होटल सोल्टी: जर्मनीसहित १ दर्जन सहरमा ब्रान्ड विस्तार, एकै वर्ष ८ पुरस्कार

काठमाडौं । सोल्टी होटलले गत वर्ष आम्दानी र नाफा दुवैमा उल्लेखनीय वृद्धि हासिल गरेको छ । लक्जरी र आतिथ्य सत्कारमा सोल्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सोल्टी होटलको स्थापना सन् १९६५ (विसं. २०२२) मा भएको थियो । होटलको औपचारिक सञ्चालन भने नोभेम्बर २५, १९६६ (वि.सं. २०२३) मा राजा महेन्द्र वीर विक्रम शाह देवले गरेका थिए । नेपालको पहिलो पाँच तारे होटलका रूपमा स्थापित सोल्टीले १०४ कोठाबाट सेवा सुरु गरेको थियाे । समयसँगै विस्तार गर्दै हाल २८२ भन्दा बढी कोठा रहेका छन् । १२ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको होटलले गत वर्ष विभिन्न प्रतिष्ठित पुरस्कार पाउन सफल भएको छ । साथै पाहुनाहरूको अनुभवलाई ध्यानमा राख्दै होटलले आफ्नो सेवा विस्तार र स्तरोन्नतिका धेरै परियोजनाहरू पनि अगाडि सारेको छ । तथ्याङ्कअनुसार सोल्टी होटलले गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ११.०३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।  अघिल्लो आर्थिक वर्ष ८८ करोड ४९ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ९८ करोड २६ लाख रुपैयाँ गरेको छ । साथै कम्पनीले अघिल्लो आर्थिक वर्षको ६० करोड रुपैयाँ खुद नाफा गरेकोमा गत वर्ष ६५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड १२ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ कुल खर्च गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ११.०९ प्रतिशत अर्थात् १९ करोड ३७ लाख रुपैयाँ बढी खर्च गरेको हो । चालु आर्थिक वर्ष २०८२/८३ को असोज १४ गतेसम्मको तथ्याङ्क अनुसार होटलले कूल ५२ करोड १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ५१ करोड ७९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यस अवधिमा रुम अकुपेन्सी दर ५२ प्रतिशत रहेको कम्पनीले जनाएको छ, जुन गत वर्षको सोही अवधिमा ६४ प्रतिशत थियो ।  औसत रूम रेट ९ हजार ८० रुपैयाँ र कोठा उपलब्धता प्रतिकोठा आम्दानी ४ हजार ७६८ रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ९ हजार ४९६ रुपैयाँ र ६ हजार ३२ रुपैयाँ थियो ।  एकै वर्ष पायो ८ वटा अवार्ड सोल्टीले गत आर्थिक वर्षमा आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पुरस्कार प्राप्त गरेको छ, जसले नेपालको होटल तथा पर्यटन उद्योग उत्कृष्ट रहेको प्रमाणित गरेको होटलले दाबी गरेको छ । नेपालको सभा तथा सम्मेलन गर्ने अग्रणी होटल तथा रिसोर्टका रुपमा सोल्टीले दक्षिण एशियाको प्रतिष्ठित दक्षिण एशियाली ट्राभल अवार्ड-२०२४ द्वारा लिडिङ मिटिङ एण्ड कन्फरेन्स होटल रिसोर्ट पुरस्कार प्राप्त गरेको छ । सन् २०१६ देखि दक्षिण एशियाली ट्राभलले यस क्षेत्रमा आतिथ्य तथा पर्यटन क्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने संस्थालाई अवार्ड वितरण गर्दै आएको छ ।  यस्तै, एसियाको उत्कृष्ट लक्जरी होटल, नेपालको उत्कृष्ट सिटी, सम्मेलन स्थल, पारिवारिक होटल तथा एसियाको उत्कृष्ट डेस्टिनेसन बेडिङ होटल लगायतका धेरै सम्मानबाट सन् २०२४ मा होटे ग्रान्ड्योर ग्लोबलले सम्मान गरेको थियो । सन् २०१४ मा संस्थापित होटे ग्रान्ड्योर ग्लोबल होटल पुरस्कारले स्वतन्त्र रुपमा विश्वभर होटल क्षेत्रमा असाधारण उपलब्धि र आतिथ्यता सम्बन्धी उद्योगमा पुर्याएका योगदानको सम्मान र कदर गर्न अवार्ड वितरण गर्दै आएको छ ।  यस्तै, बिजनेस, लेजर, ट्राभल एण्ड माइस उत्कृष्टता पुरस्कार प्राप्त गरेको छ । मोस्ट एक्सक्लुसिभ लेजर प्रोडक्ट फर माइस शीर्षकको प्रतिष्ठित पुरस्कार सोल्टीलाई प्रदान गरिएको थियो । १५ जनवरी २०२५ मा सम्पन्न एभरेष्ट टुरिजम अवार्ड-२०२५ मा होटल टुरिजम एक्सेलेन्स अवार्ड समेथ होटल सोल्टीले प्राप्त गरेको छ । उक्त पुरस्कारले होटलको सेवाको उत्कृष्टता, उच्चस्तरीय आतिथ्यताको अनुभव तथा नेपालको आतिथ्यता सम्बन्धी उद्योगको उन्नतीमा कम्पनीले गरेको योगदान स्वरूप प्रदान गरिएको हो ।  यस्तै, मानव संसाधन व्यवस्थापन नेपालले प्रदान गर्ने होटलतर्फ कपोरेट एक्सेलेन्स अवार्ड-२०२४, इभेन्ट एण्ड इन्टरटेन्मेन्ट म्यानेजमेन्ट एसोसिएसनले प्रदान गर्ने स्पटलाइट अवार्ड-२०२५ पनि सोल्टी पाएको छ । साथै इन्टरनेशनल सेन्टर फर रेस्पोन्सिबल टुरिजमले बिजनेस एण्ड लिजर ट्राभल मार्केट-२०२५ मा जलवायु परिवर्तन अनुकूलन श्रेणी अन्तर्गत वान टू वाचका रुपमा सम्मान प्रदान गरेको छ । सम्मानले होटलको दिगोपन, जलवायु लचिलोपन र वातावरणप्रति जिम्मेवार सञ्चालन अभ्यासहरू अंगीकार गर्ने होटलको रुपमा उजागर गरेको कम्पनीले जनाएको छ ।  श्रीलंकाको कोलम्बोमा सम्पन्न साउथ एशियन ट्राभल अवाडमा लिडिङ्ग कन्भेन्सन सेन्टर श्रेणीमा रजत पुरस्कार प्रदान पनि सोल्टीले पाएको छ । यस सम्मानले ठूला स्तरका सम्मेलन र संस्थागत रूपमा गरिने कार्यक्रम आयोजना गर्ने होटलको विशिष्ट क्षमता र सेवा, आतिथ्य, तथा सञ्चालन उत्कृष्टताको उच्च मापदण्ड कायम राख्न सक्ने दक्षतालाई प्रतिबिम्बित गरेको होटलले जनाएको छ ।  होटलले थप्दैछ संरचना  होटलको रणनीतिक लक्ष्य अनुरूप आफ्नो सेवालाई थप सुदृढ बनाउने उद्देश्यले होटलका विभिन्न संरचनालाई पुनः निर्माण गरिरहेको कार्यकारी अध्यक्ष दिनेश बहादुर विष्टले जनाए । उनका अनुसार होटलको हाल सञ्चालनमा रहेको सवारी पार्किङ सुविधाका अतिरिक्त, अत्याधुनिक अटोमेटेड पजल कार पार्किङ सिस्टम निर्माण तथा जडान गर्ने कार्य भइरहेको छ । उक्त अटोमेटेड पजल कार पार्किङ सिस्टमको क्षमता ११२ वटा सवारी साधन पार्क गर्न सकिने रहेको छ । यस परियोजनाले होटलको सवारी पार्किङ क्षमतामा ठूलो सुधार ल्याउने उनको दाबी छ ।  ‘अटोमेटेड पजल कार पार्किङ सिस्टम होटलको पूर्वाधारमा गरिएको एक रणनीतिक स्तरवृद्धि हो, जसको उद्देश्य अतिथि पाहुनाहरूको बदलिँदो आवश्यकता पूरा गर्नुका साथै ठूला समारोह, कार्यक्रम तथा सम्मेलनहरूलाई प्रभावकारी रुपमा सहयोग पुर्याउनु रहेको छ,’ विष्टले भने ।  साथै उनले पुरानो कर्पोरेट अफिस भवन भत्काई उपलब्ध स्थानलाई पनि अतिरिक्त सवारी पार्किङ क्षेत्रको रूपमा निर्माण गरिने बताए । जसले थप ६८ वटा सवारी साधनका लागि विस्तारित पार्किङ स्थान उपलब्ध गराउने दाबी छ ।  