एभरेष्ट इन्स्योरेन्समा फेरि विवाद, विशेष साधारणसभा बस्न सकेन ।

२३ मंसिर । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा फेरी विवाद बल्झिएको छ । कम्पनीका मुख्य प्रवद्र्धकहरु खेतान समूह र निरञ्जन तिवेडेवाल समूहबीच विवाद चर्केकाले मंसिर २३ गते लागि बोलाइएको विशेष साधारणसभा बस्न सकेन । विवाद चर्केपछि एउटा पक्षले साधारसभा वहिस्कार गरेको र कोरम नपुगेका कारण साधारणसभा हुन नसकेको कम्पनीका एक कर्मचारीले बताए । साधारणसभामा ३५ प्रतिशतमात्र सेयरधनी उपस्थित भएका थिए । साधारसभाका लागि ५० प्रतिशतभन्दा बढी सेयरधनीको उपस्थिति अनिवार्य हुन्छ । गत कात्तिक ३० गते बसेको इन्स्यारेन्स सञ्चालक समितिको बैठकले मंसिर २३ गतेका लागि अग्रवाल भवन कमल पोखरीमा विशेष साधारणसभा बस्ने निर्णय गरेको थियो । निरञ्जन टिवडेवाला ग्रुप समूह मंगलबार बोलाइएको साधारणसभामा उपस्थित नभएको खेतान समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालकको दावी छ । यस कम्पनीमा राजेन्द्र खेतान समूह र टिवडेवाला समूहबीच लामोसमय देखि विवाद हुँदै आएको छ ।खेतान समूहले बहुमतको बलमा कम्पनीभित्र आर्थिक अनियमितता गरेको टिवडेवाल समूहको दावी छ । कम्पनीका तत्कालिन अध्यक्ष राजेन्द्र खेतानले आफ्नै कम्पनीमा लागलागीको दावी भुक्तानी प्रक्रिया पूरा नगरि लिएको र संस्थालाई ४ करोडभन्दा बढी नोक्सान पु्र्याएको आरोप उनकै पार्टनरले लगाउँदै आएका छन् । यसै विषयमा उत्पन्न विवाद, तत्कालिक कार्यकारी प्रमुख केवलकृष्ण श्रेष्ठले गरेको आर्थिक अनिमितता र खेतान पक्षले कम्पनी नै बन्द गर्ने गरी गराएको एकतर्फि निर्णयपछि गत वर्ष बीमा समितिले यस कम्पनीमा हस्तक्षेप गरेको थियो । करिब ६ महिनाअघि बीमा समितिले साधारणसभा गराई नयाँ सञ्चालक समिति गठन गराई व्यवस्थापन हस्तान्तरण गरेको थियो । मंगलबारका लागि बोलाइएको विशेष साधारणसभामा हालको अधिकृत पुँजी १५ करोड रुपैयाँबाट वृद्धि गरी ४० करोड रुपैयाँ पु¥याउने तथा जारी पुँजी साढे १० करोडबाट वृद्धि गरी ३० करोड रुपैयाँ पु¥याउने र सोहीबमोजिक प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा थिए । बीमा समितिले निर्जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने नीति लागू गरेको धेरै वर्षवितिसक्दा पनि यस कम्पनीको चुक्ता पुँजी १० करोड मात्र छ । पुँजी वृद्धि गर्नकै लागि लागि विशेष साधारणसभा बोलाइएको थियो ।

