वार्षिक ६/७ हजार विद्यार्थी अष्ट्रेलिया पठाउँछौं-खेमराज संग्रौला
खेमराज संग्रौला, डाइरेक्टर-एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिस् तपाईको कन्सलटेन्सी, यसले दिने सेवा सुविधा, यसको नेटवर्क, ब्राण्ड र इमेजको बारेमा बताइदिनु हुन्छ कि ? हामीले सन् २००३ मा अष्ट्रेलियाबाट यो संस्था शुरु गरेको हो । २००६ मा आएर काठमाडौंमा शुरु गरेका थियौं । अफिस विस्तार गर्ने क्रममा सिड्नीबाट पुतलीसडक हुँदै हाल विश्वभर ३१ स्थानमा शाखाहरु छन् । नेपालमा मात्रै हाम्रो १४ शाखा छ । भारत र अष्ट्रेलियमा मात्रै ८ शाखाहरु छन् । त्यसबाहेक फिलिपिन्स, बंलादेश, हङकङ, मंगोलिया, नाइजेरिया लगायत विभिन्न मुलुकहरुमा अष्ट्रेलिया जाने विद्यार्थीहरुको लागि सेवा प्रदान गर्दै आएको छ । २/३ जना कर्मचारीबाट शुरु गरेको यस संस्थामा हाल ४ सयभन्दा बढीको टिमले काम गर्छ । त्यस्तै ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई उक्त अवधिमा सेवा प्रदान गरिसकेका छौं । उनीहरुलाई सन्तुष्ट हुनेगरी सेवा प्रदान गर्दै आएका छौं । हाम्रो उद्देश्य भनेको विद्यार्थीहरुलाई सही, गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्ने हो । त्यो विश्वास विद्यार्थी र अभिभावक माझ जित्न सफल भएका छौं । एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिस् आज मल्टीनेशनली ब्राण्डको रुपमा स्थापित भएको छ । तर यो नेपालीको मात्र लगानी रहेको कम्पनी हो । शुरुवात हामी तीन जनाले मात्रै गरेका थियौं, अहिले टिम ठूलो भइसकेको छ । अहिले हामी कर्मचारीहरुलाई पनि केही न केही अनरसिप दिदै गइरहेका छौं । अहिले हामी मेरो भन्दा पनि कम्पनीलाई हाम्रो भन्ने गरेका छौं । हरेक शाखामा कर्मचारीहरुलाई पनि केही न केही हिसाबले वनरसिप दिएका छौं । नेपालबाट अष्ट्रेलिया वार्षिक कति विद्यार्थीहरु पठाउनुहुन्छ ? गएको वर्ष हामीले करिब १५ सय विद्यार्थी पठाएका थियौं । सबै शाखाहरुबाट गरेर त्यति पठाएका थियौं । सबै देशका शाखाहरुबाट वर्षमा त्यस्तै ६/७ हजार अष्ट्रेलिया पठाउने गरेका छौं । अष्ट्रेलियाकै स्थानीय विद्यार्थीहरुलाई पनि त्यहीको विभिन्न युनिभर्सीटीमा एड्मीशन गराउने गर्छौ । बाहिरबाट भन्दा पनि त्यहाँको स्थानीय विद्यार्थी, नेपाल र विभिन्न देशहरु गरेर त्यतिका संख्यामा हामीले सेवा प्रदान गरेका हौं विभिन्न मुलुकहरुबाट ७ हजारसम्म विद्यार्थीहरु तपाईहरु मात्र पठाइरहनु भएको छ । अष्ट्रेलियामा त्यस्तो आकर्षण के छ ? ग्लोबली भन्ने हो भने गुणस्तरीय शिक्षा हो । त्यहाँको शिक्षा अध्ययन गरिसकेपछि विद्यार्थीहरु नेपाल आउन होइन, विश्व बजारमा आफूलाई स्थापित गर्न सक्छ पहिलो नम्बर । दोस्रो, अहिलेको आकर्षण भनेको अंग्रेजीको समस्या होइन । अंग्रेजी त यहाँका नेपालीहरुले पनि बनाइसकेको हुन्छ । अष्ट्रेलिया गइसकेपछि