होटलले विशेष परियोजनाका भण्डारण सुविधा निर्माण गरेको छ । यस परियोजनामा सामग्री तथा उपकरणहरूको एकै स्थानमा भण्डारण गर्न सहज भएको होटलले जनाएको छ । साथै, यसअघि विभिन्न स्थानमा रहेका सामाग्री तथा उपकरणहरूले अत्यधिक ठाउँ ओगटेमा यो परियोजना पछि थोरै ठाउँमा व्यवस्थित रूपमा समेटेर भण्डारण गरिएको छ । होटलको प्रिन्सेप विङ भवनको स्तरोन्नति सहितको पुनर्निर्माण गर्ने कार्य अघि बढाइएको एउटा महत्वपूर्ण परियोजना रहेको छ । यस परियोजना अन्तर्गत, प्रिन्सेप विङ भवनको पहिलो तला बाहेक सबै अतिथि कक्ष पुनर्निर्माण गरिनेछ, जस अन्तर्गत कोठाहरूको आन्तरिक क्षेत्रफल वृद्धि गर्दै अन्तर्राष्ट्रिय लक्वरी डिलक्स स्तरको कोठाको पुन: निर्माण गरिने होटलले जनाएको छ ।  सोल्टीले काठमाडौं उपत्यका बाहिर ट्रेडमार्क तथा ब्रान्ड अन्र्तगत स्तरीय होटल सञ्चालन गर्ने व्यावसायिक रणनीतिक निर्णय गरेको छ । सोही बमोजिम कम्पनीको पूर्ण स्वामित्व रहेको सोल्टी हस्पिटालिटी लिमिटेड नामको सहायक कम्पनी स्थापना गरेको । उक्त कम्पनीमा होटलले २५ करोड रुपैयाँ लगानी गरेको छ । यसका साथै होटलले सोल्टी हस्पिटालिटीलाई कुल १ करोड २६ लाख ४० हजार रूपैयाँ थप सेयर पुँजीमा लगानी स्वरूप अग्रिम पुँजी निवेशको लागि भुक्तानी गरिसकेको जनाएको छ ।  हिमाल इन्टरनेशनल पावर कर्प  होटलले हिमाल इन्टरनेशनल पावर कर्प प्रालिमार्फत भोटेकोशी पावर कम्पनी प्रालिमा लगानी गरेको छ । होटलको हिमाल इन्टरनेशनल पावरको सेयर पुँजीमा ५.९७ प्रतिशत सेयर स्वामित्व छ । हिमाल इन्टरनेशनल पावरले अपर भोटेकोशी जलविद्युत् आयोजनाको स्वामित्व र सञ्चालन गर्दै आएको छ । हिमाल इन्टरनेशनलका अनुसार अपर भोटेकोशी जलविद्युत आयोजना निरन्तर रुपमा सञ्चालनमा रही राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको छ । विसं २०८२ असारसम्म  हिमाल इन्टरनेशनल पावर कर्प प्रालिले प्रतिसेयर ८६ रुपैयाँका दरले लाभांश वितरण गरेको थियो । सो आधारमा कम्पनीले ८५ लाख ८१ हजार ९७४ रुपैयाँ प्राप्त गरेको जनाएको छ । स्वदेश तथा विदेशमा ब्रान्ड विस्तार सहायक कम्पनी सोल्टी हस्पिटालिटीमार्फत स्थानीय प्रवर्द्धकहरुसँगको साझेदारीमा संस्थापित संयुक्त निवेशको कम्पनी स्ट्रीम पीक इन्टरनेशनल प्रालिमा लगानी गरेको छ । उक्त कम्पनीले स्वदेश तथा विदेशमा तारे होटल व्यवस्थापन र सञ्चालन गरिरहेको छ । स्ट्रीम पीक इन्टरनेशनले सहायक कम्पनी सोल्टी हस्पिटालिटीको स्वामित्वमा रहेका ट्रेडमार्क तथा ब्राण्डहरू ट्रेडमार्क लाइसेन्स सम्झौता बमोजिम ब्रान्ड, ट्रेडमार्क, तथा व्यापारिक नाम प्रयोग गरी विभिन्न लक्जरी तथा तारे होटलको व्यवस्थापन तथा सञ्चालन गरीरहेको छ ।  स्ट्रीम पीक इन्टरनेशनले नेपालको विभिन्न प्रमुख शहरहरूमा अवस्थित होटलको विविध ब्रान्ड, ट्रेडमार्क, तथा व्यापारिक नाममा व्यवस्थापन तथा सञ्चालन गरिरहेको छ । जसअनुसार लुम्बिनी प्रदेशको नेपालगञ्जमा पाँचतारे सोल्टी वेस्टेण्ड प्रिमियर र टाइगर प्यालेस बाई सोल्टी रूपन्देही, कोशी प्रदेशको इटहरीमा सोल्टी वेस्टेण्ड इटहरी, बागमती प्रदेशको भरतपुर चितवनमा सोल्टी वेस्टेण्ड रिसोर्ट र भक्तपुरमा सोल्टी वेस्टेण्ड रिसोर्ट नगरकोट, गण्डकी प्रदेश पोखरामा सोल्टी वेस्टेण्ड लेकसाइड र गोरखाको मनकामनामा सोल्टी बेस्टेण्ड रिसोट्र्स मनकामना, मधेश प्रदेशको वीरगञ्जमा सोल्टी वेस्टेण्ड रिसोट्र्स र जनकपुरमा मिथिला यात्री निवास व्यवस्थापन तथा सञ्चालन भइरहेको कार्यकारी अध्यक्ष विष्टले जानकारी दिए ।  दीर्घकालीन व्यावसायिक विस्तार रणनीतिक विकासको लक्ष्य अनुरूप सोल्टी होटल्स एण्ड रिसोर्टले स्ट्रीम पीक इन्टरनेशनल मार्फत दक्षिण एशियादेखि युरोपसम्म होटल व्यवस्थापन तथा सञ्चालन विस्तार गर्दै अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको छ । यसबाट कम्पनीको अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवस्थापन विस्तार गर्ने पर्यटनमा यो एउटा महत्वपूर्ण उपलब्धि तथा कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको उनको भनाइ छ । होटल व्यवस्थापनमा अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने क्रममा स्ट्रीम पीक इन्टरनेशनले जर्मनीको फ्राइफर्ट शहरमा सोल्टी होटल्स एण्ड रिसोर्ट ब्रान्ड तथा ट्रेडमार्क अन्तर्गत २ वटा व्यवसायीक होटल सोल्टी बेस्टेण्ड मेसी फ्राइफर्ट र सोल्टी होटल फ्राइफर्ट मेसीको पनि व्यवस्थापन गरिरहेको छ । स्ट्रीम पीक इन्टरनेशनले रणनीतिक होटल व्यवस्थापन सम्झौतामार्फत नेपाल तथा अन्तर्राष्ट्रिय पर्यटन बजारहरूमा लक्जरी होटलको विस्तार गर्दै होटलहरू व्यवस्थापन तथा सञ्चालन गरिरहेको छ । दिगोपनको लागि होटलको प्रयास  सोल्टीको दिगोपनप्रतिको प्रतिबद्धता केवल नियमहरूको पालनामा मात्र सीमित छैन । स्थानीय समुदाय र पर्यावरणीय प्रणाली दुवैमा सकारात्मक प्रभाव सिर्जना गरी होटलले वातावरणीय संरक्षणप्रति अडिग प्रतिबद्ध भई कार्य गरिरहेको कार्यकारी अध्यक्ष विष्टले बताए । लक्जरी आतिथ्य सेवा प्रकृतिसँगको मेलमिलापमा नै अवस्थित हुन्छ भन्ने होटलको विश्वास रहेको उनको भनाइ छ ।  ‘होटलले आफ्नो पारिस्थितिक प्रभाव (एकोलोजीकल पदचिन्ह) न्यूनीकरण गर्दै अतिथिहरूको बसाई अनुभवलाई समग्र रुपमा सुधार गर्ने लक्षित व्यापक पहलहरु कार्यान्वयन गरेको छ । जसले वातावरण संरक्षण र सेवा प्रदान गरिने समुदायहरूको भलाइका लागि अर्थपूर्ण योगदानको सुनिश्चित गर्ने गरी होटलको सञ्चालनका सबै पक्षमा दिगोपनका अभ्यासहरु समाहित गरिएका छन्,’ उनले भने ।  दिगोपनका लागि गरिने प्रमुख पहलमा नवीकरणीय ऊर्जामा होटलले महत्वपूर्ण लगानी समावेश गरेको छ, ५०६ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणालीको स्थापना । जसले जीवाष्म इन्धनमा निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्न योगदान पुर्याउने उनले बताए । यस्तै, पानीको कुशल व्यवस्थापन, फोहर घटाउने प्रयास र वातावरणीय सचेतना प्रवर्द्धन गर्न लक्षित समुदायको संलग्नता कार्यक्रम पनि रहेको उनको भनाइ छ ।  