पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन, अब पुरानै मूल्यमा इन्धन पाइने
काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ । बिहिबार बसेको सो समिति अन्तर्गत गठिन उप समिति बैठकले नेपाल आयल निगमले हालै वृद्धि गरेको मुल्य कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।‘उपभोक्ताको ढाड सेक्ने गरि आफैले बनाएको कार्यबिधीको समेत उल्लंघन गर्दै पेट्रोलियम पदार्थको वृद्धि गरिएको मुल्य घटाउन निर्देशन गरिन्छ’, समिति बैठकको निर्णय सुनाउँदै उप समिति सभापति सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । नेपाल आयल निगमले पुस ४ गते राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा मूल्य वृद्धि गरेको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मट्टितेल ७७ रुपैया ५० पैसाका कारोबार भैरहेको थियो । समितिको निर्णय कार्यान्वयन भएमा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मट्टितेल ७३ रुपैयाँमा पाइनेछ । बिहिबारको बैठकमा बाणिज्य सचिव प्रेम कुमार राई सहभागी थिए । बढेको मुल्य कार्यान्वयन नगर्न संसदिय समितिले दिएको निर्देशन कार्यान्वयनबारे बुझ्न निगमका कार्यकारी प्रमुख गोपाख खड्काको मोबाइल स्विच अफ थियो । निगम प्रवक्ता भानुभक्त खनालले भने यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिए ।
फास्ट ट्रयाक आफैं बनाउने सरकारको निर्णय, ७ सदस्यीय अध्ययन समिति गठन
काठमाडौं, ७ पुस । सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएल एण्ड एफएसँगको सम्झौता तोडेर फास्ट ट्रयाक आफैं बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयलाई बिहिबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो । ‘फास्ट ट्रयाक आफैं बनाउने मन्त्रालयको निर्णयलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ, अब थप प्रक्रिया अघि बढाउँछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । मन्त्रिपरिषदले नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यिय अध्ययन समिति पनि गठन गरेको छ । समितिले फास्ट ट्रयाक निर्माणको मोडल र वित्तिय व्यवस्थापनबारे अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने छ । त्यस्तै, मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोद कुमार वैद्यलाई नियुक्त गरेको छ भने नेपाल औषधी लिमिटेडको महाप्रबन्धकमा रोबस कुसुम सुवेदीलाई नियुक्त गरेको छ । त्यस बाहेक राष्ट्रिय फुटबल टिमलाई ७५ लाख पुरस्कार दिने निर्णय पनि बिहिबारको मन्त्रिपरिषद बैठकले गरेको छ । शुक्लाफाँट वन्यजन्तु आरक्षको नाम परिर्वतन गर्दै राष्ट्रिय निकुञ्जका रुपमा स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रभु बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्ने, राष्ट्र बैंकले दियो अनुमति
काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले बिहीबार प्रभु बैंकको सेयर कारोबार खोल्नको लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्ने समेत निर्णय गरिसकेको छ । राष्ट्र बैकका प्रबक्ता नारायण पौडेलका अनुसार प्रभु बैंकको सेयर कारोबार खोल्ने विषयमा सञ्चालक समितिमा छलफल भएको र अव छिट्टै निर्णय सार्वजनिक हुने छ । ग्राण्ड बैंक प्रभु बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकले प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्ड बैंकको खराव कर्जा धेरै भएको भन्दै कारोबार रोक्न निर्देशन दिएको थियो । सो निर्देशन पश्चात प्रभु बैंकको मात्र दुई दिन सेयर कारोबार भएको थियो । तर ग्राण्ड बैंक र प्रभु बैंक एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेपछि प्रभु बैंकको मात्र सेयर कारोबार गर्न नमिल्ने भन्दै धितोपत्र बोर्डले प्रभु बैंकको पनि कारोबार रोकेको थियो । नेपाल स्टक एक्सचेन्जले प्रभु बैकको मात्र कारोबार खोल्दा दुईदिन कारोबार भएको थियो भने सेयर मुल्य १० प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले ग्राण्ड तर्फको खराब कर्जाको अबस्था जटिल रहेको भन्दै ग्राण्डतर्फको सेयर कारोबार रोकेर कर्जा असुल गर्न प्रभु ब्यवस्थापनलाई दबाब दिइरहेको थियो । बितेको तीन महिनामा प्रभु बैंकले खराब कर्जा असुलीमा उल्लखनीय प्रगति गरेको आधारमा राष्ट्र बैंकले सेयर कारोबार खोल्न अनुमति दिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए । आगामी साताबाट प्रभु बैंकको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका प्रभु र ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ छ ।