आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सीमित हुने
४ फागुन । यस आर्थिक बर्षको आर्थिक वृद्धिदर पाँच प्रतिशतमा सिमित हुने नेपाल राष्ट्र बैंकले बताएको छ । ‘कृषिको वृद्धिदर दुई प्रतिशतभन्दा कम रहेको छ, यसलेगर्दा हामीलाई छ प्रतिशतको वृद्धि हासिल गर्न सम्भव नभएको हो, ’ गभर्नर डा. युवराज खतिवडाले बताए । राष्ट्र बैंकले सोमवार मौद्रिक नीतिको अद्र्धबार्षिक समिक्षा सार्वजनिक गरेको छ । आर्थिक वृद्धिदर छ प्रतिशत हुन अन्य क्षेत्रको वृद्धि आठ प्रतिशत हुनुपर्ने भएपनि यसको सम्भावना नरहेकोले आर्थिक वृद्धिदर लक्ष्य गरिएभन्दा कम हुने बैंकले बताएको छ । यस बर्ष मूल्य वृद्धिदर भने आठ प्रतिशतमा सिमित हुने प्रक्षेपण राष्ट्र बैंकको छ । ‘हाम्रो मूल्यवृद्धिको आन्तरिक प्रक्षेपण सात प्रतिशतको हो, तर पनि आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या लगायत गैर मौद्रिक कारणलाई आधार मानेर केही स्पेस छोडेका हौं,’ गभर्नर डा. खतिवडाले भने । मूल्यवृद्धि सात प्रतिशतमा नै राख्ने लक्ष्य लिएको पनि बैंकले स्पष्ट पारेको छ । छ महिनामा उपभोक्ता मुद्रास्फिती (मूल्य वृद्धिदर ६.८ प्रतिशत) रहेको छ । गत बर्ष छ महिनाको अवधिमा यो ९.७ प्रतिशत रहेको थियो । सरकारी खर्च बढ्दा सरकारी ढुकुटीमा यस बर्ष ७२ अर्ब १६ करोड रुपैयाँ थुप्रिएको छ । गत बर्षको बाँकी सञ्चिती समेत गर्दा ७५ अर्ब ६६ करोड रुपैयाँ सञ्चिती रहेको छ । छ महिनाको अवधिमा कुल आयात १३ प्रतिशतले बढेपनि निर्यात ३.९ प्रतिशतले घटेको कारण व्यापार घाटा १६ प्रतिशतले बढेको छ । यसले गर्दा शोधान्तर बचत पनि केही कम भएको छ । यसपटक शोधान्तर बचत ३४ अर्ब २६ करोड रुपैयाँ रहेको छ । अघिल्लो पटक ७७ अर्ब १९ करोड रुपैयाँ बचत रहेको थियो । यस बर्ष रेमिट्यान्स (विप्रेषण) भित्रने क्रम भने घटेको छ । गत बर्ष विप्रेषण ३४.४ प्रतिशतले बढेकोमा यसपटकको यस्तो वृद्धिदर ३.९ प्रतिशत रहेको छ । ‘अहिले विदेशमा रहेका नेपालीहरुले बिनिमय दरको कारण रेमिट्यान्स पठाउन केही समय कुरेका हुन सक्छन, केही समय अघि रेमिट्यान्सको प्रवाह नकारात्मक देखिएको थियो अहिले पुन सुधार भएको छ, यसले उनीहर पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्छ,’ गभर्नर खतिवडाले भने । उनले विप्रषण प्रवाह यो बर्षको अन्त्यसम्ममा नकारात्मक नहुने विश्वास गरे ।
नेपालमा मोवाइल उत्पादन गर्ने गोल्छाको तयारी, ब्राण्डिङ र परीक्षणका लागि आउटसोर्सिङ