भाषाको कारण कोही पछि पर्नु पर्दैन । तेस्रो, अष्ट्रेलिया भनेको इमिग्रेन्टहरुले बनेको मुलुक हो । पार्टीकुलर्ली ओरिजिनल मान्छेहरु छैन । इमिग्रेन्टहरु भएको कारणले म पराई देशमा छु भनेर महशुस गर्दैनन् । आफ्नै देशमा भएको महशुस हुन्छ । नेपाली, भारतीय सबै हुन्छन् । होमसिकको महशुसै हुदैन । अर्को अष्ट्रेलियाले इन्टरनेशनले विद्यार्थीहरुलाई सुविधा दिनको लागि मध्यनजर राख्दै नयाँ पोलेसी बनाएको छ । पढाइसकाएपछि २ वर्षे भिषा दिन्छ । त्यसलाई पोष्ट स्टडीङ वर्क (पीएसडब्ल्यु) भनिन्छ । त्यसअनुसार दुई वर्षको मास्टर अथवा चार वर्षको ब्याचलर डिग्री सकिसकेपछि अर्थात कम्तिमा दुई वर्ष पढेर डिग्री सकेपछि उनले दुई वर्ष काम गर्न पाउछ । मास्टर गरिसकेपछि दुई वर्ष, मास्टरमा रिसर्च गरिसकेपछि तीन वर्ष पिएचडी गरिसकेपछि चार वर्षको वर्क परर्मिट पाउछ । यसबाट विद्यार्थीले पढ्न पनि पायो, पढिसकेपछि इन्टरनेशनल इन्भारोमेन्टमा काम गरेर अनुभव लिन पनि पायो । त्यसैले पनि अष्ट्रेलियलाई राम्रो गन्तव्य मुलुकको रुपमा लिइएको हो । अष्ट्रेलिया जाने नेपालीहरु कति फर्कन्छन् ? त्यहाँ यस्तो इमिग्रेसनको पोलिसी छ । प्वाइन्ट पुग्यो भने पिआर दिने चलन छ । देश काल परिस्थिति अनुसार पछिल्लो समय नेपालको प्रगति हुदै गएकोले केही फर्किन्छ । हाम्रो पठाएको डाटा हुन्छ । फिर्ता आएको डाटा राख्दैनौं । त्यो सरकारको काम हो । मैले पठाएको विद्यार्थी कतिजना पठाए भन्ने म डाटा राख्छु । त्यतिभन्दा भन्दै पनि यहाँ हाम्रै अफिसमा राम्रो पढेर गएका ४०/५० जना स्टाफ मध्ये ५० प्रतिशतले अस्ट्रेलियामै ग्रयाजुएट गरेकाहरु छन् । अस्ट्रेलियामा पढेर यहाँ फर्कन्छन् अनि कन्सल्टेन्सीमा काम गर्छन् भन्नुभयो । कन्सल्टेन्सीमा त्यस्तो आकर्षण के छ ? त्यो त यहाँ मात्रै होइन, बैंकमा पनि होला, अन्य विभिन्न सेक्टरमा होलान । हाम्रोमा त्यस्तो होला । हामीले यही कन्सल्टेन्सीमा मात्रै भनेका छैनौं । अस्ट्रेलियमा पढाइ र काम सकेपछि फर्कन पर्छ । त्यहाँबाट फर्केपछि जागिर खोज्ने हो । त्यसमा पनि हाम्रो जस्तो मल्टीनेशनल कम्पनीमा एउटा इन्टरनेशनल एक्स्पोजर पनि हुन्छ । इन्टरनेशनल एक्स्पोजर पाइसकेको ठाँउमा काम गर्न पनि सजिलो हुन्छ । मैले भन्न खोजेको केही विद्यार्थी फर्केर पनि आउछन् । त्यस्ता विद्यार्थीहरु हाम्रो कम्पनीमा पनि छ भन्न मात्रै खोजेको हो । उनीहरु खुसी छन् । यहाँ अस्ट्रेलियाको मात्रै छैन कोही यूकेकोे, कोही अमेरीकाको ग्रयाजुएड छन् । नेपालदेखि गुणस्तरीय शिक्षाको लागि विद्यार्थीलाई विदेश पठाउनुहुन्छ । त्यहाँ जस्तै गुणस्तरीय शिक्षा दिने सम्बन्धमा तपाईहरुले कत्तिको प्रयास गर्नुभएको छ ? त्यस सम्बन्धमा सोचेका छौं । हाम्रो अस्ट्रेलियमा नै दुई ओटा कलेज छ । ब्राइटन र क्यूआईबीए भन्ने कलेज छ । नेपालमा कलेजमा जान खोजिरहेका छौं । १/२ महिनामै एउटा कलेजसँग कुरा भएको छ । त्यो कलेजसँग पार्टनरशीपमा काम गर्ने भएका छौं । अस्ट्रेलियाको प्रोगाम यहीं ल्याएर पहिलो वर्ष पढाउने र दोस्रो वर्ष अस्ट्रेलिया पठाउने त्यो योजना पनि गरिरहेका छौं । नेपाल सरकारसँग कसरी पार्टनरशीप टाइअप गरेर गर्न सकिन्छ त्यसको बारेमा पनि सोचिरहेका छौं । हामीले जानेको यही हो । एजुकेशन क्षेत्रमानै काम गर्न खोजिरहेका छौं । साथै, हामीले रुकुममा करिब ४५ मेघावाटको एक्पार्ट हाइड्रो बनाउँदै छौं । त्यो झन्डै ८/१० अर्बको बजेट हो ।
मेहनत गर्ने विद्यार्थीका लागि जापान अति नै राम्रो छ- राजु भट्टराई
नेपाली विद्यार्थीलाई जापान गएर अध्ययन गर्ने कार्यमा परामर्श दिने र सहयोग गर्ने कन्सल्टेन्सी हो – इजारा जापनिज ल्याङ्ग्वेज स्कुल । जसलाई विगत केहि वर्ष जापानमै अध्ययन गरेर स्वदेश फर्किएका उत्साहि युवा राजु भट्टराईले सफल रुपमा सञ्चालन गरिरहेका छन् । प्रस्तुत छ इजाराका सञ्चालक तथा प्रिन्सिपल राजु भट्टराईसँग विकासन्युजका राजाराम न्यौपानेले गरेको कुराकानी । राजु भट्टराई, सञ्चालक/प्रिन्सिपल, इजारा जापनिज ल्याङ्ग्वेज स्कुल सामान्य भन्दा अलि फरक किसिमको नाम कसरी जुराउनुभयो कन्सल्टेन्सीको ? हाम्रो कन्सल्टेन्सीले जापानको मात्र काम गर्छ । हामीले नामाकरण गर्दा जापनिज नाम नै दिन खोजेका थियौं र त्यसै अनुरुप इजारा नाम राखेका हौँ । के कारणले नेपाली विद्यार्थी जापान जान रुचाउँछन् ? जापान संसारकै विकसित राष्ट्रहरुमध्येको एक राष्ट्र हो । जापानको अध्ययन व्यवहारिक छ । पढाइमा मध्यमवर्गको विद्यार्थीहरुले पनि डकुमेन्टेशन राम्रोसँग गरेको खण्डमा जापानको भिषा प्राप्त गर्न सकिने भएकोले नेपाली विद्यार्थीहरुको जापानप्रति आकर्षण बढेको पाइन्छ । जापान अध्ययन गर्न गएका विद्यार्थीहरुले कस्ता अवसर पाउँछन् ? नेपाली विद्यार्थीहरुका लागि चुनौती सँगसँगै अवसरहरु पनि प्रशस्त भएको देश हो जापान । विद्यार्थीहरुले जापान बसाइको क्रममा उच्च शिक्षा सँगसँगै त्यहाँका पुर्वाधार, नीतिनियम, संस्कार लगायत विभिन्न पक्षहरुको वारेमा देख्ने, भोग्ने र जान्ने अवसर प्राप्त गर्न सक्छन् । जापानमा विदेशी विद्यार्थीहरुले हप्तामा २८ घण्टा पार्टटाइम जब गर्दै अध्ययनलाई निरन्तरता दिन सक्छन् । युनिभर्सिटी लेभलसम्मको अध्ययन पूरा गरेपछि स्वदेश फर्केर पनि प्रशस्त अवसरहरु प्राप्त गर्न सक्छन् । नेपालबाट अध्ययन गर्न जाने विद्यार्थीका लागि के चुनौती छ ? सर्वप्रथम जापान अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि भाषागत रुपमा दक्ष हुनसक्नु नै नेपाली विद्यार्थीहरुका लागि प्रमुख चुनौति रहँदै आएको छ । त्यसैगरी भिषा आवेदन दिने क्रममा विद्यार्थीहरुले पूरा गर्नुपर्ने कागजि प्रक्रियाहरु पनि अन्य देशको तुलनामा अलि कठिन साबित हुन सक्छ । जापानले त्यस्ता