राष्ट्रिय गौरवका आयोजनामा १५.६२ प्रतिशत मात्रै खर्च, अर्थ मन्त्रालय भन्छ–‘ बाँकी ८४ प्रतिशत रकम खर्च गर्न सकिन्न’
१८ फागुन । सरकारले चालु आर्थिक बर्षमा प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजनाहरुका लागि बिनियोजन गरेको रकम मध्ये छ महिनामा जम्मा १५.६२ प्रतिशत रकम मात्रै खर्च भएको छ । सरकारले चालु आर्थिक बर्षमा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि २७ अर्ब ४० करोड रुपैंयाँ बिनियोजन गरेको थियो । छ महिने अवधीमा सो रकम मध्ये जम्मा चार अर्ब २८ करोड रुपैंयाँ मात्रै खर्च भएको छ । जुन कुल बिनियोजीत रकमको १५.६२ प्रतिशत मात्रै हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मध्यावधि समिक्षा प्रतिवेदनका अनुसार बाँकी रहेको ८४ प्रतिशत रकम चालु आर्थिक बर्षमा खर्च हुने सम्भावना समेत नरहेको उल्लेख गरिएको छ । मध्यावधि समिक्षा प्रतिवेदनका अनुसार चालु आर्थिक बर्षमा गौरवका आयोजनाका लागि बिनियोजीत २३ अर्ब १२ करोड रुपैंयाँ फ्रिज हुने निश्चित देखिएको छ । छ महिना सकिँदा समेत कतिपय आयोजनाहरुको सम्भाव्यता अध्ययन नै हुन सकेको छैन् भने अधिकांश आयोजनाले काम सुरु गरेका छैनन् । काम थालिएका आयोजनाहरुमा पनि जग्गा अधिग्रहण, वन क्षेत्रमा रुख कटानको समस्या, निर्माण सामग्रीको अभाव, फितलो मुल्यांकन तथा दक्ष जनशक्तिको अभाव जस्ता समस्या देखिएका छन् । के के हुन राष्ट्रिय गौरवका आयोजना ? सरकारले मध्य पहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, सिक्टा सिंचाई आयोजना, रानीजमरा कुलरिया सिंचाई आयोजना, बबई सिंचाई आयोजना, भैरहवा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल, निजगढ अन्तराष्ट्रिय बिमानस्थल, पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल, पशुपति क्षेत्र बिकास कोष, लुम्बिनी क्षेत्र बिकास कोष, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, काठमाडौं तराई मधेश फाष्ट ट्रयाक, कोशी करिडोर, कालिगण्डकी करिडोर, कर्णाली करिडोर, हुलाकी राजमार्ग, पुर्व पश्चिम रेलमार्ग, भेरी बबई डाईभर्सन बहुउदेश्यिय आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, बुढीगण्डकी जलविद्युत आयोजना र पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दै ठुलो रकम बिनियोजन गरेको थियो । कुन आयोजनामा कति भयो खर्च ? मध्य पहाडी लोकमार्ग चालु आवको बजेटमा मध्यपहाडी लोकमार्ग अर्थात पुष्पलाल लोकमार्गका लागि दुई अर्ब रुपैयाँ बिनियोजन भएको थियो । छ महिनामा सो मध्ये ८२ करोड ३४ लाख खर्च भएको छ । मेलम्ची खानेपानी आयोजना सकारले मेलम्ची खानेपानी आयोजनाका लागि चार अर्ब ६१ करोड ४८ लाख ४७ हजार रकम बिनियोजन गरेको