अधिकांश तारे होटललाई ग्रीन कार्ड, बस्न सुरक्षीत

काठमाडौँ, ४ जेठ । विनाशकारी भूकम्प र पराकम्पन गइरहँदा पनि राजधानीका अधिकांश तारे होटलको संरचनामा कुनै असर पुगेको छैन । भवन संहिताको पालना गरी निश्चित मापदण्ड अपनाई बनाइएका तारे तथा विदेशी पर्यटकस्तरीय होटल भूकम्प र त्यसको पराकम्पनबाट सुरक्षित छन् । गत वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्पपछि होटल तथा रेस्टुराँमा भएको क्षति र बस्न योग्य भए÷नभएबारे प्राविधिक परीक्षण गर्न गठित विज्ञ टोलीले तारे तथा पर्यटकीय होटल सुरक्षित रहेको प्रारम्भिक निष्कर्ष दिएको छ । विकासन्युज/काठमाडौं। पर्यटन विभाग र सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा गठित प्राविधिक टोलीका संयोजक इञ्जिनियर कोषनाथ अधिकारीले करिब ९० प्रतिशत तारे होटल सुरक्षित रहेको बताउनुभयो । प्राविधिक टोलीले काठमाडौँका तारेसहितका १४ वटा होटलका २२ वटा भवनको परीक्षण गरेको थियो । यसमध्ये हायात रिजेन्सी, सोल्टी, ¥याडिसन, अन्नपूर्ण, एभरेष्ट, मल्ल र साङ्ग्रिला होटलमा हरियो स्टिकर (बस्न मिल्ने) टाँसिएको छ । सोल्टी होटलको भवनसम्म पुग्ने बाटोका पर्खाल मर्मत गर्नुपर्ने र क्यासिनो भवनमा सामान्य क्षति भएको टोलीले जनाएको छ । यस्तै हायात रिजेन्सीको क्यासिनो भवनलाई सामान्य मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर (कम खतरा) टाँसिएको छ । होटल अन्नपूर्णको क्यासिनो भवनलाई रातो स्टिकर (खतरा) टाँसिएको छ । ठमेलस्थित काठमाडौँ गेष्ट हाउसका पाँच भवनमध्ये हेरिटेज ब्लक प्रयोग नगर्न भनिएको छ । ताहचलको ग्रान्ड होटल र सँगैको प्लाटिनम होटल सुरक्षित छन् । लाजिम्पाटको बजेट होटलमा भने पूर्ण रूपमा क्षति भएको छ । प्राविधिक टोलीका संयोजक अधिकारीले पूर्ण क्षति भएकालाई कुनै स्टिकर नटासिँने र रातो स्टिकर पनि मर्मत गर्न सकिने र गर्न नसकिने दुवै हुने उल्लेख गरे । एयरपोर्ट होटलका दोस्रो र तेस्रो तलाका पर्खालहरू चर्केकाले पहेँलो स्टिकर टाँसिएको छ । प्राविधिक परीक्षणमा सबैभन्दा सुरक्षित ठमेलको होटल मनाङ रहेको पाइएको र त्यहाँ पनि हरियो स्टिकर टासिएको संयोजक अधिकारीले बताए । पर्यटन विभागको होटल शाखाको विवरणअनुसार नेपालमा १० वटा पाँचतारे, दुई वटा चारतारे, ३१ वटा तीनतारे, ४८ वटा दुईतारे, ३५ वटा एकतारे र ४३० वटा पर्यटकस्तरीय होटल रहेका छन् । पर्यटक सामान्य यही वैशाख १२, १३ र २९ गते गएको भूकम्प तथा शक्तिशाली पराकम्पनपछि नेपालको पर्यटन क्षेत्रमा विभिन्न असर पुगेको छ । यहाँका पर्यटकीय पुरातात्विक सांस्कृतिक संरचना तथा विश्वलाई चिनाउने प्रख्यात पर्वतारोहण, पदयात्रालगायतका क्षेत्रमा असर परेको छ । यद्यपि भूकम्पपछि पर्यटन क्षेत्रबारे विभिन्न अड्कलबाजी र टीकाटिप्पणी भइरहँदा पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने नेपालका होटलहरूमा खासै असर नपरेको व्यवसायीहरू बताउँछन् । तर अधिकांश तारे होटलमा भने पर्यटकको आवागमन प्रायः शून्य भएकाले व्यवसायमा समस्या आएको बताएका छन् । ¥याडिसन होटलका बजार व्यवस्थापन शाखाका अनुसार बुकिङहरू धैरै रद्द गरिएको र पर्यटक प्रायः शुन्य अवस्थामा रहेका छन् । अहिलेको मौसममा भारत र चीनबाट बढी पर्यटक आउनुपर्ने हो तर भूकम्पको त्रासले पर्यटक ह्वात्तै घटेको छ । ६० देखि ७० प्रतिशत बुकिङ रद्द भएको शाखाले जनाएको छ । होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक साहले भूकम्पपछि अधिकांश तारे तथा पर्यटकस्तरीय होटलहरू सुरक्षित रहेको बताए । “ठूला होटल सुरक्षित छन् खाली पनि छैनन् राहत र उद्धारमा काम गर्न आएका, गैरसरकारी संस्थाका, कूटनीतिक क्षेत्रका व्यक्ति तथा विदेशी सञ्चारकर्मीले गर्दा तारे होटलहरू भरिभराउ नै छन्”, उनले भने । अहिले प्राकृतिक विपत्तिको चुनौतीको सामना गर्दै विदेशी पर्यटकलाई नेपालमा आउने वातावरण सिर्जना गर्न सबै सरोकारवाला निकायको ध्यान जानुपर्ने देखिन्छ । महासचिव शाहले सामान्यतः अहिले पर्यटक आउने मौसम नभएको र दसैँतिर बढी पर्यटक आउने मौसम भएकाले अबको तीन चार महिनामा सबैखाले तयारी गर्न जरुरी भएको उल्लेख गरे । हानका अनुसार देशभर साना ठूला गरी चार हजारभन्दा बढी होटल रहेका छन्, यीमध्ये ठूला होटलमात्र हजारको हाराहारीमा छन् । ती होटलमा पर्यटकस्तरीय करिब २५ हजार बेड क्षमता रहेका छन् । विनाशकारी भूकम्पले खासगरी पर्वतारोहण, पदयात्रा, दृश्यावलोकन तथा काठमाडौँ उपत्यकाभित्रका पुरातात्विक एवम् सांस्कृतिक सम्पदा क्षेत्रमा ठूलो क्षति पुगेकाले ती क्षेत्रमा पर्यटन पूर्वाधार मर्मत सुधार तथा नवनिर्माणका काम अघि बढाउन लागिएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण तथा पर्यटकीय क्षेत्रहरूको मर्मत र सुधार गरी पर्यटनलाई सामान्य अवस्थामा लैजान विभिन्न कार्ययोजना अघि बढाइएको जानकारी दिए । रासस

