विजय र भगवतीको टक्करमा रास्वपाको फरक रणनीति, यस्तो छ सुनसरी-३ को चुनावी विश्लेषण

काठमाडौं । विजय गच्छदारको सुनसरी-३ मा प्रतिनिधि सभाको निर्वाचनमा टिकट अनिश्चितजस्तै थियो । किनभने नेपाली कांग्रेसमा शक्तिको सत्ता फेरिएको थियो । गच्छदार राजनीतिमा निर्वतमान सभापति शेरबहादुर पक्षधर थिए । उनी पूर्वउपसभापति समेत थिए ।  कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व फेरिसकेको छ । गगन थापा सभापति बनेर टिकट बाँडेका छन् । टिकट पाइसकेर धेरै उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् । विजय गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिँदै आएका थिए । आफ्नो गढ मानिएको ठाउँमा उनलाई जान सधैं हतारो हुन्थ्यो । यसपालि पनि त्यस्तै भयो जहाँ उनलाई उम्मेदवारी दर्ता गर्नु थियो ।  यसपटक भने गच्छदार अलमलमा परेका थिए, टिकट पाउने हुँ कि नपाउने भनेर । किनभने उनलाई पार्टीभित्र शक्तिक्षीण भएको महसुस भएको थियो । उनी सधैं राज्य र पार्टीको शक्तिमा थिए । पार्टीले पनि सुनसरी ३ नम्बर क्षेत्रमा दुई जनाको नाममा टिकट वितरण गर्‍यो ।  विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट पाए । दुवै जना टिकट लिएर निर्वाचन क्षेत्र पुगे । निर्वाचन आयोगमा केही समय उम्मेदवारी दर्ता हुन सकेन । वेदनारायण गच्छदार दुहबी नगरपालिकाका मेयरसमेत हुन् । गच्छदारले अन्तिम पटक भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे । उनको आग्रहपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे । विजय गच्छदार गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित बनेका थिए । उनले ३५ हजार ६०० मत पाएका थिए । गत निर्वाचनमा उनले चुनावी इतिहासमा पहिलोपटक हार बेहोरेका थिए । छैठौं पटक जित हासिल गरेपछि गच्छदारले सातौं पटकमा निर्वाचनको परिणाममा फेल खाएका हुन् ।  यसपटक भने उनै गच्छदार एमालेकी उम्मेदवारसँग बदला लिने तयारीमा छन् । जसले गर्दा राज्य शक्तिबाट च्युत भए पनि पार्टीबाट शक्ति गुमाएनन् । कुनै समय सुनसरीमा कांग्रेस भन्नु नै गच्छदार थिए । गच्छदारले आफ्नो शक्ति र मत चिन्न नसक्दा जनताको पराजित बन्न पुगेका थिए । अन्तिम पटकको चुनावी लडाइँमा लागेका उनी आफ्नो पक्ष मत ल्याउने छन् । उनी इतिहास दोहोर्‍याउने दाउमा छन् । गच्छदारको सत्ता तोड्ने चौधरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी यसपटक पुनः जित हासिल गर्न कस्सिएकी छन् । गत निर्वाचनमा उनी ४० हजार ७८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले गच्छदारलाई निर्वाचनमा हराइनन् मात्र उनको सुनसरीमा देखिने सत्ताको शक्तिलाई समेत हराएकी थिइन् ।  ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेको छ । चौधरीलाई आदिवासी समुदायको सूचीमा राखिएको छ । सोही ठाउँबाट उनले साहसी महिलाको रूपमा विजयी झण्डा फहराउँदै र हात हल्लाउँदै संसदमा छिरिन् ।  चौधरीले संसदमा मात्र पाइला राखिनन् । पहिलोपटक बालुवाटारमा मन्त्रीको हैसियतले आफ्नो उपस्थिति जनाइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भइन् । आफ्नो कार्यकालमा सामाजिक न्याय, समावेशीकरण र संरक्षणका क्षेत्रमा उल्लेखनीय नीतिगत पहल गरेको चौधरीको भनाइ छ । उनले महिला उद्यमशीलता, सामाजिक न्याय र सुशासनका सवालमा छोटो कार्यकालमा सार्वजनिक स्थानमा राम्रो काम गरेको दाबी गर्दै आएकी छन् । एमालेकी उम्मेदवार भगवती चौधरी ।  चौधरी अर्थतन्त्र, सामाजिक विकास र अन्तर्राष्ट्रिय समन्वयमा अनुभव हासिल गरेकी उनी युवाहरू तथा महिलाहरूको स्वरोजगार र आत्मनिर्भरताको सवालमा निरन्तर क्रियाशील रहँदै आएकी छन् । राजनीतिलाई पेसा–व्यवसायभन्दा पनि समाजसेवा र नीति निर्माणमा काम गर्ने थलो बनाइनु पर्ने नेतृ चौधरी बेला–बेलामा बताउने गर्छिन् । असफल नेताहरूको मत तान्ने रणनीतिमा रास्वपा सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक उनी सोही क्षेत्रमा विगतमा विजयी भएकाहरू असफल भएको भन्दै आएका छन् । उक्त क्षेत्रलाई सबैभन्दा बढी रोचक मानिएको छ ।  जेनजी आन्दोलनपछि नेपालको राजनीति परिदृश्य बदलिएको छ । नयाँ–नयाँ राजनीतिक दलको उदय भएकाले आफ्नो स्थान बलियो बनाउन खोजेका छन् । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेका थिए । यसपटक सबै दलले आफ्नो उम्मेदवार उठाएका छन् । गठबन्धन नगरेका कारण पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्ने गरेर हौसिएका छन् । सुनसरी ३ का मतदातासँग मत माग्दै रास्वपाका उम्मेदवार अशोककुमार चौधरी ।  चुनावी एजेण्डामा नयाँ-नयाँ मुद्दा र अनुहार देखिएका छन् । निर्वाचनमा युवा उम्मेदवारको संख्या बढी छ । पछिल्लो समय मुलुकमा रास्वपाको माहोल राम्रो बन्दै गएको देखिन्छ । राम्रो माहोल बनिरहेका बेला रास्वपाका उम्मेदवार अशोककुमार आफ्नो पक्षमा मत परिणाम ल्याउन खोजिरहेका छन् । गत निर्वाचनमा रास्वपाका उम्मेदवारले ६ हजार चार सय ५३ मत प्राप्त गरेका थिए । चौधरी असन्तुष्ट मतदाताहरूको मत आफूतिर तान्ने पक्षमा छन् । गच्छदार र चौधरीसँग रुष्ट बनेका मतदाताहरूलाई घण्टीमा मत हाल्न लगाएर चौधरी विजयीको पथमा लम्किने दाउमा छन् । कस्तो छ पार्टीको माहोल ? नेपाली कांग्रेस दुहबी नगर कार्य समितिका सभापति वेदनारायण गच्छदारले यसपटक नेपाली कांग्रेसको उम्मेदवारले सहजै विजयी हासिल गर्ने दाबी गरेका छन् । ०४८ सालदेखि निर्वाचित भएको उम्मेदवार यस क्षेत्रमा उम्मेदवार रहेकाले विजयी हुनेमा कांग्रेस ढुक्क रहेको उनी बताउँछन् । एमालेको मत पनि धेरै बिग्रेकाले कांग्रेसले मत बढाउन सक्ने गच्छदारले विश्वास व्यक्त गरे । गत निर्वाचनमा विजयी भएको उम्मेदवारले यस क्षेत्रमा केही नगरेकाले मतदाताहरू सचेत भइसकेको उनले बताए । उनी भन्छन्, ‘यसपालि रास्वपाले मत बढाउँछ । तर, हामीलाई असर पर्दैन । दुवै ठूला–ठूला दलको मत काट्ने छ ।’ नेपाली कांग्रेस रूपान्तरित भएर निर्वाचनमा गएकाले जित सुनिश्चित रहेको उनको बुझाइ छ । विकासप्रेमी र अनुभवी राजनीतिज्ञ रहेकाले यस क्षेत्रका लागि योग्य उम्मेदवार पार्टीले उठाएको उनको ठहर छ ।  ३ नम्बर क्षेत्रका मतदाता कपिल घिमिरे यस क्षेत्रमा निर्वाचन कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । एमालेकी उम्मेदवार भगवती चौधरीलाई हेभीवेटको रूपमा लिएको उनले बताए । ‘उनले राम्रो काम गरेकाले पनि एमालेकी उम्मेदवारको विजयी हुने सम्भावना रहेको छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसका विजय गच्छदार अर्का उम्मेदवार भए पनि सर्वसाधारणप्रति राम्रो धारणा बनेको छैन ।’ घिमिरेले काम र कार्यक्रमको आधारमा भगवती चौधरी क्षमतावान भएको उनको विश्लेषण छ । रास्वपाले एमालेको मत नकाट्ने उनले विश्वास व्यक्त गरे । रास्वपाले कांग्रेसको मत काट्ने उनको तर्क छ ।  रास्वपा समर्थित स्थानीय हीरामणि घिमिरेले पार्टीको संगठन विस्तार गरिरहेको बताए । ‘गत निर्वाचनमा उम्मेदवारीको मनोनयन गर्दा ५ जना थिए अहिले सयौंको भीड छ,’ उनले भने । रास्वपाप्रति स्थानीय मतदाता सकारात्मक रहेको घिमिरेले बताए । यस क्षेत्रको मतदाताले परिवर्तन खोजेको उनले उल्लेख गरे । रास्वपाकै ठूल्ठूला राजनीति दलका उम्मेदवारलाई मतदाता प्रश्न गर्न सक्ने भइसकेको उनको भनाइ छ । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेकाले ठूला दलका उम्मेदवारले प्रभावमा पार्न नसकेमा रास्वपाकै उम्मेदवारले सहजै जित हासिल गर्न सक्ने घिमिरेले बताए ।  सुनसरी ३ नम्बर क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट दुर्गेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ्, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टी राम नारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिप बहादुर तामाङ्ग, समावेशी समाजवादी पार्टी नेपाल किशोर कुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट आसुतोष ढुङ्गेल चुनावी मैदानमा छन् ।  यस्तै, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी,  उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव,  नागरिक उन्मुक्ति पार्टीबाट बासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहन कुमार शाह, स्वतन्त्र उम्मेदवार कासनी थरुनी,  स्वतन्त्र उम्मेदवार कुमारी उराव, स्वतन्त्र उम्मेदवार चीतनारायण चौधरी, स्वतन्त्र उम्मेदवार राजन कुमार गौतम, स्वतन्त्र उम्मेदवार श्याम कुमार मुडियारी र स्वतन्त्र उम्मेदवार सुमन कुमार चौधरी रहेका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार ३ नम्बर क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । सोही क्षेत्रमा ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र रहेका छन् ।

