बजारमा रक्सीको अभाव, तिहारपछि ठ्याम्मै नपाईने
काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीले बजारमा रक्सीको अभाव सुरु भएको छ । इन्धन तथा कच्चा पदार्थको अभावमा स्वदेशी उद्योगहरु धमाधम बन्द भएका छन भने विदेशी रक्सीको आयात समेत ठप्प भएपछि बजारमा रक्सीको अभाव सुरु भएको हो । ‘बजारमा ८० प्रतिशतले मदिराको अभाव सुरु भैसकेको छ ।’ मदिरा व्यवसायी संघका अध्यक्ष नबिनलाल श्रेष्ठले भने । नेपालमा बर्षेनी करिब ७५ अर्ब मुल्य बराबरको स्वदेशी तथा विदेशी रक्सी खपत हुने गरेको छ । तीमध्ये ३० प्रतिशत बजार हिस्सा विदेशी रक्सीले ओगट्ने गरेका छन् । नेपालमा एक सय वटा रक्सी अर्थात मदिरा उद्योग दर्ता भएपनि ७६ वटाले मात्रै मदिरा उत्पादन गर्दै आएका थिए । मदिरा व्यवसायी संघका अध्यक्ष श्रेष्ठका अनुसार भारतीय नाका बन्दीले विदेशी मदिराको आयात ठप्प भएको छ भने इन्धन अभाव र मधेशमा जारी आन्दोलनका कारण अधिकांश मदिरा उद्योग समेत बन्द भैसकेका छन् । ‘नाकाको अवरोधले विदेशी रक्सी ल्याउन सकिएको छैन भने आन्दोलनकै कारण तराईमा रहेका सबै उद्योग बन्द छन अनि पहाडमा भएका उद्योग समेत कच्चा पदार्थ र इन्धनकै अभावका कारण बन्द भैसकेका छन् ।’ श्रेष्ठले भने । करिब ८० प्रतिशत मदिरा उद्योग बन्द भैसकेको उनले बताए । हिमालयन डिष्टिलरी बन्द भैसकेको बताउँदै उनले गोर्खा ब्रुअरी भने केहि दिनसम्म अझै सञ्चालन हुन सक्ने दावी पनि गरे । जोनी वाल्करका प्रतिनीधीले पनि बजारमा अभाव सुरु भएको बताए । ‘तर ब्ल्याक लेबल र डबल ब्लयाक अभाव छ, यस्तै हो भने अन्य आइटमको पनि अभाव सुरु हुन्छ ।’ ती प्रतिनिधीले भने । उनका अनुसार बजारमा बिक्रि हुने सबै जसो विदेशी रक्सीहरुको अभाव सुरु भैसकेको छ । तत्काल आयात हुन नसके जोनी वाल्करकै पनि अधिकांश आइटमको अभाव हुने उनले बताए । चिभासका प्रतिनीधिले पनि आफ्ना प्रडक्टहरुको अभाव सुरु भएको बताए ।
यसरी बाँढिदैछ चीनले उपहारमा दिएको १० लाख लिटर पेट्रोल !
काठमाडौं, १७ कात्तिक । भारतीय नाका बन्दीसँगै रन्थनिएको नेपालले आफ्नो मुलुकसँग पेट्रोलियम पदार्थको कारोबार गर्ने घोषणा गरेसँगै चीनले उपहारस्वरुप दिने भनेको एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल नेपाल धमाधम नेपाल भित्रिरहेको छ । १० लाख लिटरमध्ये सोमबार ९७ हजार नौ सय लिटर पेट्रोल नेपाल आयल निगमको थानकोट डिपोमा पुगिसकेको छ भने मंगलबार थप तीन ट्यांकर पेट्रोल थानकोट आईपुग्दैछन् । औषतमा एउटा ट्यांकरले ९ हजार लिटर पेट्रोल बोकिरहेका छन् । त्यस आधारमा मंगलबार थप २७ हजार लिटर पेट्रोल थानकोट डिपोमा आईपुग्नेछन् । चीनले उपहारस्वरुप दिएको पेट्रोलको केहि अंश राजधानी प्रवेश गरेसँगै नेपाल आयल निगमले निजी कार र मोटरसाईकललाई पेट्रोल बाँढ्ने तालिका सार्वजनिक गर्यो । चीनले १० लाख लिटर पेट्रोल अनुदानमा दिँदैछ भने निगमले तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गर्दैछ । दशैं अघि एक दिन मात्रै निजी सवारी साधनलाई पेट्रोल उपलब्ध गराएको निगमले तालिका बनाएर लगातार तीन दिनसम्म पेट्रोल बाँढ्ने तयारी गरेको हो । रसुवामा रहेका निगम प्रवक्ता दिपक बरालका अनुसार बढिमा १० दिन भित्र चीनले अनुदानमा दिएको पेट्रोल नेपाल आईसक्नेछ । मंगलबार थप १५ ट्यांकर पेट्रोल नेपाल प्रवेश गर्ने उनले जानकारी दिए । ती ट्यांकर बुधबार साँझसम्म थानकोट डिपोसम्म आईसक्नेछन् । यसरी चीनले उपहारस्वरुप दिएको पेट्रोल राजधानी भित्रिएकै दिन नेपाल आयल निगमले नीजि सवारी साधनलाई पेट्रोल दिने तालिका सार्वजनिक गर्यो । भारतबाट पेट्रोलियम पदार्थ आयातमा अवरोध भएसँगै सरकारले चीनसँग पेट्रोलियम पदार्थको कारोबार सम्झौता गरिसकेको छ । सोही सम्झौता गरेको खुसियालीमा चीनले नेपाललाई एक हजार मेट्रिक टन अर्थात १० लाख लिटर पेट्रोल उपहारस्वरुप दिने बताएको थियो । कसरी बाँढिदैछ उपहारको पेट्रोल ? नेपाल आयल निगमले बिहिबारदेखि एकदेखि ३० लटका मोटरसाईकल र एक देखि ५ लटसम्म दर्ता नम्बर भएका कारहरुलाई पेट्रोल उपलब्ध गराउनेछ । शुक्रबार ३१ देखि ५० लटसम्मका मोटरसाईकल तथा ६ देखि ९ लटसम्म दर्ता भएका कारलाई पेट्रोल उपलब्ध गराउनेछ । अन्तिम दिन अर्थात शनिबार भने ५० लट भन्दा माथिका मोटरसाईकल र ९ लटमाथिका कारलाई पेट्रोल उपलब्ध गराउनेछ ।
