सानिमा बैंकका ग्राहकलाई स्काईवाक टावरमा छुट
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई वन्डर्स नेपालमा छुट हुने भएको छ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपालमा छुटको व्यवस्था गरेको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् । उक्त समझदारी पत्रमा वन्डर्स नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठले तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ बिक्रम श्रेष्ठले हस्ताक्षर गरे । बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।
स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ताल्छिखेल, सातदोबाटो, ललितपुर स्थित स्वस्तिक हेल्थ केयर सेन्टरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरूमा छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक समारोहकाबीच स्वस्तिक हेल्थ केयर सेन्टरका अध्यक्ष डा.अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेस गर्नुपर्ने छ । नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयर सेन्टरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरू उपलब्ध गराउने छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरूकालागि स्वस्तिक हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशत देखि २५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।
एनआईसी एशिया बैंकको कर्जासम्बन्धी छुट योजना सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैंकले २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा छुट प्रदान गर्ने योजना ल्याएको हो । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकममा छुट प्रदान गर्ने योजना ल्याएको हो । मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी हुन सक्ने छन् । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको छ ।