चीनमा सस्तो र शक्तिशाली एआई मोडेलको बाढी, अमेरिकी एआईहरूलाई चुनौती दिँदै

काठमाडौं । अमेरिकाका प्रतिस्पर्धी ओपनएआई, एन्थ्रोपिक र गुगलसँगको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा चिनियाँ कम्पनीहरूले नयाँ कृत्रिम बौद्धिकता (एआई) मोडेलको सार्वजनिक प्रयोग तीव्र रूपमा अघि बढाइरहेका छन् । झन्डै एक वर्षअघि मात्र चीनमा विकसित डीपसीकले कम प्रयोग शुल्क र कम उत्पादन लागतमा एआई च्याटबोट सार्वजनिक गर्दै ‌‌ओपनएआईको च्याटजीपीटीलाई चुनौती दिएपछि विश्व बजार नै तरंगित भएको थियो । यसले चीनमाथि लगाइएका अमेरिकी प्रविधि प्रतिबन्धहरूको प्रभावकारितामाथि समेत प्रश्न उठाएको थियो । मंगलबार बेइजिङस्थित स्टार्टअप मुनसट एआईले किमी के २.५ सार्वजनिक गर्‍यो । कम्पनीका अनुसार यसमा भिडियो निर्माण र ‘एजेण्टिक’ क्षमता रहेका छन्, जसले प्रमुख तीन अमेरिकी एआई मोडेलभन्दा राम्रो प्रदर्शन गरेको दाबी गरिएको छ । एजेण्टिक एआई भन्नाले मानिसको तर्फबाट कार्य सम्पादन गर्न सक्ने एआई प्रणालीलाई जनाउँछ । यसको अन्तिम लक्ष्य न्यूनतम प्रयोगकर्ता हस्तक्षेपमै स्वतः काम गर्न सक्ने उन्नत एआई एजेण्ट विकास गर्नु हो । मुनसुटले के टु मोडेल सार्वजनिक गरेको करिब तीन महिनापछि मात्रै यो नयाँ अपडेट आएको हो । यसअघि नै ई–कमर्स दिग्गज अलिबाबाले प्रयोगकर्ताको निर्देशनअनुसार पाठ, तस्बिर वा भिडियो सिर्जना गर्न सक्ने आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेल सार्वजनिक गरेको थियो । अलिबाबाका अनुसार यसको क्यूवेन ३ म्याक्स थिङ्किङ मोडेलले ‘मानव अस्तित्वको अन्तिम परीक्षा’ नामक व्यापक बेन्चमार्क परीक्षणमा प्रमुख अमेरिकी प्रतिस्पर्धीहरूलाई उछिनेको छ । अलिबाबाले नयाँ मोडेलले विभिन्न कार्यका लागि उपयुक्त एआई उपकरण स्वतः छनोट गर्न सक्ने, अघिल्ला संवादलाई सन्दर्भका रूपमा प्रयोग गरी अझ प्रभावकारी रूपमा नयाँ उत्तर सिर्जना गर्न सक्ने र यो सबै न्यून अतिरिक्त लागतमा सम्भव भएको जनाएको छ । जनवरी १९ मा जेड एआईले हालै सार्वजनिक गरेको जीएलएम ४।७ मोडेलको निःशुल्क संस्करण ल्याएको थियो । त्यसको दुई दिनपछि अत्यधिक मागका कारण उपलब्ध कम्प्युटिङ क्षमतामा दबाब परेपछि कम्पनीले आफ्नो एआई कोडिङ उपकरणका नयाँ प्रयोगकर्ताको दर्ता अस्थायी रूपमा सीमित गर्‍यो । गत साता हङकङमा सूचीकृत चिनियाँ प्रविधि कम्पनी बाईडूका सेयरहरू करिब तीन वर्षयताकै उच्च स्तरमा पुगे, जब कम्पनीले आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेल अर्नि ५.