खजुरीको नेपाल: २ अर्बको आम्दानी, १.५ अर्ब ऋण
काठमाडौं । बिस्कुट, कुकिज तथा पेस्ट्री/पफ्स उत्पादन गर्ने खजुरीको नेपाल प्रालिले सन् २०२५ मा २ अर्ब ४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २०.२२ प्रतिशत अर्थात् ३४ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७० करोड १० लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार पछिल्ला वर्षहरूमा खजुरीको नेपालको आम्दानी निरन्तर बढ्दै आएको छ । सन् २०१९ मा ९९ करोड ८० लाख रुपैयाँ रहेको कारोबार सन् २०२० मा १ अर्ब १५ करोड २० लाख रुपैयाँ पुगेको थियो । यस्तै, सन् २०२१ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । ‘खजुरीको’ ब्रान्डको बलियो पहिचान, अनुभवी व्यवस्थापन टोली तथा देशव्यापी वितरण सञ्जालले राजस्व वृद्धिमा महत्त्वपूर्ण योगदान गरेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै पनि कम्पनीको आम्दानी करिब ३० प्रतिशतले बढेको छ । खजुरीको नेपाल सन् २००४ अप्रिलमा स्थापना भएको हो । यसअघि कम्पनी सन् १९९५ देखि एकल स्वामित्वको फर्मका रूपमा सञ्चालन हुँदै आएको थियो । हाल कम्पनीका उत्पादन युनिटहरू ललितपुर, चितवन र मकवानपुरमा रहेका छन्, जहाँबाट देशभर वितरण सञ्जाल विस्तार गरिएको छ । कम्पनीको सेयर स्वामित्व एउटै परिवारका ६ जना सदस्यमा सीमित छ । कम्पनीका अध्यक्ष ओमनाथ महर्जन हुन् । पारिवारिक स्वामित्व र दीर्घकालीन अनुभवका कारण खजुरीको नेपाल नेपाली खाद्य उद्योगमा स्थापित र विश्वासिलो ब्रान्डका रूपमा परिचित हुँदै आएको छ । कम्पनीका अनुसार बिस्कुट तथा कुकिज उद्योग अत्यन्त प्रतिस्पर्धात्मक रहेको छ । घरेलु तथा बहुराष्ट्रिय ब्रान्डको उपस्थितिले बजारमा दबाब सिर्जना गरिरहेको छ भने नयाँ उत्पादनको प्रवेश र उपभोक्ताको प्राथमिकतामा हुने परिवर्तनले मागमा असर पार्न सक्ने कम्पनीले जनाएको छ । हाल लागू उच्च आयात शुल्क कम्पनीका लागि सकारात्मक भए पनि नीतिगत परिवर्तन भए व्यवसायमा असर पर्न सक्ने जोखिम रहेको छ । उद्योगका प्रमुख कच्चा पदार्थ सफा गरिएको गहुँको पिठो, घ्यू, पाम तेल र चिनी-कृषि आधारित भएकाले बाढी, सुख्खा, कीरा प्रकोपजस्ता प्राकृतिक जोखिमबाट प्रभावित हुने सम्भावना रहन्छ । यस्ता जोखिम सन् २०२२ र सन् २०२५ मा देखिएको भन्दै त्यसले उत्पादन लागत र मुनाफामा दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ । खजुरीको एक विश्वसनीय नेपाली ब्रान्ड हो, जसको सुरुआत ललितपुरको चापागाउँस्थित सानो घरेलु बेकरीबाट भएको थियो । संस्थापक जगन्नाथ महर्जनले आफ्ना बुवालाई घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्ने काममा सहयोग गर्दै व्यावसायिक यात्रा सुरु गरेका थिए । बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएर सुरुवात गरेको खजुरीको नेपालले काठमाडौं उपत्यकापछि व्यवसायलाई क्रमशः ठूलो औद्योगिक सञ्चालनमा रूपान्तरण गरिएको छ । आज खजुरीकोले डेढ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीले बिस्कुट, कुकिज, पफ, स्टिक चाउचाउ उत्पादन गर्दै आएको छ भने केही उत्पादन विदेशमा समेत निर्यात गरिरहेको जनाएको छ । व्यवसाय विस्तारसँगै कम्पनीले बैंकबाट कर्जा समेत बढाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २३ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यसअघि कम्पनीले ८७ करोड ४७ लाख दीर्घकालीन र २२ करोड ५३ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १० करोड रुपैयाँ मात्रै ऋण लिएको थियो ।
क्रिप्टोको मार्केट क्र्याश, दुई महिनाकै न्यूनतम स्तरमा बिटकोइन
