माग सम्बोधन गर्ने आश्वासन पछि शिक्षक महासङ्घको आन्दोलन स्थगित
काठमाडौं। सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगन गरेको हो । मङ्सिर १४ गते पनि महासङ्घले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौँमा प्रदर्शन गरेको थियो । सो दिन छुटेको पढाइ मङ्सिर २९ गते शनिबार पूर्ति गरिने महासङ्घले जनाएको छ । स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासङ्घले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको हो । महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ ।
प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सूचना प्रविधिमैत्री बनाईने
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सामूदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउने भएको छ । त्यसको लागि आयोगले सूचना जारी गरी मापदण्ड पूरा भएका इच्छुक विद्यालयलाई आवेदन दिन आग्रह गरेको छ । विभागले सूचना प्रकाशित भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न विद्यालयहरुलाई आह्वान गरेको हो । विधालय छनोटको लागि विधालय सामुदायिक वा माध्यमिक तहको हुनुपर्ने , विधालयमा सुरक्षित पक्की भवन,फर्निचर लगायत भौतिक पुर्वाधार राम्रो ब्यवस्था हुनुपर्ने र नियमित रुपमा विधुत आपुर्ती भएको हुनुपर्ने, ईन्टरनेट जडान गरिएको हुनुपर्ने वा जडान हुन मिल्ने हुनुपर्ने र सुचना प्रविधी सम्बन्धी दक्ष जनशक्तीको ब्यवस्था हुनुपर्नेछ वा गराउने प्रतिवद्दता प्राप्त हुनुपर्ने छ। विद्यालयले प्रस्ताव पेश गर्ने नमूना फाराम विभागले आफ्नो वेवसाइटमा राखेको छ ।
मंसिर २१ गते हिमालय कलेज अफ इन्जिनियरिङमा रोजगार मेला
काठमाडौं। ललितपुरको च्यासलमा रहेको हिमालय कलेज अफ इन्जिनियरिङले मंसिर २१ गते आफ्नै प्राङ्गणमा बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले गर्नेछन्। हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरुलाई केन्द्रित गरेर आयोजना गरिएको उक्त मेलामा २० वटा रोजगारदाता कम्पनीहरु सहभागी हुने र आफूलाई आवश्यक जनशक्तिको छनोट अन्तर्वार्ताबाट गरीने बताइएको छ । मेलामा झण्डै १०० जना विद्यार्थीहरुले सहभागिता जनाउने कलेजले जनाएको छ ।