जागिर खान धितो पत्र बोर्डमा आएको होइनः अध्यक्ष कार्की

काठमाडौं, १ कात्तिक । नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. रेवत बहादुर कार्कीले आफु जागिर खाने उदेश्यले बोर्डमा नआएको बताएका छन् । आइतबार पदभार ग्रहण गर्दै कार्कीले जागिर खाने उदेश्यले नभएर बोर्डलाई सुधार गर्ने योजनासहित नेतृत्वमा आएको दावी गरेका हुन् । Bikashnews.com उनले बोर्डका सुधारका तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना आफुसँग रहेको बताउँदै केहि गरेर देखाउने प्रण समते गरे । ‘म जागिर खान धितो पत्र बोर्डमा आएको होइन, यसलाई सुधार गर्न आएको हुँ, मसँग योजना छन हेर्दै जानोस अब बोर्डमा व्यापक सुधार हुन्छ’, कार्कीले भने । बोर्डलाई प्रबिधी मैत्री बनाउनेदेखि नेप्से, लगानी कर्ता, ब्रोकरलाई समेत दक्ष र शसक्त बनाउने योजना अघि सार्ने बताए । कर्मचारी थप्ने, आन्तरिक प्रशासनमा सुधार, लगानी मैत्री स्टक मार्केटको विकास लगायतका काम गरेर सुधारलाई मुर्त रुप दिने बताए । आईपिओ जारी गर्दा लाग्ने खर्च घटाउने, नागरिक लगानी कोषलाई सस्थागत लगानी कर्ता बनाउने, ब्रोकर कमिसनलाई व्यवस्थित गर्ने तथा सेयर बजारको लगानीलाई विशिष्टीकरण गर्ने पनि बताए । ब्रोकरहरुको सहायक संस्था खोलेर बजार निर्माताको भूमिकामा स्थापित गर्ने योजना समेत उनले अघि सारेका छन् ।

नौ मन्त्रीद्धारा सपथ ग्रहण, एमाले अझै अन्यौलमा

काठमाडौँ, १ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा नयाँ मन्त्रीहरुले सपथ ग्रहण गरेका हुन । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, गृह मन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, वाणिज्य तथा आपूर्ति गणेशमान पुन, सामान्य प्रशासन रेखा शर्मा र सिँचाइ मन्त्री उमेश यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । यस्तै, बिना विभागीय मन्त्री रामजनम चौधरी र विश्वेन्द्र पासवानले पनि पद तथा गोपनीयताको शपथ लिएका छन । शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सभामुख ओनसरी घर्ती, कामु प्रधानान्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, प्रमुख राजनीतिक दलका शीर्ष नेता, सांसदहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । गत असोज २४ गते वर्तमान सरकार गठन भएयता सरकार विस्तार भएको यो दोस्रो पटक हो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा लिइसकेका छन् । एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारमा एमाओवादीका आठ, एमालेका तीन, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का दुई, राप्रपा नेपालका दुई, बहुजनशक्ति पार्टीको एक र राज्य मन्त्रीमा मेघराज नेपाली निषादले समेत प्रतिनिधित्व गरिसकेका छन् । सरकारको नेतृत्व गरिरहेको एमाले भने अझै पनि मन्त्री छनौट गर्न नसकेर अन्यौलमा फसेको छ ।

नेपाललाई इन्धन रोक्ने भारतको पूर्वनिर्धारित कार्यक्रम, सेप्टेम्बरमा ५० प्रतिशत आयात कटौति

काठमाडौं, १ कात्तिक । नेपालमा ३ सातादेखि अघोषित नाकाबन्दी गरेर पेट्रोलियम पदार्थको निर्यातमा कडाइ गर्ने भारत सरकारको पूर्वनिर्धारित कार्यक्रम जस्तो देखिएको छ । भारतकै लोकप्रिय अंग्रेजी दैनिक इकोनोमिक टाइम्सले गत सेप्टेम्बर महिनामा भारतले पेट्रोलियम पदार्थको आयात ५० प्रतिशतभन्दा बढीले घटाएको समाचार प्रकाशित गरेको छ । सो पत्रिकाको १८ अक्टोबरको अंकमा गत सेप्टेम्बर महिनामा भारतले ५४ दशमलब ५३ प्रतिशतले पेट्रोलियम पदार्थको आयात कटौति गरेको समाचार प्रकाशित गरेको छ । सो पत्रिकाका अनुसार सेप्टेम्बर महिनामा भारतले गत महिनाको तुलनामा ५४ दशमलब ५३ प्रतिशतले पेट्रोलियम पदार्थको आयात कटौति गरेको जानकारी दिएको छ । ‘गत सेप्टेम्बर महिनामा पेट्रोलियम पदार्थको आयात ५४ दशमलब ५३ प्रतिशतले कटौति गरिएको छ, मूल्यका हिसावले यो परिमाण अघिल्लो महिनाकोभन्दा ६ दशमबल ६२ विलियन अमेरिकी डलर मूल्य बराबरको कम हो,’ समाचारमा भनिएको छ । सो समाचारलाई आधार मान्दा भारतले सेप्टेम्बर महिनाको अन्तिम साता र अक्टोबरदेखि नै नेपाललाई पेट्रोलिमय पदार्थको निकासी कम गर्ने पुष्टी हुन्छ । नेपाललाई पेट्रोलियम पदार्थको विक्रीमा कडाइ गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसारै भारतले आयात कम गरेको यो समाचारले पुष्टी गर्ने नेपाल आयाल निगमका एक अधिकारीले बताए ।