थियो । हालसम्म सो मध्ये ३१ करोड ६५ लाख ८३ हजार मात्रै खर्च भएको छ । सिक्टा सिंचाई आयोजना यसका लागि एक अर्ब ४० करोड ६ लाख ३२ हजार बिनियोजना गरिएकोमा हालसम्म ५० करोड ९२ लाख ५६ हजार मात्रै खर्च भएको छ । रानीजमरा गुलरिया सिंचाई आयोजना एक अर्ब ४४ करोड १२ लाख २८ हजार रुपैंयाँ बिनियोजन गरिएको यो आयोजनामा छ महिना बितिसक्दा जम्मा ३६ करोड १५ लाख १० हजार मात्रै खर्च भएको छ । बबई सिंचाई आयोजना बबई सिंचाई आयोजनाका लागि सरकारले चालु आर्थिक बर्षमा ७८ करोड २२ लाख ४ हजार छुट्याएको थियो तर छ करोड ३२ लाख ६६ हजार मात्रै खर्च भएको छ । भैरहवा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल यो बिमानस्थल निर्माणका लागि भन्दै बिनियोजना गरिएको एक अर्ब ९८ करोड ९६ लाख ९५ हजारमध्ये हासम्म एक रुपैंयाँ पनि खर्च भएको छैन् । निजगढ अन्तराष्ट्रिय बिमानस्थल सरकारले यसका लागि ५० करोड बिनियोजन गरेको थियो तर सोमध्ये केहि रकम पनि खर्च भएको छैन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल पर्यटकियनगरी पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल बनाउन भन्दै बिनियोजन गरिएको दुई अर्ब ७ करोड रकममध्ये २६ करोड ८० लाख रुपैंयाँ मात्रै खर्च भएको छ । पशुपति क्षेत्र बिकास कोष सरकारले पशुपति क्षेत्रको बिकासका लागि भन्दै बिनियोजन गरेको ३० करोडमध्ये एक रुपैंयाँ समेत खर्च भएको छैन् । लुम्बिनी क्षेत्र बिकास कोष लुम्बिनी क्षेत्र बिकास कोषका लागि ५० करोड बिनियोजन गरिएकोमा छ महिनाभित्र जम्मा १० करोड ११ लाख ३० हजार मात्रै खर्च भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना सरकारले तीन अर्ब ऋण लागनी गर्ने भनेको यो आयोजनामा हालसम्म एक अर्ब ऋण खर्च भैसकेको छ । काठमाडौं तराई मधेश फाष्ट ट्रयाक २४ करोड ९८ लाख ९२ हजार रकम बिनियोजन गरिएको यो आयोजनामा छ महिना भित्र जम्मा ४० लाख २९ हजार मात्रै खर्च भएको छ । कर्णाली करिडोर एक अर्ब १८ करोड ९ लाख २२ हजार बिनियोजन गरिएकोमा छ महिनासम्ममा २० करोड १० लाख ८३ हजार मात्रै खर्च भएको छ । हुलाकी राजमार्ग एक अर्ब ९९ करोड ९३ लाख ३५ हजार बिनियोजन गरिएकामा जम्मा १३ करोड ९ लाख ४२ हजार खर्च भएको छ । पुर्व पश्चिम रेलमार्ग एक अर्ब ९९ करोड ९४ लाख बिनियोजन गरिएकोमा जम्मा ३२ करोड मात्रै खर्च भएको छ । भेरी बबई डाईभर्सन बहुउदेश्यिय आयोजना एक अर्ब ९० करोड एक लाख ६४ हजार बिनियोजन गरिएकोमा ५५ लाख ५१ हजारमात्रै खर्च भएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ९० करोड बिनियोजीत यो योजनामा हालसम्म पाँच करोड ११ लाख ९० हजार मात्रै खर्च भएको छ । बुढीगण्डकी जलविद्युत आयोजना ५७ करोड २२ लाख बिनियोजीत योजनामा हालसम्म १२ करोड १८ लाख मात्रै खर्च भएको छ ।
