घरजग्गा कारोबार ५ गुणा बढीले वृद्धि, बाहिरी चक्रपथ आसपासका क्षेत्रमा अझै चाप बढी

काठमाडौं, १० पुस । विगत केही वर्षयता सुस्ताएको घरजग्गा कारोबार पुनः बढ्न थालेको छ । २०६४/६५ मा एकदमै उच्च विन्दुमा पुगेको घरजग्गा कारोबार त्यसपछिका वर्षमा वर्ष सुस्ताएको थियो । त्यसयता भूकम्प गएको एकवर्ष पछि फेरि घरजग्गा कारोबार मौलाउन थालेको हो । घरजग्गा कारोबारबाट २०६७/६८ मा राज्यले २९ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालू आवको पहिलो महिना साउन महिनामै एक अर्ब ६५ करोड राजस्व संकलन भएको छ । यसरी एक महिनामै एक वर्षभरिको राजस्व त्यो पनि ५ गुणाभन्दा बढीले उठ्नु भनेको कारोबार बढ्नु नै हो । मंसिरसम्म घरजग्गा दस्तुरबाटमात्र ५ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने अन्य समेत जोड्दा सो राजस्व बढेर ६ अर्ब ३५ करोड पुगेको छ । सरकारले चालू आवमा १४ अर्ब ४ करोड राजस्व उठाउने लक्ष्य लिएको छ । राजस्व बढी उठ्नु भनेको घरजग्गाको कारोबार बढी हुनु हो । पछिल्लो समय भूकम्प यता आम नेपाली सुविधा सम्पन्न क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दै गएकोले पनि आवास निर्माणका लागि जग्गाको कारोबार बढी हुने गरेको भुमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले बताए । ‘यसका साथै अहिले आम नेपाली विदेश जाने र विदेशको कमाइबाट सहज स्थानमा आवास निर्माण गर्ने क्रममा घरजग्गाको कारोबार बढेको हो,’ उनले भने । अहिले महिना दिनमै जग्गाको भाउ आनाको एक लाखका दरले बढ्न थालेको जग्गा कारोबारीहरु बताउँछन् । अझ बाहिरी चक्रपथ बन्ने भएपछि चक्रपथले छोएको क्षेत्रको आसपासमा जग्गाको भाउ चर्किदै गएको जग्गा कारोबारीहरुले बताएका छन् । भूकम्प अघिसम्म महिनामा एक/दुई जना फाटफुट जग्गा खोज्न आउने गरेकोमा अहिले दिनमै ८/१० जना समेत जग्गा हेर्न र भाउ बुझ्न आउने गरेको कीर्तिपुरका गंगाराम महतले बताए । ‘जग्गा खोज्न आउने मानिसहरुलाई कहाँसम्म वाहिरी चक्रपथले छुन्छ, त्यसको आसपासको जग्गा उनीहरुको रोजाइमा परेको छ,’ उनले भने ‘त्यतिमात्रै होइन भिरालो तथा वागमती किनारको जमिनमा समेत पैसा हाल्नेको कम छैन । ‘राम्रो ठाउँको अर्थात पक्की/कच्ची सडक नजिकको मूल्य त एक वर्षमै झण्डै दोब्बर हुन थालिसकेको कारोबारीले बताएका छन् । अहिले २०/२५ रोपनी लिएर सामुहिक आवास निर्माणका लागि पनि जग्गा खोज्न विभिन्न समूह आउने गरेको अर्का जग्गा कारोबारी अमृत केसीले बताए । कीर्तिपुरमामात्रै होइन पछिल्लो समय प्राय उपत्यकाका सबै स्थानमा घरजग्गाको कारोबार दिनप्रतिदिन बढ्दै गएको छ । भित्री स्थानमा समेत जग्गाको भाउ र खरिदकर्ता दुबै बढेको पाइएको छ । बैना पट्टा गर्न पाए पास भनेको विस्तारै गर्ने सोचमा खदिकर्ता भएपनि जग्गा धनी भने साता/दश दिनमै बढ्को मूल्यले अझै ‘पर्ख र हेर’को सोचमा रहेको स्थानिय रामबाबु कार्कीले बताए । खदिरकर्ताको चाप बढेपछि तत्काल जग्गा विक्री गरिहाल्नु भन्दा पनि केही समय