कागजातहरुको अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गर्ने हुनाले गलत किसिमले बनाइएका वा आवश्यक मापदण्ड नपुगेका डकुमेण्टहरुबाट आवेदन दिँदा भिषा रिजेक्ट भएका प्रशस्त उदाहरण हरु छन् । त्यसैगरी जापान पुगिसकेपछि पनि नेपाली विद्यार्थीहरुका लागि नितान्त फरक ठाउँ, भेषभुषा, भाषा, संस्कृति जस्ता कारणले सुरुका केहि दिनहरुमा ससाना चुनौतिहरु आइपर्न सक्दछन् । जापान अध्ययन गर्न जाँदा कति खर्च लाग्छ ? नेपाली विद्यार्थीहरु सामान्यतया जापान जाँदा १ वर्षको फि तिरेर जाने गर्दछन् जुन करिव ७ लाख रुपैयाँको हाराहारीमा हुने गर्दछ । त्यस्तै स्कुलको आ–आफ्नो नियमअनुसार होस्टेल फि तिरेर जानुपर्ने हुन्छ । होस्टेल फि १ वर्षको लगभग ३ लाख रुपैयाँको हाराहारीमा लाग्न सक्छ । तपाईंको जानकारीमा जापानबाट कति प्रतिशत विद्यार्थी नेपाल फर्किएका छन् र फर्किएर आएकाले के गरिरहेका छन् ? नेपालबाट जापान अध्ययन गर्न गएका विद्यार्थीहरु यतिनै प्रतिशत नेपाल फर्किएका छन् भन्ने जानकारी चाहिँ मलाई छैन तर पनि जापानमा सिकेको शिप र मेहनत गर्न सक्ने बानीको सदुपयोग गर्दै स्वदेशमा विभिन्न पेशा तथा व्यावसाय गरेर सफल भइरहेको उदाहरण प्रशस्त रुपमा पाउन सकिन्छ । नेपालका विद्यार्थी विदेश अध्ययन गर्न जाँदा नेपालले चाहिँ के प्रतिफल पाउँछ ? अहिले तत्कालिन रुपमा भन्ने हो भने विद्यार्थी भिषामा जापान मात्र नभई कुनैपनि देश अध्ययन गर्न जानु भनेको आर्थिक रुपमा नेपाललाई घाटा नै हो । किनकी विदेशमा उच्चशिक्षा हासिल गर्न जाने क्रममा धेरै ठूलो धनराशी नेपालबाट बाहिरिने गर्दछ । तर पनि केहि वर्षपछि नेपालका विद्यार्थीहरुले विदेश गएर सिकेका सिप र ज्ञानलाई नेपाल भित्र्याउनेछन् भन्ने दृष्टिकोणबाट हेर्दा भने चिन्ता लिनुपर्ने खासै केहि देखिँदैन । विद्यार्थीहरुले इजाराबाट नै किन जापान पढ्न जाने ? हामीले धेरै विद्यार्थीहरु पठाइसकेका छौँ । म आफै पनि जापान बसेर आएको हुँ । त्यहाँको वातावरण, कानुन अनि स्कुलको अवस्था एकदमै राम्रोसँग बुझेको छु । हामिले अहिलेसम्म जति विद्यार्थी पठायौं उनिहरुबाट पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ । यता उनीहरुका अभिभावकहरु पनि ढुक्क हुनुहुन्छ । हाम्रोमा पढेका विद्यार्थीहरु भाषागत रुपमा पनि अत्यन्तै सवल छन् । तपाईंहरुले कस्तो कोर्ष वा पुस्तक पढाएर जापान पठाउने गर्नुभएको छ ? हामीले मिन्ना नो निहेन्गो पुस्तकको १ देखी २५ लेसनसम्म पढाएर पठाउने गरेका छौँ । त्यसमा बेसिक लेबलका कुराहरु पढाइ हुन्छ । यसले विद्यार्थीलाई सामान्य कुराहरुमा समस्या पर्न दिँदैन । विद्यार्थीले जापान गएर फेरी माथिल्लो लेभलको भाषाको अध्ययन गर्नुपर्ने हुन्छ । जापान अध्ययन गर्न जाने सोच बनाएका विद्यार्थीहरुका लागि के सुझाव दिनुहुन्छ ? यदि कोही विद्यार्थी जापान अध्ययन गर्न चाहिरहेको छ भने उसले पहिला सहि परामर्श दिन सक्ने कन्सल्टेन्सीको छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि राम्रोसँग भाषा अध्ययन गर्न जरुरी छ । यति गर्न सकेको खण्डमा मात्र उसले जापानमा गएर अध्ययन गर्ने आफ्नो सपना लाई विना कुनै झन्झट नै साकार पार्न सक्छ । वास्तवमा मेहनत गर्ने विद्यार्थीका लागि जापान अति नै राम्रो छ ।
