डा. खतिवडाले नै किन पाए फेरि आयोगमा मौका ?
काठमाडौं, १९ कात्तिक । गत बुधवारको मन्त्रिपरिषद बैठकले एमाले निकट अर्थशास्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त ग¥यो । उनी यसअघि एमाले नेता माधव नेपालको कार्यकालमा पनि आयोगको उपाध्यक्ष बनेका थिए । तर पछि उनी आयोग छोडेर सोभन्दा तल्लो मर्यादाको नेपाल राष्ट्र बैंकको गभर्नर बनेका थिए । आयोगको उपाध्यक्ष पद छोडेर राष्ट्र बैंक जाने डा. खतिवडाको कदमलाई कतिपयले त्यतिवेलै विभिन्न टिप्पणी गरेका थिए । उनलाई पदीय मर्यादा जोगाउन नसक्ने ब्यक्ति भन्ने प्रकारको टिप्पणी पनि गरियो । केहि ब्यक्तिहरुको प्रतिक्रिया उनले राष्ट्र बैंकमा गएर गर्न सक्ने योगदान आयोगमा बसेर भन्दा बढी भएकोले उनले सही गरे भन्ने प्रकारको पनि थियो । केहि टिप्पणी उनी एमालेको सच्चा कार्यकर्ता भएकोले पार्टीले जहाँ पठायो त्यहि गए भन्ने पनि थियो । उनी त्यो बेला आयोग छोडेर राष्ट्र बैंक किन गए वा किन पठाइए भन्ने बहस अहिले असान्दर्भिक भैसकेको छ । एमाले नेतृत्वको सरकारले उनलाई फेरि आयोगमा नियुक्त गरेपछि भने फेरि डा. खतिवडा नै किन रोज्यो एमालेले भन्ने प्रश्न भने अहम बनेको छ । एमालेको लागि अर्थशास्त्रीको खाचो परेको भने होइन । आयोगको उपाध्यक्ष बन्न सक्ने हैसियत र ल्याकत राख्ने अर्थशास्त्री र योजनाविदहरु एमालेमा धेरै जना छन् । फेरि डा. खतिवडाको विशिष्ठिकृत शैक्षिक योग्यता योजना तर्जुमामा होइन । उनले मौद्रिक अर्थशास्त्रमा विद्याबारिधि गरेका हुन् । पदीय मर्यादामा तल भएपनि आयोगको उपाध्यक्षभन्दा राष्ट्र बैंकको गभर्नर पद आकर्षक मानिन्छ । आकर्षक निकायमा अवसर पाउने वित्तीकै आयोगमा दिइएको जिम्मेवारी छोडेर हिड्ने ब्यक्ति आयोगको लागि पुन कसरी योग्य बने ? एमाले निकटका केहि अर्थशास्त्री र योजनाविदहरु प्रश्न गर्न थालेका छन् । डा. खतिवडाको जन्मथलो झापा हो । अहिलेका प्रधानमन्त्री केपी ओली पनि झापाली नै हुन् । आयोगको अध्यक्ष प्रधानमन्त्री हुने प्रचलन छ । अध्यक्षले आफ्नै जिल्लाबासीलाई रुचाएर उपाध्यक्ष बनाएको हुन सक्ने अनुमान गर्नेहरु पनि छन् । डा. खतिवडाको सम्बन्ध एमाले बरिष्ठ नेता माधब नेपाल र पार्टी महासचिव इश्वर पोखरेलसँग निकै राम्रो छ । प्रधानमन्त्रीको जिल्लावासी एमाले तथा बरिष्ठ नेता नेपाल र महासचिव पोखरेलसँग सम्बन्ध राम्रो भएपछि उनले अवसर पाउनु कुनै अनौठो विषय नहुन सक्छ । डा. खतिवडाले आयोगमा पुन मौका पाउनुको अर्काे कारण अर्थशास्त्री केशव आचार्य बुढा हुनु र अर्का अर्थशास्त्री डा. गोविन्दबहादुर थापाले पार्टीलाई लेबी नबुझाउनुले पनि हो भन्ने चर्चा पनि चलेको छ । एमालेले आचार्यलाई राम्रै विश्वास गरेर विभिन्न जिम्मेवारी दिने गरेको थियो । तर पछिल्लो समयमा स्वास्थ्यले पनि साथ नदिएको र निकै बृद्ध भएको भन्दै आचार्यको विकल्पको