व्यापार घाटा २७ प्रतिशतले वृद्धि, दैनिक ५७ करोड घाटा
४ पुस । नेपालको बैदेशिक व्यापार घाटा २७.४ प्रतिशतले वृद्धि भएको छ । नेपालले बैदेशिक व्यापारमा दैनिक ५६ करोड ८४ लाख रुपैयाँ घुमाउन थालेको छ । चालु आर्थिक वर्षको पहिलो चार महनिामा २२७ अर्ब ३६ करोड रुपैयाँ नोक्सान भएको छ । बैदेशिक व्यापारमा निर्यात–आयात अनुपात ११.५ प्रतिशतमा झरेको छ । ११ रुपैयाँ ५० पैसा बराबरको बस्तु निर्यात गर्दा ८८ रुपैयाँ ५० पैसाको आयात भएको छ । बैदेशिक व्यापारमा व्यापारमा यस्तो कहाली लाग्दो अवस्था भए पनि सरकारले नयाँ कार्यक्रम ल्याउनेबारे कुनै छलफल समेत गरेको छैन । कुल वस्तु व्यापार घाटामध्ये भारत र चीनसँगको व्यापार घाटा क्रमशः २४.७ प्रतिशत र ४८.५ प्रतिशतले बढेको छ । अन्य मुलुकसँगको व्यापार घाटा २४.२ प्रतिशतले बढेको छ । कुल वस्तु निर्यात ०.२ प्रतिशतको सीमान्त दरले ह्रास आई रु. २९ अर्ब ५५ करोड पुगेको छ । कार्तिक महिनामा कुल वस्तु निर्यात असोज महिनाको तुलनामा १३.५ प्रतिशतले घटेको छ । कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात ४.९ प्रतिशतले घटेको छ । अलैंची, जिङ्क शिट, जुटका सामान, तामाको तार लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको सरकारले जनाएको छ । त्यसैगरी, चीनतर्फको निर्यात ८१.९ प्रतिशतको उच्च दरले बढेको छ । प्रशोधित छाला, उनी गलैंचा, हस्तकलाका सामान, तयारी पोशाक लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण चीनतर्फको निर्यात बढेको हो । त्यस्तै, अन्य मुलुकतर्पmको निर्यात अघिल्लो वर्षको सोही अवधिको ५.१ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा ३.५ प्रतिशतले बढेको छ । विशेषतः दाल, तयारी पोशाक, चिया, नेपाली कागज तथा कागजका सामान लगायतका वस्तुहरुको निर्यातमा भएको वृद्धिका कारण समीक्षा अवधिमा अन्य मुलुकतर्फको निर्यात बढ्न गएको हो । अमेरिकी डलरमा भने अन्य मुलुकतर्फको वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको ७.७ प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा ५.५ प्रतिशतले बढी अमेरिकी डलर १० करोड ६० लाख पुगेको छ । कुल वस्तु आयात २३.५ प्रतिशतले बढेर रु. २५६ अर्ब ९१ करोड पुगेको छ । मासिक रुपमा हेर्दा कार्तिक महिनामा कुल वस्तु आयात असोज महिनाको तुलनामा १.९ प्रतिशतले घटेको छ । कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको २०.२ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २०.६ प्रतिशतले बढेको छ । भारतबाट मुख्यतयाः एम.एस विलेट, पेट्रोलियम पदार्थ, चामल, यातायात साधन तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो । साथै, चीनबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको ७.९ प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा ४९.५ प्रतिशतको उच्च दरलेबढेको छ । चीनबाट मुख्यतयाः दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, रासायनिक मल, अन्य मेशिनरी तथा पाटपूर्जा, भिडियो टेलिभिजन र पाटपूर्जा लगायतका वस्तुहरुको आयात बढेको कारण सो मुलुकबाट भएको आयात उच्च दरले बढेको हो । त्यसैगरी, अन्य मुलुकबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिको १९.७ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा २० प्रतिशतले बढेको छ । अन्य मुलुकबाट विशेषगरी चाँदी, खानेतेल, दूरसञ्चारका उपकरण तथा पाटपूर्जा, हवाईजहाजका पाटपूर्जा, कच्चा पाल्म तेल लगायतका वस्तुहरुको आयात बढेको कारण त्यस तर्फको आयात बढेको हो । अमेरिकी डलरमा अन्य मुलुकतर्फको वस्तु आयात अघिल्लो वर्षको सोही अवधिमा ५.१ प्रतिशतले बढेको तुलनामा समीक्षा अवधिमा २२.१ प्रतिशतले बढ्न गई अमेरिकी डलर ६१ करोड १६ लाख पुगेको छ ।
कमोडिटी एक्सचेन्ज यो बर्ष पनि ‘अबैध’ रुपमै चल्ने