अल्फाविटाको ४९ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्दैछौं- द्विराज शर्मा
अल्फाविटा नेपालको पुरानो र अग्रणी एजुकेशन कन्सल्टेन्सी हो । २७ वर्ष पुरानो यस कन्सल्टेन्सीबाट ४० देशका २५० भन्दा बढी कलेजमा हरेक वर्ष हजारौंको संख्यामा विद्यार्थीहरुले शैक्षिक परामर्श सेवा लिइरहेका छन् । अल्फाविटालाई विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श सेवा दिने कम्पनी बनाउने र त्यसलाई पब्लिक लिमिटेड कम्पनी बनाउने सोचका साथ काम अगाडि बढिरहेको बताउने अल्फाविटा ग्रुपका कार्यकारी अध्यक्ष द्विराज शर्मासँग सीमापारीको शिक्षाको महत्वको साथै अल्फाविटाको भावी योजनाबारे गरिएको विकास वहस यस पटक । कार्यकारी अध्यक्ष, अल्फाविटा ग्रुप २७ वर्षअघि अल्फाविटा एजुकेशन कन्सल्टेन्सीको स्थापनाको सोच कसरी आयो ? यस संस्थाको स्थापनाको क्रममा जोडिएको एउटा ऐतिहासिक पक्ष म जोड्न चाहान्छु । मेरो बुबा शिवप्रसाद शिवाकोटी झापा विद्रोहमा क्रियाशिल हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री सीपी मैनाली, राधाकृष्ण मैनाली सबै राजनीतिमा सँगै हुनुथ्यो । २०२८ सालमा उहाँलाई राजद्रोह मुद्दा लाग्यो । २०२९ सालमा उहाँ भारत निर्वासित हुनुभयो । झापामा भएको हाम्रो सबै सम्पत्ति राष्ट्रिय करण भयो । २०४६ सालको आन्दोलनपछि हामी सहपरिवार नेपाल फर्कियौं । बुबाविरुद्ध लागेको राजद्रोहको मुद्दा फिर्ता भयो । सरकारले क्षतिपूर्ति स्वारुप ५ लाख रुपैयाँ हामीलाई दियो । साथै बुबाको काकाको छोरा गंगा उप्रेति (हाल प्रज्ञा प्रतिस्ठानको उपाध्यक्ष) ले केही रकम सापटी दिनुभयो । त्यहि पैसाले दाई युवराज शर्माको अगुवाईमा एल्फाविटा शुरु गरिएको हो । त्यतिबेला कन्सल्टेन्सी थिएन । कोचिङ, ट्युसन, ट्राभल्स् एण्ड टुर गाईड, टिकेटिङ, कम्प्यूटर ट्रेनिङ हुन्थ्यो । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पनि अल्फाविटामा नै कम्प्यूटर सिक्नु भएको हो । कोचिङमा पनि साइन्सको कोचिङ बढी पढाउने उदेश्यले अल्फाविटा नाम राखिएको थियो । पुरुषोत्तम विष्टले नाम जुराउनु भएको । हामी त्यतिबेला पार्टरन थियौ । अहिले सबै पार्टनरहरुले छोड्नु भयो र म एक्लै छु । तपाई यस कन्सल्टेन्सीको व्यवसायमा केन्द्रीत हुनुको कारण ? म सन् १९९६ मा भारतबाट नेपाल आएको थिएँ । ६ महिना दाईले शुरु गरेको व्यवसायमा सहयोग गरे । त्यसपछि पढ्न सिंगापुर गएँ । मार्केटिङ, पब्लिक