एनभीडीयाको एकाधिकारलाई चुनौती, चिनियाँ एआई चिप कम्पनीहरूको उदय
काठमाडौं । बुधबार शाङ्घाइ बजारमा चिप निर्माता मेटाएक्स इन्टीग्रेटेड सर्किट्सको सेयर सूचीकृत हुनेबित्तिकै ७०० प्रतिशतले उक्लिँदा डेजा भू (पहिले देखिएको) अनुभूति भयो । यसअघि दुई हप्ता अगाडि मात्रै मुर थ्रेड्सका सेयरहरू पहिलो दिनमै ४०० प्रतिशतभन्दा बढी उछाल आएको थियो । यी दुवै चीनका पछिल्ला कृत्रिम बौद्धिकता (एआई) चिप कम्पनीहरू हुन्, जसमा देशका लगानीकर्ताहरूले ठूलो मात्रामा लगानी गरिरहेका छन् । अमेरिकाको निर्यात नियन्त्रणबीच आफ्नै सेमिकन्डक्टर विकास गर्ने र एनभीडीयाको प्रभुत्वलाई चुनौती दिने चीनको दौड तीव्र बन्दै गएको छ । यी दुवै कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) विकास गरिरहेका छन्, जुन एनभीडीयाले उत्पादन गर्ने र उन्नत एआईका लागि प्रयोग हुने चिप हो । म्याकक्युरीका इक्विटी विश्लेषक यूजिन सियाओका अनुसार अमेरिकासँगको तनाव जारी रहँदा चीनले आत्मनिर्भर सेमिकन्डक्टर इकोसिस्टम निर्माण गर्ने विश्वाससहित चिनियाँ एआई–चिप आईपीओप्रति लगानीकर्ताको उत्साह देखिएको हो । वाशिङ्टनले एनभीडीयाका सबैभन्दा उन्नत सेमिकन्डक्टर चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही एनभीडीया चिपमा निर्यात नियन्त्रण खुकुलो पारे पनि फाइनान्सियल टाइम्सका अनुसार यस महिनाको सुरुमा चीनका नियामकहरूले एआई दौडमा विदेशी प्रविधिमा निर्भरता घटाउने उद्देश्यले कम्पनीका प्रोसेसरमा पहुँच सीमित गर्ने योजना बनाइरहेका थिए । हालसम्म हुवावे, अलिबाबा र बाइडुजस्ता प्रविधि दिग्गजहरू समेत समेटिएका चीनका कुनै पनि एआई चिप निर्माताले एनभीडीयाका सबैभन्दा उन्नत प्रोसेसरसरह क्षमतायुक्त चिप विकास गर्न सकेका छैनन् । यद्यपि उपकरणजस्ता केही आपूर्ति शृंखलाका क्षेत्रमा निर्यात नियन्त्रणले चुनौती कायम राखे पनि मेमोरीजस्ता क्षेत्रमा चीनले उल्लेखनीय प्रगति गरेको छ । यहाँ चीनका एआई चिप क्षेत्रमा एनभीडीयाका प्रतिस्पर्धीहरूको अवस्था प्रस्तुत गरिएको छ । हुवावे निजी स्वामित्वको प्रविधि दिग्गज हुवावेले असेन्ड सिरिजका चिपहरू विकास गरिरहेको छ । यसको आगामी पुस्ताको मोडेल असेन्ड ९५० सन् २०२६ मा सार्वजनिक हुने तयारीमा छ । नयाँ प्रणाली घोषणा हुँदा एनभीडीयाले प्रतिस्पर्धा सुरु भइसकेको भनेको थियो । पहिलेका असेन्ड मोडेलहरू चिप–टु–चिप आधारमा एनभीडीयासँग प्रतिस्पर्धी मानिएका थिएनन् । तर हुवावेले धेरै प्रोसेसरहरू आपसमा जोडेर उच्च कार्यक्षमताका क्लस्टर निर्माण गर्दै एनभीडीयाका अत्याधुनिक प्रणालीसँग प्रतिस्पर्धा गर्न सफल भएको छ । काउन्टरपोइन्ट रिसर्चका सहनिर्देशक ब्राडी वाङका अनुसार ‘यो रणनीतिले उच्च–गति, सम्भवतः अप्टिकल इन्टरकनेक्ट प्रयोग गरेर ठूला क्लस्टरभर डाटा छिटो सार्न सहयोग गर्छ । जसका लागि अत्याधुनिक चिप आवश्यक पर्दैन र यो चीनका हालका क्षमतासँग मेल खान्छ ।’ बाइडू चीनको सबैभन्दा ठूलो खोज प्लेटफर्म बाइडूले एआईमा लगानी बढाउँदै आएको छ र चिप डिजाइनर कुनलुनसिङमा बहुमत स्वामित्व राख्छ । नोभेम्बरमा कम्पनीले कुनलुनएआई चिपका लागि पाँचवर्षे रोडम्याप सार्वजनिक गर्दै २०२६ र २०२७ मा नयाँ प्रोसेसर ल्याउने योजना घोषणा गरेको थियो । नासडकमा सूचीकृत बाइडूले आफ्ना डाटा सेन्टरमा स्वदेशी चिप र एनभीडीयाका उत्पादन दुवै प्रयोग गरेर आफ्नै एआई मोडेल सञ्चालन गर्छ । कम्पनीले चिप, सर्भर, डाटा सेन्टरदेखि एआई मोडेल र एप्लिकेसनसम्म उत्पादन गर्ने फुल–स्ट्याक प्रदायकको रूपमा आफूलाई स्थापित गर्न खोजिरहेको छ । डोयचे बैंका विश्लेषकहरूका अनुसार, ‘कुनलुनसिङ ठूला भाषा मोडेल प्रशिक्षण र इन्फरेन्स, क्लाउड कम्प्युटिङ, टेलिकम तथा उद्यमीय कार्यभारका लागि उच्च कार्यक्षमताका घरेलु एआई चिप विकासकर्ताका रूपमा उदाएको छ ।’ जेपीमोर्गनले पनि यसको एआई चिपलाई चिनियाँ हाइपरस्केलरहरूले स्थानीय समाधान प्रदायकबाट चिप खरिद बढाउँदै जाँदा ‘सबैभन्दा राम्रो स्थितिमा रहेका’ मध्ये एक मानेको छ । अलिबाबा स्थानीय रूपमा ठूला क्लाउड प्रदायकमध्ये एक अलबाबाले सन् २०१० को अन्त्यतिर एआई चिप विकास सुरु गरेको थियो । सीएनबीसीका अनुसार कम्पनीले अगस्टमा प्रशिक्षणभन्दा इन्फरेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको नयाँ एआई चिप विकास गरिरहेको थियो। सेप्टेम्बरमा अलिबाबाका सेयरहरू बढेका थिए, जब कम्पनीले आफ्ना एआई चिपका लागि ठूलो ग्राहक सुरक्षित गरेको समाचार आयो । मर्निङस्टारकी विश्लेषक चेल्सी ट्यामका अनुसार स्व–विकसित चिपको सुधारिएको प्रदर्शन अलिबाबाको क्लाउड डिभिजनको आम्दानी वृद्धि सहयोग गर्ने प्रमुख कारणमध्ये एक हो । कामब्रिकन एआई प्रशिक्षण र इन्फरेन्सका लागि चिप विकास गर्ने कामब्रिकनले २०२५ को पहिलो छ महिनामा रेकर्ड नाफा कमाएको छ । सन् २०१६ मा स्थापना भएको यस कम्पनीको आम्दानी वार्षिक आधारमा ४ हजार प्रतिशतभन्दा बढीले बढेर २.८८ अर्ब युआन पुगेको छ भने खुद नाफा १.०४ अर्ब युआन पुगेको छ । एबरडीन समूहका लगानी निर्देशक जेमी मिल्स ओ’ब्रायनका अनुसार कामब्रिकन चीनको एआई एक्सेलेरेटर बजारमा सबैभन्दा सम्भावित विजेता हो, जुन चिप पहुँचको दृष्टिले अमेरिकी बजारको तुलनामा अझै प्रारम्भिक चरणमै छ । उनले आगामी १–२ वर्षमा उत्पादन परिपक्वता, ग्राहक स्वीकृति र इकोसिस्टम निर्माणजस्ता चुनौतीहरू क्रमशः समाधान हुँदै जाने र कामब्रिकनलाई चीनमा एनभीडीयाका डाउनग्रेडेड चिपहरूको ‘निकै राम्रो’ विकल्प बनाउने अपेक्षा व्यक्त गरे । अन्य एआई चिप कम्पनीहरू मेटाएक्सले बुधबारको आईपीओमार्फत करिब ६० करोड डलर उठाएको छ । यो कम्पनी पूर्व एएमडी कार्यकारी चेन वेइलियाङले स्थापना गरेका हुन् । सन् २०२० मा एनभीडीयाको चिनियाँ शाखाका पूर्व महाप्रबन्धकले स्थापना गरेको मुर थ्रेड्सलाई कहिलेकाहीँ चीनको एनभीडीया भनेर पनि