । अरबौं चालकहरूलाई अनुदान तथा अन्य प्रोत्साहनमार्फत विद्युतीय सवारी प्रयोग गर्न उत्प्रेरित गर्यो र १०० भन्दा बढी विद्युतीय सवारी ब्रान्डहरू विभिन्न मूल्य विकल्पसहित प्रस्तुत गर्यो । यो परिवर्तनलाई सिङले ‘चाइना स्पीड’ को उत्कृष्ट उदाहरण दिए, जसले चीनको तीव्र विकासलाई दर्शाउँछ । यो तीव्र गतिको विशाल रूपान्तरणका कारण चीनले अमेरिका र अन्य सबै देशहरूलाई उछिनेर विद्युतीय सवारीको प्रवृत्तिमा अग्रस्थान हासिल गरेको हो । चीनले कसरी ईभी बजारमा प्रभुत्व जमायो ? चीनको विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रता एकै रातमा आएको होइन । यसको प्रमुख कारण- चीनले एक दशकभन्दा बढी समयअघि नै ईभीलाई २०औं शताब्दीको सुरुवातमा हेनरी फोर्डले अटोमोबाइल उद्योगमा ल्याएको क्रान्ति जत्तिकै महत्त्वपूर्ण नवाचार(केही नयाँ तथा उपकारी तरिका) को रूपमा चिन्यो । विद्युतीय सवारीसाधनमा अग्रस्थान हासिल गर्ने दृढ इच्छाका साथ बेइजिङले आफ्नो आर्थिक शक्ति ईभी विकासमा लगानी गर्यो । यो रणनीति सन् १९७० र ८० को दशकमा जापानको अटो उद्योगलाई माथि उठाउन अपनाइएको केन्द्रीकृत औद्योगिक नीतिसँग मिल्दोजुल्दो थियो । सिङका अनुसार २००९ मा चिनियाँ सरकारले विद्युतीय सवारीसाधन नेटवर्कको आधार तयार गर्न एक प्रायोगिक अनुदान कार्यक्रम सुरु गरेको थियो । ‘दश सहर र हजार गाडी’ नामक यस योजनाको उद्देश्य बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका लागि नयाँ विद्युतीय र हाइब्रिड सवारीसाधनलाई अनुदान प्रदान गर्नु थियो । चीनको नम्बर वान ईभी- बीवाईडी २०१३ देखि सरकारले विद्युतीय सवारीको दायराको आधारमा वर्गीकरण गरिएको अनुदान प्रणालीमार्फत व्यक्तिगत उपभोक्ताहरूलाई पनि अनुदान दिन थाल्यो । यो योजना २०२२ मा बन्द गरियो तर त्यस समयमा चीन ईभी बजारमा अग्रस्थानमा पुगिसकेको थियो । साथै सरकारले विद्युतीय सवारीसाधनको लागत घटाउन १० प्रतिशत बिक्री कर छुटको सुविधा प्रदान गर्यो, जुन २०२७ सम्म क्रमशः हटाइनेछ । रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र (सीएसआईएस) को एक प्रतिवेदनअनुसार २००९ देखि २०२३ सम्म चिनियाँ सरकारले कुल २३१ अर्ब डलरको अनुदान प्रदान गरेको छ । यो अनुदान प्रणाली निकै प्रभावकारी सावित भयो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार चीनमा नयाँ विद्युतीय गाडी दर्ता २०२३ मा ८१ लाख पुगेको थियो, जुन २०२२ को तुलनामा ३५ प्रतिशतले वृद्धि हो । चार्जिङ पूर्वाधारमा चीनको अग्रता चीनले ईभी चार्जिङ पूर्वाधार निर्माणमा पनि अग्रस्थान बनाएको छ । राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार २०२४ को जुनसम्ममा चीनमा कुल १.०२ करोड ईभी चार्जरहरू थिए, जुन अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । चीनले मात्र संख्यात्मक रूपमा अमेरिकाभन्दा अग्रता लिएको छैन, गुणस्तरीय रूपमा पनि उछिनेको छ । सिङका अनुसार चीनको चार्जिङ प्रणाली अत्यधिक सुव्यवस्थित छ, जहाँ सबै प्रकारका गाडीका लागि एउटै मानक प्लग प्रयोग हुन्छ । ‘तपाईंलाई प्लग वा एडप्टरका प्रकारबारे सोच्नुपर्दैन, कुन चार्जिङ स्टेशन प्रयोग गर्ने भनेर चिन्ता लिनुपर्दैन,’ उनले भने । चीनको