प्रधानमन्त्री उद्धार कोषमा एक अर्ब ३६ करोड, एसियाली विकास बैंकले दियो ३० करोड

२९ बैशाख  । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ३६ करोड ७५ लाख २३ हजार ३९ रुपैंयाँ जम्मा भएको छ । बैशाख १२ गते महाभूकम्प गएपछि बैशाख २८ गतेसम्म सो कोषमा त्यति रकम रकम जम्मा भएको हो । सोमबार कोषमा बिभिन्न १९ वटा संघ संस्थाहरुले सहयोग रकम जम्मा गरेका हुन् । आइतबारसम्म ९७ करोड ६७ लाख ५३ लाख ७५ हजार रुपैंयाँ मात्रै रहेको कोषमा सोमबार ३९ करोड २१ लाख ४७ हजार तीन सय ३० रुपैंयाँ थपिएको हो । यसैबिच सोमबारै एसियाली विकास बैंक, सूर्य नेपाल, एभरेस्ट बैंक र सिल्भर हेरिटेजले सहयोग रकम प्रदान गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एसियाली विकास बैकका देशीय निर्देशक केनिची योकोयामाले बैंकका तर्फबाट दिइएको ३० लाख डलर(३० करोड रुपैंयाँ) सहयोग प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडित भएका नेपालीलाई सहयोग गरेकामा बैंकलाई धन्यवाद दिएका थिए । नेपालका लागि एडिबीका आवासीय राष्ट्रिय प्रतिनिधि योकोयामाले बैंकका अध्यक्ष ताकेहिको नाकाओले नेपालमा आएको भूकम्पमा परी मृत्युवरण गरेका नेपाली र भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीप्रति सहानुभूति र स्वजन गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको समवेदना सन्देश पनि हस्तान्तरण गरेका थिए । उनले भूकम्पको क्षतिको विवरण लिएपछिका राहत, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । सूर्य नेपालको रु १० करोड सोमबारै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सूर्य नेपालले १० करोड प्रदान गरेका छ । कम्पनीका कार्यकारी अधिकृत रवि केसीले १० करोडको चेक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन। एभरेस्ट बैंकले पनि दियो ५० लाख त्यस्तै, एभरेस्ट बैंकले राहत कोषमा ५० लाख प्रदान गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलगायतले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् । त्यसैगरि, कोषमा सिल्भर हेरिटेज प्रालिले प्रधानमन्त्री राहत कोषमा २२ लाख प्रदान गरेको छ । कम्पनीका ह्युह होल्मले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अपेक्षाकृत रकम जम्मा हुन नसकेकोमा सरकारको आलोचना भैरहँदा महाभूकम्पको १६ दिनसम्ममा एक अर्ब ३६ करोड रुपैंयाँ जम्मा भएको हो । क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणका लागि १० खर्ब रुपैंयाँ लाग्ने अनुमान गरिएको छ । सरकारले दुई खर्बको पुनःनिर्माण कोष खडा गर्ने घोषणा गरिसकेको छ ।

राष्ट्र बैंकले बनायो १४ दिनको साता

२८ बैशाख । सामान्यता ७ दिनलाई एक साता मान्ने गरिए पनि नेपाल राष्ट्र बैंकले भने १४ दिनलाई एक साता बनाएको छ । विनासकारी भूकम्पको कारण सवै क्षेत्रमा नकारात्मक प्रभाव परेपछि बैंक तथा वित्तीय संस्थालाई राहत दिन राष्ट्र बैंकले १४ दिनको साता बनाएको हो । राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नगदै राख्नुपर्ने ब्यवस्था गरेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति अनुसार बाणिज्य बैंकहरुले ६ प्रतिशत, विकास बैंकहरुले ५ प्रतिशत र फाइनान्स कम्पनीहरुले ४ प्रतिशत रकम अनिवार्य नगद मौज्दात राख्नु पर्छ । यस्तो रकमको गणना साप्ताहिक रुपमा हुने गर्छ । तर १२ बैशाखमा आएको विनासकारी भूकम्पको कारण सवै क्षेत्र प्रभावित भएकोले यस्तो गणनाको अवधि १४ दिनको भनाइएको हो । राष्ट्र बैंकले २७ बैशाखमा परिपत्र गर्दै १३ बैशाखदेखि २६ बैशाखसम्मलाई एक साता मान्ने ब्यवस्था गरिएको जानकारी दिएको छ । ‘भूकम्पका कारणले गर्दा अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनका लागि मिति २०७२ बैशाख १३ गते देखि २०७२ बैशाख २६ गतेसम्मको अवधिलाई हप्ता कायम गरिएको छ,’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख गरिएको छ ।