पर्खिने सोचमा आफू पुगेको उनको भनाइ छ । थानकोट, सितापाइला, बाजालु, नेपालटार, बुढालिनकण्ठ, बौद्ध जोरपाटी, भक्तपुरका तथा ललितपुरका विभिन्न स्थानमा घरजग्गा खदिर कर्ता बढ्दै गएको छ । देशका प्रमुख सहर विराटनगर, बीरगञ्ज, पोखरा,भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरलगायताका स्थानमा जग्गाको भाउ आँकासिादो अवस्था रहेको एक जग्गा कारोबारीले बताए । उपत्यकामा कतिपय यस्ता घरजग्गा कारोबारीहरुले जग्गा किन्ने घर बनाउने र केही समयमै ५ देखि १० लाखसम्म नाफा लिएर घर विक्री गर्नेको संख्या कम छैन । त्यतिमात्रै कहाँ होर सस्तोमा घर किन्ने र पछि त्यसलाई डेन्टिङ पेन्टिङ गरेर विक्री गर्ने व्यक्तिगत कारोबारी पनि विस्तार हुँदै गएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट आवास तथा घरनिर्माणका लागि सहजै सस्तो व्याजमा ऋण पाउने भएकोले पनि घरजग्गाको कारोबार बढ्दै गएको नेपाल बैकर्स एशोसिएशनका निवर्तमान अध्यक्ष उपेन्द्र पौड्यालले बताए । ‘उनीहरुले भविष्यसम्म अर्थात कर्जा अवधिसम्म ऋण तिर्ने बलिया आधारहरु भएमा मात्र ऋण दिने हो,’ उनले भने ‘घरजग्गामा लगानी गर्दा हाम्रो ऋण नडुब्ने र आवास तथा जग्गा खदिरका लागि लिएको ऋण आमनागरिकले पहिलो प्राथमिकतामा राखेर समयमै तिर्ने भएकाले पनि बैंकहरुले यसमा लगानी बढाएको पौड्यालले बताए । घरजग्गा किनबेच उच्च विन्दुमा पुगेपनि राष्ट्र बैंक भने यस सम्बन्धी कुनै नयाँ योजना तथा कार्यक्रम ल्याउने सोचमा पुगेको छैन । घरजग्ग्गा धितो राखेर लिने ऋणको मार्जिन ल्याडिङ ६० प्रतिशतबाट ५० प्रतिशतमा मौद्रिक नीतिबाटै झारिसकेको छ ।  

पाँच वटा रेल सञ्जाल विस्तार गर्दै नेपाल, बर्दिबासमा यसरी बन्दैछ मेची-महाकाली विद्युतीय रेल

काठमाडौं, १० पुस । नेपालले दिर्घकालिन रणनीति अन्तर्गत पाँच वटा रेल वे सञ्जाल विस्तारको काम अघि बढाइरहेको छ । यसरी निर्माण हुने रेल वे सञ्जालहरुमा क्रस बोर्डर रेल वे कनेक्टीभीटीदेखि मेची–महाकाली विद्युतिय रेल मार्ग र उपत्यकामा मेट्रो रेल सञ्जाल समेत पर्छन् । मेची महाकाली रेल मार्गको बर्दिबास-लालबन्दी खण्डमा धमाधम निर्माण भैरहेको रेल मार्ग फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको रेल विभागले उपत्यकामा मेट्रो रेल, तराई मेची महाकाली विद्युतिय रेल वे, भारतसँग जोडिने बिभिन्न ५ नाकामा क्रस बोर्डर कनेक्टीभीटी रेल वे प्रोजेक्ट, काठमाडौं–पोखारा–लुम्बिनी विद्युतिय रेल मार्ग र रसुवागढी–काठमाडौं रेल मार्ग पर्छन् । ‘हामीले नेपालमा आधुनिक रेल सञ्जाल विस्तारको योजनासहित बिभिन्न पाँच वटा रेल वे नेटवर्क निर्माणमा जुटेका छौं, मेची–महाकाली रेल मार्ग निर्माणको काम थालिसकिएको छ भने अन्य नेटवर्कका लागि विभिन्न चरणमा अध्ययनहरु भैरहेका छन्’, रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट उनका अनुसार मेची महाकाली रेल वे नेटवर्क अनुमानित ९४५ किलोमिटरको हुनेछ । जसको बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरटमा अहिले धमाधम निर्माण कार्य भैरहेको छ । त्यस बाहेक भारतसँग जोडिने पाँच वटा क्रस बोर्डर रेल वेको काम भैरहेको पनि जानकारी दिए । जस अनुसार मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर, जयनगरदेखि जनकपुरहुँदै बर्दिबाससम्मको ६९ किलोमिटर, जोगबनीदेखि बिराटनगरसम्मके १३ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क रहेको छ । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट यस बाहेक काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भएर केहि बर्ष पहिले नै रिपोर्ट आइसकेको छ ।  काठमाडौं–पोखरा रेल मार्गको पनि सम्भाव्यता अध्ययनको रिपोर्ट ६ महिना पहिले नै तयार भैसकेको छ । त्यस्तै, विभागले काठमाडौं–बिरगञ्ज रेल रेल मार्गको सम्भाव्यता अध्ययनका लागि ३१ दिने समय सिमा तोकेर ग्लोबल टेण्डर आव्हान गरेको छ । काठमाडौं–रसुवागढी रेल मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनको लागि विभागले १० करोड बजेट छुट्याएको छ । सोही बजेटबाट सम्भाव्यता अध्ययनका लागि टेण्डर आव्हान गर्ने सोँचमा विभाग पुगेको आचार्यले बताए । फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायका अनुसार नेपालले निर्माण गर्न लागेको रेल वे नेटवर्कले युरोप र चिनियाँ रेल वे नेटवर्कसम्म पहुँच पुर्याउँछ ।‘हामीले बनाउन लागेको रेल वे नेटवर्कले ट्रान्स एसियन रेल नेटवर्क हुँदै युरोप र चीन जोड्नेदेखि लिएर रसियाले बनाएको साइबेरियन रेल वेसम्म पुग्न सकिन्छ ।’ नेपालले आफ्ना सम्पुर्ण रेललाई आधुनिक प्रबिधीको स्ट्याण्डर्ड गेजमा निर्माण गर्न लागेको छ ।‘हामीले बनाउने रेल स्ट्याण्र्ड गेजको हुनेछ, जुन भारतको भन्दा आधुनिक हो ।’, महानिर्देशक आचार्यले भने । यी हुन सम्भाव्यता अध्ययन सम्पन्न भएका रेल वे मेची–महाकाली ९४५ किलोमिटर काठमाडौं–पोखारा १८७ किलोमिटर मेची–महाकाली(आँबु खैरेनी लिंक) ७२ किलोमिटर मेची–महाकाली(उत्तर दक्षिण लिंक) ११३ किलोमिटर निजगढ–हेटौँडा–भरतपुर १३५ किलोमिटर डिपिआर तयार भएको रेल वे बर्दिबास–सिमरा–बिरगञ्ज १३६ किलोमिटर सिमरा–तम्सरिया १२७ किलोमिटर तम्सरिया–बुटवल–लुम्बिनी लिंक १०९ किलोमिटर

समस्याग्रस्त नौ वटा वित्तीय संस्थामा नयाँ लगानीकर्ता प्रवेश, क्रिष्टलबाहेक सबै संस्था सञ्चालनमा आउने

काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकले नयाँ वित्तीय संस्थालाई २०६३ सालबाट इजाजत दिन रोकिएपछि समस्याग्रस्त अवस्थामा सचालनमा भएकामा नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । समस्याग्रस्त वित्तीय संस्थालाई किनेर राम्रो व्यवस्थापन बनाएर संचालन गर्न नयाँ लगानीकर्ता हौसिएका छन् । हाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको विभिन्न ११ वटा वित्तीय संस्थामध्ये नौ वटामा नयाँ लगानीकर्ताको प्रवेश सुरू भैसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । उनका अनुसार बाँकी दुईवटामा क्रिष्टल फाइनान्स खारेजी प्रक्रियामा गैसकेको छ भने नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई भने अदालतले अहिलेकै अवस्थामा संचालन गर्नु भनेर निर्देशन दिएको छ । नयाँ वित्तीय संस्थाको इजाजत बन्द भएपछि खारेजीमा गएको संस्थाको समेत स्वामित्व लिने काम विस्तारै सुरु भएको हो । यस अघि खारेजीमा गएको नेपाल विकास बैंकलाई प्रभु बैैंकले ६ कित्ता शेयर बारबार एक कित्ता प्रभु बैंकको शेयर दिनेगरी किनेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समस्याग्रस्त अवस्थामा रहेकको वित्तीय संस्थालाई नयाँ लगानीकर्ताले संचालन गर्ने गरी प्रक्रिया अगाडि बढिसकेको अहिले सकारात्मक सन्देश प्रवाह पनि भएको छ । समस्याग्रस्त रहेको संस्था संचालन गर्न आएका नयाँ लगानीकर्तामध्ये नौ वटामा अनुमति दिएको पनि पौडेलले बताए । नयाँ लगानीकर्ताले संचालन गर्ने भनिए पनि सबै संस्था कसले कति रुपैयाँमा किनेको हो भनेर सबैको नाम तथा खरिदको पैसा सार्वजनिक गरिहाल्ने अवस्था अहिले नरहेको पौडेल बताए । राष्ट्र बैैंकले दिएको जानकारी अनुसार पाँच वर्षदेखि वित्तीय अवस्था कमजोर भएका तथा समस्यामा परेको संस्थामा नयाँ लगानीकर्ता देखिन थालेका छन् । राष्ट्र बैंकका अनुसार २०७१ साल चैतदेखि समस्याग्रस्त भएको ललिपुर फाइनान्समा काठमाडौंकै व्यापारिक समूहले लगानी गरेको छ ।   हाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको विभिन्न ११ वटा वित्तीय संस्थामध्ये नौ वटामा नयाँ लगानीकर्ताको प्रवेश सुरू भैसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । २०७१ माघदेखि समसयामा रहेको अरुण फाइनान्समा हाथवे इन्भेष्टमेन्ट तथा आइएमई समूहमा आवद्ध विभिन्न व्यक्तिले लगानी गरेका छन् । २०६९ देखि समस्याग्रस्त भएको क्यापिटल मर्चेन्ड एन्ड फाइनान्स गैरआवसीय नेपालीको समूह तथा टीबीआई सूहले खरिद गरेको छ । २०७० देखि समस्या ग्रस्त भएको संस्था जनरल फाइनान्सलाई गैरआवासीय नेपाली समूहले संचालन गर्ने भएको छ । २०६८ देखि समस्यामा रहेको कुबेर मर्चेन्ड एन्ड फाइनान्स बुटवलका व्यापारिक समूहले खरिद गरेका छन् भने पाँच वर्ष अगाडिबाट समस्याग्रस्त भएको नेपाल फाइनान्समा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको समूहले पुँजी लगानी गरेको छ । दुई वर्षदेखि समस्याग्रस्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक विरगन्जका माडबारी समूहको लगानी रहेको पनि उल्लेख छ । २०७० बैशाखबाट समस्याग्रस्त भएको वल्र्ड मर्चेन्ट बैैंकको भने शेयर विक्री उल्लेख्य छ । संमस्याग्रस्त संस्थामा नयाँ लगानीकर्ताको प्रवेशले नेपालको वित्तीय क्षेत्र सुधारको संकेत गरेको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । ११ वटा वित्तीय संस्था समस्याग्रस्त अवस्थामा रहेकोमा जनरल फाइनान्स सामान्य अवस्थामा फर्किएको बताउँदै नेपालले बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि आगामी चैत मसान्तसम्ममा सञ्चालनमा आउने बताए ।