एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनबाट सुरु गरेको छ । आईतबार आयोजित कार्यक्रमकाबीच वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित बैंकले आफ्नो वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ तथा सेवाहरु सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

रास्वपा सहकारी समस्या समाधान गर्न छानबिन समिति बनाउन तयार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समग्र सहकारीको समस्या समाधान गर्ने गरी  छानबिन समिति बनाउन अन्ततः तयार भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरिरहको छ । रास्वपाले संकटग्रस्त सहकारीको समग्र समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि तयार भएको जनाएको छ । व्यक्तिगत केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्रतामा समाधान निकाल्ने गरी धारणा राखेको उल्लेख गर्दै महामन्त्री ढकालले भने, ‘प्रधानमन्त्रीले सम्पूर्ण सहकारी समाधानका लागि छानबिन समिति बनाऔं भन्नुभएको हो । व्यक्ति केन्द्रित नभई सम्पूर्णतामा समाधान निकाल्न रास्वपा सधैं तयार छ ।’ हालै सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले समग्रतामा समाधान खोज्ने गरी छानबिन समिति बन्न सक्ने बताएका थिए । रास्वपाको जलेश्वर बैठकले सहकारी र लघुवित्तका समस्या र समाधानका विधि तय गर्न उप सभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन समेत पेश गरिसकेको छ । कांग्रेसले सहकारी रकम अपचलनमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै उनी माथि छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

नेप्सेमा एक कम्पनीको ४० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जमा हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ४ प्रतिशत बाेनस बापतकाे ४० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । फागुन २० गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको थियो।