काठमाडौं । विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटकोइन दुई महिनाकै न्यूनतम स्तरमा झरेको छ । फेड अध्यक्षबारे अड्कलबाजीले जोखिमयुक्त सम्पत्तिमा असर, अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का आगामी अध्यक्षले वित्तीय प्रणालीमा नगद प्रवाह कडाइ गर्न सक्ने अड्कलबाजी बढेसँगै बिटकोइनको मूल्य घटेको हो । पछिल्लो एक हप्तामा मात्रै बिटकोइनको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । शुक्रबार बिटक्वाइन २.५ प्रतिशतले घटेर ८२ हजार ३०० डलरमा कारोबार भयो । यसले क्रिप्टोकरेन्सीहरूलाई दबाबमा पारेको छ भने अमेरिकी डलर बलियो बनेको छ। २४ घन्टामै क्रिप्टो बजारको कुल मार्केट क्याप ५ प्रतिशतभन्दा बढीले घटी २.८२ ट्रिलियन डलरमा पुगेको छ । बिटकोइन र इथेरियमसहितका धेरै क्रिप्टोकरेन्सीहरू ६ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् । त्यसैगरी, इथेरियम पनि पछिल्लो २४ घन्टामा ६ प्रतिशतभन्दा बढीले घट्दै करिब २ हजार ७४० डलरमा कारोबार भइरहेको छ । यसबाहेक बाइनान्स, रिपल, सोलाना लगायतका अन्य क्रिप्टोकरेन्सीहरूमा पनि २४ घन्टामै ६ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पूँजी प्रवाह बढ्ने र मैत्रीपूर्ण नियमन हुने ‘सुनौलो युग’को अपेक्षा गरिएको भए पनि क्रिप्टो बजार कठिन अवस्थामा पुगेको छ । बजार नेतृत्व गर्ने बिटकोइनले अक्टोबरमा बनाएको कीर्तिमानी उच्च स्तरपछि झन्डै एक–तिहाइ मूल्य गुमाइसकेको छ । आज मूल्य घटेसँगै यसले अघिल्लो सत्रको गिरावटलाई निरन्तरता दिँदै लगातार चौथो महिना घाटातर्फ जाने संकेत गरेको छ, जुन पछिल्ला आठ वर्षमै सबैभन्दा लामो ओरालो शृंखला हो । पूर्व फेड गभर्नर केभिन वार्शलाई फेड अध्यक्ष जेरोम पावेलको स्थानमा ट्रम्पको रोजाइ बन्ने सम्भावना बढ्दै गएको अड्कलबाजीसँगै बिक्री चाप तीव्र भएको हो । वार्शले केन्द्रीय बैंकमा ‘रेजिम परिवर्तन’ आवश्यक रहेको भन्दै फेडको ब्यालेन्स सिट सानो बनाउनुपर्ने धारणा राख्दै आएका छन् । ठूलो ब्यालेन्स सिटका कारण तरलता बढ्दा बिटकोइन र अन्य क्रिप्टो सम्पत्तिले फाइदा लिँदै आएका थिए, किनकि फेडले बजारमा तरलता बढाउँदा सट्टाबाजी प्रकृतिका सम्पत्तिहरू उकालो लाग्ने प्रवृत्ति देखिन्थ्यो । इथर पनि दुई महिनाकै न्यूनतम स्तरमा झर्दै २.९ प्रतिशतले घटेर २ हजार ७३५.४८ डलरमा कारोबार भयो । गत वर्षको ठूलो गिरावटपछि क्रिप्टोकरेन्सीहरूले दिशाहीन संघर्ष गरिरहेका छन् । कतिपय समयमा सुन र सेयर बजारसँगै चले पनि पछिल्ला ठूला उछालहरूमा भने क्रिप्टो पछाडि परेको देखिन्छ । क्रिप्टो अप्सन ट्रेडिङ प्लेटफर्म डेरिभ डट एक्सवाईजेडका अनुसन्धान प्रमुख सीन डसनले केही सहसम्बन्ध अझै रहेको बताउँदै शुक्रबारको बिक्रीमा ‘एआईप्रतिको अत्यधिक उत्साहबारेको डर’ पनि ठूलो कारण बनेको बताए । यसैबीच, माइक्रोसफ्टले एआईमा ठूलो लगानी घोषणा गरे पनि आम्दानी अपेक्षाअनुसार नबढेपछि उसको सेयर मूल्य १० प्रतिशतले घट्यो, जसले रातारात विश्व बजारमा तरंग पैदा गरेको छ ।
घाटामा रहेका फाइनान्स धमाधम नाफामा, खराब कर्जा ५५ प्रतिशतसम्म
