पौने ३ अर्बको बीमा रकम पचाउने षडयन्त्र, सीआईबीले गर्यो भण्डाफोर
काठमाडौं । पर्यटकको उद्धार गरेको दाबी गर्दै गलत कागजात बनाएर बीमा दाबी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यू) सम्बन्धी अनुसन्धानको प्रगति विवरण बारेमा जानकारी दिँदै विभिन्न ६ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । उनीहरूले पौने तीन अर्बको बीमा भुक्तानीको लागि दाबी गर्दा अनुसन्धानबाट गलत काम गरेको भेटिएको हो । विभिन्न कम्पनीबाट २ अर्ब ८७ करोड ८ लाख रुपैयाँ भुक्तानीका लागि दाबी परेको अनुसन्धानबाट देखिएको हो । उनीहरूमाथि राष्ट्रहित कसुरमा, आपराधिक लाभको कसुर र संगठित अपराधमा र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी छ । सीआईबीले यो काममा संलग्न देखिएको भन्दै अल्पाइन रेस्क्यू सर्भिसका अध्यक्ष जयप्रसाद सिग्देल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रविन्द्र अधिकारी, सोही कम्पनीका म्यानेजर विवेकराज थपलिया, एभरेष्ट इक्सपेरियनस एण्ड एसिस्टका प्रबन्ध सञ्चालक मुक्ति पाण्डे र सञ्चालक सुभाष केसीलाई पक्राउ गरेको हो । सीआईबीको अध्ययन प्रतिवेदनअनुसार माउन्टेन रेस्क्यू सर्भिसले १ हजार २४८ जनामध्ये १७१ जनाको शंकास्पद रेस्क्यू देखिने १ करोड ३ लाख १० हजार अमेरिकी डलर अर्थात् नेपाली डेढ अर्ब रुपैयाँ दाबी गरेका थिए । त्यस्तै, नेपाल चार्टर सर्भिसले ४७१ जनाको रेस्क्यू गरेकोमध्ये ७५ जना शंकास्पद रेस्क्यू देखिने ८२ लाख ३४ हजार बढी अर्थात् करिब १ अर्ब २० करोड रुपैयाँ दाबी गरेको भेटिएको छ भने एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्सले ६०१ जनामध्ये ७१ जना पर्यटकको शंकास्पद रेस्क्यू देखिएकोमा कुल ११ लाख ५३ हजार अर्थात् १६ करोड ८१ लाख ७१ हजार नेपाली रुपैयाँ बराबरको बीमा दाबी गरेको प्रारम्भिक छानबिनबाट देखिएको छ ।
सुनसरी-१ मा त्रिपक्षीय प्रतिस्पर्धा, एमालेको गढमा हर्क र रास्वपाको लडाइँ
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । १६५ निर्वाचन क्षेत्रमा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता पनि भइसकेको छ । दलहरूले चुनावी घोषणापत्र बनाउने चटारोमा रहँदा उम्मेदवारहरू भने चुनावी प्रचारप्रसारमा होमिसकेका छन् । यस पटकको निर्वाचनमा सुनसरी-१ लाई पनि धेरैले चासोका रूपमा हेरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र र रामधुनी नगरपालिकाका केही वडाहरू सुनसरी–१ मा पर्छन् । बराह क्षेत्र १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा यो क्षेत्रमा पर्छन् । जहाँ धरानका निवर्तमान मेयर हर्क साम्पाङसमेत प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धामा छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनी मेयर पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा २६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा १९ जनाले विभिन्न राजनीतिक दलहरूबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी-१ मा नेकपा एमालेको टीकाराम लिम्बू, नेपाली कांग्रेस पार्टीका सुजेन्द्र गोले तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीको गोमा तामाङ (सरिन), नेपाल मजदुर किसान पार्टीको उम्मेदवार महेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी (नेत्रविक्रम चन्द )का दिलबहादुर बास्तोला (नगेन्द्र), राष्ट्रिय साझा पार्टीको उम्मेदवार