सिलेशनमा पोष्ट ग्राजुएट गरेँ । मलाई सिंगापुर लैजान अञ्जना दिदी (सरदचन्द्र शाहको श्रीमती) ले सहयोग गर्नु भएको थियो । सिंगापुरमा मेरो एक जना साथी फुतुफुतु नेपाल आउने र सिंगापुर जाने गरेको देखेँ । मलाई एक पटक घर (नेपाल) आउन पनि धेरै गाह्रो हुने । पछि मैले थाहा पाएँ उनी नेपाली विद्यार्थीलाई सिंगापुरमा भिसा मिलाउने काम गर्दा रहेछन्, त्यसैबाट राम्रो पैसा आम्दानी हुँदो रहेछ । मैले सोचेँ –म त झन् सिंगापुरमा नै बसेर पढेको । मेरो चिनजानको नेटवर्क झ्न ठूलो छ । अर्काको देशमा पीआर, सिटिजनसिपको लागि संघर्ष गर्नुभन्दा नेपालमा नै फर्कन्छु भनेर सोचे । मैले मेरो परिवार पनि मिस गरिरहेको थिए । दाजुभाई पनि सँगै बस्न नपाउने । मेरी श्रीमती, त्यतिवेलाकी गर्लफ्रेड पनि काठमाडौंमा नै बस्ने । सन् २००१ मा मैले काठमाडौं फर्कन निर्णय गरेँ । काठमाडौं फर्कदा मसँग ५०० डलर थियो । त्यतिबेला दाई युवराजले डनबस्को कलेजलाई बढी समय दिनुभएको थियो । अल्फाविटा बेच्यो भने पाँच लाखमा पनि नबिक्ने अवस्थामा थियो । मैले शुरुमा सिंगापुर विद्यार्थी पठाउन थाले । पछि चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया हुँदै अहिले करिव १५ देशका २५० वटा यूनिभर्सिटीमा विद्यार्थी पठाउँछौं । उनीहरुले हामीलाई विश्वास गरेका छन्, उनीहरुको एजेन्टको रुपमा हामीले काम गरिरहेका छौं । सिंगापुर पढ्दा काठमाडौंमा गल्फ्रेड कसरी बनाउनु भयो ? मञ्जु ओली (हाल शर्मा)लाई मैले डनबस्कोमा भेटेको । उनीकी बहिनी त्यहाँ पढ्थिन, बहिनीसँगै आउँदा उनलाई चिनेको । पछि हाम्रो सम्बन्ध राम्रो भयो । पछि उनले डनबस्कोमा पढाइन पनि । विवाह भएपछि हामी काम पनि सँगै गर्न थाल्यौ । आँट थियो भएङ्कर । दुबै जना मिलेर काम गर्न थालेपछि संस्था पनि बलियो भयो । उनी हाल अल्फाविटामा प्रबन्ध निर्देशकको भूमिकामा छिन् । तपाईहरु दुई जनाको प्रेम र व्यापार सँगै मौलाएछ, होइन ? हो । हामी सँगै अगाडि बढेका छौं । हाम्रो ग्रोथ अर्गानिक छ । हामी अहिले पनि विगतको समिक्षा गर्छौ । मञ्जुले ममा अलि परिवर्तन आएको बताउँछिन् । म एरोगेन्ट भए रे, अरुलाई नटेर्ने, अलि अप्ठ्यारो, अलि बढी रिसाउन थालेको छु रे म । रिसाउने घरमा कि अफिसमा ? यस्तो भयो, जिम्मेवारी बढ्यो । प्रेसर हुन्छ । कम्पनीको ग्रोथसँगै हाम्रो सोच पनि परिवर्तन हुनुपर्यो । १५ वर्षअघिको सोचले त अफिस चल्दैन । संस्थागत किसिमले जानुपर्यो । हामी भन्दा धनीका छोराछोरी हाम्रो अफिसमा आएर काम गरेका हुन्छन् । उनीहरुको सोच अनुसार हामी परिवर्तन हुनुपर्यो । ५०० सय डलर (२५÷३० हजार रुपैयाँ) बाट शुरु भएको यो व्यवसाय अव त धेरै अगाडि बढिसक्यो । अल्फाविटाको अहिलेको भ्यालु कति हो ? त्यो हिसाव नै गर्नुपर्छ । अल्फाविटाको ब्राण्ड भ्यालु पनि करोडौंको हुन्छ । जग्गा, भवन लगायत सम्पत्तिको मूल्य