बैंकर्स र व्यवसायीबीच संघर्ष, दुबै पक्ष सडकमा
१८ फागुन/वार्षिक विदा सकिएपछि कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय फागुन १७ गते बैंकमा हाजिर हुनुपथ्र्यो । तर उनी उपस्थित भएनन् । जवकी उनी पाँच दिन प्रहरी खोरमा बसेर १५ गते साँझ छुटेका थिए । उपाध्ययलाई प्रहरीले छोड्नुभन्दा केही घण्टाअघि मात्र बैंक सञ्चालक समितिको बैठकले घर विदामा बसेका कार्यकारी प्रमुख उपाध्यायको आचरण खराव देखिएको र बैंकको छविमा नकारात्मक असर परेको भन्दै निलम्वन गरेको थियो । यद्यपी उनलाई स्पष्टीकरणको मौका दिने बैंकको निर्णय छ । ‘उनी बैंकमा उपस्थिति हुने सम्भावना कम छ’–सञ्चालक समितिका एक सदस्यले भने–‘उपस्थित भईहाले भनेपनि भने पनि उनलाई बैंकले सफाई दिने आधार हामीले देखेका छैनौं ।’ उनी कुमारी बैंकमा मात्र होइन, अब बैकिङ क्षेत्रमा फर्कने सम्भावना ज्यादै लगभग शुन्य नै छ । गेष्ट हाउसमा गएर गैरकानुनी रुपमा यौन सम्पर्क गरेको प्रहरीको आरोप छ । तर उपाध्ययका आफन्तले बैंकका ऋणिले योजनाबद्ध रुपमा फसाएको आरोप लगाउँछन् । उनीहरुको भनाई समस्याग्रस्त व्यवसायी सुधीर बस्नेततर्फ लक्षित देखिन्छ । घरजग्गा व्यवसायी सुधीर बस्नेत टाट पल्टिएर सडकमा पुगेको केहि समयमा नै उनीसँग विगतमा राम्रो कारोवार गरिरहेका केहि बैंकर पनि सडकमा पुगेका छन् । पहिला असाध्यै राम्रो सम्बन्ध भएका र पछिल्लो समय बस्नेतसँग सम्बन्ध विग्रिएका बैंकरमध्ये केहि भूमिगत भएका छन् भने केहिलाई अपत्यारिलो अभियोग लागेर सडकमा पुगेका छन् । समयमै कर्जाको सावा व्याज नतिरेको भनेर बस्नेतलाई पहिलोपटक सार्वजनिक सूचना प्रकाशित गर्ने बैंक तत्कालिन किष्ट बैंक थियो । सो बैंकका तत्कालिन प्रबन्ध संचालक कमप्रसाद ज्ञवाली र बस्नेतको सम्बन्ध निकै राम्रो थियो । ज्ञवालीकै विषेश सहयोगमा बस्नेतले तत्कालिन किष्ट बैंकवाट १३ करोड रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । अहिले तत्कालिन किष्ट बैंकका तत्कालिन प्रबन्ध संचालक ज्ञवाली बैंकिङ कसुरको अभियोगमा भूमिगत छन् । बस्नेतसँग पहिला राम्रो सम्बन्ध भएका र पछि बिग्रेका अर्का बैंकर ग्राण्ड बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुधीर खत्री हुन् । उनको बैंकले बस्नेतलाई २ करोड ८० लाख रुपैयाँ व्यक्तिगत कर्जा पनि दिएको थियो । ग्राण्ड बैंककै नेतृत्वमा बस्नेतको कम्पनी अग्नि एयरलाईन्सलाई ५५ करोड रुपैयाँ कर्जा दिईएको थियो । जुन कर्जा अझै उठेको छैन । पछि बस्नेत र खत्रीको सम्बन्ध विग्रियो । ग्राण्डले बस्नेतलाई कर्जा नतिरेको भन्दै कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्यो । पछिल्लो समय राष्ट्र बैंककै