पुनर्बीमामा ९५ करोड विदेशियो, ५९ करोड फर्कियो

२३ मंसिर । नेपाली बीमा कम्पनीले बार्षिक करोडौं रकम विदेशी पुनर्बीमा कम्पनीलाई तिर्ने गरेका भएपनि यस्ता कम्पनीवाट आउने रकमको अंश भने कम हुने गरेको छ । नेपाली कम्पनीले विदेशी पुनर्बीमा कम्पनीलाई तिरेको शुल्कको एक तिहाइ रकम पनि दाबी भुक्तानीको लागि प्राप्त नहुने तथ्यांकले देखाएको छ । बीमा समितिले दिएको तथ्यांक अनुसार गत असोज मसान्तसम्ममा निर्जीबन बीमा कम्पनीहरुले ९५ करोड ९३ लाख रुपैयाँ पुनर्बीमा शुल्क तिरेका छन् । कूल दाबी भुक्तानीमा पुनर्बीमा कम्पनीहरुले ३० करोड ७७ लाख रुपैयाँ ब्यहोरेका छन् । यस्तै पुनर्बीमा गराएवापत कम्पनीहरुले २८ करोड ९३ लाख रुपैयाँ कमिसन पनि पाएका छन् । यो तथ्यांक अनुसार नेपाली निर्जीबन बीमा कम्पनीहरुले ९५ करोड ९३ लाख रुपैयाँ विदेशी कम्पनीलाई तिर्दा करिब ५९ करोड रुपैयाँ फिर्ता पाएका देखिएको छ । बर्सेनि ठूलो मात्रामा रकम विदेशिने गरेपछि नेपालमै पुनर्बीमा कम्पनी स्थापना गरिएको अर्थमन्त्री डा. रामशरण महतको भनाइ छ । ‘बर्सेनि करोडौं रकम पुनर्बीमाको लागि विदेशिने गरेको छ’– केहि दिन अघि अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले भनेका थिए– यहि आवश्यकता महसुस गरेर पुनर्बीमा कम्पनी स्थापना गरिएको हो । केहि दिन भित्रमा नै पुनर्बीमा कम्पनी उद्घाटन गरेर संचालनमा ल्याउने तयारी भएको अर्थमन्त्रीको भनाइ छ । नेपालवाट बर्सेनि करोडौं रकम पुनर्बीमाको लागि विदेशिने गरे पनि फिर्ता आउने रकमको हिस्सा निकै सानो भएको तथ्यांकले देखाएको छ । पुनर्बीमा गराउनै पर्ने र त्यसो हुदा बार्षिक करोडौं रकम विदेशिने गरेकोले नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएको बीमा समितिका सल्लाहकार भोजराज शर्मा बताउछन् ।

पूर्व राजपरिवारको अर्बौ धनसम्पत्ति जफत, दुई लाख कित्ता सेयर, २८ करोड नगद र २२ हजार रोपनी जग्गा ट्रष्टको नाममा

२२ मंसिर । पूर्व राजपरिवारको स्वामित्वमा रहेको अर्बौ रुपैयाँ बराबरको सम्पत्ति सरकारले जफत गरेको छ । त्यसका २२ हजार रोपनी जग्गा, करिव २८ करोड नगद र झण्डै दुई लाख कित्ता सेयर रहेको सरकारी अधिकारीहरुले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवार दरवार हत्याकण्डामा मारिएका पूर्वराजा वीरेन्द्र शाह र उनको परिवार शाह परिवारको स्वामित्वमा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको एक लाख ८१ ९४२ कित्ता सेयरसमेत जफत गरिएको छ । त्यसमा नबिल बैंकमा एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगममा छ हजार ७५० कित्ता र होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता सेयर रहेको छ । उल्लेखित सेयरको हालको बजार मूल्य ३५ करोड रुपैयाँभन्दा बढी हुन्छ । उल्लेखित सबै सेयर नेपाल ट्रष्टको नाममा ल्याईसकिएको ट्रष्टका सहसचिव प्रज्ज्वल शर्मा अर्यालले जानकारी दिए । त्यसैगरी गत असोज मसान्तसम्म विभिन्न बैंकहरूमा रु २७ करोड ४५ लाख ५४ हजार नगद मौज्दात रहेको र ४५ हजार ४५ बेलायती पाउण्ड समेत ट्रष्टले आफ्नो स्वामित्वमा ल्याएको छ । मंगलबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पूर्व राजपरिवारको स्वामित्वमा रहेको थप १५ हजार २७३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको छ । ती जग्गा धादिङ र नुवाकोट जिल्लामा रहेको र सरकारले हालै ट्रष्टको स्वामित्वमा ल्याएको बताईयो । नागार्जुन दरबारले चर्केको जग्गा धादिङ र नुवाकोट जिल्लामा अवस्थित रहेको भन्दै ट्रष्टका सहसचिव अर्यालले बाँकी जग्गा भने नुवाकोटको थानसिङमा फेला परेको जानकारी दिए । यस्तै ट्रष्टको स्वामित्वमा हालसम्म २२ हजार ५१८ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा ट्रष्टले संरक्षण गरिरहेको छ । मुलुकभर रहेका चल अचल सम्पत्तिको खोजबिन जारी रहेको भन्दै सहसचिव अर्यालले सुराक दिनेलाई उचित पुरस्कारको प्रबन्ध गर्न नसक्दा सही तथ्याङ्क प्राप्त हुन नसकेको बताए । उनले भने–‘‘पूर्व राजपरिवारको सम्पत्ति अझै पनि स्वदेश तथा विदेशमा रहेको भन्ने अनौपचारिक सूचना ट्रष्टसँग रहेको भएपनि आवश्यक प्रमाण पु¥याउन नसक्दा एकीकृत गर्न सकिएको छैन ।’’ यस्तै नेपाल ट्रष्टको जग्गा उपयोग सम्बन्धी गुरुयोजनाको मस्यौदा तयार भएको र चल अचल सम्पत्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा छिट्टै योजना समेत तयार हुने उनले बताए ।