नाकाबन्दीको कारण ब्यापारघाटा १८ प्रतिशतले घट्यो
काठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दी र तराइ–मधेशमा जारी आन्दोलनको कारण नेपालको ब्यापार घाटा कम भएको छ । चालु आर्थिक बर्षको भदौ महिनासम्ममा गत बर्षको सोही अवधिको तुलनामा ब्यापार घाटा कम भएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांक अनुसार भदौ मसान्तसम्ममा कुल वस्तु व्यापार घाटा १७ दशमलब ८ प्रतिशतले कम भई ९१ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २४ दशमलब ९ प्रतिशतले बढेकोे थियो । कुल वस्तु व्यापार घाटामध्ये भारत र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १९ दशमलब ६ प्रतिशत र २६ दशमलब ८ प्रतिशतले घटेको छ भने चीनसँगको व्यापार घाटा ६ दशमलब २ प्रतिशतले बढेको छ । पछिल्लो समयमा चीनवाट पेट्रोलियम पदार्थ पनि आयात गर्ने सम्झौता भएकोले चीनसँगको ब्यापार घाटा अझ बढ्ने देखिएको छ । भारतसँगको ब्यापार घाटामा पेट्रोलियम पदार्थको हिस्सा निकै ठूलो रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः २२ दशमलब ९ प्रतिशत, ४१ दशमलब १ प्रतिशत र २२ दशमलब ४ प्रतिशतले बढेको थियो । आयात उच्च दरले घटेको कारण निर्यात–आयात अनुपात ११ दशमलब ८ प्रतिशत पुगेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलब ४ प्रतिशत रहेको थियो । निर्यात १५ प्रतिशतले घट्यो कुल वस्तु निर्यात १५ दशमलब २ प्रतिशतले घटेर १२ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ दशमलब ८ प्रतिशतले कमी आइ १४ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात घटेको कारण समग्र निर्यातमा ह्रास आएको हो । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलब ६ प्रतिशतले घटेकोमा यो अवधिमा २२ दशमलब ८ प्रतिशतले घटेको छ । जिङ्क शिट, जुस, पोलिष्टर धागो, लत्ताकपडा लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो । चीनतर्फको निर्यात अघिल्लो वर्षको सोही अवधिमा १५ दशमलब ३ प्रतिशतले घटेकोमा यो अवधिमा १२ दशमलब ३ प्रतिशतले घटेको छ । प्रशोधित छाला, तयारी पोशाक, रुद्राक्ष, अगरवत्ति लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण समीक्षा अवधिमा चीनतर्फको निर्यात घटेको हो । अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिमा शुन्य दशमलब ५ प्रतिशतले बढेकोमा यो अवधिमा ३ प्रतिशतले घटेको छ । विशेषतः दाल, प्रशोधित छाला, चिया, हस्तकलाका सामान लगायतका वस्तुहरुको निर्यात घटेको कारण अन्य मुलुकतर्फको निर्यात घटेको हो । आयात साढे १७ प्रतिशतले घट्यो कुल वस्तु आयात १७ दशमलब ५ प्रतिशतले घटेर १ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलब ५ प्रतिशतले वृद्धि भई १ खर्ब २६ अर्ब २ करोड रुपैयाँ पुगेको थियो । तराई मधेशमा जारी आन्दोलनले आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएको कारण नेपालमा आयात हुने पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात घटेकोले समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर कम रहन गएको हो । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १८ दशमलब ७ प्रतिशतले बढेको तुलनामा यो अवधिमा १९ दशमलब ९ प्रतिशतले घटेको छ । भारतबाट मुख्यतया रासायनिक मल, एम.एस.वायर रड, कोल्ड रोल्ड शिट इन क्वायल, हट रोल्ड शिट इन क्वायल लगायतका वस्तुहरुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस.विलेट, सिमेन्ट, औषधि लगायतका वस्तुहरुको आयातमा कमी आएको छ । चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा ३९ दशमलब ८ प्रतिशतले बढेको तुलनामा यो अवधिमा ५ दशमलब ९ प्रतिशतले बढेको छ । मुख्यतयाः तयारी पोशाक, जुत्ता÷चप्पल, दुर सञ्चारका उपकरण तथा पार्टपूर्जा यातायातका उपकरण तथा पार्टपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको हो । अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिमा १७ दशमलब ७ प्रतिशतले बढेकोमा यो अवधिमा २२ दशमलब ४ प्रतिशतले घटेको छ । विशेषगरी चाँदी, रासायनिक मल, हवाइजहाजका पार्टपुर्जा कपर वायर रड लगायतका वस्तुहरुकोे आयात घटेको कारण यो अवधिमा अन्य मुलुकबाट भएको आयात घटेको हो ।