२४ बाणिज्य बैंकको नाफा १८ अर्ब २० करोड, चारवटा बैंकले कमाए २० वटाको बराबर नाफा
११ जेठ । २४ वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको नौ महिनामा १८ अर्ब २० करोड रुपैंयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका ३० वटा बैंक मध्ये हालसम्म तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका २४ बैंकहरुले चैत मसान्तसम्ममा सो नाफा कमाएका हुन् । २० वटा बैंकको नाफा बराबर चार वटा बाणिज्य बैंकहरुले नै नाफा कमाएको पनि देखिएको छ । २० वटा बाणिज्य बैंकहरुको कुल नाफा ९ अर्ब ९७ करोड देखिएको छ भने अन्य चारवटा बैंकहरुले आठ अर्ब २३ करोड नाफा कमाएका छन् । चारवटा बैंकहरुले एक अर्ब भन्दा बढि नाफा कमाएका हुन् । यसरी अर्ब बढि कमाउने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक रहेका छन् । सबै भन्दा बढि नाफा कमाउने बैंकमा राष्ट्रिय बाणिज्य बैंक देखिएको छ । यो बैंकले चैत मसान्तसम्ममा चार अर्ब ६ करोड नाफा कमाएको छ भने नविल बैंकले दोश्रो स्थानमा रहँदै एक अर्ब ६३ करोड नाफा कमाएको छ । यद्यपी नविलले गत बर्षको सोही अवधीको तुलनामा भने एक करोड नाफा घटाएको छ । बढि मुनाफा कमाउने तेश्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यो बैंकले नौ महिनामा एक अर्ब ५३ करोड नाफा गरेको छ । चौथो स्थानमा रहँदै कृषि विकास बैंकले एक अर्ब एक करोड नाफा आर्जन गरेको छ । थोरै नाफा कमाउने बैंकहरुको पहिलो नम्बरमा जनता बैंक परेको छ । यो बैंकले जम्मा १३ करोड ४६ लाख मात्रै नाफा कमाएको देखिन्छ । त्यस्तै सेन्चुरी बैंकले पनि नौ महिनामा जम्मा १६ करोड ३० लाख मात्रै कमाएको छ । सिभिल बैंकले पनि थोरै कमाउने बैंकहरुको सुचिमा पर्दै जम्मा १९ करोड पाँच लाख मात्रै नाफा आर्जन गरेको छ ।
निर्यात ब्यापार ४ अर्बले घट्यो
११ जेठ । गत बर्षको भन्दा यो बर्ष निर्यात ब्यापार ४ अर्ब रुपैयाँले कम भएको छ । गत बर्षको चैत मसान्तको भन्दा यो बर्षको सोही अवधिमा निर्यात ब्यापार ४ अर्ब रुपैयाँले कम भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत बर्षको चैत मसान्तसम्ममा ६८ अर्ब १२ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएकोमा चालु आर्थिक बर्षको सोही अबधिमा ६४ अर्ब २८ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । गत बर्षको सोही अवधिको तलुनामा निर्यात ब्यापार चालु आर्थिक बर्षको सोही अवधिमा ५ दशमलब ६ प्रतिशतले घटेको राष्ट्र बैंकले उल्लेख गरेको छ । गत बर्षको सोही अवधिमा यस्तो निर्यात १९ दशलमब २ प्रतिशतले बढी ६८ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । मासिक रुपमा चालू आर्थिक वर्षको चैत महिनामा कुल वस्तु निर्यात फागुन महिनाको तुलनामा १० दशमलब ९ प्रतिशतले बढेको छ । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको नौ महिनासम्ममा २० दशमलब ६ प्रतिशतले बढेकोमा यो बर्ष ८ दशमलब २ प्रतिशतले घटेको छ । अलैंची, जिङ्क शीट, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात भने अघिल्लो वर्षको सोही अवधिमा ११ दशमलब ९ प्रतिशतले बढेको तुलनामा यो अवधिमा ८ दशमलब १ प्रतिशतले बढेको छ । प्रशोधित छाला, हस्तकलाका सामान, तयारी पोशाक, नुडल्स लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात बढेको हो । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १६ दशमलब ८ प्रतिशतले बढेकोमा यो अवधिमा १ दशमलब २ प्रतिशतले घटेको छ । विशेषतः दाल, प्रशोधित छाला, ऊनी गलैंचा, नेपाली कागज र कागजका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो । यो अवधिमा कुल वस्तु आयात १० दशमलब ५ प्रतिशतले बढेर ५ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलब ७ प्रतिशतले वृद्धि भई ५ दशमलब २२ अर्ब १९ करोड रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको ह्रास तथा सुन, सुपारी, एम एस वायर रड, कोइला, धागो लगायतका वस्तुहरुको आयात घटेको कारण समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । मासिक रुपमा हेर्दा चैत महिनामा कुल वस्तु आयात फागुन महिनाको तुलनामा १० दशमलब १ प्रतिशतले बढेको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको २९ प्रतिशत वृद्धिको तुलनामा यो अवधिमा ४ दशमलब ६ प्रतिशतले बढेको छ । भारतबाट मुख्यतया यातायातका साधन तथा पाटपुर्जा, चामल, एम.