उद्योगको कुल उत्पादन क्षमताको ४८.२ प्रतिशत मात्र उपयोग, औद्योगिक पूर्वाधार विकास नहुँदा उद्योगहरु क्षमताभन्दा न्यून उत्पादन गर्न बाध्य
काठमाडौं, ३० मंसिर । अार्थिक वर्ष २०७२/७३ मा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ४८.२ प्रतिशत मात्र उपयोग गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । नेपालको ४७ जिल्लामा भएका आर्थिक गतिविधि सम्बन्धि अध्ययनले आधाभन्दा कम क्षमता उद्योगहरु सञ्चालन भएको देखाएको हो । अघिल्लो वर्ष उद्योगहरुले ५२.७ प्रतिशत औसत क्षमता उपयोग रहेको थिए । समीक्षा अवधिमा पश्मिनाले सबैभन्दा बढी ८८ प्रतिशत क्षमता उपयोग गरेको छ । चाउचाउ ८३.३० र बिजुलीको तार उत्पादन गर्ने उद्योगले ७२.५६ प्रतिशत क्षमता उपयोग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा चामल उद्योगले सबैभन्दा कम १३.६ प्रतिशत क्षमता उपयोग गरेको छ । सिद्धार्थ सिमेन्ट उद्योग फलामको रड, पेय पदार्थ उद्योगले क्रमशः १९.८२ र २३.१६ प्रतिशत क्षमताको उपयोग गरेका छन् । गत वर्ष सीमा नाका बन्द तथा अवरोधका कारण उद्योग सञ्चालनको लागि आवश्यक इन्धन तथा कच्चा पदार्थको आपूर्ति नहुँदा उद्योगहरु पूर्ण क्षमता सञ्चालन हुन नपाएका हुन् । ऊर्जा समस्याको दीर्घकालीन समाधान, उद्योगहरुको प्रतिस्पर्धी क्षमता अभिवृद्धि, व्यवसायी एवम् श्रमिकबीच सुमधुर श्रम सम्बन्ध तथा औद्योगिक पूर्वाधार विकास नहुँदा उद्योगहरु क्षमताभन्दा न्यून उत्पादन गर्न वाध्य भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्ता पक्षहरुमा अपेक्षित कार्य हुन नसक्दा उद्योग क्षेत्रले गति लिन नसकेको राष्ट्र बैंकको ठम्याई छ । तुलनात्मक लाभका वस्तुहरु भनि पहिचान गरिएका वस्तुहरुको समेत लागत प्रभावी उत्पादन गर्न नसकेको अध्ययनले देखाएको छ । अन्तराष्ट्रिय बजारमा यस्ता वस्तुहरुको निर्यात प्रवद्र्धन गरी अपेक्षित लाभ हासिल गर्ने कार्य चुनौतीको रुपमा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले ४७ जिल्लामा गरेको आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७० ले कृषि क्षेत्रको समग्र अवस्थामा सामान्य गिरावट आएको तथ्याङ्क प्रस्तुत गरेको छ । कृषि तर्फ प्रमुख खाद्यान्न बाली धानको उत्पादन ८, गहुँको उत्पादन ६ प्रतिशतले ह्रास आएको छ । समीक्षा वर्षमा वनस्पती घ्यू तथा तेल, अन्य खाद्य पदार्थ, पेय पदार्थ, दुग्ध पदार्थ, सूर्तिजन्य वस्तु, कागज, प्रशोधित छाला, जुटका सामान, रंग, सावुन, सिमेन्ट, फलामको छड तथा पत्ति र घरेलु धातुका सामान आदिको उत्पादनमा ह्रास आएको छ । मकैको उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । तयारी कपडा, पश्मिना, औषधि र प्लाष्टिकजन्य वस्तुलगायतका उत्पादन बढेको छ । उद्योगको क्षमतामा ह्रास आएपनि उद्योगहरुले बैंक तथा वित्तीय संस्थाबाट लिने औद्योगिक कर्जामा भने १९.५ प्रीतशतले बृद्धि भएको छ । गएको आवसम्म ५ खर्ब २९ अर्ब २७ करोड रुपैयाा कृषि कर्जा पुगेकोे छ । गएको वर्ष धानको उत्पादन औसतमा प्रति हेक्टर ३ दशमलव ३ मेट्रिक टन, मकैको उत्पादन २.७ मेटन, गहुँको उत्पादन २.४ मेटन र आलुको उत्पादकत्व प्रति हेक्टर १३.२२ मेटन रहेको छ । क्षेत्रगत रुपमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी धान र आलु फलेको छ । विराटनगर र वीरगञ्जमा मकै र नेपालगञ्जमा गहुँ बढी फलेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा दुधको उत्पादन ३.१ मासुको उत्पादन ४.