० सार्वजनिक ग‍र्यो । कम्पनीले यो मोडेल गुगलको जेमिनी– २.५– प्रोभन्दा उत्कृष्ट भएको दाबी गर्‍यो, तर गुगल डीपमाइन्डको नयाँ जेमिनी थ्री प्रोसँग भने तुलना गरेन । गुगल डीपसीकका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) डेमिस हासाबिसले यस महिना सीएनबीसीलाई दिएको अन्तर्वार्तामा चीनका एआई मोडेलहरू अमेरिकी मोडेलभन्दा केही ‘महिना’ मात्र पछाडि रहेको बताएका छन् । नयाँ मोडेल सार्वजनिक गर्नुका अतिरिक्त चिनियाँ कम्पनीहरूले स्वदेशी प्रविधिको प्रयोग विस्तार गर्न उदीयमान अर्थतन्त्रहरूका लागि सस्तो बनाउने रणनीति अपनाइरहेका छन् । अमेरिकामा विकसित धेरै एआई मोडेलभन्दा फरक चिनियाँ एआई मोडेलहरू प्रायः ‘ओपन–सोर्स’ हुन्छन्, जसले निःशुल्क वा कम लागतमा पहुँच र मोडेलको आधारभूत कोड अनुकूलन गर्ने सुविधा दिन्छ । एलएसवाई कन्सल्टिङका संस्थापक एलेक्स लुले भने, ‘चीनबाहेकका देशहरूले पनि यी मोडेल प्रयोग गरून् भन्ने चिनियाँ कम्पनीहरूको अपेक्षा छ । यही माध्यमबाट उनीहरू बजारमा प्रवेश गर्न खोजिरहेका छन् ।’ यो प्रवृत्ति सुरु भइसकेको संकेत पनि देखिएको छ । माइक्रोसफ्टले यसै महिना डीपसीकको प्रयोग अफ्रिकामा अन्य क्षेत्रको तुलनामा दुईदेखि चार गुणा बढी रहेको अनुमान सार्वजनिक गरेको थियो ।

चुनावको मुखमा ग्यास अभावः उपभोक्ता मारमा, बिक्रेता भन्छन्– ‘पसल खोल्ने अवस्था छैन’

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको रौनक बढिरहेका बेला बजारमा एलपी ग्यास अभावको चर्चा हुन थालेको छ । व्यवसायीहरूले अहिले ग्यास अभाव भएको भन्दै उपभोक्तालाई रित्तै घर फर्काउन थालेका छन् । उनीहरूले बजारमा ग्यासको अभाव भएको र ग्यास नहुँदा पसल पनि खोल्ने अवस्था नभएको बताउँदै आएका छन् ।  ग्यास बिक्रेता महासंघ नेपालका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद दुलालले बजारमा ग्यासको अभाव भएको सुनाए । उनले विगत डेढ महिनादेखि ग्यासको अभाव भइरहेको बताए । उनका अनुसार ग्यास नहुँदा बिक्रेताहरूले पसल खोलेर बस्न सक्ने अवस्था पनि छैन ।  दुलालले ग्यास अभाव हुनुको मुख्य कारण भारतबाट आवश्यकताअनुसार ग्यासको लोडिङ नहुनाले भएकाे बताए । उद्योगीहरूले पर्याप्त मात्रामा ग्यास नउठाएको र उठाएको ग्यास पनि बजारमा सहज रूपमा नआउँदा समस्या सिर्जना भएको उनको भनाइ छ ।  ‘हामीले आयल निगम र उद्योगी दुवै पक्षसँग छलफल गर्‍यौं,’ उनले भने, ‘उहाँहरूले केही सातामा सुधार हुने आश्वासन दिनुभएको छ । तर, गर्मीमा आएको जतिको ग्यास पनि अहिले जाडोमा नआएपछि बजारमा यस्तो अवस्था सिर्जना भएको हो ।’ ढुवानी भाडा, चालक सुविधा जस्ता उद्योग र निगम बीचका आन्तरिक समस्याका कारण पनि आपूर्तिमा असर परेको हुन सक्ने उनको तर्क छ ।  