फोनपे भारतले नेपालमा प्रदर्शनी गर्यो युपीआई मार्फत सञ्चालित सेवाहरू

काठमाडौं । फोनपे भारतले शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापारसंघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ । उक्तकार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपे ले समर्थन गरेको थियो, जोनेपाल भारत क्रस बोर्डरयुपीआई अन्तर आवद्दताका लागि यनआईपीयल को काउन्टर पार्टी पनि हो । उक्त कार्यक्रम फोनपे नेटवर्कका प्रमुखकार्यकारी अधिकृत दिवस सापकोटाद्वारा, नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारेमा बिशेषसम्बोधन भएको थियो । यसका साथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रसबोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो । सो प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा कन्सल्टेन्ट् , एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए ।

क्रेष्ट माइक्रो लाइफको अभिकर्ता तथा शाखा प्रबन्धक भेला सम्पन्न

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम विशेष समारोहकाबीच चितवन स्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको छ । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको व्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए । समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य व्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भन्दै लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई बढाई तथा शुभकामना व्यक्त गरे । समारोहमा उनले आउँदा दिनहरुमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागीतको अपेक्षा सहित अभिकर्ताहरु तथा शाखा प्रबन्धकहरुको ब्यक्तित्व विकास तथा ब्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले स्वागत मन्तब्य सहित स्वागत गरेका थिए ।

