यसरी ई–मनीले विस्थापन गर्दैछ नोट कारोबार
२० पुस । पछिल्लो समयमा मुद्राको परिभाषा बदलिएको छ । भुक्तानीका लागि सरकारी अधिकारीको आधिकारिक हस्ताक्षर, स्पेसिफिकेसन र सरकारी ग्यारेन्टी उल्लेख गरिएको नोट चाहिन छाडेको छ । मुद्राको डिजिटल प्रयोगले सबै प्रकारका भुक्तानीमा नोट नभए पनि हुने अवस्था सिर्जना भएको छ । अहिले टेलिकम सेवा प्रदायक सबै कम्पनीको बिल भुक्तानी कार्डबाटै गर्न सकिन्छ । पैसा तिर्नका लागि लाइनमा बसिरहनुपर्ने बाध्यता छैन । त्यस्तै पानी, बिजुली, सरकारी कर, जरिवाना र महसुलहरू पनि आफ्नो खाताबाट तिर्नुपर्ने व्यक्ति तथा संस्था र निकायको खातामा सार्न सकिने भएको छ । प्रविधिको विकास र प्रयोगले होटल रेस्टुरेन्टको विल, हवाईजहाजको टिकट खरिद र सपिङ मलहरूमा हुने खरिदको भुक्तानी पनि कार्डबाटै हुन थालेको छ । यस्तै, मोबाइलबाट रकम ट्रान्सफर गर्न मिल्ने प्रविधिका कारण यसैबाट कसैलाई सापटी दिन र फिर्ता लिन पनि सकिने अवस्था सिर्जना भएको छ । प्रविधिको प्रयोगले कागजी नोटको प्रयोग कम हुने भए पनि नेपालको ग्रामीण क्षेत्रमा अझै यस्तो सुविधा पु¥याउन नसकिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठको भनाइ छ । सहरी क्षेत्रमा भने कागजी नोटको प्रयोग कम हुँदै गएको उनले बताए । ‘सहरी क्षेत्रमा नोटको प्रयोग कम हुदै गएको तथ्यांकले पनि देखाएको छ,’ श्रेष्ठ भन्छन्, तर ग्रामीण क्षेत्रमा बैंकिङ सुविधा र पूर्वाधारको कमीका कारण अपेक्षाकृत सुधार हुन सकेको छैन । ग्रामीण क्षेत्रमा बैकिङ सुविधा बढाउन र अत्याधुनिक प्रविधि स्थापित गराउन नेपाल राष्ट्र बैंकले विभिन्न सुविधासमेत दिएर बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन दिइरहेको उनको भनाइ छ । धेरैले आजकाल खल्तीमा पैसा बोकेर हिँड्न छाडेका छन् । नगद खल्तीमा बोकेर हिँड्दा हराउने चिन्ता र लुटिने डरले सताइरहने भएकाले विकल्पको रूपमा प्रविधियुक्त बैकिङ उपकरण प्रयोग गर्न थालिएको हो । आफूलाई पैसा चाहिने ठाउँकै नजिकको बैंकको शाखा कार्यालयवाट निःशुल्क रूपमा चेक साट्न पाइन्छ । यस्तै चेक साट्न नपाइने राति वा सार्वजनिक विदाको दिन एटीएमबाट निःशुल्क रूपमा पैसा झिक्न पनि पाइन्छ । बैंक तथा वित्तीय संस्थाले प्रविधिमा धेरै लगानी गरेर अन्तरशाखा कारोवार (एबीबीएस) सुविधा निःशुल्क दिन थालेपछि नगदै बोकेर हिँड्नुपर्ने समस्या हटेको छ । बैंकहरूले एक शाखामा राखेको पैसा अर्काे शाखाबाट झिक्दा शुल्क लिँदैनन् । यही सुविधा प्रयोग गरेर सर्वसाधारण आफू कार्यरत ठाउँको नजिकको शाखामा पैसा राख्ने र आफूले खर्च गर्नुपर्ने ठाउँको नजिकको शाखाबाट झिक्न थालेका छन् । नेपालीमा बढ्दै गएको यो बैंकिङ बानीले नेपाल प्रहरी र नेपाल राष्ट्र बैंकको पनि चिन्ता कम गरिदिएको छ । बाटोमा यात्रु लुटिएलान् भन्ने प्रहरीको चिन्ता केही कम भएको छ । त्यस्तै नोटको बढी प्रयोग हुदा चाँडै थोत्रो हुने र नयाँ नोट छाप्न निकै महंँगो हुने भएकाले नोटको कम प्रयोगमा राष्ट्र बैंकको पनि चिन्ता रहँदै आएको थियो । नगदै बोकेर नहिँडे पनि आफूलाई चाहिने ठाउँमा पैसा पाउँदा सर्वसाधारण त खुसी हुने नै