बाल अस्पताल निर्माणका लागि रिलायबल नेपाल लाइफको ५० लाख सहयोग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबुलोहोनीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको केआईओसीएच हाल नेपालमै आधुनिक बहुविशेषज्ञ (मल्टी–स्पेसियालिटी) बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ । अस्पतालले बाल हृदयरोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको जनाएको छ । रिलायबल नेपाल लाइफले उक्त सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ । कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

मानुषी लघुवित्तको कामु सीईओमा कमल श्रेष्ठ नियुक्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी कमल श्रेष्ठलाई दिएको छ । कम्पनीकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल असार ३२ गतेबाट समाप्त भएपछि सञ्चालक समितिले श्रेष्ठलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो  । कम्पनीका अनुसार मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्त वित्तीय संस्था मर्जर प्रक्रियामा रहेकाले एकीकृत कारोबार सम्पन्न नभएसम्मका लागि श्रेष्ठलाई उक्त जिम्मेवारी तोकिएको हो । यससँगै श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारीसमेत दिइएको कम्पनीले जनाएको छ ।

सवा १२ खर्ब राजस्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको करिब ८३ प्रतिशत राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार (असार ३१ गते) सम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजस्व उठाएको हो । यो संकलन सरकारले चालु वर्षका लागि तय गरेको १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हुन आउँछ । विगतको तुलनामा यस वर्ष राजस्व संकलनमा सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । यस हिसाबले गत वर्षको सोही अवधिको तुलनामा यसपालि राजस्व संकलन ७.४० प्रतिशत, अर्थात् ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले वृद्धि भएको नियन्त्रक कार्यालयले जनाएको छ । प्राप्त कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा कर राजस्वको रहेको छ । बुधबारसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ, जुन लक्ष्यको ८३.४३ प्रतिशत हो । त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो कुल गैरकर राजस्व लक्ष्यको ७६.९९ प्रतिशत हो । गत वर्षको तुलनामा यस वर्ष कर राजस्व ७.३४ प्रतिशत र गैरकर राजस्व ८.०२ प्रतिशतले बढेको देखिन्छ । त्यसैगरी, अनुदान प्राप्तिको अवस्थामा पनि यस वर्ष उल्लेख्य सुधार आएको छ । चालु वर्षमा सरकारले कुल ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ५८.५ प्रतिशत, अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ। यो गत वर्षको तुलनामा ३४.७५ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिसम्म सरकारले जम्मा २३ अर्ब २० करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो । आर्थिक वर्षको अन्तिमतिर राजस्व संकलन तीव्र हुने परम्पराअनुसार बुधबार एकै दिन मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजस्व उठाएको छ । जसमा १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजस्व रहेको छ । बिहीबार (आज) आर्थिक वर्षको अन्तिम दिन भएकाले थप राजस्व संकलन भई कुल संकलनको दर अझै बढ्ने अनुमान गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।