अनुसन्धानले तत्कालिन सिइओ खत्री र व्यवसायी बस्नेतबीचको कारोबार शंकास्प्रद देखियो । खत्रीले ग्राण्ड बैंकबाट राजीनामा दिनुप-यो । नेपाल बैंकर्स संघको उपाध्यक्ष समेत भएका खत्री अहिले बैकिङ फाँटमा सक्रिय देखिदैनन् । यस्तै पछिल्लो समयमा कुमारी बैंकका सिइओ उदयकृष्ण उपाध्यायको अनौठो अभियोगमा जागिर गएको छ । उपाध्यायलाई प्रहरीले कोटेश्वरको एक रेष्टुरेन्टमा यौनक्रियामा संलग्न भएकै अवस्थामा समातेर सार्वजनिक अपराध ऐन अनुसार कारवाही चलाएपछि उनको जागिर गएको हो । बैंक संचालक समितिले उनलाई सिइओबाट निलम्बन गरेको छ । बैंकको सिइओको जिम्मेवारी दिएको व्यक्ति कुनै बेश्याघरबाट पक्राउ परेपछि उनको सामाजिक हैसियत लगभग सकिएको अनुमान गर्नेहरु पनि छन् । कुमारी बैंकले बस्नेतका विभिन्न आयोजनाहरुमा २० करोड ३६ लाख रुपैयाँ कर्जा दिएको थियो । बस्नेतले सावा व्याजको किस्ता समयमै नतिरेपछि कुमारी बैंकले पनि बस्नेतलाई कालो सूचीमा राखेर कर्जा असुली प्रक्रिया अगाडि बढाएको थियो । कुमारीबाट यो कार्यको नेतृत्व सिइओ उपाध्यायले नै गरेका थिए । बस्नेतले कर्जा लिएका अरु बैंक पनि छन् । उनलाई कर्जा दिने सबै बैंकले उनलाई कालोसूचीमा राखेर कर्जा असुली प्रक्रिया अगाडि बढाइ सकेका छन् । बस्नेतले आफूलाई अप्ठेरो पार्ने बैंकरहरुलाई योजनाबद्ध रुपमा फसाएको विश्लेषण पनि हुन थलेको छ । बस्नेतले एकपछि अर्को बैंकर्सलाई फसाए भनेर निष्कर्षमा पुग्ने आधारहरु छैनन् तर उनको आशु लाग्यो वा यो संयोग मात्रै हो ? उनीसँग कारोवार बिग्रेका बैंकर्सहरु झनै चिन्तित भएको पाईन्छ । ज्ञवाली, खत्री, उपाध्ययले व्यक्तिगत भेटघाटमा आफूहरु विरुद्ध बैंकका केही ऋणिहरु लागेको बताउँदै आएका थिए । कुन कुन बैंकसँग कति कर्जा लिएका थिए बस्नेतले ? बस्नेतले १४ वटा बैंकबाट १ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका थिए । उनको कम्पनी कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा पाँचवटा बैंकले ७० करोड रुपैयाँ कर्जा लगानी दिएका छन् । कोहीनूरमा राष्ट्रिय वाणिज्य बैंकले २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकले २० करोड ४६ लाख, कुमारी बैंकले ७ करोड ३६ लाख, सिद्धार्थ बैंकले ६ करोड १५ र नबिल बैंकले १४ करोड ६ लाख रुपैयाँ कर्जा दिएको छ । त्यसैगरी ओरियन्टल बिल्डर्सका नाममा बैंकहरुको ३४ करोड रुपैयाँ कर्जा छ । ओरेन्टियल विल्डर्समा एनआईसी एसिया बैंकले २० करोड १ लाख, सिटिजन बैंक इन्टरनेसनलले ११ करोड ६९ लाख र राष्ट्रिय वाणिज्य बैंकको २ करोड १५ लाख रुपैयाँ कर्जा छ । यस्तै बस्नेतले आफ्नो व्यक्तिगत नाममा पनि कर्जा लिएका छन् । उनल तत्कालिन किष्ट बैंकबाट १३ करोड, लुम्बिनी बैंकबाट ६ करोड ९३ लाख, ग्राण्ड बैंकबाट २ करोड ८० लाख, एनसीसी बैंकबाट १ करोड रुपैयाँ कर्जा लिएका थिए । सेन्चुरी बैंकले नितू थापाको नाममा बस्नेतलाई १० लाख रुपैयाँ कर्जा कर्जा दिएको छ । त्यसैगरी आयुषा बिल्डर्सका नाममा कुमारी र ग्राण्ड बैंकबाट बस्नेतले २१ करोड कर्जा लिएका छन् । जसमा कुमारीको १३ करोड र ग्राण्डको ७ करोड ९२ लाख रुपैयाँ लगानी छ । त्यसैगरी रेसिडेल डेभलपर्सको नाममा बस्नेतले प्राइम कमर्शियल बैंकबाट ११ करोड ५० लाख रुपैयाँ लिएका छन् भने सेञ्चुरी बैंकबाट बीबी नेपाल ट्रेड कन्सर्नका नाममा साढे ३ करोड रुपैयाँ कर्जा दिएका छन् । बस्नेतको दिपाज बिजनेस कन्सर्नका नाममा सिभिल बैंकबाट ३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
बीमा कम्पनीमा सीईओ अभाव, सञ्चालकलाई चाहिएको आज्ञाकारी कि दक्ष
१७ फागुन/योग्यता अनुसारको जनशक्ति बजारमा नभेटिएको कारण बीमा कम्पनीहरु प्रमुख विहिन बन्न पुगेको कम्पनीहरुले बताउँदै आएपनि यसभन्दा फरक कारण पनि रहेको देखिन्छ । बीमा समितिले जारी गरेको बीमकको संस्थापक सुशासन सम्बन्धि निर्देशिका २०६९ मा बीमा कम्पनीको प्रमुख हुन स्नातकोत्तर गरेको, कानुनी रुपमा गठन भएको संस्थाको व्यवस्थापकको रुपमा १० वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, प्रमुख हुनेले बीमा क्षेत्रमा दुई बर्ष काम गरेको अनुभव अनिवार्य गरेको छ । कम्पनीहरुले यही व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका छन । तर कतिपय बीमा कम्पनीका प्रवद्र्धकहरुले आफ्नो अनुकुलका प्रमुख कार्यकारी नपाउँदा कायममुकायमको भरमा कम्पनी छोडेको देखिन्छन । सात बर्षमा पाँचजना प्रमुख फेरिएको सूर्यालाइफ इन्स्योरेन्स कम्पनी पनि यसैको एउटा उदाहरण हो । कम्पनीले गएको पुस ३० गते अन्तिम पटक प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सूचना जारी गरेको थियो । तर यसपटक पनि कम्पनीले योग्य व्यक्ति नपाएको भन्दै कसैलाई छनोट गरेन । कम्पनी गत असोजदेखि प्रमुख विहीन छ । यस्तै कारण देखाउँदै सिद्धार्थ इन्स्योरेन्सले पनि महप्रबन्धकको नियुक्ति गरेको छैन । ‘बीमा समितिको संस्थागत सुशासन विनियमावलि अनुसारको योग्यता भएका व्यक्ति नभेटिएको होइन, तर योग्यता मात्र पुगेर भएन नि, उनीहरुमा क्षमता पनि त हुनुप¥यो’ कम्पनीका अध्यक्ष मनोज केडियाले भने । सिद्धार्थ इन्स्योरेन्सले पछिल्लो पटक महाप्रबन्धकको आवश्यकता सम्बन्धि सुचना प्रकासित गर्दा करिब आठ जनाले आवेदन दिएका थिए । कम्पनीले ‘बिदाको दिन पारेर’ ती मध्ये चार जनालाई अन्तरवार्तामा बोलाएपनि सक्षम नभएको भन्दै कसैलाई पनि छनौट गरेन । २०७० चैतदेखि कम्पनीको नेतृत्व कायममुकायम महाप्रबन्धकको रुपमा विरेन्द्र बैदवार क्षत्रीले