भए । बैंकिङ क्षेत्रको विकासले नगदै बोकेर हिँड्नुपर्ने समस्या समाधान भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलको भनाइ छ । ‘तपाईसँग जहाँ पैसा हुन्छ त्यहीँको शाखामा राख्नुस, जहाँ चाहिन्छ त्यहीको शाखाबाट झिक्नुस्,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले भने, सबै दिन बैंकका शाखा खुल्ला हुन्छन, २४ सै घन्टा खुल्ने एटिएम छन्, कतिपय ठाउमा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेका कार्ड पनि प्रयोग गर्न सकिन्छ, यति सुविधा भएपछि नगदै बोकेर हिड्नै परेन । पछिल्लो समयमा देशका शहरी र अर्धशहरी क्षेत्रमा मात्र होइन दुर्गम गाउमा पनि बैंकका शाखा खुलेका छन् । गाउगाउसम्म पुगेका बैंकले सर्वसाधारणलाई गाउमै पैसा दिइरहेका छन् । भौतिक रुपमा शाखा नपुगेका ठाउमा पनि बैंकहरुले शाखारहित सेवा पनि दिइरहेका छन् । यस्तै प्रविधिको प्रयोगले मोवाइलवाटै रकम राख्न र झिक्न सकिने सुविधा पनि दिइरहेका छन् । नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बैंकहरुले सर्वसाधारणलाई नगदै बोकेर हिड्नु पर्ने बाध्यतावाट मुक्त गराएको बताउछन् । ‘नगदै बोकेर हिड्नै परेन, देशको एक कुनामा भएको बैंकको शाखामा राखेको पैसा कुनै शुल्न नै नतिरी अर्काे कुनाको शाखावाट झिक्न पाइन्छ,’ ढुंगाना भन्छन्– भौतिक रूपमा बैंकका शाखा नभएको ठाउँहरूमा पनि सर्वसाधारणले शाखरहित बैंकिङ तथा अन्य प्रकारका सुविधामार्फत नगद राख्न र झिक्न पाइरहेका छन् । पछिल्लो समयमा बैंकिङ क्षेत्रको उल्लेख्य विकास भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले देशभरमा वाणिज्य बैंकहरुका शाखा मात्रै १ हजार ५ सय ४७ पुगेका छन् । यस्तै विकास बैंकका शाखा ८ सय १८, फाइनान्स कम्पनीका २ सय ३९ र लघुवित्तका शाखा संख्या ८ सय २६ पुगिसकेको छ । यस्तै साढे २९ हजार भन्दा बढी सहकारी संस्थाहरुले पनि सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् । बैंकहरुले १ हजार ६ सय ५२ एटिएम सेन्टर संचालनमा ल्याएका छन् । कतिपय बैंकहरुले एक बैंकको एटिएम कार्ड अर्काे बैंकको एटिएममा प्रयोग गर्दा पनि सामान्य मात्रै शुल्क लाग्ने सम्झौता गरेका छन् । यस्तै विभिन्न बैंकहरूले ५ सय ४ स्थानमा शाखारहित बैंकिङ सेन्टर स्थापना गरेका छन् । शहरी क्षेत्रमै किनमेलको लागि बैंकहरुले प्रदान गरेका क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता कार्ड सहयोगी हुन्छ । यस्ता कार्ड वाहकले सपिङ मल, होटल, रेष्टुरेन्ट, सिनेमा हल जस्ता ठाउहरुमा बस्तु खरिद र सेवा प्रयोग गर्दा पनि नगदको साटो कार्डवाट भुक्तानी गर्ने सुविधा पाएका छन् । यो सवै उपलब्धी बैंकिङ्ग सेवामा प्रविधिको प्रयोगले सम्भव भएको हो । यस्तै विभिन्न सपिङ मलहरुमा बैंकहरुका एटिएम सेन्टर स्थापना भएका छन् । यी सवै ग्राहकको सुविधाकै लागि हुन् ।
६ प्रतिशतले हवाई यात्रु बढे, दैनिक ३ सय विमान उड्छन्
१७ पुस । मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन विमानस्थलमा अहिले साना ठूला गरी दैनिक तीन सयभन्दा बढी विमान आवतजावत गर्ने गरेको जनाएको छ । स्थापनाको १६ औं वार्षिकोत्सव मनाउने क्रममा क्यानले आफ्नो सेवालाई सुरक्षित, स्तरीय तथा प्रभावकारी तुल्याउन समय सापेक्ष प्रविधिको विकास, पूर्वाधार निर्माण तथा दक्ष जनशक्तिको साथमा सेवालाई विस्तार गर्दै लगेको बताएको छ । ६५ वर्ष घि सन् १९४३ मा स्थापना भएको नेपालको हवाई उडान क्षेत्रले अहिले विश्वव्यापी पहुँच र विस्तारसँगै ठूलो फड्को मारेको छ । सन् १९६६ ताका पहिलो पटक जेट एयरबाट अन्तर्राष्ट्रिय उडान भित्र्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् १९६८ देखि थाई एयरको नियमित उडान सुरु भएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को तथ्याङंअनुसार सन् २०१३ मा विश्वव्यापी यात्रु आवागमन ५ दशमलव ५ प्रतिशतले वृद्धि भई ५ दशमलव ८ प्रतिशत यात्रु संख्या पुगेको थियो भने सन् २०१४ मा हवाई यात्रु आवागमन विश्वव्यापी रूपमा ६ दशमलव शून्य प्रतिशत र एसिया–प्रशान्त क्षेत्रमा सात दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । आगामी सन् २०१५ मा विश्वव्यापी यात्रु आवागमन दर ६ दशमलव तीन प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ । क्यानका महानिर्देशक रतीशचन्द्रलाल सुमनका अनुसार नेपालमा समग्र हवाई यात्रु आवागमनको स्थिति सन् २०१२ को तुलनामा सन् २०१३ मा अन्तर्राष्ट्रिय हवाई सेवातर्फ हवाई यात्रु आवागमन सात दशमलव ३६ प्रतिशतले, वायुयान आवागमन एक दशमलव २८ प्रतिशतले बढेको छ । क्यानको प्रगति विवरणअनुसार सन् २०१३ को पहिलो १० महिनाको तुलनामा सन् २०१४ को पहिलो दस महिनामा हवाई यात्रुतर्फ १२.७३ प्रतिशतले, वायुयान आवागमनतर्फ १६.०४ प्रतिशतले र कार्गो ढुवानीतर्फ १९.३५ प्रतिशतले वृद्धि भएको छ । सन् २०१४ को पहिलो १० महिना अर्थात अक्टोवर सम्म त्रि.अ.विमा करिब २८ लाख ८५ हजार अन्तर्राष्ट्रिय उडानबाट हवाई यात्रु आवागमन भएको देखिन्छ । आन्तरिक हवाई यातायाततर्फ यस वर्षको पहिलो १० महिनामा सन् २०१३ को सोही अवधिको तुलनामा हवाई यात्रु आवागमनतर्फ पाँच दशमलव ७२ प्रतिशत, वायुयान आवागमन सुन्य दशमलव ३४ प्रतिशतले ह्रास आएको क्यानले जनाएको छ । यात्रु संख्याको दृष्टिकोणले सन् २०१४ को पहिलो १० महिना अर्थात अक्टोवरसम्म त्रि.अ.वि. मा करिब ११ लाख ९४ हजार अन्तरिक उडानबाट हवाई यात्रु आवागमन भएको देखिन्छ । त्रि.अ.वि. को सन् २०१३ को तथ्यांकअनुसार अन्तर्राष्ट्रिय हवाई ट्राफिकमा नेपाली वायुसेवाको योगदान वायुयान आवगमनतर्फ छ दशमलव ५८ प्रतिशत, यात्रुतर्पm छ दशमलव ८६ प्रतिशत र कार्गो ढुवानीतर्फ पाँच दशमलव ४९ प्रतिशत रहेको छ । नेपालले द्धिपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकहरूको संख्या ३६ पुगेको छ । अहिले त्रि.अ.वि. बाट दुई वटा स्वदेशी तथा २३ वटा विदेशी वायुसेवाहरू गरी कुल २५ वटा अन्तर्राष्ट्रिय वायुसेवाहरूले १३ मुलुकका २२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । क्यानबाट हालसम्म ५९ वटा वायुसेवा कम्पनीहरूलाई वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र प्रदान गरिएकोमा ४२ वटा रद्ध भएको र जम्मा १७ वटा मात्र सञ्चालनमा रहेका छन् ।
गगन थापाले भने, बैंकहरूलाई कृषि ऋणमा रुचि छैन
