शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन माग गर्दै विज्ञ अर्थमन्त्रीलाई विद्यार्थी संगठनको ज्ञापन पत्र
काठमाडौं । शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिन माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएका छन् ।पाँच वटा विद्यार्थी संगठनको केन्द्रिय नेतृत्वले आइतबार अर्थमन्त्रालय पुगेर चालु आर्थिक बर्षदेखि नै प्रमाणपत्र धितो राखेर शैक्षिक तथा व्यवसायीक ऋण दिलाउने व्यवस्था गर्न अनुरोध गरेका हुन् । ज्ञापन पत्र बुझाउन अनेरास्ववियु, नेबिसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नेक्राबिसंघका नेताहरु अर्थमन्त्रालय पुगेका थिए । ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डा. खतिवडाले सकारात्मक प्रतिक्रिया जनाएका थिए । विद्यार्थी संगठनहरुले कुल बजेटको २० प्रशित बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न पनि अर्थमन्त्रीसँग माग गरेका थिए ।
अखिलका कार्यवाहक अध्यक्ष भन्छन्ः महंगो शुल्क लिने विद्यालय सञ्चालकलाई इन्काउण्टर गर्नुपर्छ
काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले महंगो शुल्क असुल्ने निजी विद्यालयका सञ्चालकहरुलाई इन्काउण्टर गर्न माग गरेका छन् । उनले कानुन हातमा लिने गुण्डा नाइके र शुल्क आतंक मच्चाउने निजी विद्यालय सञ्चालक उस्तै अपराधी भएकाले इन्काउण्टर गर्नुपर्ने र्तक अघि सारेका हुन् । उनले शनिबार बिहानै आफ्नो फेसबुकमा लेखेका छन्–कानुन हातमा लिएर समाजमा आतंक फैलाउने गुण्डा नाइके हरुलाइ इन्काउटर गर्ने सरकारले शिक्षा पनि कानुन लाई हातमा लिएर शुल्क आतंक मच्चाउनेहरुको सस्थालाई इन्काउन्टर गरोस् । उनले कानुन हातमा लिने गुण्डा नाइके र कानुनकै उल्लंघन गरेर शुल्क आतंक मच्चाउने निजी विद्यालय सञ्चालक उस्तै अपराधी भएकाले गुण्डा नाइकेलाई इन्काउण्टर गर्ने सरकारले विद्यालय सञ्चालकलाई पनि इन्काउण्टर गर्नुपर्ने धारणा राखेका हुन् । फेसबुकमा बर्ताैलालाई धेरैले खुट्टा नकमाउने आग्रह गरेका छन भने कतिपयले विद्यार्थी नेतालाई नै इन्काउण्टर गर्नुपर्ने समेत लेखेका छन् । बर्तौलाको फोष्टमा राजेन्द्र बिष्टले लेखेका छन्–तिनै शिक्षण संस्थालाई मलजल गर्ने विद्यार्थी नेताहरुलाई पनि इन्काउण्टर गरियोस् ।
समताको १०० रुपैयाँले खुला विश्वविद्यालयमा हलचल
काठमाडौ । समताले १०० रुपैयाँमा नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढउने विषयलाई लिएर खुला विश्वविद्यालयमा हलचल भएको छ । विकासन्युजले समतामा एक सय रुपैयाँ तिरेरै नर्स, अहेव, ल्याव टेक्निसिएन र एचए पढ्न पाइने समाचार प्रकाशित भएपछि खुल्ला विश्वविद्यालयमा खैलाबैला मच्चिएको हो । विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले नेपालमा शिक्षामा अब्बल भएर पनि अवासर नपाउनेहरु रहेको बताए । ‘त्यस्ता व्यक्तिहरुका लागि यो शिक्षा एकदमै राम्रो हो । तर यस संस्थाका फाउण्डरहरु हुँदासम्म मात्रै चल्छ की यो संस्था निरन्तर रहन्छ भन्ने विषय मुख्य कुरा हो’, उनले भने । दाताहरुले बीचमै सहयोग गर्न छाडे भने संस्था र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य के हुन्छ भन्ने प्रश्न पनि पेचिलो हुने उनले बताए । उनले संस्थाको दीर्घजीवन कायम भएमा भने नेपाली नागरिकहरुले सर्वसुलभ मूल्यमै शिक्षा प्राप्त गर्ने र खुला तथा अन्य विश्वविद्यालयहरुलाई चुनौती थपिने स्वीकार गरे ।