उपराष्ट्रपतिमा पुन विजयी

काठमाडौं, १४ कात्तिक । एकिकृत माओवादीका नेता नन्द किशोर पुन उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । कुल खसेको ५३७ मतमध्ये ३२५ मत ल्याएर पुन विजयी भएका हुन । उनका प्रतिष्धर्पी अमियकुमार यादवले २१४ मत प्राप्त गरेका छन् । एमाले सभासद रामकुमार भट्राईले दिएको जानकारी अनुसार १० मत भने बदर भएको छ । पुनलाई सत्ता गठबन्धनले उप राष्ट्रपतिको उम्मेदवार बनाएको थियो भने यादवलाई विपक्षी गठबन्धनले उम्मेदवार बनाएको थियो । उपराष्ट्रपतिमा निर्वाचित पुन माओवादी लडाकुका पुर्व कमाण्डर हुन् । यस अघि नै कात्तिक ११ गते सत्ता गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएर कार्यभार समेत सम्हालिसकेकी छिन् ।

विदेशी बैंकमा नेपालको १ खर्ब भन्दा बढी रकम

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी बैंकहरुमा १ खर्ब रुपैयाँ भन्दा बढी रकम निक्षेपको रुपमा राखेको छ । नेपालको अन्तराष्ट्रिय ब्यापारको लागि एलसीको भुक्तानी दिन तथा अन्य आवश्यक प्रयोजनको लागि यसरी रकम विदेशी बैंकमा राखिएको हो । राष्ट्र बैंक विदेशी मुद्राको संरक्षक पनि भएकोले त्यस्तो मुद्रा विभिन्न देशका बैंकहरुमा ब्याज प्राप्त हुने गरी राखिएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । देशभित्र प्राप्त हुने विदेशी मुद्रा राष्ट्र बैंकको भल्टमा राख्नुभन्दा विदेशी बैंकका राखेर ब्याज आम्दानी गर्दा राम्रो हुने भएकोले यसो गरिएको उनको भनाइ छ । ‘राष्ट्र बैंक विदेशी मुद्राको संरक्षक पनि हो, देशलाई विभिन्न प्रयोजनमा चाहिने विदेशी मुद्रा स्वदेशमै त्यसै राख्नु भन्दा ब्याज आउने गरी विदेशी बैंकमा राख्नु उपयुक्त हुने भएकोले त्यसरी राख्ने गरिएको हो,’ पंगेनीले भने । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार विदेशका विभिन्न बैंकहरुमा गरी नेपाल राष्ट्र बैंकले १ खर्ब २ अर्ब ८ करोड २८ लाख रुपैयाँ राखेको छ । यस्तो रकम अन्तराष्ट्रिय ब्यापार तथा अन्य प्रयोजनमा प्रयोग हुने पंगेनीले बताए । सरकारी ढुकुटीमा झण्डै ७८ अर्ब पछिल्लो समयमा विकास निर्माणका कार्यले गति नलिदा सरकारी ढुकुटीमा रकम थुप्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार असोज ३० गतेसम्ममा सरकारको ढुकुटीमा ७७ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ थुप्रिएको छ ।

जलविद्युत कम्पनीको सेयर आवेदन फारम अभाव, २० गुणा बढी माग हुने अनुमान

bikashnews.com काठमाडौं, १२ कात्तिक । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले निश्काशन गरेको २ अर्ब रुपैयाँको सेयरको माग अत्याधिक देखिएको छ । कम्पनीले सेयर आवेदन खुला गरेको पहिलो दिन नै धितोपत्र निष्कान तथा बिक्री प्रबन्धन नागरिक लगानी कोषले इच्छुक लगानीकर्तालाई आवेदन फारम उपलब्ध गराउन सकेन । विहीबार २ बजे नयाँ बानेश्वरस्थिति नागरिक लगानी कोषको कार्यलयमा सेयर आवेदन फारम लिन पुगेका मानिसहरु रित्तै फर्किएका छन् । जाडोको सिमसिम पानीमा भिज्दै फारम लिन कोषमा पुगेकाहरु लगानीकर्ता फारम नै नपाउँदा आक्रोशित देखिन्थे । कोषका प्रबक्ता सुशील कुमार अर्यालका अनुसार तीन लाख फारम छापिएको थियो । राजधानी बाहिरको बिक्री केन्द्रमा बढी फारम गएको कारण राजधानीमा फारम अभाव हुन पुगेको हो । थप फारम छपाउन प्रेसलाई अडर गरिसकेकोले शुक्रबारदेखि फारमको अभाव नहुने उनले बताए । एक व्यक्तिले २०÷२५ वटा फारम लैजाने प्रवृतिले फारम बढी खपत भएको भन्दै फारमको अभाव भएपछि प्रति व्यक्ति बढीमा चार वटा फारम मात्र बिक्री गर्ने व्यवस्था गरिएको उनले बताए । २ अर्बको सेयर निश्काशन भएकोमा २० अर्ब रुपैयाँसम्मको माग हुन सक्ने कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । ‘१० गुणा बढी आवेदन पर्ने हाम्रो विश्लेषण रहेको छ’ उनले भने । संस्थागत माग अधिक हुने सम्भावना जलविद्युत लगानी तथा विकास कम्पनीको साधारण सेयरको माग सर्वसाधारणबाट भन्दा संस्थागत लगानीकर्ताबाट बढी हुने अनुमान गरिएको छ । अधिकांश बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, म्यूचल फण्डहरुले लगानी गर्ने भएका छन् । अधिकतम ५० करोड रुपैयाँसम्म लगानी गर्न सक्ने भएकाले वाणिज्य बैंक, विकास बैंक र बीमा कम्पनीहरुले ठूलो परिणाममा सेयर माग गर्ने तयारी गरेको बुझिएको छ । ‘कम्तिमा पाँच प्रतिशत बोनस दिने कम्पनीको प्रक्षेपण छ । सेयर निश्काशन गर्नुपूर्व पनि प्रवद्र्धकलाई बोनस खुवाएको कम्पनी हो । नेप्सेमा सेयर सूचिकृत हुँदा प्रतिकित्ता ३०० रुपैयाँको हाराहारीमा हुनसक्छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने–५० लाख कित्ता आवेदन गरेर २ लाख कित्ता सेयर पर्यो भने पनि धेरै फाइदा हुन्छ । तरलताको व्यवस्थापन कसरी गरौं भन्ने समस्या भएको समयमा सबैं बैंक तथा वित्तीय संस्थाले राम्रै पैसा हाल्ने सम्भावना छ ।’ बैंकले मुद्दती खातामा ५ प्रतिशत पनि व्याज दिन छोडेको अवस्थामा लगानी योग्य रकम हुने संस्थाहरुको लागि यतिवेला जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर लगानीको लागि उपयुक्त ठाउँ भएको कोषका कार्यकारी निर्देशक पोखरेल बताउँछन् । सर्वसाधारण पनि सेयर माग गर्ने फारम लिन र बुझाउन विहीबार देखि नै लाईनमा बसेका छन् । छिटोको कात्तिक १९ गतेसम्म आवेदन गर्न सकिन्छ । थप सामाग्री दुई अर्बको सेयर आवेदन आजदेखि खुल्ला, १९ गतेसम्म आवेदन गर्न सकिने