१६ पुस । कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बैंकहरूलाई कृषि ऋणमा रुचि नभएको बताएका छन् । बुधबार बसेको समिति बैठकमा सभापति थापाले आफूले परिचय नखुलाई विभिन्न बैंकमा कृषि ऋणका लागि पहल गर्दा कुनै पनि बैंकले चासो नदेखाएको उनले बताए । किसानलाई ६ प्रतिशत ब्याजमा सरल तरिकाले ऋण दिनु भनेर नेपाल राष्ट्र बैंकले करिब ६ महिनाअघि वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । सो निर्देशनअनुसार बैंकहरूले ऋण दिन्छन् कि दिँदैनन् भनेर थापा आफैंले केही बैंकमा आफ्नो परिचय नखुलाई जानकारी लिए । कृषिमन्त्री हरिप्रसाद पराजुली, गभर्नर डा.युवराज खतिवडा, अर्थ मन्त्रालयका सहसचिवहरूसमेत सहभागी बैठकमा सभासद्हरूको भनाइ थियो, गगन थापाजस्ताले कृषि ऋण पाउँदैनन् भने अरुले कसरी पाउँछन् ? त्यसपछि मात्रै कृषि ऋण सम्बन्धमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशन वाणिज्य बैंकहरूले पालना नगरेको खुलासा भएको थियो । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले कृषि ऋण सम्बन्धमा वाणिज्य बैंकहरूलाई निर्देशिका जारी गरेको दाबी गर्दै भने, ‘राष्ट्र बैंकका निर्देशन कानुनसरह हुन्छन, वाणिज्य बैंकहरूले पालना गर्नैपर्छ ।’ तर उनले राष्ट्र बैंकको निर्देशन पालना नगर्ने वाणिज्य बैंकहरूमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने विषयमा केही कुरा खोलेनन् । समिति बैठकमा उपस्थित अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले पनि कृषि कर्जा कार्यविधिअनुसार वाणिज्य बैंकहरूले ऋण प्रवाह नगरेको बताएका थिए । उनले कार्यविधि बनेको पाँच महिना १६ दिन भइसक्दा पनि बैंकहरूले किसानलाई ऋण नदिएको बताए । तर बैंकर्स संघका उपाध्यक्ष रत्नराज बज्राचार्यले कृषि कर्जासम्बन्धी कार्यविधि बैंकहरूले प्राप्त नगरेको बताए । उनले कार्यविधि अहिले संशोधनका क्रममा रहेको र कृषि ऋणमा यसो गर भनेर राष्ट्र बैंकले निर्देशन दिइ नसकेकाले आफूहरू ऋण दिने विषयमा अलमलमा परेको बताए । ‘तर ऋण नै नदिएको चाहिँ होइन,’ बज्राचार्यले भने, ‘हामीले धेरै किसानलाई कर्जा दिएका छौं ।’ ६ प्रतिशत ब्याजमा ऋण दिने काम भने बैंकहरूबाट नभएको उनले बताए । आफूहरूलाई किसानलाई ऋण दिँदा ६ प्रतिशत मात्रै ब्याजदर निर्धारण गर्नु भन्ने औपाचारिक निर्देशन राष्ट्र बैंकबाट नआएको उनले बताए । त्यसपछि राष्ट्र बैंकका गभर्नर खतिवडाले बज्राचार्यको दाबीको तत्काल खण्डन गरे । कृषि कर्जासम्बन्धी कार्यविधि आएको ५ महिना भइसकेको र बैंकहरूलाई धेरै पटक निर्देशन दिइएको उनले दावी गरे । ‘राष्ट्र बैंकका निर्देशन कानुनसरह हुन्छन्, बैंकले पालना गर्नुपर्छ,’ उनले भने, ‘हामीले बैंकहरूलाई धेरैपटक निर्देशन दिइसकेका छौं, अहिले आएर निर्देशन छैन भन्नु गलत हो ।’ उनले राष्ट्र बैंकको निर्देशन पालना नगरे कानुनबमोजिम दण्ड जरिवाना हुने भन्दै सचेत हुन बैंकर्सहरूलाई आग्रह गरे । संशोधित कार्यविधिअनुसार २१ देखि ५० वर्षसम्मका कृषकहरूले कृषि कर्जा पाउनेछन् भने अबदेखि बाण्ँिज्य बैंकहरूले पनि कृषिका लागि कर्जा दिनुपर्नेछ ।न्युजभित्ता