युनाइटेड मोदीले साढे १० मेगावाटको जलविद्युत आयोजना बनाउने, गर्यो बोलपत्र आब्हान
काठमाडौं । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको तल्लोमोदी २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको युनाइटेडले मोदी खोलामा रहेको तल्लोमोदी २ अयोजना निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । युनाइटेडले ०६९ सालमा पहिलो आयोजना सञ्चालनमा ल्याएको हो । कम्पनीले पहिलो चरणमा आयोजनाको सिभिल संरचनाको निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । कम्पनीले सेप्टेम्बर ८ मा बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । ठेक्कोको काम सम्पन्न भएपछि अयोजना आउदो हिउँददेखि निर्माण सुरु हुनेछ । दुई आयोजना सम्पन्न भएपछि युनाइटेको जडित क्षमता बढेर साढे २० मेगावाट पुग्ने छ । आयोजना निर्माण गर्न कम्पनीले सिटिजन्स बैंकबाट कर्जा लिदै छ । यसअघि १० मेगावाट क्षमताको आयोजना बनाउन उसले सिटिजन्सबाटै कर्जा लिएको थियो । कास्की र पर्वतमा पर्ने दोस्रो आयोजनाबाट वार्षिक ६ करोड २१ लाख युनिट बिजुली उत्पादन हुने छ । यस्तै पहिलो आयोजनाबाट वार्षिक ६ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ । आयोजना निर्माणका लागि युनाइटेड मोदीले गत वर्ष १६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारण र स्थानियबासिन्दालाई निष्कासन गरिसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली पर्वतको दिमवा सवस्टेशनमा जोडिने छ । आयोजना नदीको वहाव (रन अफ दी रिभर) प्रकृतिको छ ।
बैंक अफ काठमाण्डूको सीईओमा शोभनदेव पन्त नियुक्त, गत वर्षको नाफा १ अर्ब ३० करोड
काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । उनले आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । ‘पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको छ । तर केही प्रक्रिया पुरा गर्न बाँकी भएकोले निर्णय सार्वजनिक गरिएको छैन’ बैंक सञ्चालक समितिका एक जना सदस्यले विकासन्युजसँग भने । पन्त यसअघि लुम्बिनी बैंकमा सीईओ थिए । वित्तीय रुपमा गम्भिर समस्यामा परेको लुम्बिनी बैंकमा उनी करिव १२ वर्ष कार्यकारी प्रमुखको भूमिका रहेका थिए र बैंकलाई स्वस्थ्य अवस्थामा फर्काएका थिए । ५९ वर्षिय पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका पन्तले नविल, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकमा काम गरेको अनुभव छ । पन्तलाई वित्तीय क्षेत्रको बारेमा राम्रो जानकारी राख्ने, विश्लेषण गर्न सक्ने, संस्थागत सुशासनमा जोड दिने अनुभवी बैंकर्सको रुपमा उनलाई लिने गरिन्छ । ‘बैंक ठूलो भएको छ । परिपक्व बैंकर्स हुनुहुन्छ । राष्ट्र बैंक, अन्य सरकारी निकायहरुसँग राम्रो सम्बन्ध छ । विदेशी निकायहरुसँग पनि राम्रो पहुँच छ’ एक जना सञ्चालकले नयाँ सीईओको सवल पक्षबारेमा–‘हाई इन्ट्रिग्रिटी भएको मान्छे, व्यक्तिगत स्वार्थ केही पनि छैन । उहाँको नेतृत्वमा बैंकले राम्रो गर्न सक्छ भन्ने विश्वास छ ।’ गत आर्थिक वर्षमा बैंकले करिव १ अर्ब ३० करोड नाफा गरेको उनले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ । करिव ६० करोडको एफपीओ र बोनस सेयर निष्काशन गरी बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याँदैछ ।
१४ करोडमा अमेरिकी कम्पनी किन्ने भयो निगमको बोइङ, नेपाली कम्पनीले आँटेनन
काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्ष अगाडिबाटै विक्रीमा रहेको ९ एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ नामक जहाज १४ करोड १४ लाख रुपैयाँमा विक्री हुने भएको छ । निगमले यो जहाज अमेरिकी कम्पनी एभिएसन सिस्टम इंकलाई विक्री गर्ने भएको छ । यो कम्पनीले आपसी सहमतिबाट १४ लाख अमेरिकी डलर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तवलाई निगम व्यवस्थापनले स्वीकृति दिएर सञ्चालक समितिसमक्ष पेश गरेको छ । संचालक समितिले आज शुक्रबार ३ बजेपछि बस्ने बैठकले यो कम्पनीलाई बोइङ दिने विषयको निर्णय गर्ने भएको छ । निगमले मागेको प्रस्तावमा आपसी समझदारीमा किन्न इन्छुक कम्पनीबाट प्रस्ताव आव्हान गरेको थियो । निगमले २ पटकसम्म न्युनतम १७ करोड रुपैयाँ मूल्यांकन गरेर जहाज विक्री गर्ने प्रस्ताव गर्दा पनि कुनै कम्पनी नआएपछि आपसी समभदारीको प्रक्रिया अगाडि बढेको हो । उक्त मूल्य राखेर सार्वजनिक प्रस्ताव माग गर्दा एउटापनि आवेदन नपरेको बोइङ किन्न आपसी छलपलबाट भने सात वटा कम्पनी इच्छुक भएका थिए । यी कम्पनीमध्ये सबै प्रक्रियाबाट बाहिरीने र सम्पर्कमै नआउने तथा जहाज नकिन्ने भन्दै पन्छिएपछि अमेरिकी कम्पनीले मात्रै आपसी छलफलमा भाग लिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार यो कम्पनीले गरेको प्रस्तावलाई निगमले बोर्डमा पेश गरेको छ । जहाज यो कम्पनीलाई दिने व नदिने निर्णय बोर्डबाटै हुने पनि उनको भनाइ छ । निगमले आपसी छलफलबाट जहाज विक्री गर्ने भनेपछ् ि१२ करोडदेखि १६ करोड रुपैयाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले आवेदन दिएका छन् । धेरै मूल्य कबोल गर्ने कम्पनी छलफलमै नआएकोले पनि मध्यमको प्रस्तावलाई नै आपसी छलपलमा ल्याएको निगमको भनाइ छ । निगमले दिएको जानकारी अनुसार आपसी छलफलबाट जहाज किन्न नेपाली पाँच कम्पनीसहित एक अमेरिकी र एक इजरायली कम्पनीले आवेदन दिएका थिए । जहाज किन्न बीबी एयरवेज र हिमालयन एभिएसन, टीबीआई ग्रुप नेपालको पनि इच्छा भएपनि यी कम्पनीले जहाज चाहिदैन भनेको पनि निगमको भनाइ छ । यसअघि मागिएको १७ करोड न्युनतमको मूल्य राखेर दिनुपर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा कुनै पनि कम्पनीले इच्छा देखाएनन् । निगमसँग भएको २ वटा वोइङमध्ये एउटा उडानमै रहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा एयरवसको जहाज छ । निगमले थप २ वटा एयरवसकै जहाज ल्याउने प्रक्रिया अगाडि सारिसकेको छ ।