७ र अण्डको उत्पादन १९ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको प्रवाहित कृषि कर्जामा २७.५ प्रतिशतले वृद्धि भई ८४ अर्ब ९९ करोड पुगेको छ । समीक्षा अवधिमा घरजग्गाको रजिष्ट्रेशन बढेका कारण राजस्वमा उल्लेख्य वृद्धि भएको छ । गएको वर्ष काठमाडौंमा ४४.१, धनगढीमा १०.३, वीरगञ्जमा ८.१, पोखरामा ४.७, नेपालगञ्जमा २.२ प्रतिशतले घरजग्गाको जरिष्ट्रेशन बढेको छ । विराटनगरमा ८.८, जनकपुरमा १७.४र सिद्धार्थनगरमा शुन्य दशमलव ७ प्रतिशतले ह्रास आएको छ ।
प्रधानमन्त्रीद्धारा चन्द्रागिरि केवलकारको उद्घाटन, पर्यटन क्षेत्रको लागि नयाँ र आकर्षक गन्तव्य निर्माण
काठमाडौं, ३० मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । गएको साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहीबार ताम्रपत्र अनावरण गरेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिले नेपाललाई धेरै उपहार दिएको भन्दै सोच र इच्छाशक्तिका साथ विज्ञान, प्रविधि र पूँजी प्रयोग गरी नेपालमा छिट्टै चामत्कारिक विकास हुने भन्दै ‘चन्द्रागिरि हिल्स’ त्यसैको उदाहरण भएको बताए । कार्यक्रममा बन तथा भू–संरक्षण मन्त्रीशंकर भण्डारीले विकास प्रति सकरात्मक चिन्तन हुनु पर्ने बताए । कार्यक्रमलाई सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र विज्ञान तथावातावरण मन्त्री जयदेव जोशीले सम्बोधन गरेका थिए । नेपाल उद्योग बाणिज्य महासंघकी कार्यबहाक अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका बरिष्ठ सकुमार मोरले पनि कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पर्यटन क्षेत्रमा नयाँ गन्तव्य निर्माण भएको विचार व्यक्त गरे । चन्द्रागिरि केवलकार निर्माता कम्पनी डोपल मेयरका प्रतिनिधि पिटर भोजलम्यानले चन्द्रागिरिको व्यावस्थापनले व्यवसायिक महत्व बुझेकै कारण समयमा काम सम्पन्न भएको बताए । कार्यक्रमका सभापति तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसादढकालले नेपालमा आउने विदेशी पर्यटकहरुको बसाई एक दिन लम्बाउन चन्द्रागिरि हिल्स सफल हुदै गएकोले निजी क्षेत्रबाट संचालित यस्ता परियोजनाहरुमा सरकारको पूर्ण सहयोग प्राप्त भएमा नेपालको पर्यटन क्षेत्रलाई नेपालको क्षमताअनुसार विस्तार गर्न त्यति कठिन नरहेको धारणा व्यक्त गरे । चन्द्रागिरि हिल्स संचालक हेमराज ढकालका अनुसार केबुलकार निर्माणमा विश्व विख्यात मानिने अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले चन्द्रागिरि केबलकार निर्माण गरेको हो । कूल २,४६० मिटरलम्बाई भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् । ५ देखि ३८ मिटरसम्मको उचाईंमा गाडिएका यी टावरहरु एक अर्कामा ३.३६ देखि ९२६.२७ मिटर दुरीको फरकमा छन् । यी लठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ । यात्रु बोक्ने ३८ र समान बोक्ने ३ गरी कूल ४१वटा यस्ता गोण्डला छन । एउटा केबुलकारले ८ जनासम्म यात्रु बोक्न सक्छ । प्रतिघण्टा एक हजार यात्रु क्षमता भएका केबुलकार चढेको ९देखि १४ मिनेटको अवधिमा माथिल्लो स्टेशनमा पुग्छन् । संचालक अम्बिकाप्रसाद पौडेलका अनुसार चन्द्रागिरि डाँडाको धार्मिक र ऐतिहासिक महत्व छ । उनका अनुसार दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भएको र त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत् खण्डमा उल्लेख गरिएको छ । समुद्री सतहबाट २ हजार ५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूरा भई अन्त्यमा शिवलोकमा वास हुने जनश्रुति रहेको उनले बताए । चन्द्रागिरि प्राचीनकालदेखिनै ऐतिहासिकरूपले महङ्खवपूर्ण स्थान हो । नेपालएकी करणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए । पृथ्वीनारायण शाहआफ्नो ससुरालीमकवानपुरबाट आफ्नो राज्यगोरखाफर्कँदा चन्द्रागिरि हुँदै फर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ । संचालक मिनबहादुर गुरुङले सफलताका लागि मेहनत आवश्यक पर्ने बताउदै ठूलो मेहनतले चन्द्रागिरि परियोजना यो अवस्थासम्म आइपुगेको बताए । परियोजन निर्माण गर्दा अहिलेसम्म करिव ४ अर्ब रुपैयाँ खर्च भएको र होटल, मनोरञ्जनस्थल लगायत पूर्वाधार निर्माणको काम अझै जारी रहेको उनले बताए ।
२ अर्ब ८० करोड खर्चेर नेपाल टेलिकमले बनाउँदैछ धरहरा
काठमाडौं, ३० मंसिर । नेपाल टेलिकमले २ अर्ब ८० करोडको लागतमा धरहरा निर्माण गर्ने भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले नेपाल टेलिकमलाई धरहरा बनाउन दिने निर्णय गरेको थियो । टेलिकमले पुरातत्व विभागसँगको समन्वयमा धरहराको निर्माण गर्न लागेको हो । धरहरा निर्माणका क्रममा ‘मै बनाउँछु धरहरा’ अभियानमा संकलन भएको रकम खर्च गरिनेछ । ‘केपी अोली सरकारको निर्णय अनुसार मेरो धरहरा मैँ बनाउछु अभियानमा संकलन भएको रकममा नेपाल टेलिकमले पैसा थपेर धरहरा निर्माण गर्न लागिएको छ, हामी सम्झौताको अन्तिम चरणमा पुगिसकेका छौं’, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले विकासन्युजसँग भने । ६ रोपानी क्षेत्रफलमा पहिले प्रस्तावित धरहराकाे स्केज उनले बुधबार मात्रै सञ्चार सचिव दिनेश थपलियासँग छलफल गरेको जानकारी समेत दिए । ‘बुधबार मात्रै मैले धरहरा बनाउने बारे सञ्चार सचिवसँग छलफल गरेको छु उहाँ पनि साह्रै उत्साहित हुनुहुन्छ, जनताको कम्पनी नेपाल टेलिकमले धरहरा बनाउने कुराले साह्रै राम्रो सन्देश जाने उहाँको बुझाई थियो’, दाहालले भने । केश कन्सल्टेन्टले थप गरिएको टक्सार र हुलाकको जमिनमाथी नयाँ डिजाइन बनाइनेछ । यस अघि धरहराले चर्चेको ६ रोपनी क्षेत्रमा नयाँ धरहरा बनाउने डिजाइन तयार पारिएको थियो । अब थपिएको २३ रोपनी ४ आना २ पैसा २ दामसमेत जोडेर २९ रोपनी ४ आना २ पैसा २ दाम क्षेत्रफलमा धरहराको नयाँ डिजाइन बन्ने छ । कम्पनीले ६ रोपनीमा धरहरा बनाउन पहिले १६ लाख ९५ हजार रुपैंयाँमा विस्तृत डिजाइन बनाएको थियो । अब थपिएएको जमिनमा नयाँ डिजाइन तयार पार्न पहिलको जमिनको लागत भन्दा ३५९ दशमलब २६ प्रतिशतले बढि अर्थात ७७ लाख ८४ हजार ४ सय ३६ रुपैैयाँ ७५ पैसा(कर समेत)मा सोही कम्पनीलाई डिजाइनको जिम्मेवारी दिइनेछ । नयाँ धरहरा नयाँ सुबिधा नयाँ निर्माण हुने धरहरामा दुइतले पार्किङ, म्युजियम, थियटर, गार्डेन लगायत संरचना रहने छन् । तीन वर्ष भित्र निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ । पुरानो धरहरा यथावत महानिर्देशक दाहालले भूकम्पले क्षति पुर्याएको पुरानो धरहराको भग्नावशेष भने यथातै छोडिने बताए ।‘भत्किएको धरहरा हाम्रो इतिहास हो, त्यसलाई जस्ताको त्यस्तै छोडेर त्यसको नजिक नयाँ धरहरा बनाउने हो, पुरानो ठुटोका यथोचिच संरक्षण गरिन्छ’, दाहालले भने । मै बनाउँछु धरहरामा कति पैसा ? सरकारले २०१६ को फेब्रुअरी १७ तारिख देखि मै बनाउँछु धरहरा नामको अभियान सञ्चालन गरेको छ । कोषमा अपेक्षाकृत रकम जुट्न भने सकिरहेको छैन् । कोषमा हालसम्म करिब तीन करोड रुपैंयाँ मात्रै जम्मा भएको छ ।