सेञ्चुरी बैंकले अरनिको डेभलपमेन्ट बैंक एक्वाएर गर्ने, माघभित्र चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने

काठमाडौं, ३० असोज । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले धुलिखेलस्थित क्षेत्रीय स्तरको अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्वाएर) गर्ने भएको छ । यस विषयमा दुई बैंकबीच आइतबार सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ । सेन्चुरी बैंकले प्राप्ति सम्बन्धि कार्य २०७३ माघ महिनाभित्र सम्पन्न गरी एकिकृत कारोबार गर्ने लक्ष्य लिएको जनाएको छ । हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यस बैंकले ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरिसकेको छ । यसअघि सेञ्चुरी बैंकले २९ करोड ०५ करोड चुक्तापूँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता हस्ताक्षर गरिसकेको छ । दुबै संस्था (सेञ्चुरी बैंक लि. तथा अरनिको डेभलपमेन्ट बैंक लि.) को गत आ.व. को मुनाफा आफ्नै पूँजीमा बाडेर समाहित हुने हुँदा एकिकृत कारोबार पश्चात् सेञ्चुरी बैंकको पूँजी ५ अर्ब भन्दा माथि पुग्ने सेन्चुरी बैंकले जनाएको छ । त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ । प्राप्ति, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले तोकिएको पूँजी पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

रिलायबल डेभलपमेन्ट बैंकलाई धितोपत्र बोर्डको प्रश्नः पूर्व घोषित हकप्रद सेयर के हुन्छ ?

काठमाडौं, ३० असोज । नेपाल धितोपत्र बोर्डले रिलायबल डेभलपमेन्ट बैंकलाई अक्वायर प्रक्रिया र हकप्रद सेयरबारे प्रश्न गर्दै चिठ्ठी लेखेको छ । बोर्डले दशैं बिदा अघि नै चिठ्ठी लेखेर ग्लोबल आइएमई बैंकसँगको अक्वायर प्रक्रिया र पूर्व घोषित हकप्रद सेयरका बारेमा प्रश्न गरेको हो । ‘अक्वायरमा जाने प्रक्रिया र पुर्व घोषित हकप्रद सेयरका बारेमा जानकारी गराउन दशैं अघि नै पत्र काटेका छौं, अझै जवाफ आइसकेको छैन्’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । रिलायबल डेभलमपेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले पनि धितोपत्र बोर्डले चिठ्ठी पठाएको स्विकार गरे । ‘बोर्डले अक्वायर प्रक्रिया अघि बढेपछि पुर्व घोषित हकप्रद सेयर के हुन्छ भनेर जानकारी मागेर पत्र पठाएको छ, हामी जवाफको तयारीमा छौं ।’, रिलायबलका प्रमुख कार्यकारी अधिकृत लोहनीले विकासन्युजसँग भने । रिलायबल डेभलपमेन्ट बैंकले गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो मात्रामा हकप्रद सेयर निष्काशन नै नगरि ग्लोबल आइएमई बैंकसँग अक्वायरमा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । हकप्रद सेयरको आसमा लगानी गरेका लगानी कर्तामाथी अन्याय भएको भन्दै धितोपत्र बोर्डले पत्र काटेको हो । असोज १४ गते रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग अक्वायर सम्झौतामा हस्ताक्षर गरेका थिए । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य र्निधारण गरिएको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्ब रुपैयाँ भन्दा बढी हुनेछ ।

महासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने

काठमाडौं, ३० असोज । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघलाई चुनाव लागेको छ । दसैंको शुभकामना आदनप्रदान सँगै उद्योगी व्यवसायीहरुले आगामी चैतको अन्तिम साता हुने निर्वाचनमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । व्यवसायीहरुले शुमकामना आदानप्रदान सँगै भोट माग्ने र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । चैतमा हुने चुनावको तयारीका क्रममा अध्यक्षमा सर्वसहमत बनाउने अभ्यास शुरु भएको छ । त्यसको लागि विधान नै संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने प्रावधान राख्ने मुल उदेश्यसहित कात्तिक ४ गते विशेष साधारणसभा बोलाईएको छ । महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको संयोजकत्वमा गठिन १९ सदस्यीय विधान संशोधन समितिले अध्यक्ष पदको लागि निर्वाचन नगर्ने, वरिष्ठ उपाध्यक्षलाई सिधै अध्यक्ष बनाउने, वरिष्ठ उपाध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई करिव एक महिनाअघि चन्द्रागिरी शिखरमा सम्पन्न कार्यसमितिको बैठकले सहमति दिएको छ । विधान संशोधन समितिबाट पनि सर्वसहमतिमा प्रस्ताव आएको र कार्यसमितिले पनि सहमति दिएकोले विशेष साधारणसभाले पनि उक्त विधान पास गर्न सक्ने संभावना बढी छ । तर विधान संशोधन प्रस्तावमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुबाट असमतिको आवाज उठिरहेको छ । उनीहरु महासंघमा अध्यक्षको चयन प्रत्यक्ष निर्वाचनबाट हुनु पर्ने माग गर्दै आएका छन् । नगर उद्योग वाणिज्य संघको संख्या बढ्दै गएको र निकट भविष्यमा करिव २०० नगर उद्योग वाणिज्य संघ सदस्य हुने भएकोले निर्वाचनलाई व्यवस्थित बनाउन, परिपक्व नेतृत्व विकासको लागि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष हुने प्रणालीको विकास गर्न तीन उपाध्यक्ष मध्येबाट वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष चयन गर्ने र वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरि विधान संशोधन प्रस्ताव गरिएको विधान संशोधन समितिका संयोजक तथा पूर्व अध्यक्ष चण्डिराज ढकालले बताए । प्रस्तावित विधान विशेष साधारणसभाले पास गरेमा चैतमा हुने निर्वाचनपछि वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत महासंघको अध्यक्ष बन्ने छिन् । पहिलो पटक राष्ट्रपति, सभामुख, प्रधानन्यायधिश महिला भएको समयमा महासंघको अध्यक्ष पनि महिला नै बन्ने सम्भावना बढ्दै गएको छ । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने गरि विधान पारित भएमा महासंघको आगामी निर्वाचन वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रीत हुने छ । उक्त पदमा वर्तमान उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छाले दावी गर्नेछन् । जिल्ला नगर उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष र एशोसिएट तर्फको उपाध्यक्ष पदमा पनि आकांक्षीहरु धेरै देखिएका छन् । जिल्ला नगर उद्योग वाणिज्य उपाध्यक्ष पदका लागि केशव शर्मा, गुणनीति तिवारी, प्रमोद श्रेष्ठ लगायत उम्मेदवारी दिने तयारी गरिरहेका छन् । वस्तुगत उपाध्यक्षमा अनुपबहादुर मल्ल, अन्जन श्रेष्ठ, उमेललाल श्रेष्ठ, शंकर पाण्डेले उम्मेदवारी दिने बताएका छन् । एशोसिएटको उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल, सौरभ ज्योति ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।