दिगो सौर्य प्यानल उर्जा होटलले दिगो लक्जरी आतिथ्य प्रतिको प्रतिबद्धता जनाउँदै सौर्य ऊर्जा कम्पनी घाम पावरसँगको सहकार्यमा ५०६ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गरेको छ । यस सौर्य ऊर्जा पहलले उपलब्ध छाना र पार्किङ क्षेत्रको प्रयोग गरी नवीकरणीय ऊर्जा संकलन गर्नेछ । जसले आगामी १४ वर्षसम्म बिजुलीको उपभोगलाई घटाउने अपेक्षा गरिएको होटलले जनाएको छ । साथै उक्त परियोजनाले करिब ९९५ टन कार्बन उत्सर्जन कम गर्ने अनुमान रहेको विष्टको भनाइ छ । जसले कम्पनीको सफा र दिगो भविष्य प्रवर्द्धन गर्ने लक्ष्यमा उल्लेखनीय प्रगति सुनिश्चित गर्नेछ । वातावरणीय लाभ बाहेक, कम्पनीले बिजुली लागतमा करिब २५ प्रतिशत कटौती गर्ने अपेक्षा राखेको छ ।  पानी बोटलिङ प्लाण्ट होटलको अत्याधुनिक खानेपानी बोटलिङ प्लान्ट पनि सञ्चालन गरिरहेको छ । सम्बन्धित स्थानमा नै पानी शुद्ध पारेर बोटलिङ गर्ने प्रक्रियाले वातावरणीय प्रदूषण रोक्नमा महत्त्वपूर्ण योगदान पुर्याउन प्लास्टिक बोटलमा होटलको निर्भरता हटाएको छ । यस पहलले पाँचतारे स्तरको होटलहरुबाट पानीको प्लास्टिक बोटल हटाउने सरकारी नीतिलाई पूर्ण रुपमा कार्यान्वयनमा आएको होटलले जनाएको छ । साथै बोटलमा पानी ढुवानी गर्दा हुने कार्बन पद चिन्ह कम गर्नुका साथै अतिथिहरूलाई होटल परिसर भित्रै सजिलै उपलब्ध ताजा र शुद्ध पानीको पहुँच सुनिश्चित गरेको जनाएको छ ।  प्रयोग गरिने ग्लास बोटलहरु प्राकृतिक सामग्रीबाट निर्माण गरिएका छन् र बिपीए वा फ्थालेट जस्ता हानिकारक रासायनिक पदार्थहरूबाट मुक्त छन्, जसले मानव स्वास्थ्य र वातावरण दुवैमा जोखिम घटाउँछ । होटलको आफ्नै पानी बोटलिङ प्लाण्टबाट बोटलमा पानी उत्पादन गरेबाट होटलले प्लास्टिक फोहोर न्यूनीकरणमा महत्वपूर्ण प्रगति गरेको छ र समग्र अतिथि अनुभवलाई समेत सुधार गर्न सहयोग पुगेको होटलले जनाएको छ ।  हाउसकिपिङमा दिगो अभ्यास  होटलको हाउसकीपिङ्ग विभागले फोहोर घटाउने र महत्वपूर्ण स्रोत संरक्षणमा केन्द्रित विविध नवप्रवर्तनशील दिगोपन अभ्यासहरु लागू गरेको छ । बल्क डिस्पेन्सर बोटलहरुको व्यवस्थाले प्लास्टिक फोहोरलाई उल्लेखनीय रुपमा घटाएको छ । साथै व्यक्तिगत साबुनको सट्टा डिस्पेन्सरको प्रयोगले स्रोतहरुको अधिक कुशल उपयोग सुनिश्चित गरेको होटलले जनाएको छ । होटलका लिनेन पुनः प्रयोग कार्यक्रमले अतिथिहरूलाई आफ्नो लिनेन र टॉवलहरु एक दिन भन्दा बढी प्रयोग गर्न उप्रेरित गर्दछ, जसले दैनिक लाखौं ग्यालन पानी बचत गर्न र ग्रेवाटर उत्पादन घटाउन मद्दत गर्छ ।  मिटिङ र कार्यक्रममा जग र काराफमा पानी उपलब्ध गराउनका लागि पानी रिफिल स्टेशनहरुको व्यवस्था गरिएको छ, जसले एकपटक प्रयोग हुने बोटलको निर्भरतालाई कम गरेको छ । यसले होटलको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाएको छ । यी दिगोपन अभ्यासका पहलहरुले वातावरणीय क्षेत्रमा सकारात्मक योगदान पुयाउने मात्र नभइ सञ्चालन दक्षता र अतिथिको सन्तुष्टिलाई पनि सुधार गरेको होटलले जनाएको छ । फोहोर व्यवस्थापन होटलले स्रोतमा फोहोर छुट्याउने प्रणालीमा आधारित व्यापक फोहोर व्यवस्थापन कार्यक्रम सुरू गरेको छ । यो व्यवस्थाले फोहोरको प्रकार र मात्रा सही तरिकाले छुट्याउन सहज बनाई फोहोर उत्पादनलाई कम गर्ने लक्षित प्रयासहरुलाई सहयोग पुर्याएको छ । खानाको फोहोर घटाउनु र एकपटक प्रयोग हुने प्लास्टिक माथिको निर्भरतालाई कम गर्नु यसका मुख्य प्राथमिकताहरु रहेका छन् । ‘यी लक्ष्यहरु प्राप्त गर्न स्थलमै कम्पोस्टिङ सुविधा स्थापना गर्ने योजना अघि बढाइएको छ । यस प्लान्टले खाना फोहोर, बगैंचाको फोहोर र कागज जस्ता कम्पोस्ट योग्य सामग्रीलाई सुधार गरी होटलको बगैचा र ग्रीनहाउसमा प्रयोगका लागि जैविक, रासायन रहित मल उत्पादन गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘यो पहल फोहोरलाई मूल्यवान स्रोतमा परिणत गरेर दिगोपनलाई बढाउने क्लोज्ड लूप दृष्टिकोणको एक उदाहरण हो । यी उपायहरुका माध्यमबाट होटलले आफ्नो वातावरणीय पदचिन्हलाई घटाउने, सञ्चालन दक्षता सुधार्ने र दिगो अभ्यासप्रति निरन्तर प्रतिवद्धता सुदृढ गर्ने लक्ष्य राखेको छ ।’ विद्युतीय सवारी साधन र चार्जिङ स्टेशन  पाहुनाहरूलाई विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले होटल परिसरमा विद्युतीय सवारी साधन चार्जिङ्ग स्टेशन स्थापना गरेको छ । यो पहलले परम्परागत पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधनबाट विद्युतीय विकल्पमा रुपान्तरणलाई सहयोग गर्ने तथा हरितगृह ग्यास उत्सर्जनमा उल्लेखनीय रूपमा कमी ल्याउनको लागि पनि योगदान पुर्याउँने होटलले जनाएको छ । विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय सवारी साधन चार्जिङ्ग सुविधा उपलब्ध गराएर, होटलले अतिथि पाहुनाहरूलाई आफ्नो बसाई अवधिमा वातावरण सचेत यातायात विकल्प अपनाउन सशक्त बनाएर सुविधा र दिगोपन दुवैमा वृद्धि गर्नेछ ।  स्थानीय उत्पादन बिक्रेतालाई सहयोग  होटलका सेवा तथा उत्पादनहरुमा नेपालमा उत्पादित तथा निर्मित उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सक्रिय रुपमा स्थानीय बिक्रेताबाट होटलमा खपत हुने सामग्रीहरूको खरिदलाई प्राथमिकता दिएको छ । उच्च गुणस्तरका मापदण्डहरुको पालनालाई सुनिश्चित गरी समुदाय भित्रको सिल्पकला र व्यवसायहरुलाई सहयोग गरेर स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने तर्फ उन्मुख रहेको होटलले जनाएको छ । स्थानीय निर्मित बस्तुको खरिदलाई जोड दिँदै होटलले लामो दूरीको ढुवानीसँग सम्बन्धित वातावरणीय प्रभावलाई घटाई सामुदायिक विकासमा व्यापक योगदान पुर्याउँदै आएको छ । दिगोपनका लागि माथि उल्लेखित व्यापक पहलहरुको माध्यमबाट दी सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन होटल्सले लक्जरी आतिथ्यका लागि वातावरणीय संरक्षणसँग सुसंगत रुपमा सहअस्तित्व कायम राख्न सक्ने सम्बन्धमा आत्मसात गरेको छ । यस क्षेत्रमा भएको होटलको निरन्तर प्रतिबद्धताको उद्देश्य आतिथ्य उद्योगलाई व्यापकरूपमा प्रेरित गर्नु मात्र नभई समुदाय र वातावरण दुवैका लागि हरित र दिगो स्वच्छ भविष्यका लागि सक्रिय योगदान पुर्याउनु पनि रहेको छ । 

अमेरिका : त्यसैले त सपनाको देश !