४ फागुन, विकासन्युज । गोल्छा अर्गनाईजेशन नेपालमा नै मोवाईल उत्पादन गर्ने लक्ष्यका मोवाईल व्यवसायमा हात हालेको छ । गोल्छा समूह अन्तरगत रहेको हिम इलेक्ट्रोनिक्स प्रा.लिले पहिलो चरणमा आर्क ब्राण्डको स्मार्टफोन आउटसोर्सिङ उत्पादन गर्न लागेको छ । बजारमा ब्राण्ड स्थापित गरेपछि उत्पादन पनि आफै गर्ने सोच बनाएको कम्पनीको प्रबन्ध निर्देशक शेखर गोल्छाले विकासन्युजलाई बताए । ‘पहिलो चरणमा नेपाली ब्राण्डको प्रिमियम मोवाइल ‘आर्क’लाई स्थापित गर्दैछौं । नेपाली ब्राण्डप्रति उपभोक्ताको रुचीका आधारमा उत्पादन प्लान्ट लगाउन सकिन्छ’ उनले भने । पहिलो चरणमा कम्पनीले ब्राण्ड स्वामित्व आफूमा राखेर कम्पनीले विभिन्न मोडलका मोवाईलहरु विभिन्न कम्पनीलाई उत्पादन गर्न अडर दिने र त्यसको आयात र बिक्री वितरण आफूले गर्ने तयारी गरेको छ । हाल आर्क मोवाईल चिनियाँ कम्पनीमार्फत उत्पादन गर्न लागिएको उनेले बताए । नेपालमा वार्षिक २५ लाख मोवाईल सेट बिक्री हुने र १७ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने गरेको जानकारी दिदै उनले भने–‘बजार ठूलो छ, नेपाली मोवाईल सेटले उपभोक्ताको विश्वास जित्न सक्यो भने नेपालमै उत्पादन गर्न सकिन्छ ।’ मोवाईल उत्पादन गर्ने कम्पनी खोल्न करिव ४० देखि ४२ करोड रुपैयाँ लगानी आवश्यक पर्ने उनको भनाई छ । उनका अनुसार कम्पनी खोल्दा २०० जनाले रोजगारी पाउने छन् । ‘धेरै पाट्सहरु आयात नै गर्नु पर्छ । संसारका अधिकांश मोवाईल उत्पादक कम्पनीले पाट्स आटसोसिङ नै गर्ने हो’ उनी भन्छन् । बजार ठूलो छ, उद्योग लगाउन सकिन्छ । मुख्य चुनौति नेपाली ब्राण्डलाई नेपालीले कति मन पराउँछन् त्यो बजारमा गएपछि मात्र थाहा हुन्छ, उनले भने । तत्काल कम्पनीले तीन क्याटागोरीका उत्पादन ल्याउने तयारी गरेको छ । प्रिमियम सेग्मेन्टमा आर्क इड्ज, मिड सेग्मेन्टमा आर्क आईकन, इकोनोमिक सेग्मेन्टमा आर्क स्टोम रहेका छन् । कम्पनीले मोवाईलहरुको मूल्य तोकेको छैन । तर ४/५ हजारदेखि ६०/७० हजार रुपैयाँ पर्ने मोवाईल बजारमा ल्याउने लागेको बुझिएको छ । ‘४÷५ हजार रुपैयाँ पर्ने फोन सेट बढी बिक्री हुने भएकोले सोही मूल्यमा स्मार्ट फोन ल्याउने कम्पनीको प्रयास छ’ कम्पनी सम्बद्ध स्रोतले बतायो । नेपाली बजारमा हाल १ हजार पाँच सयदेखि एक लाख भन्दा बढी मूल्य पर्ने मोवाईल सेट बिक्री हुने गरेको छ । व्यवसायीहरुको अनुसार नेपालीहरुले प्रयोग गर्ने मोवाईलको औसत मूल्य ७ हजार रुपैयाँ रहेको छ । आर्क स्मार्टफोनले नेपालका स्मार्टफोन प्रयोगकर्तालाई विश्वको उत्कृष्ट स्मार्टफोनको जस्तै अनुभव अनुभव दिलाउने कम्पनीले जनाएको छ । ‘आर्क एउटा प्रिमियम नेपाली स्मार्टफोन ब्राण्ड हो, जसले नेपालमा स्मार्टफोनको अनुभवलाई प्राविधिकरुपमा अझ विस्तार गर्न आफ्ना उत्कृष्ट उत्पादनहरु उपलब्ध गराउनेछ’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । तीन वर्गका विभिन्न मोडल आर्क इड्ज विभिन्न पाँच मोडलमा रहेका छन् । यस वर्गको मोवाईलमा ५ इन्चको एचडी आईपीएस स्कीनका साथ ओजीएस रहेको छ । यसमा अटो फ्यास भएको १३ एमपी रियर क्यामेरा र ३ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । १.३ गिगाहर्ज क्वाड कोर प्रोसेर, १ जीवी र्याम, ८ जीवी रुम, र २००० एमएएच व्याट्री रहेको छ । आर्क आईकन समूहमा ४.