भूकम्पले अर्थतन्त्रमा पर्ने असर

२७ बैशाख/विनासकारी भूकम्पको कारण मुलुकको समग्र अर्थतन्त्रमा अल्पकालिन नकारात्मक प्रभाव पारे पनि छिट्टै अर्थतन्त्रमा सुधार हुने विज्ञहरुले बताएका छन् । सरकार र दातृ निकायको पहलमा सुरु हुने पुनस्थापना र पुननिर्माण कार्यमा ठूलो मात्रामा लगानी हुने भएकोले यसपछि आर्थिक विकासले गति लिने विश्लेषण पनि गर्न लागिएको छ । विनासकारी भूकम्पको कारण कति रकम बराबरको धन सम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक अझै आउन सकेको छैन । तर अनौपचारिक रुपमा आएको तथ्यांक अनुसार करिब ८ खर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी सरकारी अधिकारीको छ । भूकम्पको कारण घरवार विहिन भएका सर्वसाधारणको पुनस्थापना र भौतिक संरचनाको पुननिर्माणको लागि सो भन्दा बढी परिमाणको लगानी हुने भएकोले अर्थतन्त्रले गति लिन सक्ने अर्थशास्त्रीको विश्वास छ । भूकम्पको कारण सबैभन्दा धेरै प्रभाव कृषि क्षेत्रमा पर्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलको भनाइ छ । अहिले मकै खेती लगाउने समय भएकोले कतिपयको विउ समेत नष्ट भएको र खेती लगाउनै नसकिने अवस्था पनि आएकोले मकैको उत्पादनमा नकारात्मक प्रभाव पर्ने उनले बताए । ‘भूकम्पले कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ,’ डा. पोख्रेलले भने– मकैको खेती लगाउने समयमा आएको शक्तिशाली भूकम्पको कारण सो खेती बढी प्रभावित हुने भएकोले समग्र कृषि उत्पादनमै नकारात्मक प्रभाव पर्ने देखिन्छ । नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब एक तिहाइ छ भने धानपछि सबैभन्दा बढी उत्पादन हुने बाली मकै हो । यस्तै भूकम्पको कारण अधिकांश कृषकको चौपाया मरेकोले मलखादको अभावमा पनि कृषि उत्पादन घट्ने उनको भनाइ छ । यस्तै भूकम्पको कारण क्षति भएको भौतिक संरचना निर्माण गर्नको लागि ठूलो मात्रामा लगानी हुने र श्रमिकको आवश्यकता पर्ने भएकोले कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको थप अभाव भएर उत्पादन कम हुने उनको विश्लेषण छ । भूकम्पको कारण विश्वब्यापी रुपमा क्षतिको सन्देश गएकोले पर्यटन क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्ने डा. पोखरेलको विश्लेषण छ । यो बर्षको पर्यटन मौसम सकिन लागेको भएपनि आगामी बर्षको लागि सचेत रुपमा प्रचार प्रसार गर्न नसके नकारात्मक प्रभाव देखिन सक्ने उनले औल्याए । होटल एसोसिसएसन नेपालका कार्यकारी अधिकृत प्रवेश अर्याल पर्यटन क्षेत्रमा तत्काल नकारात्मक असर परे पनि दीर्घकालिन नकारात्मक असर कम हुने विश्वासमा छन् । ‘होटलहरुमा भौतिक क्षति कम छ, विपत्तिको समयमा पनि होटलले राम्रो सेवा दिएको र विनासपछिको नेपाल हेर्न