सन् २०१९ को अन्त्यतिर विश्वव्यापी महामारीको रूपमा कोभिड–१९ फैलियो । जसले गर्दा २०२० को जुनमा अमेरिका उड्ने मेरो योजना स्थगित भयो । सन् २०२१ मा उक्त कार्यक्रम भर्चुअल सहभागितामै सकियो । तर, विस्तारै कोभिड महामारी नियन्त्रणमा आयो अनि त्यो अवसर मेरो सामुन्ने फेरि आइपुग्यो । अन्ततः मैले सन् २०२२ को नोभेम्बरमा अमेरिकाको राजधानी वासिङ्टनडीसी ओर्लिने शौभाग्य पाएँ ।  सपना देख्ने धेरैका आँखामा बसेको मुलुक मानिन्छ अमेरिका । संसारभरका मानिसहरूका लागि एकपल्ट पुग्नै पर्ने सपनाको देश लाग्छ । त्यहाँ त्यस्तो के होला त ? यो प्रश्न मेरो मनमा पनि थियो । म करिब ५ साताको यात्रामा अमेरिकी सरकारको निम्तोमा त्यता निस्किएको थिएँ । कौतुहल नयनका साथ मैले अमेरिकी माटोमा पाइला टेकेको थिएँ ।  विश्वभरका युवाहरुका लागि सञ्चालित ‘इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्राम’ ले यस्तो अवसर जुराइदिएको थियो । झण्डै ८५ वर्षदेखि नियमित रूपमा सञ्चालित यो कार्यक्रममा विभिन्न पेशा र क्षेत्रका युवाहरूलाई विश्वभरबाट सामेल गरिन्छ । यो कार्यक्रममा अमेरिकाको ऐतिहासिक पृष्ठभूमि, विकास र सभ्यता बारे बुझाउने गरिन्छ । यसका साथै विभिन्न राज्यहरूको भ्रमण गराउँदै विषयगत ज्ञान र सीप आदानप्रदान गरिन्छ।  म सहभागी कार्यक्रम ‘मिथ्या सूचनाको युगमा मिडियाको जिम्मेवारी’का विषयमा केन्द्रित थियो । यसमा १३ देशबाट १८ जना पत्रकारहरू सहभागी थियौं । कोभिड टेस्टको लय सँगै आईभीएलपीको ज्ञानयात्रा पूरा भएको थियो । तीन सातामा विभिन्न राज्यका ऐतिहासिक स्थलहरुको अवलोकनसँगै विषयगत छलफलहरुमा सरिक हुने मौका मिल्यो । अमेरिकाको स्टेट डिपार्टमेन्ट, जर्ज वासिङ्टन युनिभर्सिटी, इन्भेष्टिगेटिभ जर्नालिष्टहरुको इन्टरनेशनल कन्सोर्टिएम, पार्लियामेन्ट, जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन लगायत संस्था र प्रख्यात वरिष्ठ पत्रकारहरु सँग अन्तर्क्रियाको मौका जुर्यो । यसक्रममा ५० वर्ष पत्रकारितामा बिताएका वरिष्ठ प्रशिक्षक अल टम्किन्ससँग भ्रामक सूचनाबाट बच्न पत्रकारले अपनाउनु पर्ने सावधानीका बारेमा गज्जबको सम्बाद गर्न पाइयो । विश्वप्रख्यात पोइन्टर इन्स्टिीच्युट अफ मेडिया स्टडिजमा उहाँसँग फ्लोरिडाको सेन्ट पिटसबर्गमा यस्तो मौका मिल्यो । समग्रमा आईभीएलपीमा सहभागी पेशागत ज्ञान आर्जनका लागि महत्त्वपूर्ण सिकाइका रूपमा रह्यो ।  टाइमजोन फरक हुने भएकाले ट्रान्जिट समेत झण्डै २४ घण्टाको हवाइ यात्राका क्रममा बाटोभरि अँध्यारो मात्रै पर्नेरहेछ । वबहानपख ओर्लदा डिसी चम्किलो उज्यालोमा आफ्नै गतिमा दौडिरहेको थियो । जहाजले जमिन तिरको उचाइँ घटाउँदै जाँदा वासिङ्टन डुलस इन्टरनेशनल एअरपोर्टबाट अमेरिकाको पहिलो दर्शनमा आसपासको दृष्य हरियाली सहितको योजनाबद्ध भौतिक पूर्वाधार सुसज्जित देखियो । सँगै पढेका साथीभाइ र आफन्तको भरले म कार्यक्रम सुरु हुनु भन्दा झण्डै १० दिन पहिले पुगेको थिएँ भने फर्किँदा पनि करिब एक साता बढ्ता लम्ब्याएको थिएँ । कार्यक्रमका दौरान ४ वटा राज्य घुम्ने मौका मिल्यो भने साथीभाइका कारणले ५ वटा थप राज्य घुम्ने मौका पाएँ । खासगरी अमेरिकाका प्रमुख एक दर्जन जति शहर घुम्ने अवकरिब एक महिना बढीको अमेरिका बसाइँका क्रममा मिल्यो ।  अलिकति उत्साह, अलिकति अंग्रेजी भाषाको डर अनि अलिकति केही देख्ने सिक्ने रहर बोकेर म अमेरिका पुगेको थिएँ । कतार एअरको सयौं यात्रु बोक्ने बडेमानको वोइङ जहाजमा दोहा हुँदै मेरो रुट थियो । संयोगले तीन सिटे लहरमा म मात्र यात्रु थिएँ । जसका कारण आकाशमा मज्जाले सुतेर यात्रा गर्ने सौभाग्य मिल्यो । यात्राको थकान, निद र बेलाबेला जहाजको टर्बुलेन्सका कारण मन डराइरहेका बेला कतार एअरका परिचारिकाहरू ‘एक्सक्युजअस’ भन्दै खानपिनको सेवा दिइरहन्थे । उनीहरुको ‘हस्पिटालीटी’ तारिफयोग्य लाग्यो ।  जहाजबाट झर्ने वित्तिकै ‘वाइफाइ कनेक्ट’ गर्न हतारो भयो । दोहाबाट डीसीको झण्डै १४ घण्टाको फ्लाइट थियो । मेरो जिवनको यो पहिलो लामो हवाइ यात्रा पनि थियो । सञ्चार सम्पर्क लामो समयसम्म नहुँदा मन अलि आत्तिने रहेछ । वाइफाइ जोडिने वित्तिकै सहपाठी साथी निदेश अधिकारीसँग कुरा भयो । अर्को साथी बाबुराम खरेलसँग कुरा भयो । दुवैजना मलाई ‘रिसिभ’ गर्न एअरपोर्ट बाहिर पर्खिरहेका थिए । इमिग्रेसनको औपचारिकता पूरा गरेर लगेज बुझेर अमेरिकाको खुला आकाश तर्फ अघि बढें । निदेशसँग बाबुनानी पनि सँगै थिए । बेलुन र बुकी सहित साथीहरुबाट स्वागत पाइयो ।  एअरपोर्टदेखि नजिकैको भर्जिनियाँस्थित मनासससम्मका लागि हामी गाडीमा चढ्यौं । अमेरिकी भूगोल स्पर्श सहितको पहिलो नजारामा सिनेमाको रीलझैं लाग्ने दृष्य देखिए । भौतिक विकास र मानव जीवनशैली अचम्म लाग्दो गरी समान गतिमा कुदेको अनुभव भयो ।  जहाँ जाउँ उस्तै । जे सोच्यो त्यही पुगे जस्तो । हरेक व्यक्तिसँग निजी कार सामान्य छ । असाध्यै पूराना र ठूला शहरमा बाहेक अन्यत्र त निजी कार हुनु अनिवार्यजस्तै छ । नत्र त दैनिकी चल्नै मुश्किल हुने रहेछ । उपभोग्य सामान किन्न होस् कि काम गर्न होस् टाढै पुग्नु सामान्य हो ।  वासिङटन डिसी, न्युयोर्क, बाल्टिमोर, फिलाडेल्फिया, पेन्सिलभेनिया, एटलान्टा, डालस, ह्युस्टन, लसएन्जल्स, सेन्ट पिटसवर्ग, टेम्पा लगायत शहर घुम्ने मौका मिल्यो । अमेरिकामा आधुनिकता र मौलिकताको अद्भुत संयोजन देखियो । आदिवासी संरचना र अत्याधुनिक विकास एकै ठाउँमा अवस्थित देख्दा आश्चर्यचकित भएँ । सफा बाटो, खुला सोच, व्यवस्थित सिस्टम, स्मार्ट पार्किङ, वृृद्धहरूप्रतिको व्यवहार, रिटायर्ड नागरिकहरुले दिने होम हस्पिटालिटी– यी सबैले अमेरिका के हो भन्ने बुझाउने अवसर दियो ।  हर्सी चकलेट, कोकाकोला जस्ता चर्चित ब्राण्डका उद्योग भिजिट गर्न पाइयो । उनीहरुले उत्पादन र उद्योगलाई पर्यटसँग गज्जबले जोडेका छन् । हामीकहाँ जस्तो सुरक्षागार्ड उभिएका बडेमानका बन्द गेट त्यहाँ हुँदा रहेनछन् । पूराना संरचनाहरुको संरक्षण, जातीय पहिचानको निरन्तरतामा आधुनिक अमेरिकाले उसै गरी टेको दिइरहेको रहेछ । आदिवासी रैथाने वस्तीमा अहिले पनि उही सभ्यता बाँकी छ, पयर्टन स्थलका रुपमा मानिस पुग्दा रहेछन् ।  