५ इन्च स्क्रीन, ५ एमपी रियर क्यामरा, १.३ एमपी फ्रन्ट क्यामेरा, १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर, ५१२ एमवी र्याम, ४ जीवी रुम रहेको छ । आर्क स्ट्रोममा ४ इन्च स्क्रीन, ३ एमपी रियर र १.३ फ्रण्ट क्यामेरा, १ गिगाहर्ज ड्युल कोर प्रोशेसर रहेको छ । हिम इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक गोल्छाले आर्क स्मार्टफोनले नेपाली स्मार्टफोन प्रयोगकर्ताको मागलाई पूरा गर्ने बताए । उनले आर्क ब्राण्ड नेपाली हुने र यस मोवाईल बजारमा उपलब्ध अरु अन्तर्राष्ट्रिय स्मार्टफोन ब्राण्डहरु सरह कै हुने बताए । यस मोवाईलका लागि हाल १३ वटा सर्भिस हबहरु रहेको र निकट भविष्यमै सर्भिस केन्द्रहरुको संख्या ६० पु-याउने बताए । कम्पनीले गत साता डिलर मिट आयोजना गरी आर्क स्मार्टफोन बजारमा ल्याउन लागेको जानकारी दिएको हो । हिम इलोक्ट्रोलिक्सले विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरु बिक्री गर्दै आएको छ । गोल्छा समूहसँग नोकिया मोवाइल बजारकरण गरेको अनुभव छ । उत्पादन बन्द हुनुपूर्व नेपालमा सबैभन्दा बढी बिक्री हुने मोवाईल नोकिया थियो ।
जीवन बीमा कम्पनीहरुको नाफा घट्यो, बीमा शुल्क आर्जनमा भने वृद्धि
विजयराज खनाल/काठमाडौं। ३ फागुन । यस बर्षको पुस अवधिसम्मको वित्तीय विवरण प्रकासित गरेका आठ जीवन बीमा कम्पनीहरुमध्ये पाँच कम्पनीको नाफा घटेको छ । अमेरिकन लाइफ इन्स्योरेन्सको भने वित्तीय विवरण प्रकासित भएको छैन । प्राइम लाइफ, एशियन लाइफ, नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र सुर्या लाइफ इन्स्योरेन्सको नाफा घटेको हो । आठ कम्पनीहरुको कुल नाफा पनि छ प्रतिशतले घटेर २९ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो बर्षको पुसमा कम्पनीहरुको नाफा ३१ करोड ६२ लाख रुपैयाँ रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै २७ प्रतिशतले घटेर १० करोड रुपैयाँमा सिमित भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको नाफा भने सबैभन्दा धेरै ६२.७२ प्रतिशतले बढेर सात करोड ८२ लाख रुपैयाँ पुगेको छ । कतिपय कम्पनीको लगानी, अन्य कर्जाबाट भएको आम्दानी घटेको र खर्च बढेको कारण नाफा घटेको हो । कतिपयले भने यसअघि व्यवस्था रकम फिर्ता गरेकोमा यसपटक यस्तो रकम फिर्ता नल्याएको कारण नाफा घटेको देखिन्छ । राष्ट्रिय बीमा संस्थान बाहेक सात कम्पनीहरुको हालसम्मको कुल बीमा शुल्क आम्दानी भने करिब ३७ प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा संस्थानको वित्तीय विवरण अन्य कम्पनीको भन्दा अलग संरचनामा प्रकासित भएकोले केही पक्ष समावेश गरिएको छैन । गत आवको पुससम्ममा ३१ अर्ब रुपैयाँ आम्दानी गरेका सात कम्पनीहरुले यसमा पुससम्ममा आम्दानी बढेर ४३ अर्ब रुपैयाँ पुगेको छ । सुर्या लाइफ र गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन उच्चले बढेको छ । सात कम्पनीहरुको गत आवमा २३ लाख आठ हजार बीमालेख सङ्ख्या रहेकोमा चालु आवमा यो सङ्ख्या बढेर २६ लाख ३३ हजार पुगेको छ । एउटै व्यक्तिले एकभन्दा बढी कम्पनीमा जीवन बीमा गर्न पाउने नियम भएकोले बीमा लेखको सङ्ख्या भन्दा वास्तविक बीमितको सङ्ख्या कम हुनपनि सक्छ । हालसम्म सात कम्पनीमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफको कुल बीमा शुल्क आर्जन २५ अर्ब रुपैयाँ पुगेको छ । तर प्रतिशतको आधारमा बीमा शुल्क वृद्धि हुने कम्पनीमा सुर्या लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । सुर्यालाइफको बीमा शुल्क आर्जन करिब तीन गुणाले बढेको छ । हाल कायम बीमालेखको आधारमा सात कम्पनीमा लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै (२६ प्रतिशतले) बीमालेख वृद्धि भएको छ । प्राइम लाइफ इन्स्योरेन्सको भने बीमा लेख सङ्ख्या १० प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा लेख संख्या सबैभन्दा धेरै नौं लाख ८५ हजार छ । कम्पनीहरु (बीमा संस्थान सहित) को सञ्चित तथा जगेडा कोष ४.८९ प्रतिशतले बढेको छ । नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान र नेशनल लाइफ इन्स्योरेन्सको भने यस्तो कोष घटेको छ । आय र व्यवस्थापन खर्चको बाँडफाँडमा अलगअलग तरिका अपनाइने गरेका कारण यी शीर्षकमा नोक्सान देखिने गरेको पनि कम्पनीहरु बताउँछन । कम्पनीहरु (बीमा संस्थान सहित) को जीवन बीमा कोष करिब २० प्रतिशतले बढेर ६९ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बीमा संस्थानको आम्दानीभन्दा खर्च बढि रहेपछि बचत दुई अर्ब ८३ करोडले घटेको छ । यो रकम जीवन बीमा कोषमा सारेकोले कम्पनीको जीवन बीमा कोष समेत २१ प्रतिशतले घटेर ११ अर्ब ६ करोड रुपैयाँमा सिमित भएको छ । यसअघि कम्पनीको जीवन बीमा कोष १४ अर्ब रुपैयाँ रहेको थियो । रकमको आधारमा (बीमा संस्थान सहित) जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम (२० अर्ब ३६ करोड रुपैयाँ) हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेपनि प्रतिशतको आधारमा सूर्या लाइफको धेरै (५७ प्रतिशत) वृद्धि भएको छ । तर बीमा कोषमा सबैभन्दा कम रकम हुनेमा पनि सूर्यालाइफ नै रहेको छ । कम्पनीहरुलाई नियमक निकाय बीमा समितिले जीवन बीमा कोषमा रहेको रकमको वास्तविक मुल्यांकन (एक्चुअरी भ्यालुएसन) हरेक बर्ष गर्न निर्देशन दिएको छ । यस आर्थिक बर्षको अन्त्यमा भने यस्तो मुल्यांकन पछि नाफामा थप फरबदल हुन सक्छ । कम्पनीहरु ( बीमा संस्थान बाहेक) को कुल दाबी भुक्तानी सङ्ख्या बढेको छ । गत बर्षको पुसमा २२ हजार दुई सय ३० वटा दाबी भुक्तानी दिएका कम्पनीहरुको यसपटक भुक्तानी संख्या २८ प्रतिशतले बढेर १७ हजार तीन सय ३४ पुगेको छ । यही कारण दावी भुक्तानी रकम पनि २७ प्रतिशत बढेको छ ।