रुपमा डा. खतिवडालाई अघि सारिएको केहि एमाले नेताहरुको मत छ । यस्तै एमाले सरकारकै पालामा अर्थशास्त्री डा. गोविन्दबहादुर थापालाई एशियाली विकास बैंकमा नियुक्त गरेर पठाइएको थियो । तर उनले पार्टीलाई बुझाउनु पर्ने लेबी नबुझाएको कारण उनलाई राजनीतिक नियुक्ति नदिएको चर्चा पनि चल्ने गरेको छ । गत बैशाखको विनासकारी भूकम्प पछिको राहत र उद्धारको लागि एमालेले पार्टी संयन्त्र परिचालन गरेको थियो । त्यसको लागि पैसाको आवश्यकता थियो । त्यस्तो अवस्थामा पैसाको बन्दोवस्त गर्न डा. खतिवडाले निकै ठूलो भूमिका खेलेको एमाले नेताहरुको भनाइ छ । पार्टीलाई अप्ठेरो परेको समयमा पैसाको बन्दोवस्त गरेर गुन लगाएको कारण उनलाई अहिले पुरस्कृत गरिएको हो भन्ने पनि चर्चा चलेको छ । जेजस्तो कारणले उनले आयोगमा फेरि मौका पाएका भएपनि त्यागेर हिडेको पद उनलाई फेरि कोच्याइयो भन्दै एमाले निकट केहि अर्थशास्त्रीहरुले भने असन्तुष्टि जनाउन थालेका छन् ।
२४ ट्यांकर चिनियाँ पेट्रोल राजधानीमा, ४१ वटा आज आईपुग्ने
काठमाडौं, १९ कात्तिक । चीन सरकारले अनुदानमा दिएको १० लाख लिटर पेट्रोलमध्ये हालसम्म २ लाख १६ हजार लिटर पेट्रोल राजधानी भित्रिसकेको छ । कठिन सडकका कारण १२ हजार लिटर क्षमताका ट्यांकर भएपनि प्रति ट्यांकर ९ हजार पेट्रोल मात्रै ढुवानी गरिएको छ । हालसम्म जम्मा २४ ट्यांकर पेट्रोल थानकोट डिपोमा भित्रिसकेको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । थप चार वटा ट्यांकर काठमाडौंका लागि रसुवाबाट हिडेका छन् भने ३७ ट्यांकर पेट्रोल रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् । १० लाख लिटर पेट्रोल ल्याउन कुल १११ ट्यांकरले ढुवानी गर्नु पर्छ । निगमका प्रवक्ता बरालले एक सातादेखि १० दिन भित्र चीनले अनुदानमा दिएको पेट्रोल नेपाल ल्याई सक्ने बताए ।
पेट्रोलको लाईनमा बस्दै हुनुहुन्छ ! यी हुन आज पेट्रोल बाँढ्ने ६० पम्पहरु !
काठमाडौंं, १९ कात्तिक । नेपाल आयल निगमले आजबाट तीन दिनसम्म निजी सवारी साधनलाई पेट्रोल वितरण गर्दै छ । निगमले तीन दिनमा नौ लाख लिटर पेट्रोल निजी सवारी साधनलाई वितरण गर्ने तयारी सहित तालिका समेत सार्वजनिक गरिसकेको छ । त्यसको सुरुवात आजबाटै हुँदैछ । निगमले मोटरसाईकललाई पाँच र कारलाई १० लिटर पेट्रोल उपलब्ध गराउने बताएको छ । निगमले तयार पारेको तालिका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका ६० वटा पम्पहरुबाट निजी सवारी साधनलाई पेट्रोल वितरण गरिनेछ । लाईनमा रहेका सवारी साधनलाई पम्प व्यवस्थापनले कुपन उपलब्ध गराउने छ । कुपन पाउने सवारीले पेट्रोल पाउनेछन भने अन्यले पाउने छैनन् । आफुले पाएको पेट्रोलको मात्राका आधारमा पम्पहरुले कुपनल वितरण गर्नेछन । आज एकदेखि ३० लटसम्मका मोटरसाईककल तथा एकदेखि ५ लटसम्मका निजी कारलाई पेट्रोल वितरण गरिनेछ ।