पनि धेरै हुन्छ । करिव १० अंकमा होला । त्यसमा बैंकको ऋण पनि हुन्छ । वार्षिक व्यापार कति हुन्छ ? अल्फाविटा कन्सल्टेन्सी मात्र होइन, बैंङकेट छ, यससँग सम्बन्धित अरु विजनेश पनि छन् । राम्रो छ, ग्रोथ छ । पहिला हामी पाँच दाजुभाईको सँगै लगानी थियो । ठूलोदाई भीष्मले म्यानपावर कम्पनी चलाउनुहुन्छ । माइलोदाई र यूवराज दाईले ह्वाइटहाउस कलेज, स्कूल चलाउनु हुन्छ । कान्छो भाईले अष्ट्रेलियमा कलेज चलाउँछ । अहिले अल्फाविटा मैले मात्र हेर्छु । कामको प्रेसर मलाई बढी छ । ४ अंकको व्यापारलाई १० अंकमा पुर्याईसक्नु भयो । अब किन प्रेसर लिने ? धनी भएपछि, ठूलो व्यवसाय गरेपछि आनन्द हुनुपर्ने होइन र ? बजारमा प्रतिस्पर्धा छ । निश्चित टार्गेट लिएर काम गर्नुपर्छ । टार्गेट पूरा गर्ने प्रेसर हुन्छ । प्रविधिमा ठूलो परिवर्तन आएको छ । अष्ट्रेलियाको कलेजले काठमाडौंबाट अष्ट्रेलिया जान इच्छुक विद्यार्थीलाई सोझै तान्न सक्छ । एकसे एक स्र्माट केटाहरु बजारमा आएका छन् । सिगापुरबाट म नेपाल फर्कदा विदेशबाट नेपाल फर्कने म मात्र हुँ कि जस्तो लाग्थो । अहिले धेरै नेपाली विदेशमा टन्नै पैसा कमाएर नेपाल आएका छन्, उनीहरुले लगानी गरिरहेका छन् । धेरै पैसा कमाउनेहरु आक्रामक रुपमा लगानी गर्छन् । पैसा धेरै कमाएपछि हौसिएर लगानी गर्न आउनेहरु अन्तिममा डुब्ने नै हुन् । तर उनीहरुले बजार विगार्छन् । त्यसको नकारात्मक असर हामीले पनि बेहोर्नुपर्छ । यी चुनौतिहरु मैले देखेको छु । साथै मैले अरु धेरै काम गर्नुछ । तपाईको कर्पोरेट ड्रिम के हो ? अल्फाविटालाई यस क्षेत्रको अग्रणी र नमूना संस्था बनाउन चाहान्छु । यो कम्पनीमा शुरुमा बुबाको लगानी रह्यो । दाईले काम शुरु गर्नुभयो । अहिले मैले यो कम्पनी समालेको छु र कम्पनी राम्रो भईरहेको छ । यो कम्पनी अझै बलियो र राम्रो होस् भन्ने सोचसहित यस कम्पनीलाई पब्लिक कम्पनी बनाउने योजना बनाएको छु । वार्षिक ५० करोडभन्दा बढीको कारोबार हुन थालेपछि ५१ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सोच छ । ४/५ वर्षभित्र तपाई पनि यो कम्पनीको सेयरधनी बन्न सक्नुहुन्छ । पब्लिक कम्पनी बनाउने उदेश्यले यस कम्पनीको संस्थागत विकास गर्न, कम्पनीलाई पारदर्शि र विश्वसनिय बनाउन गर्नुपर्ने कामहरु थालिसकेको छु । करमा क्लियर हुने, डकुमन्टेहरु सहि तरिकाले बनाउने, राख्ने काम थालिसकेको छु । त्यसबाट आएको पैसाले होटल वा सिमेन्ट उद्योगमा लगानी गर्ने सोच बनाईरहेको छु । तपाई शिक्षा क्षेत्रमा भिजेको मान्छे, देश विदेशको शिक्षा बुझेको मान्छे । तर अल्फाविटाको सेयर बेचेपछि त्यो पैसा किन होटलमा वा सिमेन्टमा लगानी गर्ने ? किन नेपालमा अन्तराष्ट्रिय स्तरको स्कूल वा कलेज खोल्न लगानी नगर्ने ? किन विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण नबनाउने ? त्यो पनि गर्ने