भूपी राई रहेका छन् । यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज (सूर्यबहादुर) भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीको उम्मेदवार राजकुमार राई, संयुक्त नागरिक पार्टी नरेश विक, उज्यालो नेपाल पार्टीको डम्बर लावती, नेकपा संयुक्त पार्टीका श्याम नारायण राजधामी, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, आम जनता पार्टीका राय बहादुर विष्ट , जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पाटीका उद्धव श्रेष्ठ र मितेरी पार्टी नेपालको डा.रक्षकुमार राई रहेका छन् । त्यस्तै, स्वतन्त्रबाट ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा , चेतबहादुर राई, जीवनकला राई, सुमित राई र देउमान लिम्बूले मनोनयन पत्र दर्ता गराएका छन् । यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने लगभग पक्का भएको छ । नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बु, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई र रास्वपाकी उम्मेदवार गोमा तामाङबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको हो । अहिले राई सडकदेखि मतदाताको घरदैलोमा माइक बोकेर मत माग्न थालेका छन् । आफू स्थानीय भएको र धरानमा मेयर हुँदा धेरै विकास गरेको तथा खानेपानी समस्याको धेरै हदसम्म समाधान भएको दाबी गर्दै चुनावी मैदानमा छन् । मुलुक निर्माण गर्न श्रमको अभियानकर्ता आफू रहेको दाबी उनको छ । श्रम गरेरमात्र मुलुक बन्छ भन्ने विश्वास राख्ने राई सांसद बनेर मुलुक परिवर्तन गर्ने हुटहुटीले संसदमा छिर्ने अभिलाषा बोकिरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा साम्पाङ्ले २० हजार ८२१ मत प्राप्त गरेका थिए । साम्पाङ्ले स्वतन्त्र उम्मेदवारीको रूपमा धरान उपमहानगरपालिकाका मतदाताहरूको मत पाएर विजयी भएका थिए । यस पटकको निर्वाचनमा भने उनलाई भने सहज छैन । उनले धरानमा लोकप्रिय नाराको नाममा विकास गर्न खोजे पनि धेरै विवादित जनप्रतिनिधिको रुपमा चिनिन्छन् । यो क्षेत्रमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका थिए । उनले १७ हजार ५९ मत प्राप्त गरी विजयी भएका थिए । यद्यपि २०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले सहयोग गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी थिइन् । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिनै तामाङ उम्मेदवार बनेकी छन् । उनले चुनावमा राईलाई कडा टक्कर दिएकी थिइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका थिए । त्यसबखत नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उनी उम्मेदवार बनेका थिए । यसपटक भने सबै दलले आ-आफ्नो उम्मेदवारी उठाएका छन् । सुनसरी–१ लाई एमालेको गढ मानिन्छ । विगतका निर्वाचनमा यो क्षेत्रमा एमालेका उम्मेदवार वा एमालेले समर्थन गरेका उम्मेदवार विजयी हुँदै आइरहेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सुजेन्द्र तामाङ धरान उपमहानगरपालिका १५ निवासी तथा पार्टीको क्षेत्रीय सभापतिसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका किशोर राई मेयर साम्पाङ्सँग पराजित बनेका थिए । कांग्रेसले १६ हजार ५९ मत प्राप्त गरेका थिए । धरानका पूर्व मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचनमार्फत धरानको सत्तामा कांग्रेस उक्लिएको थियो । मेयरमा तिलक राई २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका थिए । सोही बेला प्राप्त गरेको मत पुनः लिने आशामा कांग्रेसका उम्मेदवार तामाङ् चुनावी मैदानमा छन् । माओवादीको तर्फबाट धरान उपमहानगरको वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई राजीनामा दिएर चुनावी मैदानमा छन् । भट्टराई र मेयर साम्पाङ उपमहानगरपालिकामा जनप्रतिनिधि हुँदा विवादमा आइरहन्थे । हालसम्मको प्रचारप्रसार, मतदाताको मनोविज्ञान र विगतको मतको विश्लेषण गर्दा यस क्षेत्रमा नेकपा एमाले, रास्वपा र हर्क साम्पाङबीच प्रतिस्पर्धा हुने देखिन्छ । सुनसरी-१ मा १ लाख ५० हजार ३९३ मतदाता छन् । यो क्षेत्रमा १६१ मतदान केन्द्र र ४१ वटा मतदान केन्द्र रहेका छन् ।
चीनमाथिको निर्भरता घटाउन अमेरिकाको रणनीति, दुर्लभ खनिज कम्पनीमा १.६ अर्ब डलर लगानी
काठमाडौं । अमेरिकी सरकारले ओक्लाहोमा रहेको उत्खनन कम्पनी यूएसए रेयर अर्थमा १.६ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यसबापत सरकारले कम्पनीको १० प्रतिशत हिस्सेदारी प्राप्त गर्नेछ । फाइनान्सियल टाइम्स (एफटी) ले शनिबार यस विषयमा जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो । रिपोर्टअनुसार सरकारी लगानीसँगै १ अर्ब डलरको छुट्टै निजी वित्तीय सम्झौता पनि सोमबार सार्वजनिक गरिने तयारी छ । यस विषयमा ह्वाइट हाउस र यूएसए रेयर अर्थले तत्काल जवाफ दिएका छैनन् । एफटीका अनुसार सरकारले दुर्लभ खनिज कम्पनीमा १६.१ मिलियन सेयर प्राप्त गर्नेछ । साथै थप १७.६ मिलियन सेयर खरिद गर्न सकिने वारेन्ट पनि पाउनेछ । दुवैको मूल्य प्रति सेयर १७.१७ डलर तोकिएको छ । गत वर्ष डिसेम्बरमा वासिङ्टनले राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक लिथियम, दुर्लभ खनिज तथा अन्य खनिजहरूको घरेलु उत्पादन बढाउन र चीनमाथिको निर्भरता घटाउन अमेरिकी उत्खनन क्षेत्रमा थप ‘ऐतिहासिक सम्झौता’ गर्ने योजना रहेको जनाएको थियो । चीनले व्यापार वार्तामा आफ्नो खनिज क्षमतालाई दबाबका रूपमा प्रयोग गर्दै आएको छ । गत वर्ष अमेरिकी प्रशासनले एमपी मटेरियल्स, लिथियम अमेरिकाज र ट्रिलोजी मेटल्समा पनि हिस्सेदारी लिएको थियो । यूएसए रेयर अर्थसँगको सम्झौता ‘सेमिकन्डक्टर आपूर्ति शृंखला र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक तथा रणनीतिक खनिजलाई देशभित्रै उत्पादन गर्ने (अनशोरिङ) मा केन्द्रित’ रहेको अमेरिकी वाणिज्य विभागअन्तर्गतको चिप्स कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै एफटीले जनाएको छ । उक्त कार्यालयले अमेरिकामा लगानी र उपकरणका लागि प्रोत्साहन प्रदान गर्दछ । एफटीका अनुसार कम्पनीले थप १ अर्ब डलरभन्दा बढी नयाँ इक्विटी उठाउने प्रयासको नेतृत्व गर्न लगानी बैंक तथा ब्रोकरेज फर्म क्यान्टर फिट्जगेराल्डलाई पनि समावेश गरेको छ । उक्त संस्थाका अध्यक्ष ब्रान्डन लुटनिक हुन्, जो अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका छोरा हुन् । यूएसए रेयर अर्थले टेक्सासको सिएरा ब्लान्कामा खानी विकास गर्दै आएको छ भने ओक्लाहोमाको स्टिलवाटरमा नियो म्याग्नेट उत्पादन गर्ने कारखाना निर्माण गरिरहेको छ । उक्त कारखाना २०२६ को पहिलो छ महिनामा व्यावसायिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । ३.४५ अर्ब डलरको बजार पुँजीकरण भएको यो कम्पनी अमेरिकाका ठूला नियो म्याग्नेट उत्पादकहरूमध्ये एकका रूपमा उदाएको छ । (रोयटर्सबाट अनुदित तथा सम्पादित)