अर्को फाइदा- कच्चा पदार्थ र सेमिकन्डक्टर चिप्स चीनलाई ईभी उत्पादनका लागि आवश्यक महत्त्वपूर्ण कच्चा पदार्थ उपलब्ध हुने फाइदा छ । आईईएका अनुसार सन् २०३० सम्म ईभी ब्याट्री उत्पादनका लागि आवश्यक ९० प्रतिशत ग्रेफाइट र ७७ प्रतिशत प्रशोधित दुर्लभ खनिज चीनबाट आपूर्ति हुनेछ । अटोमोटिभ इनोभेसन एलायन्सका अनुसार हाल अमेरिका आफ्नो सम्पूर्ण ग्रेफाइट आपूर्ति आयात गर्छ, जसको एक तिहाइ चीनबाट आउँछ । चीनलाई सेमिकन्डक्टर चिप उत्पादनको नजिक हुनुको फाइदा पनि छ । ईभीपासपोर्टका सीईओ हुमन शाहीदीका अनुसार ताइवान जुन चीनको छेउमै छ, विश्वका ९० प्रतिशत अत्याधुनिक चिप उत्पादन गर्छ । ‘अमेरिका र क्यानडा चीनमाथिको निर्भरता हटाउन प्रयासरत छन्, तर यो कार्य शब्दमा भन्दा व्यवहारमा कठिन छ,’ सिङले भने, ‘मलाई लाग्छ, यसको समाधान गर्न कम्तिमा एक दशक लाग्नेछ ।’ के अमेरिका अझै प्रतिस्पर्धा गर्न सक्छ ? अमेरिकी चालकहरू ईभी अपनाउने मामिलामा सुस्त छन् । विशेषज्ञहरू अमेरिका प्राविधिक दक्षता र आर्थिक क्षमता भएकोले अझै दौडबाट नबाहिरिएको बताउँछन् । यदि राजनीतिक इच्छाशक्ति बलियो भयो भने ईभी प्रणाली छिटो विस्तार गर्न सक्छ । अटोमोटिभ इनोभेसन एलायन्सका सीईओ जोन बोज्जेल्लाका अनुसार आगामी केही वर्षहरू अमेरिकी ईभी विकासका लागि सबैभन्दा महत्त्वपूर्ण हुनेछन् । चीनसँग प्रतिस्पर्धा गर्न अमेरिकाले के गर्नुपर्छ? कारबिकका सीईओ बाराटुन्डे कोलाका अनुसार अमेरिका रोबोटिक्स र स्वचालित असेम्ब लीमा थप लगानी गर्नुपर्छ, उन्नत सामग्रीहरूमा लगानी बढाउनुपर्छ र महत्त्वपूर्ण खनिजहरूको उत्पादन बलियो बनाउँदै चीनमाथिको निर्भरता कम गर्नुपर्छ । ‘यदि हामी नयाँ प्रविधिहरू, जस्तै कार्बन न्यानोट्यूबहरूको मापन विस्तार गर्न केन्द्रित भयौं, यदि हामी रोबोटिक्समा दोब्बर लगानी गर्याैं भने हामी चीनलाई पछ्याउन सक्दछौं र एक दशकभित्र विश्व नेता बन्न सक्दछौं,’ उनले भने । चार्जिङ पूर्वाधार निर्माणमा ध्यान अमेरिकाको अर्को मुख्य प्राथमिकता चार्जिङ पूर्वाधारको विस्तार हो । ‘हामीले थप चार्जरहरू राख्नका लागि यो कार्य सम्पन्न गर्ने थप जनशक्ति आवश्यक छ,’ शाहीदीले भने । अमेरिकामा हाल २ लाखभन्दा बढी सार्वजनिक चार्जिङ पोइन्टहरू रहेका छन् । ट्रम्प प्रशासनको गलत कदम राष्ट्रपति डाेनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरी अघिल्लो प्रशासनको २०३० सम्म नयाँ बिक्री हुने ५० प्रतिशत सवारीसाधन विद्युतीय हुने लक्ष्य खारेज गरेका छन् । संघीय राजमार्ग प्रशासनले राष्ट्रिय विद्युतीय सवारीसाधन पूर्वाधार कार्यक्रमलाई स्थगित गर्दै ईभी चार्जिङ स्टेशनहरूको विस्तारका लागि विनियोजन गरिएको करिब ३ अर्ब डलर रोक्का गरेको छ । सबै आयातित सवारीसाधन र पार्ट्सहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरिएको छ, जसले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा भर पर्ने ईभीहरूको लागत र उपलब्धतामा असर पार्न सक्छ । प्रशासनले जीवाश्म इन्धनलाई प्राथमिकता दिँदै स्वच्छ ऊर्जा परियोजनाका लागि प्रदान गरिएका अनुदानहरू रद्द गरेको छ । यस्ता कदमहरूले चीनलाई झन् बढी फाइदा हुने र अमेरिका पछि पर्ने विज्ञहरू बताउँछन् ।