एस विलेट, मेशिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो । चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १४ दशलमब ५ प्रतिशत वृद्धिको तुलनामा यो अवधिमा ५१ दशलमब ९ प्रतिशतको उच्च दरले बढेको छ । मुख्यतयाः मेशिनरी तथा पाटपूर्जा, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, विजुलीका सर सामान, रासायनिक मल लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाटको आयात वृद्धि भएको हो । अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको ३० दशमलब ५ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ९ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी चाँदी, हवाइजहाजका पाटपूर्जा, खाने तेल, कच्चा पाल्म तेल लगायतका वस्तुहरुकोे आयात बढेको कारण अन्य मुलुकबाट भएको आयात बढेको हो । ब्यापार घाटा ५ खर्ब १३ अर्ब कुल वस्तु व्यापार घाटा १२ दशमलब ९ प्रतिशतले वृद्धि भई ५ खर्ब १२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २९ दशमलब १ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये भारत, चीन र अन्य मुलुकसँगको व्यापारघाटा क्रमशः ६ दशलमब ५ प्रतिशत, ५३ दशलमब ५ प्रतिशत र ११ दशमलब ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः ३० दशमलब ४ प्रतिशत, १४ दशमलब ६ प्रतिशत र ३३ दशमलब ८ प्रतिशतले बढेको थियो । निर्यात घटेको र आयात बढेको कारण समीक्षा अवधिमा निर्यात–आयातअनुपात ११ दशमलब १ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ प्रतिशत रहेको थियो ।
पुनःनिर्माणमा बैंकर्सको नयाँ प्रस्ताव, मासिक छ सय किस्तामा तीन लाखका सुरक्षित घर
१० जेठ । नेपाल बैंकर्स संघले महाभूकम्पका कारण ध्वस्त भएका घरहरुको पुनःनिर्माणका लागि नयाँ प्रस्ताव अघि सारेको छ । संघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मासिक छ सय रुपैंयाँ किस्ता तिरेर तीन लाखको लागतमा भूकम्प प्रतिरोधी घर बनाउन सकिने प्रस्ताव अघि सारेको हो । सिई कन्सट्रक्सनले तयार पारेको नमुनाका आधारमा संघले नेपाल राष्ट्र बैंकले अघि सारेको दुई प्रतिशत ब्याजमा पुनःनिर्माण कर्जा उपलब्ध गराउने प्रस्तावको विकल्पका रुपमा यस्तो योजना अघि सारेको हो । लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले कार्यपत्र प्रस्तुत गर्दै घरबार बिहिन भएका नेपालीलाई राज्यले उपलब्ध गराउने दुई लाख रुपैंयाँ बैंक एकाउन्टमा जम्मा गर्ने र राज्यको जमानीमा बैंकले थप एक लाख ऋण उपलब्ध गराउने प्रस्तावअघि सारेका हुन् । सरकारले दिएको दुई लाख र सरकार ग्यारेन्टी बसेर बैंकले एक लाख रुपैंयाँ पीडितको एकाउण्टमा राख्ने र बैंकले नै सो रकम बराबरको निर्माण सामग्री उपलब्ध गराउने पन्तको प्रस्तावमा उल्लेख गरिएको छ ।उनले २० बर्षे योजना अनुसार सरकार ग्यारेण्टी बसेर कर्जा लगानी गर्न सकिने स्पष्ट पारेका छन् । बैंकर्स संघका कार्यवाहक अध्यक्ष अनिलकेशरी शाहले बैंकहरुले आफ्नो कुल कर्जा क्षमताको १० प्रतिशत कर्जा महाभूकम्पका कारण क्षति पुगेका उद्योगधन्दामा प्रवाह गर्ने जानकारी दिए । उनका अनुसार त्यसरी प्रवाह हुने कर्जाको रकम एक खर्ब १० अर्ब हुनेछ ।बैंकिङ क्षेत्रमा सरकारले ३० प्रतिशत आयकर असुल्ने गरेको बताउँदै उनले बिषम परिस्थितीमा सो दरलाई घटाएर २५ प्रतिशत सिमित गर्नु पर्ने धारणा समेत राखेका थिए । बैंकरहरुले बजेटबाट बार्षिक पाँच अर्ब छुट्याएर २० बर्षका लागि पुनःनिर्माण कोष खडा गर्न सरकारलाई सुझाव समेत दिएका छन् । बैंकरहरुले सुरक्षा संयन्त्रलाई पुनःनिर्माणको काममा खटाउन सकिने समेत बताएका छन् । प्रधानमन्त्री उद्धार कोषमा जम्मा भएको रकमको सदुपयोग ग्यारेन्टी हुनु पर्ने बताउँदै उनीहरुले पुनःनिर्माणका लागि २० बर्षे कार्यकालको अधिकार सम्पन्न निकायको गठन समेत आवश्यक रहेको धारणा राखेका थिए ।