निर्वाचन बिना साधारण सभा नगर्न नाडालाई प्रशासनको निर्देशन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को साधारण सभा रोक्न पत्र काटेको छ । बुधबारका लागि तय गरिएको ४९औँ वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक्न आदेश दिएको हो । आकाश गोल्छा पक्षको उजुरीपछि प्रशासनले मंगलबार नाडालाई पत्र लेख्दै महासंघमा लैजाने प्रस्ताव कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको हाे । साथै नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरेर मात्र साधारण सभा सम्पन्न गर्न प्रशासनले निर्देशन दिएकाे छ । ‘साधारण सभाको लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धी कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडालाई नै महासंघमा लैजाने भनि गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धिt कार्य नगर्नु र नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ पत्रमा भनएिको छ ।   प्रशासनको पत्रले नाडालाई महासंघ बनाउने विवाद पनि समाधान भएको आकाश गोल्छाले बताए । महासंघ बनाउने नाममा संस्था कब्जा गर्ने र आफ्ना विरोधीहरूलाई पाखा लगाउने अध्यक्ष करण चौधरीको षड्यन्त्र अन्त्य भएको गोल्छाले बताए ।  गोल्छाका अनुसार नाडालाई महासंघमा लैजाने एजेण्डा नयाँ होइन, तर यसलाई अघि सार्ने समय र मनसाय भने शंकास्पद हो ।  गोल्छा भन्छन्, ‘ध्रुव थापा अध्यक्ष हुँदा नै वैश्विक संरचनामा जाने योजना थियो, तर विभिन्न कारणले भएन । करण चौधरीले कार्यकाल सम्हालेको डेढ वर्षसम्म यसबारे एउटा पनि बैठक गरेनन् । अटो शो सम्म पनि महासंघको चर्चा थिएन। तर जब कार्यकाल सकिन लाग्यो, अचानक यो एजेण्डा ल्याइयो ।’ अध्यक्ष चौधरीले महासंघको प्रस्ताव नाडाको उचाइका लागि नभई आफ्नो शक्ति टिकाउनका लागि ल्याएका गोल्छाको दाबी छ ।  ‘महासंघ बनाएपछि वर्तमान कार्यसमिति भंग गरी ३ जनाको तदर्थ समिति बनाउने र त्यसमा आफ्ना मान्छे मात्र राखेर अरू सबैलाई हटाउने उनको योजना छ। यो नाडा सुधार्ने प्रयास होइन, षड्यन्त्र हो,’ उनले भने । गोल्छाले नाडामा अहिले मौलाएको प्रवृत्तिलाई अराजकताको संज्ञा दिए । ‘हामी महासंघको विरोधी होइनौ, तर नाडा महासंघ बन्न सक्दैन, यो त महासंघको सदस्य मात्र बन्न सक्छ । यदि करण चौधरीलाई महासंघ बनाउनु नै थियो भने कार्यकालको सुरुमै वा असारभन्दा अघि विशेष साधारण सभा किन गरेनन् ? अहिले निर्वाचनबाट भाग्नका लागि यो प्रपञ्च रचिएको हो,’ गोल्छाले आक्रोश पोखे । उनले थपे, ‘अहिले जे हुँदैछ, त्यो विधान विपरीत छ। निर्वाचन नगर्ने र तदर्थ समितिमार्फत संस्था कब्जा गर्ने दाउपेच विरुद्ध हामी लडिरहन्छौँ ।’ विवाद र प्रशासनको पत्रका बाबजुद नाडा नेतृत्वले भने बुधबारको साधारण सभालाई निरन्तरता दिने संकेत गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै बाहिर आएका समाचारलाई निराधार हल्ला भनेको छ । तर, निर्वाचन तालिका बिना नै हुन लागेको यो साधारण सभाले नाडालाई झन् ठूलो कानुनी संकटमा धकेल्ने निश्चित छ । २०८२ पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको म्याद पुस १९ गते सकिँदैछ । नियमत: यो साधारण सभाले नयाँ नेतृत्व छानिसक्नुपर्ने थियो । तर, नेतृत्वको इगो र सत्ता मोहका कारण अटोमोबाइल क्षेत्रको यो प्रतिष्ठित संस्था अहिले अनिर्णयको बन्दी बनेको छ । नाडाको विधानअनुसार हरेक दुई वर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनुपर्छ । २०८० पुस २० गते चुनिएको वर्तमान कार्यसमितिको कार्यकाल आगामी पुस १९ गते सकिँदैछ । विधानतः साधारण सभा हुनु १५ दिनअघि नै निर्वाचन तालिका सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । तर अध्यक्ष चौधरीले निर्वाचनको एजेण्डालाई थाँती राखेर महासंघ बनाउने प्रस्तावलाई प्राथमिकता दिएपछि विवादले उग्र रूप लिएको हो ।​​​​​​