गरिरहेका छन् । केही कम्पनीले भने प्रमुखको खोजीको लागि निकै लामो समयदेखि सार्वजनिक सूचना समेत जारी गरेका छैनन् । प्रमुख विहीन भएर पनि सूचना जारी नगर्नेमा एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् । अग्नि बीमामा भएको दाबीपछि बीमा समितिको कारवाहीमा समेत परिसकेको एभरेष्ट इन्स्योरेन्स करिब एक बर्षदेखि प्रमुख विहीन छ । गत बर्ष फागुनदेखि कम्पनीको नेतृत्व कायममुकायम सहायक महाप्रबन्धक प्रदिप मोहन धौभडेलले गरिरहेका छन । ठुला लगानीकर्ता राजेन्द्र कुमार खेतान र निरन्जन कुमार टिवरेवाला बीचको विवादमा अल्झिरहेको कम्पनीले हालसम्म महाप्रबन्धकको लागि सुचना जारी गरेको छैन । करिब १९ महिनादेखि नेको इन्स्योरेन्सको नेतृत्व विश्व तिमिलाले गरिरहेका छन । तिमिला कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेको छ । प्रिमियर इन्स्योरेन्ससंग मर्जर गर्ने पक्कापक्की भएपछि उनी अघिका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले राजिनामा गरेका थिए । कम्पनीले हालसम्म प्रमुख कार्यकारी अधिकृतको माग गर्दै सुचना जारी नगरेको अधिकृत तिमिलाले जानकारी दिए । गुराँस लाइफ इन्स्योरेन्समा करिब तीन बर्षदेखि प्रमुख छैन । कम्पनीले दुई बर्षयता प्रमुखको माग गर्दै सार्वजनिक सूचना पनि जारी गरेको देखिदैन । हाल कम्पनीको नेतृत्व कायमुकायमको रुपमा नारायण कुमार भट्राईले गरिरहेका छन् । कम्पनीहरुले प्रमुखको खोजीको लागि सुचनै जारी नगर्ने, जारी गरेकाले पनि ‘पपेट’ प्रमुखको खोजी गर्नुले कम्पनीहरु प्रमुख विहीन रहेको बीमा समिति स्रोत बताउछ । ‘पारिवारिक ग्रिपमा रहेका कम्पनीहरुले आफु अनुकुलका प्रमुख नपाएको कारण समितिको व्यवस्थालाई बाधाको रुपमा देखाइरहेका हुन्,’ ती स्रोतले भने । उनले समितिले तेकेको योग्यता पुगेको व्यक्ति बजारमा पर्याप्त रहेको बताए । ‘बीमा विज्ञको रुपमा समेत चिनिएका पुरुषोत्तम सुवेदी, बीमा संस्थानका पुर्वकर्मचारीहरु शिवबहादुर श्रेष्ठ, शालिकराम पराजुली र शैलेन्द्र श्रेष्ठ, सूर्यालाइफका पुर्व महाप्रबन्धक गोपाल घिमिरे जस्ता योग्यता पुगेका धेरै खाली बसिरहेका छन, कम्पनीहरुले चहानुपर्छ,’ ती स्रोतले स्पष्ट पारे । हाल युनाइटेड इन्स्योरेन्स, एलायन्स इन्स्योरेन्स प्रमुख विहीन हुने अवस्थामा छ । त्यस्तै, एनबी इन्स्योरेन्स पनि हाल प्रमुख विहीन छ । हाल यी तीनै कम्पनीले सार्वजनिक सुचना गरेर प्रमुखको माग गरेका छन । एनबी इन्स्योरेन्सले प्रमुख छनौटको अन्तिम तयारी गरिसकेको छ । कम्पनीले यही फागुनमा प्रमुख पाउने भएको छ । त्यस्तै, छ महिनादेखि नेपाल इन्स्योरेन्समा कायममुकायमको रुपमा रहेका चन्द्रसिंह साउदलाई कम्पनीले महाप्रबन्धकमा नियुक्त गरेको छ ।