बसाइँका क्रममा केही प्रतिनिधिमुलक नेपाली समुदायसँग भेट भयो । उनीहरुको समग्र प्रगति गौरव गर्न लायक देखेँ । नेपाली समुदायभित्रको एकता, सहयोगभाव, सफलता र संस्कारको समिश्रण देख्दा मन आनन्दित भयो । पत्रकारिता पढ्दाका कलेजका साथी निदेश अधिकारीले भर्जिनियामा गज्जवले व्यवसाय गरेका छन् । त्यहीँ बाबुराम खरेलले सूचनाप्रविधिमा विशेषज्ञ सेवा दिन्छन् । बाल्टिमोरमा चर्चित गायक प्रेमराजा महतको रेष्टुरेन्टमा नेपाली स्वादमा रमाउन पाइयो । काठमाडौं छिर्ने वित्तिकै मैले पहिलो पल्ट काम सुरु गरेको जन्मभूमि साप्ताहिकका सहसम्पादक तरुण पौडेलसँग झण्डै २ दशक पछि त्यहीँ भेट भयो । व्यवसायसँगै उनको सामाजिक छवि पनि अनुभूत गर्न पाइयो । संयोगले बाल्टिमोरमै रहेकी माता देवीसँग आत्मीय भेट भयो । पेन्सिल्भेनियाको ल्यानकाष्टरमा बसेर सहपाठी विष्णुहरी घिमिरे पत्रकारितामै रमाएको भेटिए ।  न्यूयोर्कको यात्रा भने अलि हतारोको रह्यो । लक्ष्मीपूजाको दिन थियो । टुर गाइडझैं खटिएर साथी बालकृष्ण बस्नेतले न्युयोर्कका करिब देख्नै पर्ने स्थानमा एकै दिनमा शहर घुमाइ दिएका थिए । फटाफट समय मिलाउने उनको कौशल गज्जव थियो । टेक्ससको डालसमा संस्थागत रुपमा स्वागत गर्ने नेपाल अमेरिका पत्रकार संघ र त्यसका अगुवा विकास न्यौपाने, सुरज भण्डारी, ओम आचार्य लगायत पत्रकारहरुको आत्मियता स्मरणीय रह्यो । यहीँ सिनियर पत्रकार रामचन्द्र भट्ट, संजय घिमिरे लगायतसँग भलाकुसारीको मौका मिल्यो । सहपाठी भोला आचार्यले ठाउँ सरेका र विनय देवकोटा नेपाल फर्केकाले त्यहाँ भेट जुरेन ।  लसएन्जल्समा काठमाडौं पढ्दाताका रुम पार्टनर कृष्ण आचार्यको विजनेसको साक्षी हुन पाइयो । उनी पहिल्यैदेखि व्यापारमा रमाउँथे । उता पुगेर पनि मनग्गे व्यवसाय गरिरहेका रहेछन् । यसरी जहाँजहाँ पुगियो साथीहरुको आत्मिय समय पाइयो । मज्जाले घुमियो अनि कहिल्यै भुल्न नसकिने मेजमानी खाइयो ।  काठमाडौं आउँदा सुरुमा हामी बाहिरकालाई स्टोभ बाल्ने सलाई किन्ने पैसा नहुँदा समेत भोकै पर्नु पर्ने अवस्था थियो । सात समुन्द्र पारीको अमेरिकामा पनि सुरुसुरुमा पुग्ने नेपालीहरुलाई आफन्त, साथीभाईको अभाव खट्कियो होला । तर, अब त जता जाउँ नेपाली नपुगेको ठाउँ छैन । चाडवाडमा भव्य उत्सब हुने रहेछ । भर्जिनियाको मनाससमा तिहार मिलन कार्यक्रममा हल खचाखच थियो । नेपाली गीतमा अमेरिकामा हुर्किरहेका बालबालिका समेत मौलिक पहिरनमा नृत्य गरिरहेका थिए । नेपाली परिकार पाकेको थियो । अमेरिकामा नेपालीहरुको संख्या तीन लाख बढी पुगेको अनुमान छ ।  हाम्रै साथी सर्कलले पनि उधुम उन्नती गरेको पाउँदा मन आनन्दित भयो । उनीहरुले गज्जवले अमेरिकीलाई पनि रोजगारी दिएका छन् । उनीहरुको व्यापार कौशलले प्रगति चुलिदै गएको देखियो । आहा..., गुगलम ‘सर्च’ गर्दा नेपाली भाषा, नेपाली खाना, नेपाली सिनेमा, नेपाली पसल सबै आसपास पाइन्छ ।  यस्ता अनेक कारणले यो यात्रा केवल पेशागत ज्ञानको अभिवृद्धि मात्र भएन, जीवनकै स्मरणीय सिकाइ भयो । एक दर्जन बढी देश पुगें, तर वास्तवमा यात्रा त आफैलाई बुझ्ने हुने रहेछ । भुगोल चहार्नु भनेको आफु जन्मेको देश, आफुले भोगेको भुगोल, संस्कृति र समुदायका सपना र बास्तविकता अनि बाहिरको मानिसका बास्तविकता र सपनाबीचको निकटता र दूरी कल्पिनु रैछ । यात्रा सकिएको तीन वर्ष हुन लाग्यो तर अनुभूतिहरू अझै ताजै छन् ।  यसपाली फेरी अर्को सन्दर्भमा त्यही अमेरिकाका केही शहर र छिमेकको क्यानडा समेत विचरण गर्ने मौका जुर्यो । उस्तै अनुभूति र कौतुहलता सहित फर्किएँ । यसपालीको यात्रा सुरु हुने वित्तिकै यता नेपालमा युवाहरुको मनमा आगो सल्कियो । त्यो आगोले हाम्रो इतिहास र सम्पदा पनि जलायो । यी चित्रहरुले न यात्रा फलदायी बनाउन सकियो न उमङ्गमय रह्यो । फगत आफन्त र परिवारको सम्झना र देशको चिन्ताले गाँज्यो । मुलतः सोसल प्लेटफर्मका लागि सडकमा निस्केका भाइबहिनीहरुमाथि सरकारी दमनले ठूलो क्षति र प्रतिकार निम्त्यायो । राज्य विहिनताको स्थितिमा देश पुगेपछि उता विदेशमा त्यही सोसल प्लेटफर्मबाट आउने विभिन्न भ्रामक र कतिपय सहि सूचनाले नै मन अत्यासलाग्दो बनाइ दिदो रहेछ ।  मेरो पुस्ताको नियती नै कस्तो परेछ, यो पुस्ता आन्दोलनकै बीचमा जन्मियो । आन्दोलनकै बीचमा हुर्कियो । आन्दोलनकै बीचमा यसले पढ्यो । आन्दोलनकै बीचमा कर्ममा छ । अनि आन्दोलनकै बीच  जीवन जाला जस्तो छ । आफ्नो माटोमा अन्यौलको बादल मडारिँदा मनले आफ्नो भूगोल र आफुले चहारेको भूगोलको अवस्था र नियती बीचको हिसाब खोज्दो रहेछ । अनि मनमा एउटा ठूलो प्रश्न खडा गरिदिँदो रहेछ, हाम्रा पुर्खा ढिलो जन्मिए कि उनीहरु संसारको गति मिलाउन नसक्ने गरी निकै ढिलो हिँडे ? यो एउटा फुच्चे प्रश्नले पनि मनमा विशाल आक्रोश र निराशाको पहाड खडा गरिदिँदो रहेछ ।  कहाँको समृद्धिको शिखर चढेको अमेरिका र उनीहरुको जनजीवन ? अनि कहाँ ‘अमेरिकी साम्राज्यबाद मुर्दाबाद’को नारा सुन्दै हुर्केको हाम्रो पुस्ताको जीवन । हाम्रो राजनीतिक पछौटेपनलाई सराप्न मन लाग्ने रहेछ यस्तो देख्दा । कहाँ प्रतिव्यक्ति वार्षिक आय झण्डै एक हजार ५ सय डलर भएका हामी र कहाँ प्रतिव्यक्ति आय झण्डै ७५ हजार डलर पुर्याएका अमेरिकी । समृद्धि र उन्नतीले पो शक्तिशाली बन्ने रहेछ देश । नारा मात्र लाएर देश समृद्ध र नेपाली सुखी हुने भए त जति ‘लालसलाम’ ठोके पनि पीर के को थ्यो र !  शहर, समाज, भूगोल, पूरै देश नै सिनेमाको रिल जस्तो लाग्छ । मस्त छ अनि पूरा होश हवासको लयमा छ । खोट लाउने कहिँकेहि ठाउँ बाँकी छैन जस्तो । सडकमा मानिस देखिदैनन् । कि आकाशमा उडेका छन् । कि गाडीमा गुडेका छन् । जमीन मुनी पनि ट्रेनका रुट छन् । मान्छे पार्कतिर, ठूला मल तिर वा रेष्टुराँ तिर देखिएलान् । ती पनि आफ्नो काममा व्यस्त । फुर्सदिलो र बेकामे मानिस त कतै नजर पर्दैनन् ।  सडकका ठाउँ ठाउँमा हल्का यू सेफमा चेन क्याफे, रेस्टुराँ छन् । गाडीबाट नओर्लिकनै आफुले चाहेको कफी, खानेकुरा अर्डर गर्न सकिन्छ । अनि पैसा तिरेर अर्को झ्यालमा रिसिभ गर्न सकिन्छ । ‘ड्राइभ थ्रु’ भनिने यस्तो सेवा लिन गाडीबाट ओर्लने झन्झट नै हुदैन । जता जाउ उस्तै बाटो छ । चिल्लो, सफा, चौडा, कैयौं लेनका । ट्राफिक सिग्नल व्यवस्थित छन् । ट्राफिक प्रहरी कतै देखिदैनन् । सब कुरा सिस्टममा छ । सामान्य मजदुरी गर्ने सँग पनि कार छ । नेपालमा जस्तो घरै पिच्छे पसल र टोलै पिच्छे बजार हुदैनन् । त्यसैले कार भएन भने दैनिकी नै रोकिने जस्तो पनि हुने रहेछ । हामी कहाँ जस्तो नुन सकिए तत्कालै किन्न जाने जस्तो सहज पनि त्यहाँ छैन । मज्जाले केहि दिनलाई पुग्ने गरी दैनिक उपभोग्य वस्तु खरिद गरेर राख्ने चलन हुनेरहेछ ।  