बीमा प्राधिकरण र धितोपत्र बोर्डको चेपुवामा बीमा कम्पनीहरु, पुँजी वृद्धिमा सकस

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणबीच समन्वय नहुँदा पुँजी वृद्धि प्रक्रियामा रहेका बीमा कम्पनीहरू चेपुवामा परेका छन् । नियामक निकायबीच अन्तरसम्बन्ध राम्रो नहुँदा बीमा कम्पनीहरू मर्कामा परेका हुन् पुँजी वृद्धि गर्न बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ताकेता गरिरहेको छ । तर पुँजी वृद्धिको लागि अन्तिम स्वीकृति दिने धितोपत्र बोर्डले बीमा कम्पनीहरुको फाइल रोकेर राखेको छ । जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपाल, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स, एशियन लाइफ, सन नेपाल लाइफ, सूर्यज्योति लाइफले हकप्रद सेयर निष्काशन गर्ने निणर्य गरेका छन् । यस्तै, निर्जीवन बीमातर्फ नेको इन्स्योरेन्स, सानिमा जीआईसी, यूनाईटेड अजोड र एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने निणर्य गरेका छन् । पुँजी वृद्धिका लागि हकप्रद सेयर निस्काशनको प्रस्ताव गरेका उल्लेखित कम्पनीहरुलाई बीमा प्राधिकरणले स्वीकृति दिएको छ । तर बीमा एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ, नेको इन्स्योरेन्स, लाइफइन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लगायत दर्जनौ कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धि फाइलहरु सेबोनमा अड्कीएको छ । एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्न २०८० असोज २९ गते निवेदन पेस गरेको थियो भने एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर बेच्न अनुमति माग्दै २०८० कात्तिक २ गते सेबोनमा आवेदन दिएका थिए । ७ महिनाभन्दा बढी समय हुँदा पनि हकप्रद सेयर बिक्रीका लागि बोर्डले हालसम्म अनुमति दिएको छैन । एनएलजी इन्स्योरेन्सका सूचना अधिकारी नौमीनाथ अधिकारी हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति कुरिरहेको बताए । ‘सेबोनले अनुमति दिने बित्तिकै हकप्रद सेयर निष्काशन हुन्छ । सकेसम्म छिटो पुँजी वृद्धि गर्ने हाम्रो प्रयास रहेको छ’ उनले भने । ‘हामीलाई हतार भइरहेको छ । छिटो अनुमति पायौ भने सहज हुने थियो’ उनले भने-‘कम्पनीले सबै प्रक्रिया पुर्याइसकेको छ । सेबोनमा अध्यक्षको तोक मात्रै बाँकी रहेको जानकारी छ ।’ बीमा प्राधिकरणले पुँजी वृद्धि छिटो गर्न दवाव दिईरहेको तर सेबोनमा फाइल अड्किएपछि केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरी कम्पनीले सबै प्रक्रिया पुर्यायसकेको बताउँछन् । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा निणर्य नभएको जवाफ दिने गरेको उनको भनाइ छ । पुँजी बजारमा सबैभन्दा ठूलो निकाय सेबोन भएको र सेवोनको स्वीकृति बीमा केही पनि गर्न नसकिएको उनले बताए । हाल कायम पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै प्रभु महालक्ष्मी लाइफले गत फागुन २२ गते सेबोनसँग माग गरेको छ । नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि गत चैत ६ गते सेबोनमा निवेदन पेस गरेको छ । विगत ४ महिनादेखि नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ । अध्यक्ष नहुँदा सेयर निष्काशन सम्बन्धि सबै फाइलहरु अनिणर्यको बन्दी भएका छन् । धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले सेयर निष्काशन प्रक्रिया नयाँ अध्यक्ष आएपछि मात्रै निणर्य हुने बताए । सञ्चालक समितिको बैठकमा पटकपटक एजेण्डा पेस गरेको भएपनि निणर्य हुन नसकेको उनको भनाइ छ । ‘बोर्डको सञ्चालक समितिको अध्यक्षता रितेश शाक्यले गर्नु भएको हो । ३/४ पटक फाइल लिएर गयौं । तर, सञ्चालक समितिले निणर्य गर्न सकेन । त्यसैले नयाँ अध्यक्ष नआउँदासम्म निणर्य हुँदैन,’ उनले भने । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल सेयर निष्काशनको विषय सेबोनको प्राथमिकतामा पर्ने बताउँछन् । प्राधिकरणले हकप्रद सेयर जारी गर्न बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइसकेपछि बाँकी काम सेबोनको रहेको उनको भनाइ छ । ‘सेयर निष्काशनको अनुमति दिने/नदिने सेबोनको कार्यक्षेत्रको विषय हो । हामीले सैद्धान्तिक स्वीकृति दिइसकेको हो । बोर्डले अध्ययन गरेर अनुमति दिन्छ होला, अहिले बोर्डको अध्यक्ष नभएर रोकिएको हुन सक्छ,’ उनले भने, ‘अन्य विषयमा प्राधिकरण र सेबोनबीच समन्वय भइरहन्छ ।’ अन्य नियामकले पुँजी वृद्धि गर्न नीतिगत निर्देशन दिएको र सम्बन्धित क्षेत्रको नियामकले सैद्धान्तिक स्वीकृति पनि दिएको अवस्थामा अध्यक्ष नहुँदा पनि धितोपत्र बोर्डले निणर्य गरिदिएको भए सम्बन्धित कम्पनीहरुलाई काम गर्न सजिलो हुने जानकारहरु बताउँछन् । कुन कम्पनीको कति ? एलआईसी नेपालले चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँको ८८.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब २९ करोड पुँजी रुपैयाँको १७ प्रतिशत, सन नेपाल लाइफले ३ अर्ब ९६ करोड रुपैयाँको २७ प्रतिशत, एशियन लाइफले ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँको ४२ प्रतिशत, सानिमा रिलायन्स लाइफले ४ अर्ब १८ करोड रुपैयाँको २० प्रतिशत र सूर्यज्योति लाइफले ४ अर्ब ५४ करोड रुपैयाँको १० प्रतिशत हकप्रद जारी गर्ने छन् । यस्तै, नेको इन्स्योरेन्सले २५ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सले चुक्ता पुँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत, यूनाईटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९० करोड रुपैयाँको ३२ प्रतिशत, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४५ करोड रुपैयाँको ६६ प्रतिशत र नेपाल इन्स्योरेन्सले १ अर्ब ६४ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छन् । हिमालयन रिइन्स्योरेन्सले २० अर्ब पुँजी पुर्याउन ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ ।