सिटिजन्स बैंकद्वारा देशव्यापी वृक्षारोपण, १५०० बिरुवा रोपियो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसरमा काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २३ गते आयोजित उक्त कार्यक्रममा बुढानीलकण्ठ वडा नम्बर–१ मा करिब २५० विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । बैंकले देशव्यापी रूपमा पनि वृक्षारोपण अभियान सञ्चालन गर्दै कोशीमा २००, मधेशमा २५०, गण्डकीमा २००, लुम्बिनीमा २००, कर्णालीमा २०० र सुदूरपश्चिममा २०० गरी कुल १५०० बिरुवा रोपिएको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा नम्बर–१ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापनसहित कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएका प्रत्येक बिरुवाले भविष्यमा स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अङ्गका रूपमा लिएको बताए । बैंकले यसअघि पनि देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयलाई सहयोग लगायतका सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकको भनाइ छ । सिटिजन्स बैंकले हालै ‘बैंक अफ द इयर २०२४ र २०२५’ उपाधि प्राप्त गर्नुका साथै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै, नवयुवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक’ प्लेटफर्म तथा फ्रिलान्सर लक्षित बचत खाता समेत सुरु गरेको छ । बैंकले हाल देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायका लागि २५ थान सेतो छडी वितरण गरेको छ । दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेलले सेतो छडी हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो । दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुलको साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पौडेलले यस्ता सहयोगले विशेषगरी आर्थिक रूपमा कमजोर समुदायका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, सर्वोदय परियोजनाका सौगात वाग्लेले सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने बताए । कार्यक्रममा पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले यस्ता कार्यक्रममार्फत सामाजिक समावेशितामा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको जनाए ।  

अब स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई आबद्ध गराइने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा सरकारी कर्मचारीलाई आवद्ध गराउने भएको छ । आगामी साउन महिनादेखि सरकारी कर्मचारीलाई अनिवार्य रुपमा यो कार्यक्रममा आवद्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. विकास देवकोटाले यो कुरा बताएका हुन् । उनले आउँदो साउनदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रसेवक कर्मचारीलाई आवद्ध गराउन कसरी बाध्यकारी बनाउने भन्तेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको बताए । स्वास्थ्य बीमा सुधारका लागि सरकारले यो निर्णय गरेको उनको भनाइ छ ।  ‘ स्वास्थ्य बीमा कार्यक्रम सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर बजेट छुट्याइएको छ, यसअघि सात अर्ब रुपैयाँ बजेट विनियोजन हुँदै आएकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ,’ उनले भने । सरकारले गरिब, विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम यतिबेला संकटमा परेको छ । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई १८ अर्ब भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ भने नजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक बाहेक सबै प्रकारका सेवाहरू बन्द गरिएको छ । यस्तै यसअघि स्वास्थ्य बीमामार्फत उपलब्ध हुँदै आएको ओपीडी सुविधालाई खुम्च्याएर २५ हजारमा झारिएको छ ।