हरचिजका लागि बैंक र संस्थाहरुले क्रेडिट सुविधा दिएका छन् । कमाएर तिर्न सक्नु पर्यो, लोनको सकस छैन । मानिसहरु कि जहाजमा कि आफ्नै कारमा बढि रमाउने रहेछन् । सार्वजनिक यातायातका साधन निकै व्यवस्थित र भरपर्दा भए पनि आफुसँग सुविधा हुनेहरुको रोजाईमा खासै पर्ने देखिएन । अपाङ्गता भएकाहरुका लागि ध्यान नदिएको पूर्वाधार देखिदैन । बाटो, घर, शौचालय, पार्क, सपिङमल, शैक्षिक संस्था जहाँ पनि पूरापूर ध्यान दिइएको अनुभुत हुन्छ ।  ‘होमलेस’ मानिसहरु चाँहि यत्रो विशाल र समृद्ध देश अमेरिकामा पनि देखिदा रहेछन् । बाटोघाटोमा, ट्रेन स्टेशन तिर उनीहरु माग्न बसेका देखिन्छन् । बाह्रै्र महिना ठिक्कको मौसम हुने लसएन्जल्समा यस्तो समस्या झन् बढि रहेछ । होमलेसले अड्डा जमाउलान् भनेर यहाँ घरको पेटी जस्तो ठाउँमा फुटेका काँचका टुक्रा वा किल्ला ठोकिएको देखिन्छ । अनि न्यूयोर्कको ज्याक्सन हाइटले पनि फरक परिचय जस्तो बनाएको छ । अधिकांश भारतीय, नेपाली, बंगाली लगायतको बसोबास यहिँ छ । महेशविक्रम शाहको कथा संग्रहमा मज्जाले ज्याक्सन हाइटको कहानी पढ्न पाइन्छ ।   जता पनि साह्रा निर्माण पूर्ण छ । नेपालमा जस्तो पाइलै पिच्छे खाल्टाखुल्टी छैनन् । अनि जता जाउ अस्तव्यस्त काम भैरहेको पनि देखिदैन । भैरहेको भए यति मज्जाले व्यवस्थापन गरिएको हुन्छ कि कत्ति पनि फोहर वा धुलोपानी बाहिर देखिदैन । कसैलाई असर नपार्ने गरी तारतम्य मिलाइएको हुन्छ ।  सिनेमाको दृष्य जस्तो सबकुरा सफाचट छ । कहिँ कतै निर्माण कार्य वा मर्मत भैरहेको देखिए अनौठो लाग्छ । जमीन पनि कि पिच वा कालोपत्रे छ, कि खेतमा बाली झुलिरहेको छ वा मज्जाले संरक्षित जङ्गल छ । जङ्गलमा पनि पिच बाटो वा काठका फलेकले मज्जाले हिँड्न मिल्ने गरी ट्रेक बनाइएको देख्दा अचम्म लाग्छ ।  हामीकहाँ जस्तो उवडखावड, उजाड जमीन कतै देखिदैन । प्रकृति पनि सबै मान्छेले बनाए जस्तो देख्दा अचम्म लाग्छ । छाडा पशु कतैदेखिदैनन् । पशुपालन क्षेत्र पुग्दा पनि सबकुरा व्यवस्थित देखिन्छ । पीच बाटोमा सरर कार हुइँक्याउँदै गाई फार्म पुग्दा गाइहरु प्नि सानदार सुविधा सहित देखिन्छन् । सफा र विशाल गोठको छेउमा भव्य डेरी क्याफे देखिन्छ । जहाँ मज्जाले मानिसहरुले ताजा उत्पादन खाइरहेका हुन्छन् । गाई फार्ममा फोटो खिच्दै रमाएको देखिन्छ । उत्पादनलाई उपभोक्ता सँग सिधै जोड्ने गजव अभ्यास छ । उद्यमलाई पर्यटन सँग जोड्ने प्रयास झन् अनुकरणीय छ ।  नेपालमा दुई वर्ष अघि मनाङको स्याउ फार्ममा नमिठो अनुभव बोकेको थिएँ । स्याउ मार्फमा फोटो खिचौं भनेर उत्साही भएर गाडीबाट झर्दा प्रति व्यक्ति ५ सय रुपियाँ लाग्ने बताउँदा हामी निराश भएर फर्किएका थियौं । त्यसै विकट त्यो ठाउँमा सितिमिति चरो मुसो पुग्दैन । किन फोटो खिच्न तेत्रो पैसा राखेको हो वुझ्न सकिएन । तर यसपाली अमेरिकामा एउटा स्याउ फार्म पुग्दा गजव अनुभव गर्न पाइयो । फार्ममा फोटो खिच्न मात्र होइन सकेजति खान पनि पैसा लाग्दो रहेनछ । किन्न मन लागे किन्यो नभए मज्जाले बोटबाट मन लागुन्जेल खायो, फक्र्यौ । नेपालमा मुगलिन नजिक रहेको बाह्रसिंगे वियर कारखानामा चाँहि गजवको दृष्य देख्न पाइन्छ । फोटो खिच्न र फ्याक्ट्रीमै वियर पिउन पाउँदा पुग्नेहरु दङ्ग देखिन्छन् ।   आँधी, हुरीको डर हुने भएकाले आवासिय घर भने प्रायः साना हुने रहेछन् । पूरानो र ठूला शहरमा अपार्टमेन्टहरु अग्ला हुन्छन् । व्यवासायिक भवन अग्ला र भिमकाय ठूला हुन्छन् । तर, नीजि आवासीय घरहरु प्राय एकैनासे र उत्रउत्रै देखिन्छन् । अधिकाशंको जमीनमुनी एकतला बनाइएको हुन्छ ।  समयको पालना बारे त बाफ्रे । आइभीएलपी कार्यक्रम अन्तर्गत जर्जिया युनिभर्सटीको ग्रेडी कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनमा जानु थियो । जहाँ पनि हामी सेडुलमैं पुगिन्थ्यो । त्यहाँ दुई घण्टा ढिलो भयो । दिनभरको सेडुल सहित गाडीमा गैरहेका थियौं । आज नमज्जाले थाकिने भैयो भनेर गफिदै पुगेका थियौं । बेल्कासम्मको टाइट सूचि थियो । एसियाली भुगोलका हामी त्यहाँ पुग्दा त चकित पर्यौं । हामी जतिबेला पुग्यौं त्यतिबेलैको सेडुलबाट कार्यक्रम सुरु भयो । अघिको सबै सेडुल हटाइएको थियो ।    जहाँ नेपाली पुगेका छन्, त्यहाँ नेपाली संस्कार, सभ्यता, खाना, पहिरन, भाषा पुगेको छ । यस हिसावले नेपाल बाहिर गएका नेपालीहरू नेपालका अवैतनिक दूत जस्ता लाग्दो रहेछ । नेपालबाट विदेशिने सबैलाई पलाएन भएका, सुख खोज्न गएका वा नेपाललाई माया नगर्ने रुपमैं सोच्ने गरिन्छ । तर, विदेश पुगेर सोच्ने हो भने फरक लाग्दो रहेछ । संसार भर नेपाली पुगुन् । फैलिउन भन्ने लाग्दो रहेछ ।  संयोगले अमेरिकामा चुनावका बेला परेको थियो । भोट हाल्ने सुविधा पनि गजव लाग्यो । निर्वाचनको दिन मतदान स्थलमा पुगेर भोट हाले भो । घरमै मतदान गर्ने अनुरोध गरेर मतपत्र मगाई भोट गरेर हुलाकबाट पठाए भो । अनि तोकिएको स्थानमा पुगेर पहिले नै मतदान गर्न (Early Voting) पनि पाइँदो रहेछ । मतदान यसरी असाध्यै सरल हुँदो रहेछ । नेपालमा जस्तो स्थायी ठेगानामै पुगेर तोकिएकै दिन भोट हाल्ने झमेला छैन । बरु उतै जन्मिएका नेपाली मुलका बालबालिकाको भविष्यको चिन्तामा नीतिगत तहमा पुग्ने नेपालीहरु सजग देखिए । मतदान स्थलमा भेटिएका सासंद ह्यारी भण्डारी आउने पुस्ता न नेपाली न अमेरिकन जस्ता नहोउन् भनेर नीतिगत व्यवस्थामा आफ्नो ध्यान रहेको बताए । उनी मतदानका दिन छोरी सँग मतदान स्थलमा भेटिएका थिए । यताको जस्तो मेला लागे जस्तो केहि हुँदो रहेन छ । न भीडभाड न तामझाम । दैनिक हुने काम जस्तो मान्छे आउँथे, भोट हाल्थे, फर्किन्थे । 

यी हुन् बजारमा ग्राहकको मन जितिरहेका ५ ईभी ब्राण्ड

