ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजारको सहभागिता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २५००, मधेश प्रदेशमा २०००, बागमती प्रदेशमा ५०००, गण्डकी प्रदेशमा ४५००, लुम्बिनी प्रदेशमा ३५००, कर्णाली प्रदेशमा ५०० र सूदुरपश्चिम प्रदेशमा २५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरुसञ्चालन गर्न गइरहेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र प्रभु बैंकबीच विशेष छुट सम्झौता सम्पन्न भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक टिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो । एक समारोहबीच न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीबाट न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।
संकलित पुँजीको उचित परिचालन नहुँदा सहकारीमा समस्या देखियो : रजिष्ट्रार घिमिरे
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट संकलित पुँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन । नियमाकीय दृष्टिकोणमाः ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्ष समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए । लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रूपमा गर्नुपर्ने उनको भनाइ छ । सहकारी क्षेत्रलाई समाजवादउन्मुख अर्थतन्त्र निमार्णका लागि सशक्त आधारशिलाको रूपमा स्थापना गर्नका लागि संविधानले नै अंगिकार गरेको छ । तर, अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा धेरै समस्या देखिएको उनको बुझाइ छ । ‘सहकारीमार्फत आर्थिक समृद्धिको सम्भावना प्रसस्तै छ, अर्र्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ, मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान छ, ९३ हजार ७ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ, दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ, तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ,’ उनले भने । सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा वहन नगर्ने , बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासिनता , संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे । कोभिड १९सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, बिना धितो कर्जा प्रवाह, कर्जा वर्गीकरणमा प्रभावकारीता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए । समस्या समाधानका लागि सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिबद्ध हुदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रूपमा आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरुक सदस्यहरूले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ । उक्त टिप्पणीकर्ताका रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिनाधितो ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए । अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता प्रक्रिया रोक्नुपर्ने उनको भनाइ छ । यसरी दर्ता भएका सहकारी संस्थाहरूले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औंल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठूलो समस्या आएको उनको भनाइ छ । त्यस्तै अधिकांश सहकारी संस्थाहरूको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । ’ कार्यक्रममा सहभागीबाट हरेक सहकारी प्रकृति फरक भए पनि मूख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाइ छ । सात वर्ष पहिले ऐनमा गरको व्यस्था कर्जा असुली न्यायधिकण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औंल्याए । त्यसैगरी, उक्त प्रस्तुतिको सहजकर्ताका रूपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए ।