दैलेखको दुल्लूमा नबिल बैंकको २६८औं शाखा सञ्चालन
दैलेख । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८औं शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ । दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए । ‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठुलो सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजालले भने । नबिल बैंकका डेपुटी सिइओ ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । डेपुटी सिइओ ज्ञवालीले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
आईएमई लाइफको नगद लाभांश प्राधिकरणले रोक्यो, वैशाख १९ र २० गतेको कारोबार रद्द गर्न माग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर मात्र दिने भएको छ । कम्पनीले वितरण गर्न प्रस्ताव गरेको नगद लाभांशमा नेपाल बीमा प्राधिकरणले अंकुश लगाएको छ । सुरुमा कम्पनीले ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । त्यसमा २५ प्रतिशत बोनस सेयर र ९.५ प्रतिशत नगद लाभांश दिने भनिएको थियो । कम्पनीले वैशाख १९ गते ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । वैशाख २३ गते नयाँ सूचना जारी गर्दै २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने जनाएको हो । ३४.५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको निणर्य बोदार्थ बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणले कर प्रयोजनबाहेक नगद लाभांश वितरणमा रोक लगाएको आइएमई लाइफले जनाएको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । बोनस सेयर जारीपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरण उच्च स्रोतका अनुसार सेयर प्रिमियमबाट आर्जीत नाफालाई बोनस सेयरको रुपमा वितरण गर्न स्वीकृत गरिएको हो । कम्पनीले बीमा व्यवसाय गरेर आर्जन गरेको नाफालाई नगद लाभांशमा वितरणमा रोक लगाएको छ । ‘२५ प्रतिशत बोनस सेयर वितरण गरेकै छ । कर प्रयोजनका लागि नगद लाभांश पनि वितरण गर्न भनेका छौं । विगत पाँच वर्षदेखि कमाएको नाफालाई कम्पनीले एकै पटक नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको थियो । यो रकम संचित कोषमा राख्नु, अर्को वर्ष वितरण गर्न मिल्छ भनेका हौ’ उच्च अधिकारीले भने । पुँजी बजारमा सूचिकृत कम्पनीको लाभांश घोषणा हुने र पछि घटाउने अभ्यास गलत भएको, यस्ता कार्यले साधारण सेयरधनीलाई फसाउने गरेको यस्ता कार्यको आलोचना हुँदै आएको छ । कतिपय अवस्थामा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले दोषीहरुलाई कारवाही समेत गरेको उदाहरण रहेका छन् । लाभांश घोषणापछि वैशाख १९ र २० गते पनि सेयर कारोबार भएको थियो । उक्त सेयर कारोबार रद्द गर्नुपर्ने माग खरिदकर्ताले गरेका छन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारणसभा शुक्रबार विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरणहरु छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि श्री सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड ६३ लाख ७५ हजार छ ६९७/४६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरण पश्चात् हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब ०१ करोड १९ लाख ४७ हजार ७९७/४६ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको २४.७४ प्रतिशतका दरले हुने रकम १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७/५४ रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।