
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन अन्ततः तयार भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरिरहको छ । रास्वपाले संकटग्रस्त सहकारीको समग्र समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि तयार भएको जनाएको छ ।
व्यक्तिगत केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्रतामा समाधान निकाल्ने गरी धारणा राखेको उल्लेख गर्दै महामन्त्री ढकालले भने, ‘प्रधानमन्त्रीले सम्पूर्ण सहकारी समाधानका लागि छानबिन समिति बनाऔं भन्नुभएको हो । व्यक्ति केन्द्रित नभई सम्पूर्णतामा समाधान निकाल्न रास्वपा सधैं तयार छ ।’
हालै सम्पन्न माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले समग्रतामा समाधान खोज्ने गरी छानबिन समिति बन्न सक्ने बताएका थिए ।
रास्वपाको जलेश्वर बैठकले सहकारी र लघुवित्तका समस्या र समाधानका विधि तय गर्न उप सभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन समेत पेश गरिसकेको छ ।
कांग्रेसले सहकारी रकम अपचलनमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै उनी माथि छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।