चाहने पर्यटकको संख्या बढ्न सक्ने भएकोले आगामी बर्ष पनि नकारात्मक असर पर्छ भन्न सकिदैन,’ अर्यालले भने । अहिले संचालनमा रहेका ९० प्रतिशतभन्दा बढी होटल भौतिक रुपमा क्षति नपुगेको उनको भनाइ छ । तत्कालको लागि धेरै नकारात्मक असर पुग्ने अर्काे क्षेत्र रियलस्टेट भएको डा. पोखरेलको भनाइ छ । भूकम्पको कारण भौतिक संरचनामा क्षति पुगेकोले हाउजिङ्ग र अपार्टमेन्ट ब्यवसाय तंग्रिन निकै समय लाग्ने उनले बताए । तर पुनस्थापना र पुन निर्माणको लागि ठूलो मात्रामा लगानी आउने भएकोले त्यसको सकारात्मक प्रभाव रियलस्टेट क्षेत्रमा पनि पर्ने घरजग्गा ब्यवसायी ओम राजभण्डारीको भनाइ छ । यस्तै पुननिर्माण क्षेत्रका प्रयोग हुने सामाग्री उत्पादन गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विज्ञको भनाइ छ । सरकारी राहात वितरणसँगै सिमेन्ट, रड, इटा, बालुवा, गिठ्ठी, जस्तापाता लगायत निर्माण सामाग्रीहरुको प्रयोग निकै बढ्ने छ । यस क्षेत्रमा उत्पादन विस्तार हुनेछ । निर्माण व्यवसायी, कमदार, इन्जियिर, परामर्शदातालाई काम भ्याई नभ्याई हुनेछ । कुल ग्राहस्थ्य उत्पादनमा निर्माण क्षेत्रको १२ प्रतिशत भन्दा बढी योगदान छ । विश्वका अन्य मुलुकमा पनि यस्तो प्रकारको ठूलो प्राकृतिक विपत्ति पछि करिब १ अर्ब अमेरिकी डलर बराबरको लगानी आउने गरेकोले नेपालमा पनि सोही मात्रामा लगानी आउने र त्यसले पूर्वाधार क्षेत्रको विकासमा फड्को मार्ने अर्थशास्त्रीहरुको भनाइ छ । राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाले आगामी पाँच वर्षको लागि ‘बिजनेश’ पाउनेछन् । जीडीपीमा करिव ६ प्रतिशत योगदान रहेको उद्योग क्षेत्र पनि धेरै प्रभावित हुने छैन । फूटवेयर, औषधि, सिमेन्ट, स्टील उद्योगहरुको उत्पादन खपतमा कमी आउने छैन । तर यी उद्योगले उर्जा र श्रमिक अभावको समस्या झेल्नुपर्ने डा. पोखरेलले बताए । भत्किएको उद्योगहरु सूचारु हुने केही महिना लाग्ने छ । जीडीपीमा झण्डै २६ प्रतिशत योगदान गर्ने रेमिट्यान्स क्षेत्रमा भूकम्पको नकारात्मक असर पर्ने छैन । बरु घरमा समस्या परेको अवस्थामा विदेशमा रहेका नेपालीले संचितमा राखेको बचत पनि यस बखत नेपाल बठाउने छन् । त्यसले रेमिट्यान्स आय वृद्धिमा सहयोग पुग्नेछ । बैदेशिक व्यापारमा भने भूकम्पको असर झन नकारात्मक पर्ने अर्थविद् डाक्टर पोखरेल बताउँछन् । नेपाली उत्पादनको लागत झनै बढ्ने छ । उत्पादनमा पनि कमी आउने छ । त्यसको असार आयात झन् बढ्ने छ भने निर्यात अझै घट्नेछ । यस्तै भूकम्पको कारण ठूलो मात्रामा धनजनको क्षति भएकोले बीमा र बैंकिङ्ग क्षेत्रले पनि केहि तनाव भोग्नु पर्ने डा. पोखरेलको भनाइ छ । यसको असर सेयर बजारमा पर्नेछ । सेयरबजारमा उच्च गिरावट आउन सक्नेछ ।