३ पुस । कमोडिटी एक्सचेन्जहरु चालु आर्थिक वर्ष भित्रमा पनि कानुनी दायरमा आउन नपाउने भएका छन् । कमोडिटीको नियमन र अनुगमनको जिम्मेवारी धितोपत्र वोर्डलाई दिने भनिएपनि यससम्बन्धि कानुन नभएको कारण यस्ता एक्सचेन्जहरु कानुनी दायरामा आउन नपाउने भएका हुन् । कमोडिटी एक्सचेन्ज संचालन सम्बन्धि ऐनको मस्यौदालाई धितोपत्र वोर्डले भर्खरै मात्र अन्तिम रुप दिएको छ । बोर्ड संचालक समितिले ऐनको मस्यौदालाई अन्तिम रुप दिदै अर्थमन्त्रालय पठाउने तयारी भएको प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘वोर्डले मस्यौदालाई अन्तिम रुप दिइसकेको छ’– प्रवक्ता गिरीले भने– चाढै नै अर्थमन्त्रालय पठाउछौं । अर्थमन्त्रालयले आवश्यक संसोधन गरेर कानुन मन्त्रालयमा पठाउने, कानुनले आवश्यक अध्ययन र संसोधन गरेर मन्त्रीपरिषदमा पठाउने र मन्त्री परिषदले पनि अध्ययन गरेर आवश्यक संसोधन गर्दै संसदमा पठाउने प्रक्रिया भएको कारण चालु आर्थिक वर्षमा ऐन आउन सक्ने सम्भावना कम भएको हो । कमोडिटीको नियमन र अनुगमन गर्ने निकाय नहुदा उनीहरुको कारोवारको बैधानिकतामा प्रश्न उठ्ने गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका कमोडिटी एक्सचेन्जहरुले कुनै पनि निकायवाट कारोवारको अनुमति नलिइ कारोवार संचालन गरिरहेका छन् । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका कम्पनीले कारोवार सुरु गर्नको लागि नियामक निकायवाट अनिवार्य रुपमा स्वीकृति लिनु पर्ने हुन्छ । तर कमोडिटी एक्सचेन्जले कारोवारको स्वीकृति प्रदान गर्ने नियामक निकाय नै पाएका छैनन् ।
आनमा तिब्र प्रतिष्पर्धा, अध्यक्षका प्रत्यासी काँग्रेस, महासचिवका प्रत्यासी एमाले
२ पुस । नेपाल विज्ञापन संघ(आन)मा रबिन्द्र कुमार रिजाल र सन्तोष श्रेष्ठबिच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ । श्रेष्ठका पक्षमा वर्तमान कार्यसमिती देखिएको छ भने रिजाललाई आनको नेतृत्वसँग असन्तुष्ठ तथा साना व्यवसायीहरुले साथ दिएका छन् । १५ औं बार्षिक साधारण सभाबाट आगामी दुई बर्षे कार्यकालको नेतृत्वका लागि अघि सरेका अध्यक्ष पदका दुबै प्रत्यासी काँग्रेस निकट मानिन्छन् । उता, महासचिवका दुबैं प्रत्यासी भने एमाले निकट हुन् । महासचिवमा उम्मेदवार बनेका रिजाल समुहका किरण गैरे र श्रेष्ठ प्यानलका नारायण कुमार श्रेष्ठ दुबै एमाले समर्थक हुन् । आनमा एमालेको मत खासै धेरै नभएकाले दुबै समुहमा उम्मेदवार बनेर आफ्नो प्रतिनिधित्व सुरक्षित गर्ने एमाले निकट व्यवसायीहरुको रणनीति देखिन्छ । यद्यपी आनको नयाँ नेतृत्वका लागि एमाले समर्थकहरुको मत नै निर्णायक देखिएको छ । ‘हाम्रो विचार समुहको कुल मत एक सय हो, फस्टम्यान लिडरशिपका लागि यो पर्याप्त छैन तर पनि यसपाली हामी नै निर्णायक मत हौं ।’ एमाले समर्थक एक मतदाताले भने । एमाले समर्थकहरुका लागि रिजाल भन्दा श्रेष्ठको नेतृत्व सहज हुने आकलन उनीहरुको छ । रिजाल काँग्रेस नेता दिपकुमार उपाध्यायका आफन्त समेत रहेको र उनी कट्टर काँग्रेस भएकाले काम गर्न असहज हुने निष्कर्ष एमाले समर्थकहरुको छ । उनीहरुले अध्यक्षमा सन्तोष श्रेष्ठ प्रति झुकाव राख्न सक्ने पुर्वानुमान गरिएको छ । यद्यपी रिजालका उम्मेदवार किरण गैरेलाई एमाले समर्थकहरुले अलि बढि रुचाउँछन् । त्यसैले पनि गैरेकै कारण रिजालको पल्ला भारी हुने सम्भावनालाई पनि नकार्न सकिन्न । दुबैं समुहले आ–आफुले जित्ने दावी गरेपनि व्यवसायी भने कतैतिर पनि खुलेका छैनन् । मंगलबार रिजाल समुहले बानेश्वरको बानेश्वर ब्याङक्वेटमा ककटेल पार्टीको आयोजना गरेको थियो । कार्यक्रममा झण्डै एक सय पचास मतदाताले सहभागीता जनाएको दावी रिजाल समुहको छ । उता, बुधबार श्रेष्ठ समुहले बानेश्वरकै अल्फाबिटा कम्प्लेक्समा आयोजना गरेको पार्टीमा पनि त्यतिकै संख्यामा मतदाताहरुको उपस्थिति देखिएको थियो ।‘एउटै मतदाता दुबै समुहको कार्यक्रममा देखिएका छन्, त्यसैले कसको पल्ला भारी हुन्छ भन्न सकिन्न ।’ एक व्यवसायीले भने । आनको पुस ३ र ४ गते राजधानीमा हुने १५ औं बार्षिक साधारण सभाले आगामी दुई बर्षे कार्यकालका लागि १२ सदस्यिय नयाँ कार्यसमिती चयन गर्नेछ । आनमा कुल २६३ जना मतदाता रहेका छन् । नेपालको विज्ञापन व्यवसायमा पाँच अर्बको लगानी रहेको अनुमान गरिएको छ ।