मेरो मन छ । तर मलाई के पनि लाग्छ भने शिक्षामा भन्दा होटलमा वा उत्पादन मुलक क्षेत्रमा लगानी गर्यो भने त्यसमा बढी राम्रो गर्न सक्छु । फेरि मलाई के थाहा छ भने शिक्षा क्षेत्रमा पैसा कमाउन सकिदैन । नयाँ नयाँ लगानी गर्दै जानुपर्छ । उद्योगबाट पैसा कमाइन्छ । बरु उद्योगबाट राम्रो पैसा कमाईयो भने त्यसपछि शिक्षा क्षेत्रमा लगानीगर्दा राम्रो हुन्छ । त्यसले इज्जत पनि दिन्छ । हो, शिक्षा क्षेत्रमा गरिएको लगानीलाई इज्जतसँग जोडेर हेरिन्छ । तर नेपालका एजुकेशन कन्सल्टेन्सीहरुले धनीका छोराछोरी र अलि बढी क्षमता भएका युवालाई एजुकेशन भिषाको नाममा विकशित देश पठाउने तर वास्तविक अर्थमा म्यानपावरको भूमिका खेल्छन् भन्ने आरोप पनि लागेको छ नि ? नबुझेका मान्छेहरु त्यस्तो भन्छन् । बरु समस्या कहाँ छ भने ९० प्रतिशत एजुकेशन कन्सल्टेन्सीहरु विद्यार्थीको करिअर काउन्सिलिङ गर्दैनन्, कलेज काउन्सिलिङ गर्छन् । अधिकांश एजुकेशन कन्सल्टेन्सी सञ्चालकको छ भने उनीहरु विदेशमा पढ्न जान प्रयास गरे, तर भिषा पाएनन् । अलिअलि मेसो बुझे, अनि आफै एजुकेशन कन्सल्टेन्सी खोले । त्यहाँभित्र समस्या छ । तर मलाई कसैले तपाईले भनेजस्तो आरोप लगाउँछ भने म उसलाई मुखभरी जवाफ दिन्छु । अल्फाविटाको कुरा गर्नुहुन्छ भने यहाँ काम गर्ने अधिकांश कर्मचारी अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायत देशमा पढेर नेपाल फर्केकाहरु छन् । म आफै विदेशमा पढेर आएको हुँ । हामीले विदेश पठाएका विद्यार्थीहरुको करिअर विग्रेको हामीले देखेका छैनौ । त्यही भएर हामीकोमा विद्यार्थीहरुको भीड लाग्छ । पढ्नका लागि विदेश नै किन जानु पर्ने ? विदेशका विश्वविद्यालयहरुको क्रेडिविलिटी बढी हुन्छ । विदेशमा पढ्दा धेरै देशको साथीहरु हुन्छन् । त्यो नेपालको क्लासमा पाइदैन । म पनि सिंगापुरमा बसेर नपढेको भए लाटो नै हुन्थे होला । त्यहाँ मैले धेरै देशका साथीहरुसँग संगत गरे । उनीहरुबाट मैले धेरै कुरा सिकेँ । नेपालीहरु विदेशमा पढ्न जानुलाई ब्रेन ड्रेन भनेर आलोचना गरिन्छ । त्यो मूर्खहरुले गर्ने आलोचना हो । विदेश जानु भनेको ब्रेन गेइन गर्नु हो, ब्रोन ड्रेन होइन । नेपाललाई माया गर्नको लागि नेपाल नै बस्नुपर्छ भन्ने छैन । अमेरिका वा युरोप जहाँ बसेर पनि नेपालको हितमा काम गर्न सकिन्छ । नेपालमा बसेर अमेरिकाको कम्पनीको काम गर्न सकिन्छ । आफ्नो छोराछोरीको भविष्यबारे के सोच्नु भएको छ ? दुई छोरी र एक छोरा छन् । उनीहरु नेपालमा नै पढिरहेका छन् । तर उनीहरुलाई मैले विदेश देखाएको छु, घुमाएको छु । उनीहरुले विदेशको सुखदुःख सबै देखेका छन् । उनीहरु पढ्न विदेश गए पनि काम नेपालमा नै गर्छन । मैले छोराछोरीलाई भनेको छु कि देशलाई आवश्यक पर्यो भने एक जना राजनीतिमा पनि जानुपर्छ । विदेश बसेर अंग्रेजीमा नेताहरुलाई गाली गर्नु हुँदैन ।