चिनिन्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार कम्पनीले यस हप्ता बेइजिङमा हुने डेभलपर सम्मेलनमा आफ्नो पछिल्लो जीपीयू आर्किटेक्चर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओबाट प्राप्त रकम स्व–विकसित एआई प्रशिक्षण र इन्फरेन्स जीपीयू चिप उत्पादनसहित मुख्य अनुसन्धान तथा विकास कार्यलाई तीव्र बनाउन आवश्यक रहेको बताएको छ । इनफ्लेम सन् २०१८ मा पूर्व एएमडी कर्मचारीहरूले स्थापना गरेका हुन् र एआई प्रशिक्षणमा केन्द्रित डाटा सेन्टर चिप डिजाइन गर्छ । सन् २०१९ मा स्थापना भएको बिरेन टेक्नोलोजीले उच्च कार्यक्षमताका जीपीयू डिजाइन गरिरहेको छ । चिनियाँ नियामकले मंगलबार कम्पनीलाई आईपीओका लागि स्वीकृति दिएको छ ।
माइक्रोसफ्टपछि अमेजन पनि ओपनएआईतर्फ ? १० अर्ब डलरभन्दा ठूलो सम्झौताको संकेत
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप ओपनएआईले सम्भावित लगानी र आफ्ना एआई चिप्स प्रयोग गर्ने सम्झौताबारे अमेजनसँग छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । विषयसँग परिचित एक व्यक्तिका अनुसार सम्झौताका विवरणहरू अझै अन्तिम भइनसकेका र परिवर्तन हुन सक्ने अवस्थामा छन् । ती व्यक्तिका अनुसार लगानी रकम १० अर्ब डलरभन्दा बढी हुन सक्ने अनुमान छ । सम्भावित सम्झौताबारे ‘द इन्फर्मेशन’ले पहिलोपटक समाचार प्रकाशित गरेको थियो। यो छलफल ओपनएआईले अक्टोबरमा पुनर्संरचना पूरा गरी माइक्रोसफ्टसँगको साझेदारीका विस्तृत विवरण सार्वजनिक गरेपछि सुरु भएको हो । यसले ओपनएआईलाई पूँजी जुटाउन र फराकिलो एआई इकोसिस्टमभित्र अन्य कम्पनीहरूसँग साझेदारी गर्न थप स्वतन्त्रता दिएको छ । माइक्रोसफ्टले सन् २०१९ देखि ओपनएआईलाई समर्थन गर्दै आएको छ र हालसम्म १३ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ । तर अक्टोबरमा जारी विवरणअनुसार अब माइक्रोसफ्टसँग ओपनएआईको कम्प्युट सेवा प्रदायक बन्न पहिलो प्राथमिकताको अधिकार (राइट अफ फर्स्ट रिफ्युजल) छैन । ओपनएआईले अब तेस्रो पक्षसँग पनि केही उत्पादन विकास गर्न सक्ने भएको छ । अमेजनले ओपनएआईको प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकमा कम्तीमा ८ अर्ब डलर लगानी गरिसकेको छ । तर ई–कमर्स क्षेत्रको दिग्गज अमेजनले तीव्र गतिमा बढिरहेको जेनेरेटिभ एआई बजारमा आफ्नो उपस्थिति अझ विस्तार गर्न खोजिरहेको हुन सक्ने देखिन्छ । माइक्रोसफ्टले पनि गत महिना एन्थ्रोपिकमा ५ अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको थियो भने एनभिडियाले उक्त स्टार्टअपमा १० अर्ब डलरसम्म लगानी गर्ने जनाएको छ । अमेजन वेब सर्भिसेज (एडब्ल्यूएस) ले सन् २०१५ तिरदेखि आफ्नै एआई चिप्स डिजाइन गर्दै आएको छ । मोडेल प्रशिक्षण र बढ्दो कम्प्युट माग पूरा गर्न एआई कम्पनीहरूका लागि हार्डवेयर अत्यन्तै महत्त्वपूर्ण बन्दै गएको छ । एडब्ल्यूएसले २०१८ मा आफ्नो ‘इन्फरेन्टिया’ चिप्स घोषणा गरेको थियो भने यसै महिनाको सुरुमा ‘ट्रेनियम’ चिप्सको नयाँ पुस्ता सार्वजनिक गरेको हो । हालका महिनाहरूमा ओपनएआईले एनभिडिया, एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) र ब्रडकम जस्ता चिप निर्माता कम्पनीहरूसँग सम्झौतासहित १.