नियम विपरित भवन बनाउन संलग्न सबैलाई कारवाही गरिने, नयाँ भवन नक्सा पास बन्द

४ जेठ । मापदण्ड विपरित नक्सा पास गर्ने, भवन निर्माणको अनुमति दिने, तथा यस कार्यमा संलग्न कर्मचारीलाई सरकारले अविलम्ब कारवाही गर्ने जनाएको छ । बैशाख १२ गते भूकम्प जाँदा घरहरु भत्कि ८ हजार ६ सयभन्दा बढीको ज्यान गएपछि सरकारले मापदण्ड विपरित काम गर्ने सबैलाई कारवाही गर्ने जनाएको छ । विकासन्युज/काठमाडौं । उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाश मान सिंहले मन्त्रालय स्थारीको निर्णय गरी नगरपालिका भित्र नक्सापास नभई बनेको ठूला संरचना निर्माणकर्ता र नक्सापास भएका तर भत्किएका संरचनाको नक्सा तयार गर्ने र पास गर्ने प्राविधिक एवं कर्मचारी लगायत निजी क्षेत्रका डिजाईनहरुको लगत राखी सो को विवरण सार्वजनिकीकरण गर्न स्थानीय निकायलाई निर्देशन दिएका छन् । ‘नियम विपरीत डिजाइन तथा निर्माणमा संलग्न निजी क्षेत्रका इन्जिनियरहरुको नाम नामेसी सहितको विवरण तयार पारी जनकारी एवं कारवाहीको लागि निमित्त नेपाल इन्जिनियरिङ काउन्सिलमा लेखी पठाउनु’ मन्त्रलायले जारी गरेको पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, सरकारले आगामी अषाढ मसान्तसम्म कुनै पनि नयाँ भवन निर्माणको लागि नक्सका पास निवेदन दर्ता नगर्न स्थानीय निकायलाई परिपत्र जारी गरेको छ । भवन निर्माणका लागि यसअघि आवेदन गरेका लागि पनि स्वीकृति नदिने भएको छ । नक्सा पास भईसकेका र निर्माण कार्य शुरु भई सकेका भवनको हकमा असार मसान्तसम्ममा भूईतलासहित बढीमा २ तला मात्र निर्माण गर्न सरकारले निर्देशन दिएको छ । निर्माण भईसकेका र जोखिम युक्त प्रर्खाल तत्काल हटाउन सरकारले जिल्ला विकास समिति, नगरपालिकाहरुलाई निर्देशन दिएको छ । संयुक्त आवास तथा जग्गा विकास सम्वन्धि सबै कार्यक्रम हाललाई स्थागित गरिएको छ । त्यस्तै, मन्त्रालयले आगामी आर्थिक वर्षदेखि गाविसहरुमा पनि घर बनाउने नक्सापास गर्नुपर्ने नियम लागू गर्ने भएको छ । गाविसतहमा नक्सापास गरी घर निर्माण गर्ने नीति कार्यन्वयन गर्न हरेक गाविसमा आगामी आर्थिक वर्षदेखि प्राविधिक जनशक्ति परिचालन गर्न लागिएको मन्त्रालयले स्थानीय निकायलाई जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

रावा बैंकको खुद नाफा सवैभन्दा बढी, स्ट्याण्डर्डको घट्यो

विकास न्युज/काठमाडौं ४ जेठ । १२ बैशाखमा गएको बिनासकारी भूकम्प र त्यसपछिका निरन्तर धक्काले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भैरहेको समयमा बाणिज्य बैंकहरुको खुद नाफा भने उच्च देखिएको छ । गत चैत मसान्तसम्मको कारोवारको आधारमा बैंकहरुले प्रकाशित गरेको वित्तीय विबरणले उनीहरुको नाफा बृद्धि भएको देखाउछ । विनासकारी भूकम्प जानु भन्दा पहिलाको कारोवारको आधारमा उनीहरुको नाफा उच्च देखिनु स्वभाविक हो । तर आगामी असार मसान्तको नाफा भने प्रभावित हुने अनुमान गरिएको छ । बैंक अफ काठमाडू (विओके) ले चैत मसान्तसम्ममा ४८ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत बर्षको सोही अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा विओकेले ३७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन र ३२ अर्ब ९० करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सेन्चुरी बैंकले १६ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकको खुद नाफा ६ करोड २६ लाख रुपैयाँ थियो । यो अवधिसम्ममा सेन्चुरीले २३ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन र २० अर्ब ७ करोड ३९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले ४५ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३० करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । यो अवधिसम्ममा सिटिजन्सले ३४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २८ अर्ब ७४ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एभरेष्ट बैंकले १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्टले यो अवधिसम्ममा ७१ अर्ब ५ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ग्लोबल आइएमइ बैंकले ८० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ७२ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा ग्लोबल आइएमइ बैंकले ५७ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ४९ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हिमालयन बैंकले ९० करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ७९ करोड २८ लाख रुपैयाँ खुुद नाफा गरेको थियो । यो अवधिसम्ममा हिमालयनले ६८ अर्ब ३० करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ५५ अर्ब ५० करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । मेगा बैंकले २६ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले २५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा मेगा बैंकले २१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन र १८ अर्ब ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नेपाल बंगलादेश (एनबी) बैंकले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ४० करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा एनबी बैंकले २९ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र २५ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले ४ अर्ब ६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले १ अर्ब २५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ३ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन र ६९ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सिद्धार्थ बैंकले ५४ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३६ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा सिद्धार्थ बैंकले ४१ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा बैंकले ५१ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र ३० अर्ब ७९ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सनराइज बैंकले ३३ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले २७ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा सनराइज बैंकले २९ अर्ब ८४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन र २४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।