हुलास वायरको आम्दानी ७.३५ अर्ब, बैंकमा ऋण पनि ७.२९ अर्ब रुपैयाँ

काठमाडौं । करिब पाँच दशकको औद्योगिक विरासत बोकेको हुलास वायर इन्डस्ट्रिजले एकै वर्ष साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । हुलास वायरका अनुसार सन् २०२५ मा ७ अर्ब ३५ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १३.३५ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ७० लाख रुपैयाँ कम हो । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  स्वर्गीय महेन्द्रकुमार गोल्छाले सन् १९७९ मा मोरङको बुढीगंगा गाउँपालिकामा हुलास वायर इन्डस्ट्रिज स्थापना गरेका थिए । नेपालकै अग्रणी औद्योगिक संस्थामध्ये एकका रूपमा परिचित हुलास वायर इन्डस्ट्रिजले हाल मोरङ र सुनसरीमा गरी दुईवटा उत्पादन युनिटबाट आईएसओ ९००१ मान्यता प्राप्त विविध स्टिल तथा तारजन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ ।  बुढीगंगा गाउँपालिका-३, बाँसबारीमा रहेको युनिट-१ बाट जीआई वायर ५५ हजार मेट्रिक टन, ग्याबिन बक्स १४ हजार ४०० मेट्रिक टन, एचबी वायर २ हजार ३७५ मेट्रिक टन, रिब्ड वायर ३ हजार ३०० मेट्रिक टन, बाब्र्ड वायर ४५० मेट्रिक टन, वायर नेल्स १ हजार २०० मेट्रिक टन उत्पादन हुँदै आएको छ । यसकासाथै, नन-फेरस धातुअन्तर्गत ब्रास ५ हजार ५६० मेट्रिक टन र कपर सिट २ हजार २०० मेट्रिक टन समेत सोही युनिटमा उत्पादन भइरहेको कम्पनीले जनाएको छ । यस्तै, सुनसरीको इटहरी उप-महानगरपालिका-१३, खनारस्थित युनिट-२ बाट टीएमटी तथा न्यारो स्ट्रिप क्वाइल १ लाख ७२ हजार ८०० मेट्रिक टन, एमएस बिलेट ८६ हजार ४०० मेट्रिक टन र एमएस ब्ल्याक पाइप (६ हजार ००० मेट्रिक टन उत्पादन हुँदै आएको छ । हुलास वायर इन्डस्ट्रिज गोल्छा परिवारका सदस्यहरूद्वारा प्रवर्द्धित कम्पनी हो । कम्पनीको सेयर संरचनाअनुसार पारस एम. गोल्छाको करिब ३४ प्रतिशत र राजलक्ष्मी गोल्छाको करिब १७ प्रतिशत सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक युक्ति गोल्छाले सम्हाल्दै आएकी छन् । उद्योग क्षेत्रमा एक दशकको अनुभव बोकेकी उनको नेतृत्वमा हुलास वायर इन्डस्ट्रिजले आफ्नो सञ्चालन क्षमता र व्यवस्थापन दक्षता अभिवृद्धि गर्दै आएको कम्पनीले जनाएको छ । उद्योग सञ्चालनका लागि हुलास वायरले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब २९ करोड २७ लाख रुपैयाँ कर्जा लिएको छ । जसमा कम्पनीले २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।  यस्तो छ उद्योगको आम्दानी  उद्योगले सन् २०१७ मा ६ अर्ब ९६ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ७ अर्ब ५१ करोड ९० लाख रुपैयाँ, सन् २०१९ मा ७ अर्ब ९० करोड १० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  उद्योगले सन् २०२१ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ८३ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ६ अर्ब ५ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो ।

बीवाईडी बेच्ने साइमेक्स इंकको एक वर्षमै साढे ११ अर्ब रुपैयाँ आम्दानी, ईभी बजारमा बलियो पकड

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एकै वर्ष साढे ११ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।  यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत अर्थात् ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीले १६ अर्ब ४० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  यस्तै, कम्पनीले सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  बढ्दो प्रतिस्पर्धाबीच साइमेक्स इंकले छोटो समयमै नेपाली अटोमोबाइलमा बलियो उपस्थिति जनाउन सफल भएको छ । साथै साइमेक्स इंकको आम्दानीमा बीवाईडी अटो–३ र डल्फिन मोडलको ९० प्रतिशत रहेको कम्पनीले जनाएको छ । कम्पनीले हालै अटो-१, अटो-२ का कम मूल्यका नयाँ ईभी सवारीसाधन लञ्च गरिसकेको छ । यसबाट थप आम्दानी बढ्ने विश्वास कम्पनीले लिएको छ ।  सन् २०१६ जुलाईमा स्थापना भएको साइमेक्स इंक प्रालिले नेपालमा बीवाईडी ब्रान्डका यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारीसाधनको प्रवर्द्धनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति दरिलो बनाएको छ । साइमेक्स इंकले देशभरका प्रमुख सहरमा १४ वटा डिलरशिप आउटलेटमार्फत सवारी साधन बिक्री वितरण गर्दै आएको छ । साथै देशभर कम्पनीले विभिन्न ठाउँमा ६४ वटा चार्जिङ स्टेशन पनि सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीमा ५०.५ प्रतिशत सेयर स्वामित्व यमुना श्रेष्ठको रहेको छ भने बाँकी ४९.५ प्रतिशत सेयर सेयर स्वामित्व उनका भाइ अनिल श्रेष्ठको नाममा रहेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ४५ करोड रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब रुपैयाँ ऋण लिएको थियो ।