४ ट्रिलियन डलरभन्दा बढीको पूर्वाधारसम्बन्धी प्रतिबद्धता गरेको छ । गत महिना ओपनएआईले क्लाउड पूर्वाधार क्षेत्रमा अग्रणी एडब्ल्यूएससँग ३८ अर्ब डलर बराबरको क्षमता खरिद गर्ने सम्झौता गरेको थियो, जुन एडब्ल्यूएससँग ओपनएआईको पहिलो सम्झौता हो । अक्टोबरमै ओपनएआईले ६.६ अर्ब डलरको द्वितीय सेयर बिक्री (सेकेन्डरी सेयर सेल) टुंगो लगाएको थियो, जसअन्तर्गत वर्तमान तथा पूर्व कर्मचारीहरूले ५०० अर्ब डलरको मूल्याङ्कनमा आफ्ना सेयर बिक्री गर्न पाएका थिए।
कर्पोरेट हाउसको सहकार्यले बलियो बन्दै नेपाली क्रिकेट अर्थतन्त्र
काठमाडौं । त्रिवि क्रिकेट मैदानमा चम्किलो फ्लडलाइटको उज्यालो । दर्शकको कानै खाने हुटिङ र खेलाडीहरूको रौनक । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले घरेलु क्रिकेटलाई नयाँ उचाइमा मात्र पुर्याएन, खेलकुद र कर्पोरेटबीचको साझेदारी कति शक्तिशाली हुन सक्छ भन्ने ज्वलन्त उदाहरण पनि बन्यो। यो सफलतामा जति खेलाडीको पसिना र आयोजकको मिहिनेत छ, त्यति नै ठूलो हिस्सा विभिन्न ब्रान्डहरूको पनि छ । जसले पर्दा पछाडि बसेर एनपीएललाई व्यावसायिक स्थायित्वको लागि निकै बल दिए । तीमध्ये पनि अटोमोबाइल क्षेत्रका दुई प्रमुख ब्रान्ड- पल्सर र ओमोडा एनपीएलको पर्याय बनेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा बताउँछन् । ‘अहिले ओमोडा, पल्सर र एनपीएल एउटा पर्यायवाची जस्तो भएको छ,’ उनले भने । एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको थियो भने अटो क्षेत्रबाट ओमोडा र पल्सरको उपस्थिति रहेको थियो । यस्तै, प्रायोजकमा सिद्धार्थ इन्स्योरेन्स, प्रेसिडेन्ट कलेज, केएफसी, खल्तीलगायत १७ वटा प्रतिष्ठित कम्पनीहरू जोडिएका थिए । यी कम्पनीको सहकार्य केवल लोगो टाँस्ने र ब्यानर झुन्ड्याउनेमा मात्र सीमित थिएन । क्यानले एनपीएलको ट्रफीलाई ७ वटै प्रदेशमा पुर्याउँदा ओमोडा ट्रफी टुर आयोजना भयो जसले ओमोडा गाडीलाई देशको कुना–कुनामा चिनायो । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्ने क्रममा पनि अटो क्षेत्रको उपस्थिति विशेष रह्यो । प्लेयर अफ द टुर्नामेन्ट बनेका नेपाली खेलाडीले ओमोडाको आकर्षक कार गाडी पाए भने इमर्जिङ प्लेयर बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले पल्सर बाइक पाए । क्यानका प्रवक्ता लामाले भने, ‘जुन ब्रान्डहरू हामीसँग असोसिएट भए, उनीहरू धेरै खुसी छन् । एनपीएलको ब्रान्ड जति बढेको छ, त्यत्तिकै टु–ह्वीलर्स र फोर–ह्वीलर्सको ब्रान्ड पनि बढेको छ ।’ यसले समग्रमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन समेत मद्दत पुर्याएको उनको विश्लेषण छ । क्यानले गत वर्ष अर्थात् पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी गरेको थियो । जसमा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको थियो भने पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा गरेको थियो । यसपटकको एनपीएलबाट भने ३० देखि करिब ४० लाख रुपैयाँसम्म आम्दानी गर्ने अपेक्षा गरिएको छ । प्रवक्ता लामाका अनुसार एनपीएलको दोस्रो संस्करणमा खर्च र आम्दानीबारे पत्रकार सम्मलेनमार्फत् जानकारी गराइनेछ । विज्ञापन मात्र होइन, खेलकुद विकासको दीर्घकालीन लगानी पनि प्रायोजकहरूले खेलकुदमा लगानी गर्नुलाई केवल आफ्नो उत्पादनको विज्ञापन गर्ने माध्यमका रूपमा मात्र हेर्छन् भन्ने आम बुझाइ छ । तर पल्सर बाइक र ओमोडाको सोच त्योभन्दा फरक छ । ‘ब्रान्डिङ त आफ्नै ठाउँमा छ । तर हाम्रो मुख्य सोच नेपाली स्पोट्र्समा केही गरौं भन्ने हो,’ पल्सर बाइकको आधिकारिक विक्रेता बजाजका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले भने । उनका अनुसार खेलकुदले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँछ र राष्ट्रिय एकताको भावना जगाउँछ । यस्तो महत्त्वपूर्ण क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य छ । पूर्वाधार, तालिम र खेलाडीको विकासमा लगानी गर्नु निजी क्षेत्रको जिम्मेवारी रहेको उनी बताउँछन् । गोल्छा एनपीएलको सफलताबाट निकै उत्साहित छन् । ‘जुन स्तरमा एनपीएलले फ्यान बेस बनाएको छ । त्यो अरू कुनै लिगले गर्न सकेको छैन,’ उनी भन्छन् । यही सफलताले गर्दा एनपीएल अब सबै ब्रान्डका लागि एउटा आकर्षक प्रपोजिसन बनेको उनको ठहर छ । क्यान र व्यवसायी दुवैलाई फाइदा साझेदारीले दुवै पक्षका लागि जितको अवस्था सिर्जना गरेको छ । साझेदारीले ठूलो बजेट व्यवस्थापन गर्न र लिगलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत पुगेको क्यान र व्यवसायीहरूले बताइरहेका छन् । खेलाडीलाई गाडी र बाइक जस्ता महँगा पुरस्कार दिँदा लिगको स्तर र आकर्षण बढ्को क्यानको भनाइ छ । पहिलो संस्करणका कमी–कमजोरी सुधार्दै फ्लडलाइट, विदेशी खेलाडी र कमेन्टेटरजस्ता पक्षमा लगानी गर्न सम्भव भएको क्यानका प्रवक्ता लामाको भनाइ छ । यसैगरी, लाखौं दर्शकमाझ आफ्नो उत्पादनको प्रत्यक्ष प्रचार भएको ओमोडाको जेको जे फाइभ गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सका मार्केटिङ हेड रूपेश श्रेष्ठ बताउँछन् । उनका अनुसार खेलकुद र युवा विकासमा योगदान दिने कम्पनीका रूपमा सकारात्मक छवि निर्माण भएको छ । आफ्नो लक्षित समूह (युवा) सँग भावनात्मक रूपमा जोडिने अवसर प्राप्त भएको दाबी ओमोडाले गरेको छ । एनपीएलको दोस्रो संस्करणको सफलताले घरेलु लिगमा बहुराष्ट्रिय ब्राण्डहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने प्रमाणित गरेको व्यवसायीहरूको भनाइ छ । अटो क्षेत्रको यो सहभागिताले अन्य कर्पोरेट