विजुली उत्पादन गर्न ६२ अर्ब, ७ वर्षमा १७ हजार मेगाावाट विद्युत
काठमाडौं । सरकारले नेपालको जलविद्युत विकासका लागि ६२ अर्ब ४७ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको बजेटका अनुसार जलविद्युतको बिकास तथा प्रसारण लाइनको स्तरोन्नतिका लागि ६२ अर्व ४७ करोड बिनियोजन गरिएको हो । त्यस्तै, सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा कम्तिमा ५०० मेघावाट बिजुली उत्पादनको लक्ष्य पनि बजेटले लिएको छ । नेपालको पानी जनताको लगानी अन्तर्गत ७ बर्षमा १७ हजार मेघावाट बिजुली उत्पादनको लक्ष्य बजेटले निर्धारण गरेको हो । बिभिन्न अन्तरदेशीय प्रशारण लाइनको स्तरोन्नतिका लागि काम सुरू गरिने पनि बजेटमा उल्लेख छ ।
नागढुंगा-नौविसे सुरुङ मार्ग निर्माण गर्न ५ अर्ब ५४ करोड
काठमाडौं । सरकारले थानकोट नौविसे सुरुङ मार्ग निर्माण गर्न ५ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले सो बजेटको घोषणा गरेका हुन् । उक्त सुरुङमार्ग निर्माण योजनाको लागि जापान सरकारसँग १५ अर्व २८ करोड ऋण लिने सम्झौता भईसकेको छ । सो योजनाको लागि ऋण दिने सम्झौतामा अर्थसचिव डा.शान्तराज सुवेदी र जापानी राजदुत मासागी ओगावाले हस्ताक्षर गरिसकेका छन् । सुरुङ मार्ग २.५ किलोमिटर लामो हुने अर्थमन्त्रालयले जनाएको छ । सो योजना सन् २०२२ सम्ममा पुरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
रेलमार्ग बनाउन ४ अर्ब २ करोड
काठमाडौं । सरकारले नेपालभित्र रेल मार्गको निर्माणका लागि ४ अर्ब २ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले पेश गरेको आगामी आर्थिक बर्षको बजेटमा रेल मार्ग निर्माणका लागि ४ अर्ब २ करोड रुपैंयाँ विनियोजन गरिएको हो । सो रकमले हाल निर्माण भैरहेको बर्दिबास-लालबन्दी रेल मार्गको कामलाई अघि बढाईनेछ । त्यस बाहेक काठमाडौं बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेर डिपिआर निर्माण गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । त्यस बाहेक बुटवलदेखि गड्डा चौकीसम्मको डिपिआर निर्माण सम्पन्न गर्ने पनि बताइएको छ । बजेटमा केरूङ-काठमाडौं-पोखरा-लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि आवश्यक बजेट छुट्टयाइएको पनि उल्लेख छ ।