काठमाडौं । पछिल्लो समय नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । बदलिँदो विश्वव्यापी परिवेश र इन्धनको बढ्दो मूल्यका बीच ईभीहरू सहरी उपभोक्ताका लागि स्मार्ट विकल्प बनिरहेका छन् ।  अटो व्यवसायीहरूका अनुसार नयाँ बिक्री हुने सवारीसाधनमा ७० प्रतिशतभन्दा बढी हिस्सा ईभीले ओगेटेको छ । साथै धेरैजसो चिनियाँ र भारतीय कम्पनीका गाडीहरू रहेका उनीहरू बताउँछन् । सरकारले पनि ईभी सवारीसाधनमा सहज नीति गरेकाले व्यवसायीहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गइरहेको छ । बजारमा विभिन्न ब्राण्डका ईभी भएपनि बीवाईडी, टाटा, दीपल, ओमोडा र नामीजस्ता ब्राण्डको वर्चस्व रहेको व्यवसायीहरु बताउँछन् ।  बीवाईडी  नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता सिमेक्स इंक प्रालिले सन् २०१७ मा नेपाली बजारमा ईभी गाडी ल्याएको थियो । छोटो समयमै बीवाईडीले इभीको बजारमा आफ्नो बलियो वर्चस्व कायम गर्न सफल भएको छ । सुरुवाती चरणमा केही मोडलहरू भित्राएर बजार परीक्षण गरेको उक्त कम्पनीको लोकप्रियता बढ्दै गइरहेको छ । नेपालमा विद्युतीय सवारी साधन इभीको बजारमा अग्रणी भूमिका खेलिरहेको बीवाइडीले हाल आफ्नो बिक्रीमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ । कम्पनीले हाल एटो वान, एटो टु, एटो थ्री डल्फिन, सिलायन सेभनलगायतका विभिन्न मोडेलहरु बिक्री गर्दै आइरहेको छ ।  बीवाईडी ई सिक्स र डल्फिन कम्पनीको सुरुवाती मुख्य मोडल हुन् । टप सेलिङ प्रोडक्ट एटो थ्री सन् २०२३ मा नेपालमा लन्च भएको थियो । यो नेपाली सडकमा सर्वाधिक देखिने बीवाईडी मोडलहरूमध्ये एक हो । यसको आकर्षक डिजाइन, उत्कृष्ट रेन्ज, ब्लेड ब्याट्रीको सुरक्षा र प्रतिस्पर्धी मूल्यले नेपाली उपभोक्ताको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।  एटो थ्रीको आगमनसँगै नेपाली बजारमा बीवाइडी ईभी क्रेज ह्वात्तै बढेको हो । जुन हालसम्म ५ हजारभन्दा बढी बिक्री भइसकेको छ । पछिल्लो समय भने एटो थ्री भन्दा पनि एटो टु सर्वाधिक लोकप्रिय मोडल बनेको छ । कम्पनीका अनुसार यसको बिक्री निकै राम्रो भइरहेको छ । हालसम्म एटो टु का करिब ५०० युनिट बिक्री भइसकेको कम्पनीका सेल्स सन्ध्या श्रेष्ठले जानकारी दिइन् । यो गाडी गत भदौ नाडा अटो शोमा लन्च गरिएको थियो ।  एटो टुमा मुख्य २०० मिमिको ग्राउन्ड क्लिअरेन्स, बीवाइडीको ब्लेड ब्याट्री टेक्नोलोजी, भेन्टिलेटेड सिट, र ३६० डिग्री क्यामेरा जस्ता आकर्षक विशेषताहरू रहेका छन् ।  यसको मूल्य ४३ लाख ९९ हजार तोकिएको थियो । कम्पनीका अनुसार एटो टु व्यावहारिक उत्कृष्ट ग्राउन्ड क्लिअरेन्स, राम्रो रेन्ज र किफायती मूल्यमा उपलब्ध भएकाले अहिलेको समयमा भ्यालु फर मनी गाडीका रूपमा स्थापित भएको छ । यसैगरी, एटो वान नाइमा एक्स्पोमा लन्स गरिएको थियो । एटो टु पछि ग्राहकहरुले धेरै रुचाएको मोडल एटो वान हो । यो मोडल करिब ३५० युनिट बिक्री भइसकेको श्रेष्ठले बताइन् ।  उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो मोडल अत्यधिक लोकप्रिय छ । यसलाई वल्र्ड कार अफ द इअर २०२५ का लागि सशक्त दावेदार मानिएको छ भने इन्ट्रोडक्टरी सेग्मेन्टमा विश्वभरि नै यसको उच्च माग रहेको बताइएको छ ।  दशैंको समयमा एटो वान र एटो टु को माग निकै उच्च रहेको थियो । तर, दशैंपछिको अवस्थामा गाडीको पर्याप्त स्टक नहुँदा कम्पनीलाई केही चुनौती भइरहेको श्रेष्ठले जानकारी दिइन् ।  उनका अनुसार तत्कालै कुनै नयाँ विद्युतीय मोडल ल्याउने योजना नभए पनि बीवाइडीले नेपाली बजारमा आफ्नो प्लग–इन हाइब्रिड शार्क सिक्स भित्राउने तयारी गरिरहेको छ । यो हाइब्रिड गाडीले नेपाली ग्राहकहरूका लागि विद्युतीय र परम्परागत इन्धनको मिश्रणबाट चल्ने नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।  बीवाइडीका नेपालमा प्रिमियम मोडलहरू उपलब्ध छन् । सुरुवाती लगानी केही महँगो देखिए पनि दीर्घकालीन रूपमा इन्धन र मर्मत खर्चको बचतले यसलाई निकै किफायती बनाएको छ ।  हाल काठमाडौं, पोखरा, बुटवल, विराटनगर लगायतका प्रमुख सहरहरूमा बीवाइडीका गाडीहरू बाक्लै देखिन थालेका छन् । प्रयोगकर्ताको सहजताका लागि कम्पनीले दर्जनौं चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ भने ग्राहक सेवा सञ्जालमा पनि लगानी बढाइरहेको छ । टाटा  नेपालको अटो बजारमा बलियो उपस्थिति जनाइरहेको टाटा मोटर्सले पनि ईभी सेग्मेन्टमा उल्लेखनीय प्रगति गरिरहेको छ । सिप्रदीले सुरुमा नेपालमा टाटाको नेक्सन ईभी भित्राएको थियो । जुन गाडी निकै रुचाइयो र बिक्री पनि निकै राम्रो भएको कम्पनीले जनाएको छ । यद्यपि उक्त गाडीको उत्पादन भने रोकिएको छ । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार नेपालमा उपलब्ध टाटाका ४ चार ईभी मोडलमध्ये पन्च इभी हालसम्मकै सर्वाधिक सफल मोडल बनेको छ । जसको १ हजार १०० भन्दा बढी युनिट बिक्री भइसकेका छन् ।  अटो बजारमा नेतृत्व नै गरिरहेको टाटाले पन्च ईभी नेपाली बाटो र माटोमा सुहाउँदो रहेको जनाएको छ । सिप्रदीको टाटा पन्च इभी प्लस एस एमआर, एलआई र प्लस एलआर गरी तीन भेरिएन्टमा उपलब्ध छ ।  प्लस एस एमआरको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ, पन्च इभी इम्पावर्ड एलआईको मूल्य ३७ लाख ९९ हजार र पञ्च इभी इम्पावर्ड प्लस एलआरको मूल्य ३९ लाख ९९ हजार पर्ने गरेको छ ।  कम्पनीले अफर अन्तर्गत ग्राहकहरूलाई एक पन्च ईभीमा १ लाख रुपैयाँसम्मको नगद छुट दिने गरेको जनाएको छ । यसैबीच टाटाले आफ्नो नयाँ एसयूभी सिएरा इभीलाई सन् २०२६ सम्ममा नेपाली बजारमा ल्याउने योजना बनाइरहेको छ ।  टाटा मोटर्सकी मार्केटिङ हेड अभिरुची गिरीका अनुसार पन्च इभी गत वर्षको नाडा अटो शो (२०२४) मा लन्च भएको थियो । यसले छोटो समयमै उपभोक्तामाझ राम्रो पकड जमाउँदै कम्पनीको सबैभन्दा राम्रो बिक्री हुने मोडल बनेको छ ।  ‘हामीले १ हजार १ सयभन्दा बढी युनिट बेचिसकेका छौं । पन्च इभी विशेषगरी एसयूभीको अनुभव र बजेटमैत्री विकल्प खोज्ने ग्राहकहरूका लागि उत्कृष्ट छनोट भएको छ,’ उनले भनिन् । सन् २०२३ को नाडा अटो शोबाट सुरु भएको टियागो ईभी ह्याचब्याक सेगमेन्टमा बजेटमैत्री विकल्पको रूपमा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ । त्यस्तै, नेक्सन के थ्री र कर्भ इभी गत वर्षको फेब्रुअरीदेखि बजारमा आएका हुन् । नेक्सन के थ्री अपग्रेडेड भर्जनमा राम्रो ब्याट्री र धेरै रेन्जका साथ आएको छ । जसले ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गरिरहेको कम्पनीले दाबी गरेको छ ।  