शुक्रबारदेखि संघीय नेपालमा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । शुक्रबार र शनिबार राजधानीमा संघीय नेपलामा गुणस्तरीय शिक्षा विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त सम्मेलन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानको आयोजना हुन लागेको हो । हिसानले बुधबार पत्रकार सम्मेलन गरी उक्त शैक्षिक सम्मेलनको बारेमा जानकरी दिएका थिए । आयोजकको अनुसार सम्मेलनमा बेलायत, चीन, क्यानडा, थाईल्याण्ड लगायत विश्वका विभिन्न विश्वविद्यालयका प्राज्ञहरु सहभागि हुनेछन् । त्यस्तै नेपालका ९ वटै विश्वविद्यालयका पदाधिकारी, शिक्षाविद लगायतले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने छन् । आयोजकको अनुसार शिक्षा प्रणालीलाई संघीय संरचना अनुसार अघि बढाउन, समयानुकूल सुधार र परिमार्जन गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने छ । सम्मेलन नेपालको लागि कोशेढुङ्गा सावित हुने आयोजकको दावी छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको बताइएको छ ।

चार्टर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत फेल

काठमाडौं । चाटर्ड एकाउन्टेन्सी परीक्षामा ८३ प्रतिशत परीक्षार्थी फेल भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १७ प्रतिशत परीक्षार्थी मात्र उतिर्ण भएका छन् । गत डिसेम्बरमा संचालन गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजाअनुसार क्याप–२ तहमा १ हजार ४२८ जना परीक्षा दिएकोमा दुबै समुह गरी २४३ जना मात्र उतिर्ण भएका छन् । संस्थाले जनाएअनुसार क्याप १ तहमा सहभागी ७२९ जना परीक्षार्थी मध्ये ४८८ जना र क्याप ३ तहमा ५४३ जना परीक्षार्थी मध्ये एक तथा दुबै समुह गरी ७७ जना उत्तीर्ण भएका छन् ।   परीक्षाको नतिजाअनुसार २७ जना परीक्षार्थी चार्टर्ड एकाउन्टेन्ट सदस्यको लागि योग्यभएका छन् । यसैगरी चार्टर्ड एकाउन्टेन्ट्स सदस्यता परीक्षामा ३५ जना परीक्षार्थी उत्तीर्ण भएको संस्थाको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्सी परीक्षा र परीक्षाको नतिजा निर्धारित समयमा नै गर्ने गरेको छ ।

मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु

मुस्ताङ । मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिका रहेका नौ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा विद्यालय आजबाट शुरु हुँदैछ भने वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा घुम्ती शत्र भइरहेको छ भने १३ विद्यालयमा भने आजबाट पढाइ शुरु हुँदैछ । त्यसैगरी, लो घ्याकर गाउँपालिकामा रहेका छवटा विद्यालय घुम्तीमै छ भने तीन वटा विद्यालयमा भने आजबाट पढाइ सञ्चालनमा आउने छ । त्यस्तै लोमान्थाङ गाउँपालिकाअन्तर्गत रहेका सम्पूर्ण १० वटै विद्यालय घुम्ती शत्रमा पढाइ भइरहेको छ । हिमपात तथा चिसोले गर्दा पढाइ सञ्चालनमा केही असर पर्न सक्ने घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाइले जानकारी दिए । जाडो छल्न पोखरा, काठमाडौं, चितवन बुटवल, भारत आदि गएका मुस्ताङवासी पनि माघको अन्तिम र फागुन लागेदेखि नै मुस्ताङ फर्कने क्रम जारी भएको देखिन्छ र यसले गर्दा सुनसान भएको मुस्ताङमा स्थानीयको केही चहलपहल बढेको देख्न सकिन्छ । रासस