घरानालाई पनि नेपाली खेलकुदमा लगानी गर्न प्रेरित गर्ने निश्चित गरेको क्यानले जनाएको छ । ६६ लाखको पुरस्कार जित्दा १६ लाख कर तिर्नुपर्ने एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई जिताउँदै ऐतिहासिक सफलता हात पारेका कप्तान रोहित पौडेलका लागि खुसीसँगै आर्थिक दायित्व पनि छ । प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै लाखौंको गाडी र बाइक पुरस्कार पाएका रोहितले राज्यलाई बुझाउनुपर्ने मोटो रकमको कर यतिबेला चर्चाको विषय बनेको छ । प्रतियोगितामा सानदार प्रदर्शन गरेका रोहितले पुरस्कार स्वरूप ५७ लाख रुपैयाँ बराबरको आमोडा जेको जे–फाइभ कार प्राप्त गरेका छन् । यसका साथै उनले ४ लाख २० हजार रुपैयाँ पर्ने बजाज पल्सर बाइक पनि जितेका छन् । यसरी उनले जितेको कार, बाइक र अन्यसहितको कुल पुरस्कारको मूल्यांकन ६६ लाख १९ हजार रुपैयाँ रहेको छ । रोहितले जितेको यो पुरस्कार आयकर ऐनअनुसार आकस्मिक लाभ अन्तर्गत पर्दछ । आयकर ऐनको दफा ८८ ‘क’ अनुसार यस्तो पुरस्कारमा २५ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने व्यवस्था छ । ऐनको दफा ८८ ‘क’ को उपदफा १ मा खेलकुद लगायतका क्षेत्रमा योगदान पुर्याएबापत प्राप्त हुने ५ लाख रुपैयाँसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारमा कर छुटको व्यवस्था छ । यदि रोहितले चालु आर्थिक वर्षमा ५ लाखसम्मको कर छुट सुविधा लिइसकेका छन् भने उनले ६६ लाख १९ हजारको २५ प्रतिशत अर्थात् १६ लाख ५४ हजार ७५० रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । यदि ५ लाखको सुविधा लिएका छैनन् भने ५ लाख घटाएर बाँकी रकमको २५ प्रतिशत अर्थात् १५ लाख ३५ हजार रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । रोहितले यातायात कार्यालयमा गएर जितेको कार र बाइक आफ्नो नाममा नामसारी गर्नका लागि कर चुक्ता गरेको प्रमाण पेस गर्नुपर्नेछ । कर नतिरेसम्म वा सरकारले छुट नदिएसम्म गाडी उनको नाममा पास हुने छैन । एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै रोहितजस्तै बाइक पुरस्कार पाएका सन्दीप लामिछाने र शेर मल्लको हकमा पनि यही नियम लागू हुन्छ । यदि उनीहरूले ५ लाखको छुट सुविधा प्रयोग गरिसकेका छन् भने ४ लाख २० हजारको बाइकमा उनीहरूले जनही करिब १ लाख रुपैयाँ राज्यलाई बुझाउनुपर्ने देखिन्छ । गत वर्ष सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेको कारको कर कम्पनी आफैले तिरिदिएको थियो । उसो त दीपेन्द्र सोही कम्पनीका ब्रान्ड एम्बेसडरसमेत हुन् । अहिले पुरस्कार दिने कम्पनीहरू (ओमोडा र बजाज) बीच कर कसले तिर्ने विजेता खेलाडीले वा स्वयम् कम्पनीले भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । अर्कोतर्फ मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाल सरकारले खेलाडीलाई प्रोत्साहन स्वरूप कर छुट दिन सक्ने कानुनी बाटो पनि खुला छ ।