कर्भ इभी भने केही सीमित र विशेष ग्राहकहरूलाई लक्षित गरिएको छ । जसले एसयूभी कुपेको प्रिमियम अनुभव खोज्छन् । मार्केटिङ हेड गिरीले भनिन्, ‘भारतमा भर्खरै सिएरा लन्च भएको छ । जसमा सुरुमा आईसी भर्जन आएको छ । तर नेपालमा २०२६ भित्रमा सिएरा ईभी आउने सम्भावना छ ।’  यो नयाँ मोडलले नेपाली इभी बजारमा थप प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । देशभर विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनको संख्या पनि बढ्दै गएको छ । टाटा मोटर्ससँग हाल १८५ भन्दा बढी फास्ट चार्जरहरू (एसी र डीसी दुवै) उपलब्ध छन् ।  ओमोडा एण्ड जेको अहिले ग्राहकले रुचाएको उत्कृष्ट ईभी ब्राण्डमध्ये ओमोडा एण्ड जेको ब्राण्ड पनि एक बनेको छ । यसले छोटो समयमै धेरै ग्राहकको मन जित्न सफल भएको छ । विशेषगरी यसको पछिल्लो मोडल ओमोडा जेको जे फाइभले उपभोक्ताहरूको मन जितेको छ । बजारमा यसको माग उच्च देखिएको छ । कम्पनीका अनुसार नेपालको रेन्ज रोभर उपमा पाएको यो गाडीका सबै युनिटहरू बिक्री भइसकेका छन् । ओमोडा एण्ड जेकोको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स हो । कम्पनीका मार्केटिङ रुपेश श्रेष्ठका अनुसार ओमोडाले नेपालमा आफ्नो ईभी यात्रा दुई वर्षअघि सुरु गरेको थियो । त्यसपछि जे सिक्स तथा हालै नाइमा एक्स्पोमा लन्च गरिएको जे ५ लगायतका मोडलहरू बजारमा छन् । यो दुई वर्षको अवधिमा ओमोडाका १ हजार ५०० भन्दा बढी युनिट बिक्री भइसकेका छन् ।  ओमोडा जेको जे फाइभको सफलताको मुख्य कारण यसको लुक्स र आकर्षक डिजाइन नै रहेको कम्पनीको भनाइ छ । गाडीमा उपलब्ध अत्याधुनिक एड्यास जस्ता सुरक्षा फिचर्सहरू, उत्कृष्ट रेन्ज र अन्य विशेषताहरूले पनि उपभोक्तालाई आकर्षित गरेको छ । हाल ओमोडा जेको जे फाइभको एमआरपी ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेपाली उपभोक्ताको मन जित्दै नेपालको विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिस्पर्धीका रूपमा स्थापित भइसकेको छ । यसको आकर्षक डिजाइन, आधुनिक फिचर्स, बढ्दो चार्जिङ पूर्वाधार र रणनीतिक बजार प्रवर्द्धनले यसलाई नेपाली इभी बजारमा अझै सशक्त बनाउने निश्चित छ । यो ब्राण्डलाई चीनको चेरी ब्राण्डले उत्पादन गर्ने गरेको छ ।  एसपीजी शारदा ग्रुप अन्तर्गतको ब्रान्ड हो । ग्रुपले ओमोडा बाहेक चेरी ब्रान्डकै आइकार भी टु थ्री र प्रिमियम तथा लग्जरी ईभी ब्रान्ड जिकरजस्ता अन्य विद्युतीय सवारी साधनहरू पनि नेपाली बजारमा बिक्री गरिरहेको छ। विद्युतीय सवारी साधनको प्रयोगलाई सहज बनाउन कम्पनीले चार्जिङ पूर्वाधारमा पनि लगानी गरिरहेको छ । हाल नेपालभरि ३५ भन्दा बढी स्थानमा ओमोडाका डिसी फास्ट चार्जरहरू सक्रिय छन् ।  यस आर्थिक वर्षभित्र शारदा ग्रुपको गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा १०० भन्दा बढी स्थानमा चार्जर स्थापना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । नामी  डोङफेङ नामी ईभीको लोकप्रियता नेपालमा बढ्दो छ । यसको आधिकारिक वितरक एमएडब्लू वृद्धि हो । पछिल्लो समय नामी ब्राण्डका दुई प्रमुख मोडल नामी बक्स र भिगोले बजार हिस्सा ओगट्न सफल भएका छन् ।  कम्पनीका अनुसार नामी बक्सका १ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् । नामीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशन्न पन्तका अनुसार नामी बक्स एक वर्षभन्दा अगाडि नै लन्च भएको हो भने भिगो हालसालै बजारमा आएको हो । दुवै मोडलले ग्राहकहरूको मन जित्न सफल भएका छन् ।  ‘दुवै मोडलले अहिले मोमेन्टम गेन गरिरहेका छन् । आ–आफ्नै सेग्मेन्टमा राम्रै छन् । बजार दुवैको समान छ । नामी बक्स एसयुभी सेग्मेन्टमा पर्छ भने नामी भिगो ह्याचब्याक सेग्मेन्टमा । दुवैले ग्राहकबाट राम्रो प्रतिक्रिया पाएका छन्,’ पन्तले विकासन्युसँग भने ।  कम्पनीले सन् २०२६ मा नयाँ मोडलहरू ल्याउने योजना बनाएको छ । नामीले देशभर चार्जिङ स्टेशनको विस्तारमा पनि जोड दिएको छ । हाल नेपालभर १४० भन्दा बढी नामीका चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् । यसले ईभी प्रयोगकर्ताहरूलाई चार्जिङको सुविधा पुर्याएको छ । पन्तले हालै लन्च भएका मोडलहरू नै यो वर्षका लागि पर्याप्त रहेको बताए । उनले तत्कालै नयाँ मोडल ल्याउने योजना नरहेको र सन् २०२६ मा मात्र नयाँ मोडलहरू बजारमा ल्याउने बताए ।  ‘२०२६ मा नयाँ मोडलहरू आउँछन्, अहिले तत्काल आउँदैनन्,’उनले थपे ।  दीपल  एमएडब्लू वृद्धि मोर्टसको दिपल ब्राण्डले पनि हालसम्म १३ सयदेखि १४ सयको हाराहारीमा गाडी नेपालमा भित्राइसकेको छ । कम्पनीका अनुसार बजारमा उपलब्ध दुई मोडलमध्ये हालै सार्वजनिक गरिएको एस जिरो सेभेनले छोटो समयमै ग्राहकको मन जित्न सफल भएको छ भने एस जिरो फाइभको बिक्री पनि राम्रो भइरहेको छ ।  कम्पनीका मार्केटिङ हेड रमेश दनेखुका अनुसार दिपलको पहिलो उत्पादन एस जिरो फाइभ हालसम्म करिब १००० वटा बिक्री भइसकेको छ । सन् २०२३ को अप्रिलमा नेपालमा सार्वजनिक भएको यो मोडलले  राम्रो बजार हिस्सा ओगटेको उनले बताए । ‘एस जिरो फाइभको माग बजारमा अत्यधिक रहेको छ,’ दनेखुले भने, ‘नाडामा लन्च भएको एस जिरो सेभेनको डिमान्ड बड्दो छ ।’ दनेखुका अनुसार उच्च मागका कारण गाडीको स्टक अभाव हुँदा ग्राहकलाई समयमै उपलब्ध गराउन नसकिएको हो । हालसम्म यो मोडल २६० देखि २७० वटा बिक्री भइसकेको छ । ग्राहकको सुविधालाई ध्यानमा राख्दै दिपलले देशैभरि १४० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ । कम्पनीले बिक्री गर्ने सबै गाडीहरू पूर्ण रूपमा ब्याट्रीबाट चल्ने (फुल ईभी) हुन् र यसमा गोल्डेन सेल ब्याट्री प्रविधि प्रयोग गरिएको दनेखुले जानकारी दिए ।  तत्काल नयाँ मोडल ल्याउने योजना नभए पनि अबको चार–पाँच महिनापछि एउटा सानो गाडी ल्याउने तयारी भइरहेको उनले बताए ।  हाल कम्पनी आफ्नो बिक्री र ग्राहक सेवालाई नै प्राथमिकतामा राखेर अघि बढेको उनको भनाइ छ । एमएडब्लुले ६० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा विश्वास कमाएको दाबी गरेको छ । यी दुवै मोडल चीनको चांगान सब ब्राण्ड दीपल अटो मोबाइलले उत्पादन गरेको हो ।