काठमाडौं । नोक्सानीको दलदलमा फसेका फाइनान्स कम्पनी चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफातर्फ फर्किएका छन् । चालु आवको ६ महिनाको अवधिमा फाइनान्स कम्पनीहरूले समग्रमा ३२ करोड १५ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकि गत वर्ष यही अवधिमा ६६ करोड २२ लाख ४८ हजार रुपैयाँ नोक्सानीमा थिया । यसले फाइनान्स क्षेत्र घाटाबाट नाफातर्फ फर्किएको संकेत गर्छ । तर यही नाफाको उत्साहसँगै फाइनान्सको बढ्दो खराब कर्जाले भने चिन्ताको विषय बनाएको छ । समीक्षा अवधिमा सेन्ट्रल फाइनान्सको नाफा सबैभन्दा बढी वृद्धि भएको छ । सेन्ट्रल फाइनान्सको नाफा ९६५ प्रतिशतले बढेर ३ करोड ९१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस्तै, गुडविल फाइनान्सको नाफा पनि ९६५ प्रतिशतले वृद्धि भई ११ करोड १७ लाख ८ हजार रुपैयाँ पुगेको छ भने मञ्जुश्री फाइनान्सले १५.६२ प्रतिशत वृद्धि गर्दै १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । केही फाइनान्स कम्पनीको नाफा भने घटेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा १४.१० प्रतिशतले घटेर १ करोड २१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । मल्टीपर्पस फाइनान्सको नाफा ३६.७६ प्रतिशत घटेर ७८ लाख ३४ हजार रुपैयाँ र आईसीएफसी फाइनान्सको नाफा ७०.६५ प्रतिशत घटेर ३ करोड २० लाख ३० हजार रुपैयाँमा झरेको छ । चालु आवको ६ महिनामा गोर्खाज फाइनान्सले ६ करोड १६ लाख ५७ हजार रुपैयाँ, पोखरा फाइनान्सले २ करोड ३३ लाख १५ हजार रुपैयाँ, बेस्ट फाइनान्सले १ करोड ७४ लाख ८५ हजार रुपैयाँ, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सले १ करोड ६८ लाख ४८ हजार रुपैयाँ, रिलायन्स फाइनान्सले १७ लाख २३ हजार रुपैयाँ र समृद्धि फाइनान्सले ११ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तर, समीक्षा अवधिमा केही फाइनान्स कम्पनी भने अझै नोक्सानीमै छन् । नेपाल फाइनान्सले ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सले २ करोड ९२ लाख ५१ हजार रुपैयाँ र जानकी फाइनान्सले २ करोड २३ लाख ८३ हजार रुपैयाँ नोक्सानी व्यहोरेका छन् । खराब कर्जा ५५ प्रतिशतसम्म चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा (एनपीएल) औसत १.३७ प्रतिशतले बढेर १३.८६ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा फाइनान्स कम्पनीहरूको औसत एनपीएल १२.४८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा सबैभन्दा उच्च खराब कर्जा जानकी फाइनान्सको देखिएको छ । चालु आवको पुस मसान्तसम्म जानकी फाइनान्सको एनपीएल ५५.२६ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ४०.८८ प्रतिशत थियो । एक वर्षको अवधिमा कम्पनीको खराब कर्जा १४.३८ प्रतिशत बिन्दुले बढेको हो । यस अवधिमा बेस्ट फाइनान्सको खराब कर्जा १०.०१ प्रतिशतले बढेर १३.८७ प्रतिशत पुगेको छ । नेपाल फाइनान्सको एनपीएल ६.२७ प्रतिशतले बढेर १६.७३ प्रतिशत पुगेको छ भने गोर्खाज फाइनान्सको ३.०४ प्रतिशतले वृद्धि भई १७.४६ प्रतिशत पुगेको छ । यस्तै, मल्टीपर्पस फाइनान्सको खराब कर्जा २.८५ प्रतिशतले बढेर ८.३० प्रतिशत, सेन्ट्रल फाइनान्सको २.२४ प्रतिशतले बढेर १४.१८ प्रतिशत, आईसीएफसी फाइनान्सको ०.४४ प्रतिशतले बढेर ३.५१ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको ०.१२ प्रतिशतले बढेर ३.८३ प्रतिशत पुगेको छ । तर, समीक्षा अवधिमा ७ वटा फाइनान्स कम्पनीले भने आफ्नो खराब कर्जा घटाउन सफल भएका छन् । समृद्धि फाइनान्सको एनपीएल ११.१७ प्रतिशतले घटेर ८.१७ प्रतिशतमा झरेको छ । रिलायन्स फाइनान्सको खराब कर्जा ५.२२ प्रतिशतले घटेर ९.०९ प्रतिशत छ । त्यसैगरी, गुह्वेश्वरी मर्चेन्ट फाइनान्सको एनपीएल १.२४ प्रतिशतले घटेर ६.९४ प्रतिशत, पोखरा फाइनान्सको ०.६७ प्रतिशतले घटेर ३२.७७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ०.२२ प्रतिशतले घटेर ३.६४ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ०.१८ प्रतिशतले घटेर ७.३९ प्रतिशत र गुडविल फाइनान्सको ०.०७ प्रतिशतले घटेर ६.७ प्रतिशतमा झरेको छ ।