बजारमा ग्यास अभावको सबैभन्दा ठूलो मार एउटा मात्र सिलिन्डर प्रयोग गर्ने विद्यार्थी तथा सामान्य परिवारलाई परेको छ । दुई वा सोभन्दा बढी सिलिन्डर हुनेहरूले एउटा खाली भएपछि अर्को प्रयोग गर्ने भए पनि एउटै सिलिन्डरको भरमा रहेकाहरू भान्सा नै बन्द हुने अवस्थामा पुगेका छन् ।  ‘एउटा मात्रै सिलिन्डर बोकेर बस्ने मान्छेहरूलाई अहिले एकदमै समस्या परिरहेको छ,’ दुलालले चिन्ता व्यक्त गर्दै भने, ‘उनीहरू सिलिन्डर काँधमा बोकेर यताउता भौतारिनुपर्ने बाध्यता छ ।’ समाधानको आश्वासन छ, विश्वास छैन ग्यास बिक्रेता महासंघले आयल निगम र उद्योगीहरूसँग त्रिपक्षीय छलफल गरेर समस्या समाधान गर्न दबाब दिइरहेको छ । निगम र उद्योगीहरूले एक साताभित्र आपूर्ति ७०/८० प्रतिशत सहज हुने र एक/दुई महिनामा सतप्रतिशत सामान्य अवस्थामा फर्किने आश्वासन दिएका छन् ।  तर, पटक–पटकको आश्वासन पुरा नहुँदा बिक्रेता र उपभोक्ता दुवैमा विश्वासको संकट देखिएको छ । ‘हामीले हाम्रो तर्फबाट पहल गरिरहेका छौं, सुझाव दिइरहेका छौं,’ दुलालले भने, ‘तर अन्त्यमा अवस्था कस्तो हुन्छ, भन्न सकिने अवस्था छैन । केही दिनमा सुधार होला भनेर अब ‘जय पशुपतिनाथ’ भन्ने बाहेक अरु उपाय छैन ।’ नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार समस्याको मुख्य जड भारतबाटै हुने आपूर्तिमा आएको कमी हो । ‘अहिले भारतबाट ग्यासको आयात नै कम भइरहेको छ । रिफाइनरीहरूमा लोडिङमा पनि समस्या छ,’ उनले भने, ‘यस्तो अवस्थामा बजारमा अभाव देखिनु स्वाभाविक हो ।’ व्यवसायीहरूका अनुसार जाडोयाममा ग्यासको खपत सामान्य अवस्थाभन्दा १५ प्रतिशतसम्म बढ्छ । तर, माग बढेको यही समयमा आपूर्ति घट्दा बजारमा दोहोरो मार परेको उद्योगी व्यवसायीहरूको भनाइ छ ।  ‘एकातिर खपत बढेर आपूर्ति बढाउनुपर्ने बेला छ, अर्कोतिर आयात नै घटेको छ । यो अवस्थाले अभावलाई झनै गहिरो बनाएको छ,’ घिमिरेले भने, ‘आपूर्ति बढाउनुपर्नेमा उल्टै घटेपछि हामीले चाहेर पनि बजारको माग धान्न सकेका छैनौं ।’ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका कारण ग्यासको खपत थप बढ्ने अनुमान छ । तर, हालकै आपूर्ति अवस्था कायम रहे निर्वाचनको समयमा संकट थप गहिरिन सक्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।  ‘अहिलेकै स्थिति हेर्दा अभाव तत्काल समाधान हुन्छ भन्न सक्ने अवस्था छैन,’ घिमिरेले भने, ‘यदि भारतीय पक्षले पर्याप्त ग्यास बुलेट उपलब्ध गराएर लोडिङ सहज बनाइदिएमा मात्रै हामीले बजारमा अभाव हुन दिने थिएनौं र तर, समस्या उतैबाट छ ।’ उद्योगहरूमा ग्यास नभएकै कारण बजारमा अभाव देखिएको र ग्यास आएपछि मात्रै वितरण सहज हुने उनको भनाइ छ । आयल निगम भन्छ- हल्लामात्रै हो  नेपाल आयल निगमले भने आपूर्तिमा कमी भएर नभई केही ग्यास उद्योगको वितरण प्रणालीमा आएको अस्थायी समस्याका कारण भएको जानकारी दिएको छ । हाल बजारको मागभन्दा बढी ग्यास आयात र लोडिङ भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको र एक/दुई दिनभित्रै बजार पूर्ण रूपमा सहज हुने दाबी निगमको छ । निगमले बजारमा हल्ला फैलिएजस्तो अभाव नभएको बताएको छ ।  विशेषगरी काठमाडौं उपत्यकामा ठूलो बजार हिस्सा ओगटेको नेपाल ग्यासको सिलिन्डर रोटेसन र ढुवानीमा आएको समस्याका कारण उपभोक्ताले अभाव महसुस गरेको हुन सक्ने निगमका प्रवक्ता मनोज ठाकुरको भनाइ छ ।  ‘देशैभरि ग्यास नपाइनुलाई अभाव भन्न सकिन्छ । तर, एउटा निश्चित उद्योगको वितरणमा समस्या आउँदा समग्र बजारमा अभाव छ भन्न मिल्दैन,’ निगमका प्रवक्ता ठाकुरले भने, ‘उक्त समस्या समाधान भइसकेको छ र अहिले आपूर्ति नियमित छ । ’ निगमका अनुसार सामान्य अवस्थामा नेपालमा दैनिक ७० देखि ७५ बुलेट (करिब १,२६० मेट्रिक टन) ग्यासको माग रहने गरेको छ । तर, हालको अवस्थालाई मध्यनजर गर्दै आपूर्तिलाई व्यापक बनाइएको छ । ‘मंगलबार मात्रै १४० बुलेट ग्यास लोड भएको छ र आज पनि १०० भन्दा बढी बुलेट भारतमा लोड हुँदैछ । यो मागभन्दा झन्डै दोब्बर हो,’ ती उनले भने । जाडो महिनामा पानी तताउने लगायतका काममा ग्यासको प्रयोग बढ्ने र आसन्न निर्वाचनका कारण पनि खपत बढ्न सक्ने आँकलन गर्दै निगमले थप १० प्रतिशत ग्यासको पीडीओ (उत्पादन वितरण आदेश) उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । यो निर्णयले चुनावका बेला हुनसक्ने सम्भावित अभावलाई समेत टार्ने विश्वास लिइएको छ । किन हुन्छ पटक-पटक अभाव ? नेपालको ग्यास आपूर्ति प्रणाली पूर्णतया भारतीय ढुवानीकर्तामा निर्भर रहनु अभावको एक प्रमुख कारण हो । निगमले ग्यास उद्योगहरूलाई कोटाअनुसार पीडीओ जारी गर्छ । तर, उद्योगहरूले भारतका पारद्वीप, बरौनी, मथुरा, हल्दियाजस्ता रिफाइनरीबाट ग्यास ल्याउन भारतीय ढुवानीकर्ता नै प्रयोग गर्नुपर्छ ।  ‘जाडोयाममा भारतमै ग्यासको माग बढ्दा भारतीय ढुवानीकर्ताले नेपालको भन्दा उतै ढुवानी गर्न प्राथमिकता दिन्छन्, जसले गर्दा कहिलेकाहीँ हाम्रो आपूर्ति चक्रमा असर पर्छ,’ निगमका प्रवक्ता ठाकुरले भने ।  निगमले सबै ग्यास उद्योगीहरूलाई चुनावको समयमा कुनै पनि हालतमा अभाव हुन नदिन आफ्नो संयन्त्र पूर्ण क्षमतामा परिचालन गर्न निर्देशन दिइसकेको छ । आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार नेपालमा वार्षिक ५ लाख ५३ हजार २५४ मेट्रिक टन ग्यास आयात भएको छ । यसलाई मासिक हिसाब गर्दा औसतमा ४६ हजार १०४ मेट्रिक टन हुन आउँछ । जुन गत वर्षको तुलनामा बढेको हो । निगमले उपलब्ध गराएको तथ्यांक अनुसार विगत पाँच वर्षदेखि ग्यासको खपत निरन्तर बढिरहेको देखिन्छ ।